कला, साहित्य, संगीत एउटै सौन्दर्यचेतका भिन्दाभिन्दै सिर्जनात्मक प्रस्फुटन हुन् । समस्टिगत रुपमा भन्दा यिनीहरु ललितकला भएर सम्बोधित हुन्छन् । यद्यपि प्रस्तुतिगत र कार्यगत पृथकता छ यिनहरुमा । र, तिनको कलागत पहिचानले कायम गर्ने सांस्कृतिक महत्त्वले आ-आफ्नै अलग अस्तित्व स्थापित गरेको छ । सगोलमा भनिने कलाले एकआपसको आन्तरिक सम्बन्ध र निकटतालाई संकेत गर्छ । कवितालाई शब्दनिर्मित कलाकृति भन्दा फरक पर्दैन भने चित्रलाई रंगरचित लयहरुको मिठो गुनगुन र संगीतलाई ध्वनि मुखरित स्वरहरुको कविता भन्न सकिन्छ । कविता शब्दचित्र हो र यो भाषाले लेख्ने सांकेतिक रेखाहरुभित्र अवस्थित हुन्छ ।
भाषा आफैँमा पनि एक चित्र हो । कविताको कुरा गर्दा हल्का लयदार श्रुतिमधुरताले कवितालाई सांगीतिक कोमलता प्रदान गर्ने गर्छ । संगीतलाई स्वरहरुको लयबद्ध कविता भन्ने हो भने चित्रलाई रङ र रेखाको छन्दोबद्ध कविता छन्दोबद्ध संगीत भन्दा केही फरक पर्दैन । सृजनाका दृष्टिले आपसमा अन्तर्भूत हुने कला, कविता, संगीत एकअर्काबाट समानरुपले प्रभावित छन् ।
बोदलियर भन्छन्, ‘सबै कलाभित्र एकताको तार उनिएको हुन्छ ।’ यसअनुसार आन्तरिक सौन्दर्यात्मक जागरणबाट उद्बोधित् भावनालाई कलाले प्रतिबिम्बित गर्छ । त्यस्तै संरचनात्मकता कविताको पनि छ । मनमा जिज्ञासा, अनुभूति, यथार्थहरुको संवेदनशील प्रतिक्रिया भएर कविता प्रफुटित हुन्छ । भनिन्छ, मानिसमा अन्तर्निहित सृजनात्मक प्रतिभाको पहिलो प्रस्फुटन चित्र हो । त्यसपछि कविता । अर्थात्, ढुङ्गेयुगमा रेखाङ्कनबाटै भाषा र साहित्यको पदार्पण भयो । यस अर्थमा हाँगा एकै भएकाले चित्र कविता भन्न सकियो, कविता चित्र ।
अब यहाँ बृहदमा नगएर कविता र चित्रको सम्बन्धलाई मात्र केलाएर हेरौँ । यी दुईमा सम्बन्ध नङ र मासुको जस्तो, माछा र पानीको जस्तो, प्राणी र वायुको जस्तो भएकै कारण कवितामा चित्र, चित्रमा कविता कोरिने गरेका छन् । गोरेटाहरु अलग अलग रहेता पनि गन्तव्यस्थल एकै हो दुईको । भाव, अभिव्यञ्जनात्मक निष्कर्ष एकै हुन्छ । यिनीहरुमा शैलीगत मान्यता, प्रविधि र माध्यम मात्र फरक भेटिन्छ । विश्वप्रसिद्ध कवि जोला र कलाकार सेजामा प्रगाढ प्रेम थियो । सेजा जोलाका कवितालाई प्रेम गर्थे, जोला सेजाका चित्रलाई । यसले पनि चित्र र कविताको प्रेममय आदिम यथार्थलाई पुष्टि गराएको छ ।
विश्वप्रसिद्ध कविहरुले कला सृजना गर्ने गरेका र कलाकारहरुले कविता रचना गर्ने गरेका उदाहरणहरु पनि भेटिन्छन् । कलाकार माइकल एन्जेलोले ९० वर्षको आयुमा कविता कोरेका थिए, ‘जुन पार्थिव सुन्दरताको पछिपछि कला साधना भनेर घुमेँ म जीवनभर यो त भ्रामक छाया पो रहेछ…,’ नेपालका साहित्यकार बालकृष्ण समले यसरी नै चित्र कोरेर कति गुनगुनाएका छन कति ! वाङ्गदेलले त दुवैतिर हात चलाएका छन् ।
१९औं शताब्दिपछि कलाक्षेत्रमा जन्मिएको आधुनिकवादलाई आधारमय प्रभावबिन्दु मान्दै साहित्य र कविताले आन्दोलनसमेत छेडेको इतिहास छ । नेपालकै सन्दर्भमा भन्ने हो भने पनि आधुनिक कलाको धेराभित्र रहेको अमूर्तवादको प्रभावलाई आयामेली साहित्यले आत्मसात गरेको पाइन्छ । जसको तीन प्रयोक्ता ईश्वर वल्लभ, बैरागी काइँला लगायत हुन् ।
विदेश र स्वदेशमा यस्ता थुप्रै उदाहरणहरु भेटिन्छन् । विश्व साहित्य फाँटमा लियो टल्सटोय, रवीन्द्रनाथ ठाकुर, प्रसिद्ध साहित्यकार भएर पनि जीवनको अन्तिम अवस्थामा चित्रकार बनेका थिए । अन्ततः प्रयोगमा फरक देखिए पनि चित्र, साहित्य र संगीतको सम्बन्ध टाढाको हुँदैन, हुँदैन । तिनीहरू एउटै ब्रह्मस्रष्टा क्यान्भासका प्रेमी हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।