सम्पादक: यम रेग्मी

याेग्यता

डा. कृष्णराज डी. सी.
छन्द: पञ्चचामर

डा. कृष्णराज डिसी

स्वतन्त्र देश हाेस् भनी म जेलमा परेँ सधैँ
सुयाेग्य वीरभद्र भै र झेलमा मरेँ रुँदै
भएन ज्ञान भारती मुमा बसिन् विपक्षमा
शहीदका मुराद ती लिलाम छन् स्वदेशमा ।

पढेर दिव्य चेतना बढेन क्यै कुनै ममा
तसर्थ,विश्वबन्धु हाे दिएर मानकाे धन
समग्र ज्ञाति बन्धुकाे भएर टाउके पना
वसुन्धरा रमूँ सधैँ निलेर नै म चेतना।

सुयाेग्य जाति वीर हूँ म जेलकाे महान् धनी
छ याेग्यता ममा यही अपार विश्वका मुनि
म देश हाँक्न सक्छु यै भएर नै सुयाेग्यता
प्रधान धान मन्त्री हुँ धरा भरी बनेँ व्यथा ।

निराे बनी म बाँसुरी बजाउँला विभासमा
जलेर देश नै बनाेस् धुलाे धुवाँ प्रकाशमा
अखण्ड शक्ति भै ममा चलाउँदै धरातल
ममाथि रम्छ विश्व नै महेन्द्रकाे महीतल ।

कलेज ज्ञान क्यै कुनै भएन जेलबासमा
छ उच्च याेग्यता ममा र शक्तिकाे महान् धन
म कागजी कुरा सुयाेग्यता कसाेगरी भनुँ ?
तसर्थ, विश्वबीचमा म लाैहचेतना बनूँ !

जिन्दगी होस् पवित्र

नारायण नेपाल
छन्द: मन्दाक्रन्ता

नारायण नेपाल

दाउन्नेको शिखर रसिलो काखमा दुम्किवास
मौलाकाली निकट भृकुटी कारखाना विनाश ।
मेरो आफ्नो नवल धरती चेतनादीप -राशि
छोडी हिँड्दा प्रतिपल सधैँ बढ्छ मेरो उदासी ।

फेरो हाली तनहुँतटको उत्तरी मार्गबाट
काली गङ्गासित बगिरहेको थियो मुक्तिनाथ।
पक्री ल्याइन् सरल दिलकी स्वच्छ नारायणीले
बग्नेलाई पनि हृदयमै राख्दछिन् गण्डकीले।

यस्ता धर्ती कति मसित छन् सम्झना पत्रभित्र
मेरो वृन्दावन छ दिलमा कृष्ण-गोविन्द मित्र ।
मेरो स्रष्टा प्रतिदिन मलाई बनाई चरित्र
रच्दै जाओस् नव-नव कथा, जिन्दगी होस् पवित्र ।

 

के रोक्छौ?

यम रेग्मी
छन्द:झ्याउरे

यम रेग्मी

प्वाल छ मुटु झिरले आफैँ सियोले के रोप्छौ?
मनले खोज्छ हिमाल नाग्न थुम्काले के छेक्छौ ?
पाखुरा भन्छन् जन्जिर तोड्छु। लाठीले के रोक्छौ ?
गोडाले भन्छन् पिल्लर बन्छु लातले के ठोक्छौ ?

छु शीला तुल्य सङ्घर्षबाट सिसाले नहान
म नै हुँ काल देखाई डर धम्कीले नतान
तुफानी बत्ती आफै छु हेर मुखले के फुक्छौ ?
सुनामी जस्तै उत्साह बढ्छ चेपाले के रोक्छौ ?

लेख्दैछु राम्रो जिन्दगी आफैँ फूलको थुङ्गा त्यो
समुद्रलाई सुकाउँछु भन्दै नफाल ढुङ्गा भो।
सुरिलो रुख छानेर काट्ने यो कस्तो चलन
घाम र जून अलग बस्ने हो कस्तो जलन ।

बिगार्ने मात्र देखिन्छ सारा देखिन्न सपार्ने
चिप्लिन खोज्दा समात्ने भन्दा छन् धेरै पछार्ने ।
बिक्दैन फूल पातको यहाँ खुबै छ बजार
आलोक छेक्न नभमा मेघ देखिन्छ हतार ।

नभन कविता लेख्नुछ कवि

उत्तम विचार
छन्द : शिखरिणी

उत्तम विचार

न जोत्यौ यो माटो तरर पसिना सिन्चिन सक्यौ
खनी खोस्री लायौ बिउ न त कुनैँ जाँगर झिक्यौ ।
सधैँ कापी च्यापी न त कलमले छोड्दछ छवि
भुल्यौ माटो लेख्नै नभन कविता लेख्नुछ कवि ।

न बाँच्यौ पीडामा खितखित गरी हाँस्न कसियौ
हँसायौ आमाको मुख न ममता गाँस्न कसियौ ।
मुमा कस्ती हुन् ती अडकल भुल्यौ दिव्य सुरभि
भुली आमालाई नभन कविता लेख्नुछ कवि ।

न ता नङ्ग्रा घोटी मजदुर तिमी बन्न कसियौ
न दु:खीका भोका उदर म भरूँ भन्न कसियौ ।
सबै स्वार्थी लाग्छन् कटु हृदयका छन् मतलबी
भुली दु:खी को हुन् नभन कविता लेख्नुछ कवि ।

न अग्लो माथाझैँ अटलछु भनी भन्न कसियौ
सिमानाको रक्षा तनमनविना गर्न कसियौ ।
झुकी पाएको त्यो प्रभु चरणमा छोड पदवी
भुली आफ्नो अस्था नभन कविता लेख्नुछ कवि ।

न छोयो पीडाले गरिव गुरुवा दीन थलिँदा
न रोयो त्यो तिम्रो मन विरसिलो पत्थर हुँदा ।
त्यहाँ पुग्छौ चाँडो हतपत गरी शुष्क छ रवि
भुली भोकानाङ्गा नभन कविता लेख्नुछ कवि ।

माटो छ पुज्य

वीणा रोका क्षेत्री
छन्द: उपजाति

वीणा रोका

रमेर घुम्छिन् जननी धरामा
रोपौँ मिली वीज सबै गरामा
छ राष्ट्र प्यारो जगमा असाध्यै
हो प्राण भर्ने जलस्रोत हाम्रै ।

हिमाल हाँस्दा रवि चन्द्र हाँस्छन्
नौरङ्ग डाँफे र मुनाल नाच्छन्
छ पुज्य माटो भवमाझ हाम्रो
लाली छरेको छ गुराँस राम्रो ।

छ दुग्ध मीठो घरमा छ गाई
भ्रातृत्व राम्रो बुझ धर्मलाई
समाज हाम्रो छ अजानजस्तै
सम्बन्ध हाम्रो बलियो छ साँच्चै ।

छ स्वर्ग नेपाल पवित्र धाम
हो स्वर्णदाना सुरवीर नाम
बगान आफ्नै र कला छ राम्रै
कुँदेर माटो मणि रत्न हाम्रै ।

सौन्दर्य हेर्दै थुक निल्छ मित्र
छन् राम सीता जगमा पवित्र
छ देश सानो दिल यो छ शुद्ध
नेपाल प्यारो छ भएर बुद्ध ।

एकजुट हौँ

सुरेशकुमार पाण्डे

छन्द:झ्याउरे

सुरेशकुमार पाण्डे

तराई हाम्रो पहाड हाम्रै एउटै नेपाली
अखण्ड भई मिलेर बसौँ नबनौँ है जाली
पुर्‍याऊँ हामी देशको माझ सन्देश बलियो
फलाऊँ सून विकास गरौँ कष्ट नै झेलियो।

सुकेको ओंठ आँखामा आँसु मनमा सपनी
हिँडेकै हुन्छौँ योजनासँगै तिमीर म पनि
जन्मेको गाउँ छाडेर ठाउँ अञ्जान सहर
छाडेर घर हिँडेका हामी आर्कैको सगर

उदायो चन्द्र सूर्य नै भयो अंकित हिमाली
तराई खुट्टा पहाड छाती उभियो नेपाली
दुष्टकै दृष्टि परेछ हाम्रै गाउँ र सहर
टुक्रायो देश नेपाली भूमि खोला र बगर।

काँगडा टिष्टा नेपाली नक्शा हेरेर बताऊँ
घुसेछ फेरि दुष्टको छायाँ मिलेर धपाऊँ
खोला र नाला वनका काष्ठ लुटेर लैजाला
गुमाए देश फर्किने छैन जीवन गैजाला।

रित्ताए देश दलाल बनी जीविका चलाए
देशको युवा छाडेर गए बनेर पराए
कसरी भनौँ स्वतन्त्र हामी परेर खरानी
देशको नक्शा दुष्टले राख्यो उसैको सिरानी।

मिलौँ नेता र जनता

धनसिंह गिरि
छन्द: शिखरिणी

धनसिंह गिरि

हिँडे नेता गर्दै मनुज बिचमा भाषण सभा
छ मन्त्री नै बन्ने रहर यिनको खास मनमा
हुँ नेता भन्दै ती घरघर पसी काम छ भने
कुरा ठूला गर्दै जनमत लिई सांसद बने

निकै सोझा हुन्छन् अधिक जनता गाउँ घरमा
त्यसैले छन् नेता अति सहजमा पार्न करमा
जता भन्छन् नेता लुरुलुरु उतै हिँड्न कसिने
खुलौँ बोलौँ भन्ने किन मनुजले आँट नलिने ।

जहाँ बोल्छन् नेता गुपचुप हुने धन्य जनता
पढी लेखी विद्वान् सफल पनि छौँ खै सजगता
डराई बस्छन् खै किन किन यिनी काँतर बनी
सधैँ नेताकै यी पछिपछि हिँडे पुच्छर बनी ।

बने नेता ठूला अनपढ थिए गाउँ घरका
भए विद्वान् के का अबुझ जन देखेर परका
खुलुन् आँखा छिट्टै सकल जनको ख्याल नगरी
त्यसै बज्थे धेरै अब त नबजुन् हेर थपडी ।

खसाए नेताले यस मुलुकको साख जसरी
लिँदा सातो होला सकल जनले लाज उसरी
गरौँ आऊ चाँडो अब सब जुटी काम गतिलो
मिले हुन्थ्यो नेता अनि जन सबै ताल रसिलो ।