
रियोनोसुके आकतागवा
उच्च प्रहरी आयुक्तको सोधपुछमा एउटा दाउरेको बयान
हो सर, लास देखेको मैले नै हो । सँधैको जस्तै, आज बिहान पनि जब म देवदारका रुख काट्ने आफ्नो काममा गएँ, त्यही मैले पहाडको खोंचको जंगलमा लाश भेट्टाएको हुँ । ठ्याक्कै ठाउँ ? यामाशिना मार्गदेखि झन्डै १५० मिटर पर्तिर बाँस र देवदारहरुको एउटा झाडीमा ।
लाश उत्तानो परेको थियो । नीलो रेशमी किमोनो लाएको थियो । टाउकोमा क्योटो शैलीको, मुजा परेको कपडा लाएको थियो । तरवारको एकै प्रहारले छाती वारपार भएको थियो । त्यस वरिपरि झरेका बाँसका पातहरु रक्ताम्य फूलहरु जस्ता भएर रंगिएका थिए । अहँ, मलाई लाग्दैन कि रगत बगिरहेको थियो । घाउ पनि सुकिसकेको थियो । एउटा झिंगो पनि थियो, यसरी टाँसिएको थियो कि म हिंडेको समेत चाल पाएन त्यसले ।
मैले त्यहाँ कुनै तरवार अथवा त्यस्तो अरु केही चिज देखें कि भनेर सोध्नु भाको हो ?
अहँ, मैले देखिन सर । नजिकैको देवदारको फेदमा मैले एउटा डोरी मात्रै चाहिं देखें । अनि, अँ, डोरी बाहेक मैले एउटा काइयों पनि भेटें । त्यत्ति हो । प्रष्टै थियो, ती चिजहरुबाटै उसले लडाईं गरेको थियो । किनभने त्यहाँ घाँस र बाँसका झरेका पातहरु वरिपरिबाट पुरै कुल्चिमिल्ची भएका, माडिएका थिए ।
नजिकै कुनै घोडा थियो ?
अहँ, थिएन सर । एउटा मान्छे छिर्न त त्यहाँ गाह्रै थियो । घोडाको त कुरै भएन ।
उच्च प्रहरी आयुक्तको सोधपुछमा एउटा बौद्ध भिक्षु यात्रीको बयान
समय ? हिजो ठ्याक्कै मध्यान्नतिरको समय हो सर । बिचरा अभागी मान्छे शेकियामाबाट यामाशिना जाने बाटोमा रहेछ । घोडामा आफूसँग एउटी केटीलाई राखेर शेकियामातिर जाँदै रहेछ । त्यो केटी त्यसकै स्वास्नी रैछे भन्ने मैले थाहा पाएको छु । त्यस केटीको टाउकोबाट झुण्डिएको मजेत्रोले अनुहार छेलिएको थियो । मैले देखेको भनेको त्यसको लुगाको रंग मात्रै हो – हल्का प्याजी रंगको सुट । घोडा चाहिं खैरो-रातो र राम्रो जगर भएको थियो । महिलाको कद ? ए, करिब चार फुट पाँच इन्च । म आफू बौद्ध पुजारी भएकोले मैले त्यस केटीको रुपरंगमा खास ध्यान दिइनँ । अँ, त्यो मान्छे चाहिं तरवार र तीर-धनुष सहित हतियारबंद थियो । त्यसले ढुंग्रोमा करिब बीसवटा जति तीर बोकेको थियो ।
यस्तो दुर्भाग्य होला उसको भनेर मैले सोचेको थिइनँ । साँच्चै नै मान्छेको जीवन बिहानीको शीतको थोपा वा आकासमा चम्केको बिजुली जत्तिकै क्षणभंगुर हुन्छ । उसप्रति सहानुभूति व्यक्त गर्नलाई मेरा शब्दहरु अपुग छन् ।
उच्च प्रहरी आयुक्तको सोधपुछमा एउटा प्रहरीको बयान
मैले पक्रेको मान्छे ? त्यो त कुख्यात चोर हो । त्यसको नाम ताजोमारु हो । मैले त्यसलाई भेट्टाउँदा त्यो घोडाबाट खसेको थियो । आवातागुचीको पुलमा ऐया ऐया गर्दै थियो । समय ? हिजो राती अलि सवेरैको समय हो । अभिलेखको लागि यो भनौं- अघिल्लो दिन नै मैले त्यसलाई पक्राउ गर्ने प्रयास गरेको थिएँ, तर दुर्भाग्य- त्यो उम्कियो । गाढा नीलो रेशमी किमोनो लुगा लाएको थियो त्यसले र एउटा लामो तरवार पनि भिरेको थियो । अनि, हेर्नुस न, त्यसले पक्कै तीर र धनुष पनि बोकेको थियो । यो धनुष र यी तीरहरू मरेको मान्छेका हुन् भन्ने तपाईं भन्नुहुन्छ भने पक्का पनि ताजोमारु नै हत्यारा हुनुपर्छ । धनुषको छालाको फित्ताले बनाएको घाउ, तीर राख्ने लाहा दलिएको ढुङ्ग्रो, बाजको प्वाँख लाइएका सत्रवटा तीरहरु- मलाई पक्का छ- सबै ऊसँगै थियो । हो सर, त्यो घोडा चाहिं, तपाईंले भनेजस्तै, राम्रो जागर भएको खैरो-रातो घोडा, ढुंगे पुलदेखि अलि पर्तिर लामो लगाम झुण्डिएको अवस्थामा सडकको छेउमा चर्दै गरेको मैले भेटेको हो । त्यसरी घोडाबाट झर्नु त पक्कै पनि अलिकति भगवानकै दयाको कुरा हो ।
क्योटो शहरभरी यसरी लुकिछिपी हिंड्ने डाकाहरु मध्ये ताजोमारुले यहाँका महिलाहरुलाई सबैभन्दा बढी दुख दिएको छ । गत शरद ऋतुको बेला डाँडामा तोरिबे मन्दिरको दर्शन गर्न आएको बेला एउटी केटी र उसकी छोरीको हत्या भएको थियो । तिनीहरुलाई यै डाकाले मारेको भन्ने शंका छ । यदि यो मान्छेलाई त्यै अपराधीले मारेको हो भने उसकी स्वास्नीलाई त्यसले के गर्यो होला ! अब यो समस्यालाई पनि कृपया श्रीमान हजुरले हेरिबक्सिनु होला ।
उच्च प्रहरी आयुक्तको सोधपुछमा एउटी बुढी महिलाको बयान
हो हजुर, यो लाश त्यही मान्छे हो जसले मेरो छोरीलाई बिहे गरेको थियो । क्योटोबाट आएको होइन । यो त वाकासा प्रान्तको कोक्युफु शहरको सामुराई हो । उसको नाम कनाजावा तकेहिको हो । उमेरले छब्बीस वर्षको थियो । भद्र स्वभावको मान्छे थियो । मलाई विश्वास छ अरुसँग निहुँ खोज्ने जस्तो कुनै काम उसले पक्कै पनि गरेन ।
मेरी छोरी ? उसको नाम मासागो हो । उमेर- उन्नाइस वर्ष वर्षकी । ऊ त जाँगरिली, रमाइलो स्वभावकी मान्छे हो, तर मलाई पक्का थाहा छ उसले तकेहिको बाहेक अरु कोही मान्छेलाई चिनेकी छैन । सानो, लाम्चो, कालो-कालो अनुहार छ उसको । देब्रे आँखाको कुनामा कोठी छ ।
हिजो ताकेहिकोले मेरी छोरीलाई लिएर वाकासा जान भनेर हिंड्यो । यस्तो दुखान्त भोग्नु पर्ने कस्तो दुर्भाग्य ! मेरी छोरीलाई के भयो ? ज्वाईं गुमाएँ भन्ने कुरा त म स्वीकार गर्न सक्छु तर छोरीको भाग्य देखेर म चिन्ताले बेहाल छु । भगवानको लागि कृपया उसलाई खोजेर भेट्टाउन कुनै कसर बाँकी नराख्नु होला । त्यो ताजोमारु हो कि के नामको डाकालाई सम्झेर मलाई घृणा लाग्छ । ज्वाईं मात्रै होइन, मेरी छोरी पनि … (उनको बाँकी उच्चारण आँसुमै डुबेर बिलायो ।)
ताजोमारुको स्वीकारोक्ति
त्यसलाई मैले नै मारेको हो । तर केटीलाई होइन । ऊ कहाँ गई ? म भन्न सक्दिन । एहे, एक मिनेट है ! मैले थाहा नपाएको कुरा जतिसुकै यातनाले पनि मलाई कबूल गराउन सक्दैन । अब कुरा यति माथिसम्म आइसकेपछि, म कुनै पनि कुरा हजुरबाट लुकाएर राख्ने छैन ।
हिजो मध्यान्नको समयभन्दा अलिकति पछि मैले त्यो जोडीलाई भेटेको हो । त्यत्ति नै खेर अलिकति हावा सर्र चल्यो र उसको अनुहार अगाडिको कपडा अलिकति उचालियो र मैले त्यो केटीको अनुहार एक झल्को देखें । तर तुरुन्तै मेरो दृष्टिबाट फेरि छोपिइहाल्यो । त्यो एउटा कारण हुन सक्छ- ऊ बोधिसत्व जस्तै देखिई । त्यहि बेला मैले उसलाई हरण गर्ने निश्चय गरें, चाहे त्यसको लागि मैले उसको लोग्नेको हत्या नै किन गर्नु नपरोस !
किन ? मेरो लागि मान्छे मार्नु भनेको तपाईंले सोचे जस्तो अहितकर काम होइन । जब एउटी महिला समातिन्छे, उसको लोग्नेले त जसरी पनि मर्नै पर्छ । मार्दाखेरी म मैले कम्मरमा झुण्ड्याउने गरेको तरवार प्रयोग गर्छु । मान्छे मार्ने म मात्रै हुँ र ? तपाईं- तपाईं आफ्नो तरवार पो हान्नु हुन्न त ! तपाईं मान्छेलाई आफ्नो शक्तिको प्रयोगले मार्नु हुन्छ, पैसाले मार्नु हुन्छ । कहिलेकाहीं तपाईं मान्छेहरुलाई उनीहरुकै भलाइको लागि भन्ने बहानामा मार्नु हुन्छ । हो, उनीहरुको रगत आउँदैन । स्वास्थ्य उनीहरुको उत्तम हुन्छ । तर जे भएपनि हुन त तपाईंले मारेकै हो । को चाहिं बढी पापी हो भनेर छुट्याउन गाह्रो छ । ( व्यंगात्मक मुस्कान । )
तर, यदि लोग्नेलाई नमारी केटीलाई समाउन सक्दा त त्यो राम्रो हो । त्यसैले जब मैले केटीलाई समाउने निश्चय गरें सकेसम्म त्यसको लोग्नेलाई मार्दिनँ भन्ने नै सोचें । तर यामशिता स्टेज सडकमा त त्यस्तो सम्भव हुने कुरै भएन । त्यसैले मैले ती दुईलाई फुस्ल्याउँदै र लोभ्याउँदै डाँडातिर लगें ।
सजिलै भयो । म उनीहरुको यात्राको साथी बनें । मैले उनीहरुलाई ‘पर्तिर डाँडामा एउटा पुरानो ढिस्को छ, त्यसलाई मैले फुटाएर हेर्दा त्यसभित्र थुप्रै ऐनाहरु र तरवारहरु भेटेको छु’ भनें । अझ मैले भन्दिएँ, ‘ती सामानलाई मैले डाँडाको पछाडिपटी एउटा झाडीमा गाडेर राखेको छु र यदि कसैलाई चाहिन्छ भने भने म सस्तैमा बेच्न तयार छु ।’ त्यसपछि, हेर्नुस है, लोभ भन्ने कुरा खतरनाक कुरा होइन त ? कुरा बुझ्नु भन्दा पहिले नै ऊ मेरो कुरामा आइहाल्यो । आधा घण्टा पनि बित्न नपाई तिनीहरुले मेरो पछिपछि डाँडातिर घोडा हाँकिहाले ।
झाडीको अघिल्तिर पुगेपछि मैले उनीहरुलाई खजाना त्यहीं गाडेको छ भनें । आएर हेर्न भनें । लोग्ने चाहिंले कुनै रोकटोक गरेन- लोभले अन्धो जो भैसकेको थियो । स्वास्नी चाहिंले घोडामै बसेर पर्खिन्छु भनी । उसले त्यसो भन्नु स्वाभाविकै थियो, त्यस्तो बाक्लो झाडी देखेको अवस्थामा । तपाईंलाई सत्य भन्छु- मेरो योजना मैले चिताए जस्तै गरी सम्पन्न भयो- म उसलाई लिएर झाडीभित्र पसें, केटीलाई त्यहीं एक्लै छोडेर ।
अलि परसम्म त्यो झाडीमा बाँसमात्रै छ । त्यहाँदेखि डेढ सय फीट पर्तिर चाहिं देवदारको अलि पातलो झ्याङ छ । मेरो उद्देश्यको लागि त्यो सही ठाउँ थियो । जंगलबाट आगाडि लाग्दै गर्दा मैले उसलाई अलि पत्याउने गरी देवदार रुखहरुको मुन्तिर गाडेको त्यो खजाना भनेर झुक्याएँ । मैले यसो भन्ने बित्तिकै ऊ बडो बल लगाएर त्यहाँबाट देखिने परको पातलो देवदारको झाडीतिर लम्कियो । एक छिनमा बाँसको झाडी अलि पातलो पातलो हुँदै गयो र हामी देवदारका रुखहरु लस्करै उभिएको ठाउँमा पुग्यौं । त्यहाँ पुग्ने बित्तिकै मैले उसलाई पछाडिबाट अठ्याएँ । उ पनि तालिमप्राप्त तरवारवाज लडाकू भएकोले निक्कै बलियो थियो, तर नसोचेको अचानकको हमलामा परेकोले ऊ असहाय भयो । चाँडै नै मैले उसलाई एउटा देवदारको फेदमा बाँधें । डोरी मैले कहाँ भेटें ? धन्य भगवान, आफू डाकू भएको कारणले गर्दा कुनै पनि बेला पर्खाल नाघ्नु पर्ने हुनाले मसँग एउटा डोरी चाहिं थियो । बाँसका सुकेका पात उसको मुखमा ठुसिदिएर उसलाई कराउनबाट रोक्न सजिलै सकियो ।
जब मैले त्यसको थान्को लाएँ, त्यसपछि म उसकी स्वास्नी भए ठाउँमा पुगें र उसलाई लोग्नेलाई हेर्न भनेर बोलाएँ । अचानक बिसन्चो भएको देखियो भनेर लाइदिएँ । भन्नै परेन, यो योजना पनि मेरो सफल भयो । त्यो केटी उसको छाते टोपी बिनै झाडीमा भित्रभित्र आई । मैले उसको हात समाएर लगें । लोग्नेलाई देख्ने बित्तिकै उसले आफ्नो सानो तरवार निकाली । मैले त्यस्तो खतरनाक क्रोध भएकी आइमाई पहिले कहिल्यै देखेको थिइनँ । यदि मैले कवच नलाएको थिएँ भने मेरो छेउतिरबाट मलाई चोट लाग्ने थियो । मैले छलें, तर उसले मतिर तरवार घुमाएको घुमायै गरी । उसले मलाई गहिरो गरी घाइते पार्न सक्थी वा मार्नै सक्थी । तर म परें ताजोमारु ! मैले मेरो आफ्नो तरवार झिक्दै नझिकी उसको सानो तरवारलाई झारिदिएँ । सबैभन्दा साहासी महिला पनि हतियार बिना निस्सहाय हुन्छन् । जे होस् मैले उसको लोग्नेको ज्यान नलिइकनै आफ्नो इच्छालाई सन्तुष्ट पारें ।
हो … उसको ज्यान नलिइकनै । मलाई उसलाई मार्ने इच्छा थिएन । रुँदै गरेकी त्यो केटीलाई त्यहीं छोडेर म त्यो झाडीबाट भाग्नै लागेको थिएँ तर त्यही बेला ऊ मेरो पाखुरामा झुन्डिन आइपुगी । आधा अधुरा शब्दले ऊ भन्न लागी- कि त उसको लोग्ने कि त म, एकजनाले मर्नु पर्छ । उसको लाज दुई-दुई पुरुषले थाहा पाउनु भनेको मृत्यु भन्दा कठिन हुन्छ भनी उसले । हिक्क हिक्क गर्दै उसले भनी, ‘जो बाँच्छ म उसैकी स्वास्नी हुन तयार छु ।’ त्यो सुनेपछि ममा उसलाई मारिदिने भयंकर ईच्छा जागृत भयो । ( उदास उत्तेजना । )
मैले तपाईंलाई यसरी भन्दाखेरी निसन्देह म तपाईंभन्दा क्रूर देखिन्छु । तर किनभने तपाईंले उसको अनुहार देख्नु भएन । खास गरी त्यो बेलाको उसको बल्दो आँखा । जब मैले उसलाई आँखा जुधाएर हेरें, उसलाई आफ्नी स्वास्नी बनाई छाड्ने चाहना भयो मलाई, चाहे ममाथि चट्याङ नै किन नपरोस । यही एक विचारले मेरो दिमाग भरियो । यो तीब्र यौन इच्छा मात्र थिएन, जस्तो कि तपाईंलाई लाग्न सक्छ । त्यो बेला यदि ममा यौन इच्छा बाहेक अरु इच्छा नभएको भए म उसलाई धकेलेर भाग्ने थिएँ । त्यसो भएको भए त मैले आफ्नो तरवारलाई रगतले रंगाउनु पर्ने थिएन । तर जब मैले उसको अनुहारलाई त्यो अँध्यारो झाडीमा नियाँलेर हेरें तब मैले त्यसको लोग्नेलाई नमारी नहिंड्ने निश्चय गरें ।
तर मैले उसलाई मार्न अनुचित तरिका अपनाइनँ । मैले उसलाई बाँधेको डोरी खोलिदिएँ र मसँग तरवार जुधाउन भनें । (देवदारको फेदमा भेटिएको डोरी त्यो बेला मैले त्यहाँ छोडेको डोरी हो ।) रिसले चूर भएर उसले आफ्नो बाक्लो तरवार निकाल्यो । तुरुन्त दिमाग चलाउँदै, एक शब्द नबोली ऊ ममाथि भयानक किसिमले आइलाग्यो । हाम्रो लडाईं कस्तो भयो मैले भनिरहनु पर्दैन । तेइसौं प्रहार … कृपया यसलाई सम्झिनुस । यो कुराले मलाई अझै प्रभावित पार्छ । यो धर्तीमा कसैले पनि मसँग बीस चोटीभन्दा बढी तरवार टकराएको छैन । (प्रसन्न मुस्कान ।)
जब ऊ ढल्यो, म त्यस केटीतिर फर्किएँ, रगत लागेको तरवार तलतिर झार्दै । तर आश्चर्य, ऊ त गइसकिछे । कहाँ भागी होला भनेर मैले निकै सोचविचार गरें । देवदारको झाडीमा खोजें मैले त्यसलाई । कान ठाडा पारेर सुनें, तर मर्दै गरेको मान्छेको घिच्रोबाट निस्केको पीडाको आवाज मात्रै आइरहेको थियो
मैले त्यो मान्छेसँग तरवार भिडाउन थाल्ने बित्तिकै त्यस केटीले कसैको मद्दत माग्न भनेर जंगलको बीचै-बीच भागेको हुनुपर्छ । जब मैले त्यस्तो सोचें, यो त मेरो जीवन-मरणको स्थिति हो भन्ने पक्का भयो मलाई । त्यसैले मैले त्यस युवकको तरवार, तीर र धनुष लिएँ र पहाडको सडकतिर दौडिएँ । त्यहाँ उसको घोडा अझै पनि आनन्दले चरिरहेको देखें । त्यसपछि के के भयो भन्ने वर्णन गर्नु भनेको शब्द खर्चिनु मात्र हो । तर, शहर पस्नुअघि नै म तरवारबाट अलग भैसकेको थिएँ । मेरो स्वीकारोक्ति यत्ति नै हो । मलाई थाहा छ मेरो टाउको जन्जीरले बाँधिनेछ, त्यसकारण मलाई जतिसक्दो धेरै सजाय दिनुहोस । (अवज्ञापूर्ण हाउभाउ ।)
शिमिजु मन्दिरमा आएकी महिलाको स्वीकारोक्ति
त्यो रेशमी नीलो किमोनो लाएको मान्छेले, मलाई ऊतिर जान बलजफ्ती बाध्य पारेपछि, बाँधिएको मेरो लोग्नेलाई हेरेर उपहास गर्दै हाँस्यो । मेरो लोग्ने कस्तो भयभीत भएको थियो होला त ! तर उसले पीडामा जतिसुकै कोशिश गरेपनि, डोरी उसको जीउमा झन गाडिएर कसियो । मेरो त्यसो अवस्था हुँदा पनि म हुत्तिंदै ऊ भएतिर गएँ अथवा दौडिने कोशिश मात्र गरेकी थिएँ, तर त्यो मान्छेले मलाई धकेलेर लडाइदियो । ठ्याक्कै त्यही बेला मैले मेरो लोग्नेको आँखामा एउटा वर्णन गर्न नसकिने किसिमको ज्योति देखें । व्यक्त गरेर भन्नै नसकिने ! उसको आँखाले मलाई अहिले पनि सिरिङ्ग बनाउँछ । एकै शब्द बोल्न नसक्ने स्थितिमा रहेको मेरो लोग्नेको ततक्षणको त्यो हेराइले मलाई उसको मनभित्रको कुरा भन्यो । उसको आँखाको त्यो चमकमा रिस पनि थिएन, दुःख पनि थिएन … खाली एउटा चीसो किसिमको तेज थियो त्यो- अनिच्छा जनाउने हेराइ । डाकाको धक्काले भन्दा पनि अझ बढी म उसको हेराइले आहत भएकी थिएँ । त्यहाँ आफू एक्लै थिएँ र पनि मैले गुहार मागेर कराएँ र त्यसपछि बेहोस भएर लडें ।
पछि त मैले के थाहा पाएँ भने त्यो नीलो रेशमी लुगा लाएको मान्छे गैसकेछ । मेरो लोग्ने मात्रै अझै पनि देवदारको फेदमा बाँधिएको अवस्थामा थियो । बाँसका पातहरुमा म मुश्किलले उठेर उभिएँ र उसको अनुहारमा हेरें । तर उसको आँखाको हेराइ अझै पनि अघिकै जस्तो थियो ।
उसको आँखाको चीसो तिरस्कारको तहभित्र घृणा थियो । लज्जा, वेदना र क्रोध … त्यस बेला मेरो मनमा के गुज्रेको थियो त्यो म कसरी वर्णन गरूँ ? लडखडाउँदै म मेरो लोग्नेको नजिक गएँ ।
“ताकेजिरो,” मैले भनें उसलाई, “परिस्थितिको यस्तो मोडमा आइपुगेपछि, अब म तिमीसँग बस्न सक्दिन । मैले मर्ने निर्णय गरिसकें … तर तिमीले पनि मर्नु पर्छ । तिमीले मेरो लज्जा देखिसक्यौ । तिमीलाई म जिउँदो अवस्थामा छोड्न सक्दिन ।”
मैले यत्ति नै भन्न सकें । अझैं उसले मलाई घृणा र तिरस्कारले हेरिरह्यो । भाँचिएको हृदय बोकेर मैले उसको तरवार खोजें । पक्का पनि तरवार त्यही डाकाले लागेको हुनु पर्छ । त्यो झाडीमा उसको तरवार, तीर, धनुष केही भेटिएन । तर भाग्यवश मेरो आफ्नै सानो तरवार मेरै खुट्टानेर रहेको देखें मैले । उसको टाउकोमाथि तरवार उज्याएर मैले फेरि एकपल्ट कराएर भनें, “ल अब तिम्रो आफ्नो प्राण देउ मलाई । अनि त म तुरुन्तै तिमीलाई पछ्याउँदै आइहाल्छु ।”
मैले त्यसो भनेको सुनेर उसले आफ्नो ओठ अप्ठ्यारोसँग चलायो । तर उसको मुख पात ठुसेर बन्द भएकोले उसको आवाज एकरति सुनिने कुरै भएन । तर एकै झलक हेर्दा मैले उसको कुरा बुझिहालें । उसको घृणायुक्त हेराइले उसले यति मात्र भनिरहेको थियो- “मलाई मार।” न त चेत, न त अचेतको अवस्थामा, मैले सानो तरवाले प्याजी रंगको किमोनो छेडदै उसको छातीमा प्रहार गरें ।
यसबेला फेरि म पक्कै बेहोश भएँ । उठेर हेर्न सक्ने अवस्था सम्ममा उसले आफ्नो अन्तिम सास लिइसकेको थियो र अझै पनि बन्धनमै थियो । देवदार र बाँसको झाडीबाट छिरेर आएको अस्ताउँदो घामको रेखाले उसको पहेंलो अनुहार टल्किएको थियो । आफ्नो हिक्क हिक्क रुवाइलाई निल्दै मैले उसको शरीरबाट डोरी खोलिदिएँ । अनि … त्यसपछि मलाई कस्तो भएको छ त्यो मैले तपाईंलाई भन्न सक्ने सामर्थ्य ममा छैन । जे होस्, ममा मर्न सक्ने सामर्थ्य पनि थिएन । त्यो सानो तरवारले मैले मेरो घिच्रोमा हानें, पहाडको फेदमा रहेको तलाउमा हामफालें, र अनेकौं तरिकाले मैले आफूलाई मार्ने कोशिश गरें । आफ्नो जीवन अन्त्य गर्न नसकी म अझै बदनामीमा बाँचिरहेकी छु । (एकाकी मुस्कान) म जस्तो बेकार मान्छेलाई त महादयालु क्वानोन देवीले पनि परित्याग गरिदिएकी होलिन् । मैले मेरो आफ्नै श्रीमानलाई मारें । ममाथि डाकाले दुराचार गर्यो । म के गर्न सक्छु र ? म के … के … के … (अलिअलि गर्दै भयंकर रोदन ।)
एउटा श्रोतले बताए अनुसारको मृतकको कथा
मेरी श्रीमतीलाई बिगार गरिसकेपछि, त्यो डाकाले उनको छेउमा बसेर सहानुभूतिका शब्द बोल्न थाल्यो । म आफू बोल्न नसक्ने स्थितिमा थिएँ । मेरो पुरै शरीर देवदारको फेदमा कसेर बाँधिएको थियो । तर त्यसै बेला मैले उनलाई धेरै पल्ट आँखा झिम्क्याएर इशारा गरें, ‘डाकाको कुरा नपत्याउ’ भन्दै । त्यस्तो अर्थ लागोस भन्ने चाहना थियो मेरो । तर मेरी स्वास्नी निरास भई बाँसका पातमा बसेर, आफ्नो काखमा नियाँलेर हेर्दै थिई । हेर्दा प्रष्टै बुझिन्थ्यो कि ऊ त्यसको कुरा सुन्दै थिई । म ईर्ष्याले तडपिएँ । त्यसैबेला डाकाले चतुरतापूर्वक एकपछि अर्को विषयमा बोल्न जारी राख्यो । आखिरीमा डाकाले आफ्नो निर्लज्ज प्रस्ताव राख्ने आँट गर्यो । “तिम्रो ईज्जतमा दाग लागिसकेपछि, तिमी आफ्नो लोग्नेसँग मिलेर बाँच्न सक्दिनौ, बरु तिमी मेरी स्वास्नी हुन्नौ ?” तिमीप्रति मेरो मायाको कारणले गर्दा नै म यस्तो हिंसक भएको हुँ ।
जब त्यो अपराधि बोल्दै थियो, मेरी श्रीमतीले नशामा लट्ठ परेको जस्तो गर्दै टाउको उठाई । त्यो क्षणमा जस्ती राम्री त उ कहिल्यै देखिएकी थिइन । म त्यहाँ त्यसरी बाँधिएर बसेको बेला मेरी राम्री स्वास्नीले उसलाई उत्तरमा के भनी ? म त्यसबारे रनभुल्लमा छु, तर मैले उसको उत्तरबारे सोच्दा जहिले पनि रीस र ईर्ष्याले जलेर मात्रै सोचेको छु । साँच्चै उसले भनी, … “त्यसो हो भने, तिमी जहाँ जान्छौ, मलाई पनि लैजाउ ।”
उसको पाप यति मात्र होइन । यति मात्र भैदिएको भए त म अन्धकारमा यति बिधि तडपिने थिइनँ । जब ऊ त्यो झाडीबाट निस्केर जाँदै थिई, सपना जस्तै, आफ्नो हात त्यो डाकाको हातमा राखेर, ऊ अचानक पहेंली भई र देवदारको फेदमा बाँधिएको मलाई औंल्याउँदै उसले भनी, “उसलाई मार !” उसले बहुलाई जस्तो गरी धेरै चोटी कराएर भनी । अहिले पनि त्यो शब्द सम्झिंदा मलाई आफू अन्धकार पातालको गहिराइमा उँधोमुन्टो धकेलिएको जस्तो लाग्छ । यस्तो घृणित शब्द कुनै मनुष्यको मुखबाट त्यसभन्दा पहिले कहिल्यै निस्केको होला त ? यस्तो पापी शब्द त कसैको कानले सुनेकै थिएन, एकै चोटी मात्र पनि त्यसअघि कसैले सुन्नु परेको थिएन ! हो, एकै चोटी पनि … (अकस्मात घृणाको चित्कार ।) ती शब्दहरुले त त्यो डाका समेत पहेंलो भयो । “मार त्यसलाई,” मेरी स्वास्नीले डाकाको पाखुरामा समाएर टाँसिदै कराएर भनी । उसलाई गहिरिएर हेर्दै डाकाले न त ‘ल’ भन्यो, न त ‘नाईं’ भन्यो । तर, मैले डाकाको जवाफबारे अलि गम्न नपाउँदै उसले मेरी स्वास्नीलाई धकेलेर बाँसका पातहरुमा खसालिदियो । (फेरि घृणाको चित्कार ।) सुस्तसँग आफ्ना पाखुरा खुम्च्याएर खप्टिंदै, उसले मतिर फर्केर सोध्यो, “तँ यसलाई के गर्छस ? मार्न भन्छस कि छोडिदिन्छस ? तैंले टाउको मात्रै हल्लाए पुग्छ । मारिदिउँ म यसलाई ?” उसका ती शब्दहरुको बदलामा म त्यस डाकालाई उसको अपराधबाट माफी दिन चाहन्छु ।
जब मलाई के गरुँ वा नगरुँ भयो, ऊ चिच्याउँदै भागी र जंगलको अन्धकारमा हराई । डाकाले तुरुन्तै लम्किएर समाउन खोजेको त हो, तर उसले त्यसको बाहुला समाउनै भ्याएन ।
ऊ भागेपछि डाकाले मेरो तरवार र मेरो तीर-धनुष लियो । एकै चोटीमा उसले मेरो बन्धन चट्ट काटिदियो । उसले मसिनो गरी “अब अगाडि मेरो भाग्य” भनेको म सम्झिन्छु । त्यसपछि ऊ त्यो झाडीबाट गायब भयो । त्यसपछि पुरै सन्नाटा मात्र बाँकी रह्यो । होइन, मैले कोही रोएको सुनें । मेरा बाँकी बन्धनहरु फुकाउँदै, मैले ध्यान दिएर सुनें र देखें- त्यो त मेरो आफ्नै रोदन पो रहेछ । (लामो सन्नाटा ।)
मैले मेरो थाकेको शरीरलाई देवदारको फेदबाट उठाएँ । मेरो अगाडि मेरी स्वास्नीले खासलेर छोडेको सानो तरवार टल्किरहेको थियो । मैले त्यो उठाएँ र आफ्नो छातीमा प्रहार गरें । रगतको खोलो उचालिएर मेरो मुखमा पुग्यो, तर मलाई पीडा महसूस भएन । जब मेरो छाती चीसो हुँदै गयो, सबै कुरा चिहानमा पुरिएको मृतक जत्तिकै शान्त हुन पुग्यो । कस्तो गहिरो नीरवता ! पहाडको खोल्चोस्थित झाडीको त्यो मृत्यु स्थलमाथिको आकासमा चराले कराएको अलिकति आवाज पनि सुनिएन । देवदार र पहाडहरुमा एउटा एक्लो प्रकाश मात्र यताउता हल्लिरह्यो । बिस्तारै बिस्तारै त्यो प्रकाश पनि धमिलो धमिलो हुँदै गयो र देवदार र बाँस पनि दृश्यबाट ओझेल भयो । त्यहीं सुतेको सुत्यै, मलाई गहिरो शान्तिले घेर्यो ।
त्यसपछि कोही घस्रिंदै मेरो नजिक आयो । को हो भनी मैले हेर्ने कोशिश गरें । तर मेरो वरिपरि अन्धकार जम्म्मा भइसकेको थियो । कसैले … कसैले अदृश्य हातले मेरो छातीबाट तरवार सरक्क तानेर निकाल्यो । त्यसै बेला फेरि एकपल्ट रगत बगेर मेरो मुखमा पस्यो । र, त्यसपछि म शून्य आकासको अन्धकारमा सँधैको लागि घुलेर बिलाएँ ।
(रियोनोसुके आकतागवा (१८९२-१९२७) एक प्रसिद्ध जापानी लेखक हुन्, जो आफ्ना कथाहरूमा मनोवैज्ञानिक अन्तर्दृष्टि र अँध्यारा विषयहरू समावेश गर्नका लागि प्रख्यात छन् । “झाडीमा” शीर्षक दिइएको यो कथा आकतागवाको अंग्रेजीमा अनुवादित कथा In a Grove को नेपाली अनुवाद हो । यस कथामा आकुतागवाले एक सामुराइको हत्याबारे धेरै दृष्टिकोणबाट गरिएका विरोधाभासी व्याख्याहरू प्रस्तुत गर्दै सत्यको सापेक्षताको अन्वेषण गरेका छन । प्रत्येक पात्रको संस्करण अरूसँग विरोधाभासी छ, जसले वास्तविकताको व्यक्तिपरक प्रकृतिलाई र मानव धारणाहरूको जटिलतालाई उजागर गर्दछ । यो कथाले सत्यको अनिर्धारित प्रकृतिलाई उजागर गर्दै व्यक्तिगत कथनहरूको विश्वसनीयतालाई चुनौती दिन्छ । अनुवादक- अतुल पोखरेल )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

