….

पत्ता लाग्यो – चर्चित उत्तेजना क्षेत्र त्यही हो जहाँ सुन्तली बसेकी थिई । जलपानादि सिध्याई घटनास्थलमा पुगें । त्यस बखत त्यहाँ उत्तेजना नरहे पनि एउटा संक्षिप्त हूल भने छँदै छ । दुई पक्षका तर्काग्रह साहै बलवती र नितान्त चर्कै थियो । बङ्गालीहरूमध्ये एउटा सुदर्शन युवक र आइमाईमा सुन्तली नै मुख्य पक्षाग्रही वक्ता-प्रवक्ता थिए । सुन्तली कराउँदै थिई- म बङ्गाली हुँ र ? कसले मलाई बङ्गाली भन्न सक्छ ? अनुहार छोडौं, मजस्तो नेपाली बोल्ने कुनै बङ्गाली हुन सक्छे ? म यतिकी गोरी छु, सारा बङ्गाली काला नै हुन्छन्, म बङ्गालिनी, कस्तो कुरा… अझ मेरो नाउँ पनि फेरेको, केरे, सुषमाबाला र म बालाबाली हुँ र । सुन्तली भन्ने मेरो नाउँ, सुन्तली पो त, सुषमाबालादेवी रे ! इत्यादि… ।

त्यही क्रममा बङ्गालीको चिच्च्याहट थियो – आमरा बङ्गालका जम्मै आइमाई काला हुन्छन्, कोले भन्छ ? कालकाता शहर हेर, जम्मै ब‌ङ्गाली नारी कस्ताकस्ता गोरी छन् । नेपाली भाषा अभ्यास गरे मैले पनि नेपालीले भन्दा राम्रो बोल्न सक्छु, यो कुनै ‘प्रमाण’ हो र ? अनुहारको बनोट पो हेर्नुपर्छ । यसको अनुहार, कोले भन्छ- बङ्गालीकै अनुहार होइन ! यो सुषमाबाला हो, मेरी स्वास्नी ।

कालकाताबाट भागेर आएकी… इत्यादि ।

घुइँचो पछिल्तिर उभेको ममाथि सुन्तलीको दृष्टि परेको छैन । अझ उपस्थिति जतिचाहिँ निकै नै भावादेशमा रहेकोले तर्कग्रस्त त्यस हूललाई ती दुई जनालाई बाहेक अरू कतैतिर हेर्ने फुर्सतै छैन । सारा दृष्टि त्यहीँ केन्द्रित छन् । सुन्तली चिच्च्याउँदै छ- म बङ्गालिनी होइन । सुन्तली हुँ । निक्खर नेपाली… निक्खर… ।

सहन सकिनँ, के भएर होला पछिल्तिरबाटै मैले पनि कराएँ- ‘यो सुन्तली हो सुन्तली ! म चिन्छु, चिन्नु के, यो त मेरै गाउँकी केटी हो । हाम्रो नेपालको स्याङ्जा नवडाँडा गाउँकी केटी ! सुन्तली नै यसको नाउँ हो । जस्तो लुगा लगाए पनि चिन्छु नै, यो सुन्तली हो…।’

घुइँचोको अनुहार मतिर फर्केको छ । सुन्तलीले पनि मलाई हेरी । ऊ अकमक्क भएकी छ । तर निमिषपछि नै यो कस्तो जादू… ! नितान्त साहस र एउटा कठोर दृढ अनुहारसाथ सुन्तलीले पाइलो अगाडि सारेर त्यस सुदर्शन ब‌ङ्गालीको हात समाती । निर्वाक् भएँ । घुइँचो पनि स्तम्भित भएको छ ।

लौ जाऔं, सारा जाऔं ! म बङ्गालिनी हुँ, बङ्गालिनी नै हुँ । मेरा यी मालिकले भन्नुभएको नै मेरो नाउँ हो – सुषमाबालादेवी ! हाम्रो झगडा सकियो । सारा जाऔं, जाऔं ! अब कसैको यहाँ कुनै काम छैन । जाऔं…।

सुन्तलीले त्यस युवकलाई तान्दै आफ्नो कोठाभित्र लगी र ढोका पनि ढ्याम्म थुन्दिई । घुइँचो पनि स्तब्धजस्तै भयो । तर निमिष मात्र बित्दानबित्दै सारा ‘गल्ल’ हाँसे । अनि अनौठो भावानुहारसाथ यताउति छित्रिन पनि थाले र क्रमशः शहरको भीडमा मिसिए, बिलाए । म पनि परम हतबुद्धि, निर्वाक् मूढ गोज्याँग्रे भएको छु, छिटछिटै भनूँ दगुर्दै होटेलतिर लागेको छु । मगजमा त्यही हल्ला, घुइँचो, साराका सम्मिलित ध्वनि, चिच्च्याएकी सुन्तली । त्यसपछिको अप्रत्याशित जादू मात्र घुमिरहेको छ ।

होटेलको आफ्नो रूममा पुगी लडें । लन्च पनि लिइनँ । तिर्खा भोक जम्मै अपहृत छन् । मनभित्र त्यही दृश्य घुमीघुमी उदाउँदै, बिग्रँदै  गएको छ र क्रमिकता पाउने क्षमतालुप्त मन कत्तिको अस्थिर छ, भन्ने सामर्थ्य छैन । यस्तो मनस्थितिको कुनै पूर्वपरिचय नै कहाँ थियो ?

बेलुकीतिर होटेलको एक जना मानिसले एउटा केटोलाई मेरो कोठाअगाडि उभ्याएर हजुरलाई खोज्दै छ भनेर गयो । केटोले एउटा सानो पुर्जा दियो- सुषमा दिदीले हजुरलाई दिन पठाउनुभएको छ । सानो कागतको टुक्रामा पेन्सिलले लेखिएको थियो- मेरो व्यवहारमा रिसाउनु पर्दैन शिवू, केही परेरै मैले त्यसो गरेकी हुँ । कलकत्ता जाने तर्खर हुँदै छ । तलको ठेगानामा जहाँ रहन्छौ आफ्नो ठेगाना लेखी पठाऊ, अनि लेख्नेछु । मुन्तिर कलकत्ताको एउटा ठेगाना लेखिएको थियो । पत्र पाएपछि आफूलाई केही स्वस्थ पार्न समर्थ भएँ । केटोलाई दुई रुपियाँ दिएर भोलि फेरि मसित भेट्ने कुरा भनी पठाएँ ।

भरदिन भोकै अलस भावसाथ ओछ्यानमा नै लडिरहेँ । मानसिकतामा केके घुमिरह्यो, कुनै प्रस्ट, तारतम्यसंयुक्त कथा वा शृङ्खलापूर्ण विचारधारा छैन । मानिसलाई निर्विचारको वैचारिकताले यसरी व्यस्तत्रस्त पार्न सक्छ, कुनै पूर्व अनुभव थिएन । केवल साँझलाई पर्खिरहेँ । लडेरै पर्खिरहेँ । धेरै थकाइ लागेपछि अवश्यमेव एक-दुई पटक चिया खाएँ । चिया खान लाग्ने समयसम्म केही त्रासजस्तोको अनुभूति पनि पाएको इन्कारी गर्नै सकिनँ ।

साँझ पर्नै आँटेको थियो । दार्जीलिङको रमझम यसै बखत जवान हुन्छ । मालरोडका पसल, घुमन्तेहरूको घुइँचो, होटेलहरूमा चलिरहेका अङ्ग्रेजी गीत र अर्केस्ट्रा इत्यादिका कल्पना भए पनि चिन्तनान्तरमा त्यही बिहानको दृश्य छ । सुन्तलीको चिठी ल्याउने केटोलाई पर्खंदै छु ।

केटो आयो । आफूलाई र उसलाई खान भनी चिया ल्याउन भनेँ र अलि स्वस्थ भएर बसें र चिया आएपछि हामी दुवै खान थाल्यौँ एकछिनपछि सोधें, ‘तिम्री सुषमा दिदी कलकत्ता गइन् कि ?’

‘अहिले यहीँ हुनुहुन्छ । भोलिपर्सि मात्रै जाने ।’

‘त्यो बङ्गाली कहाँ छ, सुषमासँगै बसेको छ कि कतै अन्त बसेको छ ?’

‘त्यो त कोठाबाहिर निस्कँदै निस्कँदैन । बरु चाहिएको बखत सुषमा दिज्यू नै बाहिर आउँछिन्, किनमेल गर्छिन् । उसको र आफ्नो लागि समेत खानेकुरा नजीककै होटेलबाट मगाएर खान्छिन् ।’

‘होटेलमा खानेकुरा ल्याउने अर्डर दिन को जान्छ ?’

’मलाई नै पठाउनुहुन्छ । सुष्मा दिदीले मलाई साह्रै माया गर्नुहुन्छ । उनको जम्मै काम मैले नै त गरेको हुँ !’

‘होइन, एउटा कुरा भन त, तिम्री सुष्मा दिज्यूले किनमेल गर्न पैसा कहाँबाट पाउँछिन् ?’

‘लौ त, सुष्मा दिदीलाई के भन्ठान्नुभएको छ ? पैसाको खाँचो उहाँलाई भए अरूहरूलाई परिआएको बखत उधारो, सापटी कसरी दिनुहुन्थ्यो । अझ कतिलाई त त्यसै पनि दस-पाँच रुपियाँ दिनुहुन्छ ! तिमीलाई पनि दिन्छिन् कि ?’

‘अस्ति नै मलाई लुगा हाल्दिनुभयो । मलाई साह्रै माया गर्दिनन् त ? मैले पनि उहाँले अह्राएको कुनै काम नगरी छोड्दैछोड्दिनँ ।’

‘ए, त्यसो भए तिम्री सुष्मा दिदी दानी पनि छिन् क्यारे ! एउटा अर्को कुरा सोधूँ, ठीकठीक बताउँछौ कि ?’

केटोले केही नभनेर स्वीकृतिसूचक टाउको हल्लाएपछि सोधें, ‘त्यो ठाउँ त बडो खराब ठाउँ हो रे, सुन्दछु । त्यहाँका आइमाई जम्मै खराब काम गर्छन् रे, त्यसैले पैसा कमाउँछन् । यो कुरा ठीक हो कि ?’

एकछिनसम्म केटोले मेरो अनुहार नियाल्यो र उठ्ने उपक्रम गर्दै अलिक तीखै गरी भन्यो, ‘तपाईं ठीक मानिस हुनू क्यारे ! मेरी सुष्मा दिज्यूलाई कुन्नि के भन्ठान्नुभएको छ । त्यस टोलमा तर हामी पनि बसेका छौं । हामी खराब काम गर्छौं त ? मेरी आमाले राढी, पाखी, गलैँचा बनाएर कमाउनुहुन्छ । अरूहरू पनि कोही दर्जी काम, कोही म्यासिनको कारखानामा काम गर्छन् । सबै त त्यस्तै छैनन् नि । दुई-चारवटी होलान् । तर मेरी सुष्मादिज्यू त्यस्ती त कहाँ छिन् ?’

यति भनेर ऊ उठ्यो । अनि मैले उसको कुम समाती बसाल्दै भनेँ, ‘त्यसो भनेको होइन भाइ, तिम्री सुषमादिज्यूलाई मैले पनि चिनेको हुँ । मैले त त्यस टोलकाहरूबारे मात्रै सोधेको थिएँ । पख, चिया मगाउँछु, अनि खाएर जाऊ । केही खाने कुरा पनि खान्छौ कि ?’

भित्तामा जडान भएको बल थिचेर बेयरालाई बोलाएँ र केही खानेकुरा, चियासमेत ल्याउने आर्डर दिएँ । बेयरा गएपछि पनि हामी चूप नै बसिरह्यौं । एकछिनमा नै चिया, टोस्ट र फुलसमेत आएपछि ट्रे तानी केटोलाई केही खाने कुरा छुट्टयाएर एउटा प्लेटमा दिएँ र चिया पनि तयार पारेर एक कप उसलाई दिई आफू पनि खान थालेँ । हामी दुवै चूप नै थियौँ । केटो उत्तेजित जस्तै भएको लख काटिसकेको हुनाले खाउन्जेल मैले कुनै कुरा गर्ने कोसिस गरिनँ । खाइसकेपछि ट्रे कुनातिर सार्दै भनें, ‘तिमी अब जान्छौ भने जाऊ । फेरि कुनै बखत आउँछौ कि ?’

‘सुष्मादिज्यूले पठाए आउनैपर्छ नि ।’

‘अँ, त्यो बङ्गाली अब कहिले जान्छ, थाहा छ ?’

‘किन जान्छ ? सुष्मादिज्यूले भनेकै छिन् त्यो उहाँको लोग्ने हो । कलकत्तामा बिहा भएको र खालि रिसाएर मात्रै सुष्मा दिदी यहाँ आउनुभएको थियो । अब त दुवै जनामा मेलमिलाप भयो नि । दुवै सँगसँगै कलकत्ता जान्छन् ।’

‘तिनीहरू गइसकेपछि पनि तिमी मकहाँ आऊ है । अहिले चार-छ दिन म यहीं बस्छु । आउँछौ त ?’

उत्तरमा स्वीकृतिसूचक टाउको हल्लाई ऊ गयो । म पनि अलिक शान्तिको जस्तै अनुभव गर्न थालें । केही छिनसम्म म फेरि लडें, अनि रात पर्न थालेपछि तयार भई चौरस्तातर्फ निस्कें ।

अर्को दिन बेलुकीपख मात्रै त्यो केटो आयो । दिउँसो किन आएनौ भनी सोद्धा उसले ‘सुषमादिज्यू जान थालिन्, भोलि बिहानै ट्याक्सीमा सिलीगुडी जाने, अनि कलकत्ता पुग्ने । उनैसँग केही किनमेल गर्नुपर्यो । हजुरलाई दिन एउटा चिठी लेख्नुभएको छ । दिउँसोभरि चिठी नै लेख्नुभयो । अनि मात्र अहिले आउन पाएँ’, भनेर एउटा खाम मलाई दियो ।

खाम खोली पत्र झिकें, लेखेको थियो- ‘शिवू, कलकत्ता जान थालें, भोलि बिहानै ट्याक्सीमा जानेछु । दार्जीलिङ आएकी थिएँ त्राण पाउन भनेर । दुर्भाग्यले त्यो भेट्टाइनँ । अवश्यमेव यहाँ एउटा सौभाग्य भेट्टाएँ- तिमीसित भेट भयो । शान्ति र सुख पनि केही पाएँ, मलाई बिर्सेका छैनौ र कदाचित् घृणा पनि गरेका छैनौ । घृणा गरेकै भए यस ‘अनिल’ सित मेरो खर्च इत्यादि के गरी चलेको छ भन्ने कुरासम्म पनि सोद्वैनथ्यौ । यस बदनाम टोलमा बसेर म पनि त्यस्तै वेश्या पेसामा लागेकी छु कि सम्झेर सोधेको होलाऊ । तिम्रो यस अनुमान पर्यन्तमा पनि रीस उठ्न सक्छ । तर रीस उठेन । कारण बुझ्न सक्तैनौ, त्यति बुद्धि शायद छैन होला । तर मैले सम्झें । फुँडी नै भन्ठानेको भए त्यो कुरा नै सोध्ने थिएनौ । खर्चपर्च के गरी चल्ने कुरा स्वतः अनुमानसिद्ध हुन्थ्यो । तर शिवू तेरो मनले मलाई त्यस रूपमा परिकल्पित गर्न नसकेरै त्यस्तो प्रश्न तँमा उठेको सम्झन नसकिने त होइन नि ! म भए पनि आइमाई हुँ, जात मेरो ‘आमा’ को हो । हेर न,  यही नै होला यस चिठीको प्रारम्भ तँलाई ‘तिमी’ भनेर गरे पनि त्यो चलेन । अन्ततः आयो त्यही ‘शिवू’ नै । शिवशङ्कर अधिकारी उभिरहन सकेनन् जम्मै कुरा हतपतमा लेख्न सक्तिनँ । अझ यो चिठी लुकाई लेखेकी हुँ । तर यति कुरा नसम्झाई मनै मानेन, मेरी कलकत्ताकी आमाले प्रारम्भदेखि नै यसले धनको रक्षा गरे मेरो नारीत्वको रक्षा गरेको कुरा भनेकै हुँ, त्यो किन बिर्सिस् । उनले मेरो बिहा गराएकी थिइन् । पात्र भने यही बङ्गाली हो, देखी पनि सकिस् । प्रश्न होला, यसलाई छोडेर दार्जीलिङ किन आएँ, कसरी पुगेँ । त्यो लामो कथा छ, लेखिसाध्य छैन, अझ यस्तो परिस्थिति र हतपतमा ! अहिले यत्तिकै भन्नेछु । अब तँ पनि दार्जीलिङ छोड् । यहाँ नबस् । यहीँ बसिरहेको तेरो कल्पना मेरो लागि धेरै दु:ख दिने हुन्छ । कुरा बुझ्छस् वा बुझ्दैनस् भन्न सक्तिनँ । कोशिश गरे नबुझिने कुरा होइन । अलग्गै गएर त्यहाँको आफ्नो ठेगानामा लेख् । मलाई चिठी लेख्ने ठेगाना अस्ति लेखिपठाएकै हुँ । भोलि यो दार्जीलिङ छुट्नेछ, यो पहाडी प्रदेश छुट्नेछ । पुग्नेछु त्यही मानिसहरूको वन कलकत्ता शहरमा । भो अब लेख्तिनँ ।

सुन्तली : होइन त ? :

पत्र पढी केही अबेलासम्म चूप नै बसिरहनुपर्यो । केटो पनि चूप साथै बसिरह्यो । त्यत्तिकैमा ढोकाबाहिर उभिएर बेयराले ‘चिया ल्याउनुपर्छ कि ?’ भनेर सोध्यो । स्वीकृतिसूचक टाउको मात्र हल्लाएँ, अनि केटोसित सोधें, ‘तिम्रो नाउँ अनिल हो र ?’

‘हो ।’ उसले भन्यो ।

‘तर तिमी त बङ्गाली होइनौ, नेपालीको बङ्गाली नाउँ कसरी भयो ?’

‘किन, यहाँ त धेरै जना नेपाली बच्चाहरूको नाउँ अनिल, विमल, तुषार, प्रफुल्ल, प्रसन्न भनी राखिएका छन् । यी नेपाली नाउँ हुँदैनन् त ?’

‘हुन्छ, हुन्छ । तिम्रो अनिल नाउँ साह्रै मीठो छ । तिम्री सुषमादिदी भोलि गएपछि तिमीलाई सुन्ने लाग्दैन त ?’

केटोले केही भनेन । उसका आँखा रसाएका देखा परे । यता बेयराले चिया पनि ल्याइपुऱ्यायो ।

एक कप चिया अनिलतिर सारेर सोधें, ‘सुष्मा दिदीले तिमीलाई साह्रै माया गर्छिन् । होइन र ? आफ्नी सुष्मा दिदीको माया तिमीलाई पनि लाग्छ कि ?’  केटोले केही भनेन । उसका आँखाबाट आँसुका थोपा तप्कन थाले । मेरो मन पनि आर्द्र नै भएको थियो । तर आफूलाई समालेँ । मैले उसको आँखा आफ्नै रुमालले पुछेर भनें, ‘दु:ख नमान, तिमी मकहाँ आउँदै गर । सुष्माका कुरा हामी गर्दै गरौंला । भोलि सुष्मालाई ट्याक्सीमा चढाएर ऊ गइसकेपछि तिमी सरासर यहीं आऊ । यहीँ खानेकुरा खाऊ, हामी सँगै नास्ता गरौंला, चिया खाऔँला । आउँछौ त ?’

|

‘आउँछु, किन नआउनु ?’ भनेर केटोले आफूलाई स्वस्थ जस्तै पायो । चिया पनि खाइसिध्यायो अनि उठेर भन्यो, ‘अब म जाऊँ है त दाज्यू ! सुष्मादिज्यूले छिटै आउन भन्नुभएको छ ।’

अनिल गयो । जान थालेको उसको बाटोमा दृष्टिले भेटेसम्म उसैतिर आँखा अड्याई बसिरहेँ । एउटा हलुङ्गो चिसो सास अज्ञानमा नै फेरिन गएको जस्तो अनुभव भएर उठें तथा कैयन् बेकामका काममा आफूलाई लगाएँ ।

सुष्मासित अब भेट्ने अवसर आउँदैन । ऊ मानिसहरूको वन कलकत्ता शहरमा फेरि पुग्छे । त्यहीँ यस शिवशङ्कर अधिकारीजस्ताको कुनै जोर लाग्ने होइन । दार्जीलिङ भारतीय राज्य-प्रदेश भए पनि दार्जीलिङ शिलाङ भनौं असम इत्यादि ठाउँमा नेपालमा रहेजस्तै अनुभूति पाइरहने आफ्नै आफन्तहरू बसेको

अधिकारको स्वाभाविक मनोबल रहिरहन्छ । नेपाली त्यहाँ पराइ, नेपाली नै रहन्छ, अझ केही परिष्कृत नेपालीजस्तै । तर… तर कलकत्ता ? त्यो बिरानो मुलुक हो, बिरानाहरू मात्रैको घुइँचो त्यहाँ छ । नेपाली त्यहाँ केही होइन ।

शिलाङ आइपुगेको छु । कसैसित भेट्ने र कुनै नयाँ वातावरण सृजित गर्ने नयाँपनमा बस्न पाउनेसम्मको लागि पनि अनिच्छुक भएको छ भने एकतमासको कस्तोकस्तो भएको छ । अवश्यमेव बीचबीचमा मधेस तराईकी मेरी फुपूकी बिधुवा छोरी, दिदीको सम्झना हुन्छ, त्यस गृहपरिवारको सम्झना हुन्छ । यद्यपि धेरै दिनअघि आफ्नो बालखकालमा एक पटक मात्रै त्यहाँ गएको थिएँ । त्यहाँ दुई महिना बसेको र त्यस घरमा आफ्नो एउटा ठाउँ पनि दिदीनजीक सुरक्षित पारेका सम्झनाहरू अचेल यस ऐकान्तिक जस्तै मनोदशामा झिलिक्क गरी उदाउने चेष्टा गर्छ । तर त्यसतर्फ विचारचेतनाको कुनै प्रष्ट गति हुन पाउँदैन । घुमीवरी सुन्तलीकै सम्झना अगाडि आइपुग्छ । त्यही क्रममा कहिलेकाहीँ आफूले अनिललाई पनि सम्झिरहेको पाउँछु । त्यस केटोसँग केरो कुनै लगाब नभए पनि त्यसको निश्छल र सुन्तलीप्रतिको त्यसको एकोहोरो आत्मीयताको जुन परिचय पाएको हुँ, कदाचित् त्यसैले उसको निष्कपटताको लागि एउटा सम्मानजन्य स्नेह मभित्र सृजित भएको छ । उसको सम्झना निःसन्दिग्ध छ । अहिले ऊ यहीँ आइपुग्छ भनेजस्तै अनुभूति दिनमा दुई-चार पटक भएको अनुभव प्रस्टै छ । मनको यही स्थितिमा आज बिहानै म शिलाङ पुगेँ-पुगिनँ भन्ने निधो गर्न मलाई खोज्दै मेरो शिलाङको साथी आइपुग्यो ।

ओछ्यानैमा लडिरहेको थिएँ । उसको प्रात: दर्शन पाएर मन प्रसन्न भयो । स्वागतोच्चारण साथ उसलाई खाटमा नै बसालें । बस्ताबस्तै उसले भन्यो, ‘दार्जीलिङमा यतिका दिनसम्म केले बस्नुपर्यो ? छिटै आउने कुरा भनेको होइन ?’

‘बस्नैपर्यो । नबसी पनि भएन । बाध्यताजस्तै आइलागेको थियो ।’

अचम्मसाथ उसको प्रश्न भयो, ‘तिमीलाई कस्तो बाध्यता ? जम्मै कुरा भन न ।’

एकछिन चूप रहरै बस्नुपर्यो; अनि भनें, ‘बाध्यता नै भनूँ भने मलाई कसैले थुनेको वा शिलाङ फर्कन नदिने जोरजबरजस्ती गरेको वा गर्न सकेको थिएन । तर फुक्का पनि हुन सकिनँ । तर यी जम्मै कुरा अहिले भन्दिनँ, भन्ने जतिको मानसिक स्वास्थ्य पनि अहिले छैन । खालि यति मात्रै बताइदिन्छु- जुन आइमाई वा केटीका लागि दार्जीलिङमा त्यत्तिको उद्वेलन थियो, त्यो केटी हुन त हो नेपाली नै; तर त्यसको बिहा भएको थियो कलकत्ताको एउटा बङ्गालीसित र कुनै कारणवश अहिले त्यो लोग्नेको घर छोडी दार्जीलिङ आई बसेकी थिई । निकै दिनको मेहनतपछि पत्ता लगाएर त्यसको बङ्गाली लोग्ने पनि दार्जीलिङ पुगेर त्यसलाई आफ्नो घर कलकत्ता लान खोजेको थियो । उद्वेलन भने नेपालीहरूमा त्यसलाई लिएर उठेको थियो, खालि एउटा जातीय सेन्टिमेन्ट भने पनि हुन्छ । अन्तमा त्यस केटीले – म आफ्नो लोग्नेसँगै जानेछु भनेर जम्मै झगडा शान्त पारी र कलकत्ता गई । भन्नलाई कुरा भने यत्तिकै हो । तर…

‘तर यस विवरणका अन्तरालका कुरा नभनी त भएन, त्यो पनि भन न !’

भनेकै हुँ, अहिले ती सारा भन्ने मनस्थिति मेरो छैन । पछि कुरा गरौंला ।

मनस्थिति ठीक छैन । दार्जीलिङमा अनिलले ल्याइदिएको सुन्तलीको सानो चिठीमा लेखिएअनुसार उसको कलकत्ताको ठेगानामा मैले शिलाङ जाने र शिलाङमा चिठी पाउने आफ्नो ठेगाना लेखिपठाएको थिएँ । कुनै उत्तर आएको छैन । अहिले शिलाङमा पनि बस्न पट्यार लाग्न थालेको छ । त्यही पत्रको उत्तर मात्रै पर्खिबसेको छु ।

त्यस पहाडी क्षेत्रको मौसम पनि कुन्नि केले हो, अचेल पट्यारलाग्दो भएको छ । घाम पनि नलाग्ने, पानी पनि नपर्ने । साँझतिर शिलाङको प्रसिद्ध गोल्फ चउरतिर जाँदा पनि त्यत्तिको रमाइलो ठाउँ पनि उदास अनुहारसाथ पसारिदिएको मात्र देखा पर्छ । तर समय बिताउनु नै छ । सुन्तलीको पत्र नपाई शिलाङ छोड्ने त कुरा नै आउँदैन । दिनौंको प्रतीक्षा क्रमशः व्यर्थ हुँदै गएको छ ।

मैले पठाएको चिठी पन्ध्र दिनअघि नै पोस्ट भएको थियो । कलकत्तामा पुग्न दुई दिनभन्दा बढी लाग्ने कुरै छैन । बढ्तामा पनि सात दिनभित्रै उत्तर आइपुग्नुपर्थ्यो । तर पन्ध्र दिन बित्यो । जबाफ छैन । सुन्तली कुनै दुरवस्थामा पुगी कि ? आश‌ङ्का पनि लाग्न थालेको छ । यसै अवस्थामा चार दिन अझै बितेपछि अन्ततः उसको चिठी कलकत्ताबाट बिहान दश बजेतिर आइपुग्यो । खाम गहुँगै छ । पाउनेबित्तिकै खाम खोल्न भय लाग्यो । कुन्नि के होला । के-कस्तो परेको होला, कुन आपत्विपत्‌को कथा लेखिएको होला, अनेकौं अनुमान कल्पनाभित्रभित्रै रुमलिरहेको छ । चिठी एकातिर थन्क्याइदिएँ । घरभित्र गई एक कप चिया ल्याएर खान थालें । यस्तै आलटाल गर्दै गरेर दिउँसोको भोजन गरिसिध्याएर ओछ्यानमा पल्टें । अनि एकछिनपछि सिह्नानतिरको टेबुलबाट चिठी उठाएर खाम खोलें । प्रारम्भ यस्तरी छ –

शिवू, शिलाङबाट लेखेको पत्र पाएर त्यही ठेगानामा यो चिठी लेख्तै छु । चिठी लेख्नुमा निकै अबेला भएको छ । तैपनि मेरो चिठी नपाई तिमी शिलाङ छोड्दैनौ भन्ने विश्वास नै रहेकाले यति दिनपछि पनि यो पत्र शिलाङकै ठेगानामा पठाएको छु । पाएर उत्तर देऊ । अब शिलाङबाट कता लाग्ने विचार छ, त्यो पनि लेख । जहाँ जानेछौ, त्यहाँको पनि ठेगाना लेख्न कहिल्यै नबिर्सने कुरा सधैंभरिलाई सम्झाएको छु ।

दार्जीलिङको त्यस हूलमा तँलाई हेर्नेबित्तिकै मैले त्यस ‘बङ्गाली’ लाई मेरै लोग्ने भनी स्वीकार गरेको कुरामा तँलाई अचम्म लाग्नुसट्टा रीस पनि लाग्यो होला । उस बखत त्यस व्यवहारको अन्तःकुरा भन्ने समय थिएन । तर तेरो मन भित्रभित्रै क्रोध, क्षोभ र विवशले दुःख पाइरहेको कुरा एकछिनलाई पनि बिर्सेको छैन । तर दुःख लागेको छ र त्यसको उपकरण म नै हुँ वा भएकी थिएँ भने पनि माफ गरिदे ।

कुराचाहिँ प्रष्ट पार्दै छु ।

दार्जीलिङमा बस्न आएकी थिएँ त्राणको खोजीमा । यहाँ आइलाग्यो जातीय उपद्रव, मेरो, अनि मसँगै भएको लोग्ने, बङ्गालीले बिहा गरी लगेपछि केही दिनसम्म त आरामसाथ बसें । मेरी अभिभाविका आमा पनि आफ्नो कलकत्ताको निवास र व्यवसाय छोडी, कता लागिन् कता, थाहा छैन । केही दिनसम्म त उनको चिठी पाएकी थिएँ; तर यता कैयन् महीना भयो कुनै खबर पाइएन । जे भए पनि उनले मलाई गरेको माया र उनको स्याहारसम्भार नपाएकी भए अवश्यमेव म पनि नर्कको कीरा बन्ने थिएँ, कुहेर मर्ने पनि थिएँ । कहिलेकाहीँ आमाको सम्झनाले मनचाहिँ पीरले भरिभराउ हुन जान्छ । जे भए पनि म आश्वस्त छु, उनी कुनै न कुनै दिन मसित भेट्ने नै हुन् ।

* * * *