
एआईसँग हलिउड कति डराएको छ भन्ने उदाहरण “द ब्रुटालिस्ट” फिल्म बन्न पुगेको छ ।
ओस्कर अवार्डमा उत्कृष्ट चलचित्रको लागि दौडमा रहेको यो फिल्मको सानो दृश्यमा एआईको सदुपयोग गरेकोकामा केही कलाकार तथा प्राविधिक खुशी छैननन् । यस्तो लाग्छ, एआईप्रति उनीहरू आफैँ ब्रुटल छन् ।
पछाडि फर्केर हेर्ने हो भने, लर्ड अफ दि रिङ र किङकङजस्ता प्रख्यात फिल्मका निर्देशक पीटर ज्याक्सनले सन् २०२१ मा बीटल्सको डकुमेन्ट्री “गेट ब्याक” मा अडियो ट्रयाकहरू सुधार गर्न एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गर्दा यसलाई निर्देशकको उत्कृष्ट प्रयोग भन्दै उत्साहका साथ स्वागत गरिएको थियो ।
प्राविधिकहरूबाहेक अरूलाई यसको खासै मतलब थिएन । अहिले भने, अचानक “द ब्रुटालिस्ट” ले निर्देशक ब्रेडी कोर्बेटले एआईको प्रयोग गरेको कुरा बाहिर आएपछि यसलाई अस्कर अवार्डका लागि अयोग्य घोषित गर्नुपर्ने आवाज उठिरहेको छ ।
जसरी पीटर ज्याक्सनले बीटल्सको रेकर्डिङ सत्रबाट “पहिले प्रयोग गर्न नसक्ने अडियो सफा गर्न” एआई प्रयोग गरे, द ब्रुटालिस्टको फिल्म सम्पादकले एड्रियन ब्रोडी र फेलिसिटी जोन्सको हंगेरी संवादलाई “ट्विक” गर्न आवाज क्लोनिंग उपकरण, रिस्पीचर प्रयोग गरेका थिए । फिल्ममा एक आर्किटेक्चरल परामर्शदाताले पनि “ब्रुटालिस्ट-शैलीका भवनहरूको ड्रइङको श्रृंखला बनाउन” एआई चित्र उत्पादक मिडजर्नी प्रयोग गरे। यी प्रयोगहरू सानोतिनो जस्तो देखिन सक्छ, तर यसले मानव कलाकार र अभिनेता विस्थापित हुने सम्भावना भने देखाएको छ ।
दुई वर्षअघि हलिउडमा कलाकार तथा प्राविधिकहरूले हडताल गरेका थिए । सो हडतालका अन्य धेरै प्रावधानमध्ये एआईको प्रयोग सकेसम्म नगर्ने भन्ने थियो । तर यो फिल्मले सो सम्झौताको उल्लंघन गरेकोमा यसका विरोधीहरूले जोडतोडसँग कुरा उठाइरहेका छन् । मान्छेको रचनात्मकता र योगदानको रक्षा गर्न महिनौंसम्म हडताल गरेर, भोकभोकै संघर्ष गरेकामा एक झमटमा यो फिल्मले त्यसलाई बिर्सिइएको केहीको भनाइ छ ।
फिल्ममा एआईको प्रयोगले धेरैको जागीर खाइदिनेछ । हुन त, निर्माताहरू सधैं समयको वचत र लागतको कटौतीको पक्षमा हुन्छन् र एआईले त्यसका पक्षमा निकै ठूलो काम गरिरहेको छ । यसका बाबजुद पनि जागीर कटौतीमा नपारी कसरी एआईको सदुपयोग गर्ने भन्नेबारे हलिउडमा दुविधा बढिरहेको छ । पछिल्लो विवादले एकातिर सिर्जनशीलताको नयाँ बाटो पनि खुल्ने र अर्कोतर्फ हलिउडले कयौँको जागीर पनि खोस्ने दुविधालाई कसरी व्यवस्थित गर्ने भन्ने समस्या बढिरहेको यस घटनाले प्रस्ट्याएको छ ।
दर्शकलाई यी सारा झगडाको कुनै मतलब हुँदैन । उनीहरूले कहाँ एआई प्रयोग भएको हो, केही पत्तो पाउँदैनन् । यस्तो अवस्थामा दर्शकलाई केही मतलब हुँदैन । दर्शकलाई त फिल्म राम्रो बनेको हेर्न मन छ ।
तर समस्या के छ भने, हलिउडले व्यापक मात्रामा कर्मचारी, कलाकार र प्राविधिक कटौती गर्न चाहिरहेको छ । यही कारण उनीहरू तनावमा छन् र यो स्वाभाविक पनि हो । ज्यूँदा कलाकार हुँदाहुँदै उनीहरूलाई थोरै रकम दिएर आधारभूत काम गराउने र बाँकी सबै काम एआईद्वारा गराउने पक्षमा स्टुडियोहरू छन् । यसो गर्दा समयको वचत हुन्छ र ठूलो धनराशि जोगिन्छ । एक दिनकै सुटिङ खर्च लाखौं डलर हुन्छ । त्यो जोगिए पनि ठूलो खर्च जोगिन्छ भन्ने स्टुडियोको भनाइ छ ।
तर समय बित्दै जाँदा एआईविरूद्धको प्रदर्शन, उसलाई रोक्ने प्रयास र चर्को होहल्लाको कुनै अर्थ हुने छैन । केही विश्लेषकहरू भन्छन्, द ब्रुटालिस्टको संवादलाई जब एआई प्रयोग गरियो, त्यसले कसैको पनि जागीर खाएको छैन ।
बरू यो त प्रविधिको छलाङहरूमध्ये एउटा हो । हलिउडले यस्ता अनेकन् छलाङहरू लगाएको छ । तीमध्ये यो एउटा बन्न पुगेको छ । सन् २०१९ मा द आइरिशम्यान फिल्ममा रोबर्ट डि निरो र अल पाचिनोलाई कलिलो उमेरको देखाइएको थियो । त्यो प्रयोगले आखिर फिल्मलाई नयाँपन दिएको थियो, त्यसले कलाकारहरूलाई विस्थापित त गरेको थिएन नि ! भन्ने तर्क राख्नेहरू पनि छन् ।
तर जति जति नयाँ प्रविधि जन्मदै जान्छन्, फिल्मले उति नै बढी यसको प्रयोग गर्दै जानुपर्ने हलिउडका केही विज्ञहरूको धारणा छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

