बितेर गएका समयका धेरै चोइटाहरूमध्ये त्यो एउटा सानो चोइटो । समयको चोइटा सानै भए पनि त्यसले दिएको असर भने जीवनभर ठूलो रहिरह्यो । समय पो बित्दो रहेछ त ! अञ्जुलीको पानी जस्तै चुहिएर सकिँदो रहेछ । तर सकिँदो रहेनछ, त्यो समयले दिएको असर । झन् त्यहाँमाथि मायाको असर ।

त्यो बेलाको घटना हो यो, जुन बेला म ९ कक्षामा पढ्थेँ । मेरो स्कूल पुग्न घरबाट ४५ मिनेट हिँड्नु पर्दथ्यो उनी भने गाउँकै निमाविमा ७ कक्षामा पढ्थिन् । मेरो किशोर मनमा नजानिँदो पाराले उनीप्रति एक अजीव भाव अंकुरित हुँदो थियो । कस्तो भाव थियो थियो ? कुन तत्वले अंकुरित भयो ? उनमा के थियो त्यस्तो, जसले म त्यो हदसम्म प्रभावित हुन पुगेँ ? मसँग कुनै जवाफ थिएन ।

धेरै पछि परिस्थितिले नै मलाई जवाफ दियो, म सायद तिनलाई प्रेम गर्दो रहेछु ।

उनी र म एउटै गाउँका थियौँ । तर भेटको तारतम्य खासै नमिल्ने । आँखाले सास्ती कम पाए तापनि मन मस्तिष्क धपेडीमा हुन्थ्यो, उनैलाई सोच्न । खासै बोलेको पनि होइन । नबोले पनि, नभेटे पनि तिनले मलाई खूब प्रभाव पार्थिन् । थाहा थिएन किन गर्थिन् ।

उनी हुनेखानेकी छोरी थिइन् । उनीहरूको तुलनामा हामी गरीब कहलाउँथ्यौँ । आमाले काम विशेषमा उनीहरूको घर पठाउनुहुन्थ्यो । त्यतिबेला भेट हुन्थ्यो । जतिजति उनको घरतर्फ पाइला बढ्थ्यो, त्यति नै मेरो मुटुको ढुकढुकी पनि बढ्दै जान्थ्यो । म उनलाई लुकीलुकी हेर्थेँ । कतै कसैले देख्छ कि भन्नेमा बडो चनाखो हुँदै । कसैले जिस्काइहाल्छ कि भन्ने त्रासबाट आफूलाई बचाउने कोसिस गर्दै । अरुका लागि त्यो समस्या हुन्थ्यो कि हुन्नथ्यो, मेरा लागि त्यो ठूलो समस्या थियो । दुरुह उकालो चढेजस्तो ।

[bs-quote quote=”मलाई हाम्रा प्रत्येक पाइला ठूलो लडाइँ जितेपछि बहादुर सिपाहीको छातीझैँ आत्मविश्वासी लागिरहेको थियो । प्रत्येक पाइलापिच्छे आत्मसन्तोषको गहिरो उच्छवास् निस्कन्थ्यो ।” style=”default” align=”right” color=”#dd9933″ author_name=”अश्विनी काेइराला” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/aswini-koirala.jpg”][/bs-quote]

म असन्तोसी हुन थालेँ । दिनदिनै उनलाई भेट्ने उपाय खोज्न थालेँ । दिनदिनै भेट्ने एउटै उपय थियो, उनीसँगै उनको स्कुल जानेँ । मनमनै हिसाब निकालेँ, “उनको स्कुलसम्म उनीसँगै जान्छु, त्यसपछि दगुर्दै आधा घण्टामा आफ्नो स्कुल पुग्छु ।” यसो गर्दा कसैले शंका गर्ने ठाउँ पनि नरहँदो हो । उनकै घरमा लुकी लुकी जानुभन्दा सयम मिलाएर सँगै स्कुल जानु नै धेरै उत्तम ।

योजना मुताविक नै भोलिपल्ट म स्कुल जान नियमित समयमै घरबाट निस्किएँ । उनको घरनेर पुगेर कुनै ओझेलमा कुरी बसेँ । उनको स्कुल नजिक भएकाले कुनै हतार थिएन । दश बज्नै लाग्दा उनी निस्कन्थिन्, र केही मिनेटमै पुग्न सक्थिन् । मजस्तो नौ बजे नै घरबाट हिँड्नुपर्ने अवस्था थिएन । तैपनि कुरिरहेँ । त्यो कुराइ युग नै कुरेजस्तो गरेर बित्यो ।

दश बज्न लाग्दा उनी घरबाट निस्किइन् । उनले मलाई देखिन् । बडो फारो गरेर मुस्कुराइन् । र उनी मेरा अघि लागिन् । अर्थात् म उनको पछि लागेँ ।
चुपचाप चुपचाप उनको विद्यालयसम्म पुग्यौँ । मलाई हाम्रा प्रत्येक पाइला ठूलो लडाइँ जितेपछि बहादुर सिपाहीको छातीझैँ आत्मविश्वासी लागिरहेको थियो । प्रत्येक पाइलापिच्छे आत्मसन्तोषको गहिरो उच्छवास् निस्कन्थ्यो ।

पुसको जाडोमा अचानक कतैबाट बग्दै बग्दै आएको बादलभित्र हराएको घामझैँ केही क्षणमै उनी आफ्नो विद्यालयमा हराइन् । मन पनि पुसजस्तै चीसो भयो । आँखा वरिपरिको दृश्य पनि घामहीन संसारझैँ धमिलो भयो ।

अब दर्गुने पालो मेरो थियो । म दगुरेको दगुर्यौ आफ्नो स्कुल पुगेँ । स्कुल पुग्दा थाहा भयो, अंग्रेजीको पहिलो घण्टी सकिन लागेछ । अंग्रेजीको पहिलो घण्टी सकिएर के भो त ? मनमा अर्को मीठो घण्टी बज्न सुरु भैसकेको थियो । मायाको घण्टी ।

शिक्षकले ढिलो आउनुको कारण सोधेँ । कुनै बाहाना बनाएर टारेँ । धेरैबेर कुदेकाले हुनसक्छ, कोखा दुखिरहेको थियो । मुटु छाती फोरेर निस्केलाजस्तो भइरहेको थियो । तैपनि मन मुस्कुराइरहेको थियो । आखिर सबभन्दा ठूलो कुरा मनै रहेछ । त्यो खुसी भए शरीरका दुःख कष्ट सबै आफ्नै वशमा बस्नेरहेछन् ।

भोलिपल्ट त्यही खेल दोहोरियो । फरक कति थियो भने विद्यालयमा फेरि पनि ढिलो आएकोमा हात सुनिने गरी कुटाइ खाएँ । त्यति मात्र होइन, सरले भोलि पनि ढिला आए थप सजाय दिने धम्की दिए ।

म अप्ठ्यारोमा परेँ । उनीसँग १५ मिनेट हिँडेको सुख लिऊँ, अंग्रेजी सरको कुटाइ पीडादायी हुने । सरको सजायबाट बचौँ, स्वर्गीय आनन्दबाट वञ्चित हुने । मैले दोस्रो घण्टीमा स्कुल पुग्ने निर्णय लिएँ । उनीसित हुने पन्ध्र मिनेटको साथको लोभले कुटाइलाई पनि पछार्यो । साँच्ची कति तागत हुने मायामा ? सम्भावित त्रास र दुखाइलाई कत्ति सजिलै पराजित तुल्याउँदो रहेछ ।

उनीसितको साथको लोभले गर्दा दिनभरि सोचेर एउटा नयाँ आइडिया फुराएँ ।

स्कुलमा एउटा निवेदन दिएँ । निवेदनमा आमा बिरामी भएकाले भैँसीको दूध बजारमा पुर्याउने जिम्मा मेरो काँधमा आएको जिकिर थियो । निवेदनमा दोस्रो घण्टीमा विद्यालय आउन पाउने व्यवस्था मिलाउन अनुरोध थियो । केही दिनका लागि यो अनुरोध स्वीकार भयो । मन खुसी भयो । उनीसँग हिँड्न पनि पाइने कोखा दुख्ने गरी कुद्नु पनि नपर्ने । सबै भन्दा रमाइलो कुरा आफूलाई गाह्रो लाग्ने अंग्रेजी विषय पनि पढ्न नपर्ने भयो । एउटा झूटले मलाई चौतर्फी सुख प्राप्त हुने भएको थियो ।

घरमा वास्तविक कुरा छल्न यी दिनमा म उसैगरी नौ बजे नै घरबाट निस्कन्थेँ । आधा घण्टाभन्दा बढी उनको घरछेउमा उनलाई के के भन्छु, के के गर्छु भन्ने कल्पना गर्दै बिताउँथेँ । जब उनी घरबाट निस्कन्थिन्, म सेनापतिलाई सिपाहीले सलुट गर्न ठिक्क परेझैँ सम्मानपूर्वक उनको अघि उभिन्थेँ । सलुटचाहिँ हान्न जानेको थिइनँ । उनी मुस्कुराउँदै अघि लाग्थिन् । म उनको सेवकझैँ पछि लाग्थेँ ।

यो बीचमा मैले सोध्ने दुईचार कुरा मात्र हुन्थ्यो । पढाइ कस्तो छ, कुन विषय मनपर्छ ? तिम्रो यो लुगा नयाँ हो ? आज के खायौ ? यस्तै यस्तै । एक दिन क्याटबरी र अर्को दिन घरमा बनाएको सेल पनि दिएँ । क्याटबरी लिइन्, सेल लिन मानिनन् । क्याटबरी किन्न मैले आमाको बाकसबाट ५० रुपियाँ चोर्नु परेको थियो । तर उनले त्यो क्याटबरी लिँदा थ्याङ्क्युसम्म भनिनन् । आखिर थ्याङ्क्युमा के नै छ र, प्रेमका अघि । म दिन पाएकैमा सुखी थिएँ, खुसी थिएँ ।

तर यो सुख क्षणिक थियो, मुतको न्यानोजस्तै ।

मैले एसएलसी नदिउञ्जेल म उनीसँगै स्कुल आऊजाऊ गर्नेछु, यही बीचमा प्रेम प्रस्ताव राख्नेछु । बेला बेला स्कुल छाडेर घुमाउन लग्नेछु । मीठो चुम्बन गर्नेछु ।

दुई महिनापछि आमा बिरामी नभएको पोल खुल्यो र पोल खुलेसँगै बन्द भयो मेरो किस्ताबन्दी रोमान्स । दुई महिनाको १५ मिनेट रोमान्सले आमा र शिक्षक दुवैको कुटाइले मेरो जीउ थिल्थिलो भयो । सधैँका लागि पैदल रोमान्स सकियो ।

तैपनि मन हो, आशावादी भैहाल्छ । मनले सुझायो, “उनी केही महिनामै आठमा पुग्दैछिन् । त्यसपछि सँगै विद्यालय आउन पाइन्छ, तँ चिन्ता नगर् ।”
मैले गाह्रो गरी उनको परीक्षासम्म कुरेँ । कक्षा ८ मा मसँगै स्कुल आउन थाल्नेछिन् । त्यससपछि १५ मिनेट होइन, आउँदा र जाँदा डेढ घण्टा सँगै हिँड्न पाइनेछ । टिफिनमा वा अरुबेला हेर्न पाउने कुरा त छँदै छ । म सपनामा रमाउन थालेँ । सपनाको विशेषता भन्नु नै यही त हो ।

वास्तविकतालाई छाडेर एकैचोटि फड्केर कहाँ उडिदिन्छ । म पनि उड्नु उडेँ । मैले एसएलसी नदिउञ्जेल म उनीसँगै स्कुल आऊजाऊ गर्नेछु, यही बीचमा प्रेम प्रस्ताव राख्नेछु । बेला बेला स्कुल छाडेर घुमाउन लग्नेछु । मीठो चुम्बन गर्नेछु ।

मनले अनेक कल्पना सजाउन थाल्यो ।

उनी ८ मा पुगिन् । मलाई छक्क पार्दै अभिभावले उनलाई हिँडेर जाने होइन, गाडी चढेर पुग्ने अर्को विद्यालय भर्ना गरिदिए । अनि पो म छक्क परेँ, हामी गरिबहरू पो गाडीको भाडा तिर्नुपर्छ भनेर हिँडेर जाने स्कुल पढ्छौँ । उनका अभिभावकलाई के नपुग्दो थियो र छोरीलाई हिँड्ने विद्यालय पढाऊन् ?

मान्छेहरू भन्छन्, प्रेममा गरीब–धनीको भेद हुँदैन । प्रेम सबै कुरासँग निरपेक्ष छ । जहाँ प्रेम छ, त्यहाँ प्रेममात्र हुन्छ । अर्थोक केही हुन्न । मेरो अनुभवले भन्छ, “ठीकै हो, प्रेमले धनी–गरीब नभन्ला । तर परिस्थितिले गरीबहरूलाई धनीसँग उठबस गर्ने मौका नै दिँदैन । जहाँ प्रेम हुन्छ, त्यहाँ प्रेममात्र हुनै सक्दो रहेनछ । धेरैथोक सँगै टाँसिएर आउँछन्, बाटोमा झरेको चकलेटसँग टाँसिने धुलोजस्तै । प्रेम हाेइन, दुई जनाको हैसियत नै ठूलो पर्खाल बनेर आउँछ ।

त्यसैले होला, धनी र गरीबको प्रेम पुस्तक र सिनेमामा मात्र सम्भव छ ।