चेतनाको परिपक्वताले घरका भित्ताहरू भत्काउँछ । आफ्नो घरमा अरूलाई पनि आश्रय दिन सक्ने करुणा ल्याउँछ । घर भौतिक सीमाबाट मुक्त भएर संसार बन्न जान्छ । यसले मानवता, प्रकृति र पारिस्थितिक प्रणालीलाई समेट्छ ।

===

धेरै युवाहरू घर छोडेर गए । कोही शहर गए, कोही विदेश गए।

मान्छेको पहिलो घर पाठेघर हो । जब बच्चाले पाठेघर छोड्छ तब मात्र हुन्छ जन्म । पाठेघरमा बसेको नै बाहिर निस्कने तयारीका लागि हो । मान्छेको पहिलो घर नै छोड्नका लागि हो । चल्ला अण्डा फोडेर निस्कन्छ, घरको बन्धन तोड्छ र पो जन्मन पायो । बीजभित्र जुन जीवन छ, त्यसले बीजलाई नफोडी अङ्कुरिन सक्दैन । बुद्धले पनि घर छोडेका थिए, बुद्ध बन्नका लागि । चराले घर बनाउँछ प्रजननका लागि, बच्चाहरू हुर्केपछि गुँड छोडेर जान्छन् । झुसिलकिराले घर छोड्छ र पो पुतली बन्छ । गमलाबाट सारिएको बिरुवाले जरा फैलाएर स्वतन्त्रताको अनुभव गर्छ र चाँडो बढ्छ, केराको घारीलाई पनि ठाउँ सार्न पर्छ ।

धेरै जनावरहरूले आफ्नो समुदाय छोड्छन्, यो घर छोड्ने प्रक्रियाले नै उनीहरूको हाडनाता सम्बन्ध रोक्छ, नस्ल खिइएर जान दिँदैन र नस्लको उन्नति हुन्छ । बिरुवाले पनि जब बीज उत्पादन गर्छन्, त्यस्ता बीजले अङ्कुराउनका लागि आफ्ना अभिभावकको घर छोड्न आवश्यक हुन्छ – यसलाई एनेमोकोरी (Anemochory) भनिन्छ।

ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? त्यो परम्विन्दुले घर छोड्ने चाहना गर्‍यो र महाविस्फोट भयो, अनि ब्रह्माण्ड विस्तारिन लाग्यो । फोटोनले तारालाई छोड्छ र पो ब्रह्माण्डमा प्रकाश फैलाउन सक्छ ।

इलेकट्रोनले थप ऊर्जा प्राप्त गर्न र उच्च ऊर्जामा जान आफ्नो कक्ष छोड्नुपर्छ । यसो गर्दा उसले न्यूक्लियससँगको सम्बन्ध त्यागेको होइन, बरु नयाँ सम्भावनाहरूको खोजी गरेको हो । अणुहरू पनि पुराना बन्धन तोडेर नयाँ यौगिक बनाउन अलग्गिन्छन् ।

ऊर्जा दुई किसिमका हुन्छन् – पोटेन्सियल (स्थितिज) ऊर्जा र काइनेटिक (गतिज) ऊर्जा । पोटेन्सियल ऊर्जा कुनै वस्तुमा उसको अवस्थितिको कारणले गर्दा सङ्गृहित ऊर्जा हो । गतिज ऊर्जा कुनै वस्तुको गतिको कारण उसमा मौजुद हुने ऊर्जा हो । पोटेन्सियल ऊर्जा सम्भावनाले भरिएको त हुन्छ तर जति सुकै प्रबल सम्भावना भए पनि आफ्नो स्थिर अवस्था नछोडिन्जेल उपयोगमा आउन सक्दैन । घरमा बस्नुले स्थिरता या आरक्षित स्थितिलाई दर्साउँछ, यस्तो अवस्था सबैले चाहन्छन् पनि तर पोटेन्सियल ऊर्जालाई सक्रिय गराउनु त पर्छ नै, यो घर छोड्नु जस्तै हो । लुकेको क्षमतालाई क्रियान्वित गर्नु जस्तै हो । घर नछोडेसम्म, ऊर्जा अप्रयुक्त रहन्छ, प्रगति र परिवर्तनका अवसरहरू अधुरा नै रहन्छन् ।

पानीले जब शान्त जलाशय छोड्छ, बिजुली ऊर्जा निस्कन्छ । पानी जब झरना बनेर हाम्फालेर आफ्नो घर छोड्छ, बिजुली ऊर्जा निस्कन्छ । पानीले जब आफ्नो तरल स्वरूप छोड्छ र उड्छ, वाष्प ऊर्जा निस्कन्छ । मान्छेले घर छोड्दा पनि नयाँ ऊर्जाहरूको जन्म हुन्छ ।

मौरी र कमिलालाई घर अत्यन्त प्यारो हुन्छ रे । त्यसैले इभोलुशनमा यिनीहरू कम विकसित मध्येका नै हुन्, यिनले सदियौँदेखि आफूलाई खास परिवर्तन गर्न सकेका छैनन् । दिनभर चर्न गएकी गाई बेलुका घर फर्कन्छे, उसलाई घरको मायाले बाँधेको छ । त्यसैले ऊ बन्धनमा छे, जीवनभर बाँधिएर बस्छे । जुन मुसा दुलोमा बस्छ, त्यो चाँडो समाइन्छ । शङ्खे किरा आफ्नो घर बोकेर हिँड्छ, त्यस्तै कछुवा पनि, त्यसैले यिनीहरू सुस्त छन् । सुस्त भएकै कारणले सदा अरूको शिकार बन्ने खतरामा रहेका छन् । आफ्नो ऊर्जा बिनासित्तीमा घर बोकेर हिँड्ने कार्यमा खर्च गर्न परेको छ । घर बोकेकै कारणले यिनीहरूको प्रजनन् क्षमता अरूको भन्दा कम हुन्छ । यसको मतलब यिनीहरूको प्रजाति नष्ट हुन सक्ने सम्भावना अरूमा भन्दा बढी छ।

त्यस्तै, कोड्याक कम्पनीले फिल्म-आधारित फोटोग्राफीको पारम्परिक मोडल छोड्न चाहेन, ऊ डिजिटल प्रविधिमा जान चाहेन, पुरानै घरमा रमायो । अनि ऊ आफ्नै घरको कैदी बन्यो ।

घर छाड्नुको सबैभन्दा ठूलो पीडा नदीलाई हुन्छ रे । किनभने उसलाई थाह छ, अब ऊ कहिल्यै फर्कने छैन आफ्नो त्यो मूलघरमा । ऊ घरको सम्झनामा दुःखी मनले सुसाउँदै हिँड्छ – मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेछ । तैपनि उसले मूल छोड्छ, किनभने उसलाई मिल्नु छ त्यो विशाल समुन्द्रसँग, त्यो अनन्त सम्भावनासँग । उसले घर मात्र छोड्दैन, आफ्नो नदी हुनुको पहिचान पनि समुन्द्रमा मिसाउँछ, तैपनि ऊ आतुर छ घर छोड्नलाई ।

बिरुवाको “घर” भनेको वातावरण हो – जहाँ ती उम्रन्छन्, बढ्छन् र जीवनचक्र पूरा गर्छन् । यसमा माटो, हावा, पानी र सूर्यको प्रकाश समावेश हुन्छ । जङ्गल, मरुभूमि, घाँसे मैदान, दलदल र जल क्षेत्रमा बस्न बिरुवा अनुकूलित छन् ।

जनावरको “घर” भनेको त्यो आवास हो – जहाँ उनीहरू बस्छन्, खाना खोज्छन्, प्रजनन गर्छन् र सुरक्षित रहन्छन् । यसमा भौतिक वातावरण, खाना, पानी र आश्रयको उपलब्धता पर्छ । जङ्गल, सागर, पहाड, मरुभूमि र घाँसे मैदानमा बस्न जनावर अनुकूलित छन् ।

त्यसैले, वास्तवमा प्रकृतिको मूलस्वरूपमा हरेक अनुकूलित स्थान जुनले खान, बाँच्न, सुरक्षा र वंशको निरन्तरता गर्न सहयोग पुर्‍याउँछ, त्यो नै ‘घर’ हो । यसको कुनै स्थानिक स्वरूप हुँदैन । तर मान्छेमा घरको माया जनावर र पक्षीमा भन्दा धेरै हुन्छ । मान्छेमा घरको साथै त्यसको याद पनि जोडिएको हुन्छ, र सताउने यही यादले नै हो । भनिन्छ, जहाँ जन्म भएको हो त्यो ठाउँलाई, त्यो ठाउँको हावा, पानी र माटोलाई, सम्झनु स्वाभाविक नै हो ।

घरको बिम्ब जन्मसँग जोडिएको हुन्छ तर यदि कसैको जन्म अस्पतालको बेड नम्बर ७ मा भएको भए, विदेशमा बसेर उसले त्यो खाटलाई सम्झँदैन । त्यो बेडको सम्झनामा उसले कविता लेख्दैन । मतलब, याद जन्मेको स्थानको हैन, भोगेको स्थानको पो हुने रहेछ । समय, वय र बदलिँदो आवश्यकता अनुसार यो भोगेको स्थान परिवर्तन हुँदै जान्छ । समयअनुसार घरको परिभाषा कसरी बदलिन्छ भन्ने बुझ्न सके यो घर छाड्दाको पीडा कम हुन्छ ।

बाल्यकालमा “घर” परिवार र भौतिक आश्रय हो । यो सुरक्षा, माया, र स्याहारको स्थान हो ।
यहाँ बच्चाले संस्कृति, मूल्य, र पहिचान सिक्छ । यो न्यानोपन र व्यक्तित्व विकासको आधार हो ।

किशोरावस्थामा “घर” सुरक्षा दिने ठाउँ हो तर कहिलेकाहीँ यसले उसलाई प्रतिबन्ध महसूस गराउँछ । उसले आफूमा स्वतन्त्र व्यक्तित्व विकास हुँदै गरेको महसूस गर्छ, स्वतन्त्रताको चाहना बढ्दै गर्दा द्वन्द्व शुरु हुन्छ । उसले त्यो व्यक्तित्वलाई अभिव्यक्ति दिन चाहन्छ । यो आत्म-अभिव्यक्तिको र सङ्घर्षको ठाउँ हो । यो किशोरले आफ्नै छुट्टै पहिचान बनाउन छट्पटाउने ठाउँ हो ।

युवावस्थामा ‘घर’ याद र संस्कारको प्रतीक हो । धेरैले शिक्षा वा जागिरका लागि घर छोड्छन् । घर चाडपर्व र कठीन समयमा फर्किने ठाउँ बन्छ । तर अब यो भौतिकभन्दा पनि भावनात्मक स्थान हो ।

वयस्क अवस्थामा “घर” उपलब्धिको प्रतीक हो । आफ्नो ‘घर’ बनाउन खोजिन्छ । साथी, बच्चा, परिवार वा आफ्नो समुदायसँग नयाँ घर बनाइन्छ । यो जीविका, सम्बन्ध र भविष्यको प्रतीक हो । घर स्वतन्त्रता र जिम्मेवारीको नयाँ आधार हो ।

मध्यवयमा घर स्थिरताको प्रतीक हो । परिवार हुर्काउने र यो सम्बन्ध गाढा बनाउने ठाउँ बन्छ । यो आश्रय र उपलब्धिमा चिन्तन गर्ने स्थान हो । सन्तानलाई सहयोग गर्ने र सम्पत्ति सिर्जना गर्ने आधार हो । समुदायमा पहिचान बनाउने अवसर हो ।

वृद्ध अवस्थामा “घर” आराम र सम्झनाको ठाउँ हो । यो यात्राको सुस्ताउने चौतारीको हो, शान्तिको सास फेर्ने ठाउँ हो । घर विगत र आफ्नो परम्परासँग गहिरो सम्बन्ध जोड्ने स्थान हो । यो अब आफ्ना कथाहरू समुदायलाई सुनाउने स्थान हो । यहाँ विगतका क्षणहरूको सम्झना गरिन्छ, आफ्ना परम्परा खोजिन्छ र जिउँदो राख्ने प्रयास गरिन्छ ।

“घर” हाम्रो अनुभव, सम्बन्ध र जीवनका चरणसँगै बदलिन्छ । यसबाट घर छोड्नु बाध्यता हैन, जीवनको मूलभूत प्रवृत्ति हो । जीवनका चरणहरूले नै स्वाभाविक रूपमा घर छोडाइ माग्दो रहेछ भन्ने बुझिन्छ । घर पिँजडा होइन, यो उड्न तयार गराउने गुँड हो ।

जसै चेतना स्तर बढ्छ, ‘घर’को विशालता पनि बदलिन्छ । शुरुमा, घर भौतिक स्थान हो । यो सुरक्षा, आराम र अपनत्वको प्रतीक हो । यो भित्ता, सम्बन्ध र परिचित वातावरणको न्यानोपनले परिभाषित हुन्छ ।

चेतनाको परिपक्वताले घरका भित्ताहरू भत्काउँछ । आफ्नो घरमा अरूलाई पनि आश्रय दिन सक्ने करुणा ल्याउँछ । घर भौतिक सीमाबाट मुक्त भएर संसार बन्न जान्छ । यसले मानवता, प्रकृति र पारिस्थितिक प्रणालीलाई समेट्छ । यसले वैश्विक नागरिक र सिङ्गो पृथ्वीलाई घर मान्ने सोच बनाउँछ, एक त्यस्तो साझा स्थान जहाँ मानवता र प्रकृति साथ साथ रहन्छन् ।

घर छोड्नु भनेको खासमा सम्बन्ध तोड्नु हैन, यो त अस्तित्वको विशाल बुझाइ र त्यो व्यापकतामा समाहित हुने अवसर हो ।

यसैले, हे युवा ! निस्क घरबाट, तब पो हुन्छ अर्को जन्म, तब पो बन्छौ तिमी पुतली । तिमी उड आकाशतर्फ, छोड यो गुँड । तिमी फूल, फैलाऊ सुवास, मुक्त होऊ माटोबाट । तिमी चाल पाइला अगाडि, उठाऊ टेकेको त्यो पाइला, अनि छोड टेकेको त्यो ठाउँ । जति टाढा जान्छौ, तिमी उति विशाल हुँदै जान्छौ । तब पो फैलन्छौ विश्वभरि ।