कणाद र सम्राट

कणादको जीवनमा एक रोचक कथा घटित छ । कणाद ब्राह्मणका एक प्रकार हुन् । अन्नको कण टिपेर जीवन गुजारा चलाउने भएकाले उनको नामै कणाद रह्यो । यसकारण रह्यो कि उनको घरमा कहिल्यै एकछाक अन्न पनि संग्रह भएन । दिनदिनै खेतमा गएर कणकण टिप्थे । कणकण टिपेको कारणले नाम कणाद रह्यो ।
सम्राटका कानमा समाचार पुग्यो–  कणाद त खेतमा माटो मिसिएको अन्नका कणकण चालेर खान्छन् । सम्राटले आज्ञा  दिए– रथहरू धनधान्यले भरिपूर्ण पारी र कणादकहाँ पुर्याइदेओ ।
धनधान्य रथमा लादेर सम्राट कणादको कुटीमा पुगे । कणादका चरणमा शिर राखे । अनि राजाले भने– मैले धेरै धनधान्य लिएर आएको छु ।  तपाईं मेरो राज्यमा भएर पनि कण कण चालेर खाएको सुन्दा मलाई दुःख लाग्छ ।  तपाईंजस्तो महर्षिले खेतमा अन्नका दाना टिपेर खाँदा मेरो अपमान भएको छ ।
तर, कणादले भने– क्षमा गर्नुस् । खबर पठाउनु भएको  भए हुन्थ्यो । आफैँले यति कष्ट किन गर्नुभो ? म तपाईंको राज्य त्यागेर हिँड्छु ।
सम्राटले भने– तपाईंले के गर्न लाग्नु भएको ? के कुरा गरिरहनु भएको छ ? तपाईंले मेरो कुरा खै बुझेको ?
कणाद त उठेर खडा नै भए । ज्यादा चिज त उनीसित केही थिएन । दुईचार ओटा किताब थिए ।  त्यसलाई बाँध्न थाले ।
सम्राटले भने– तपाईंले के गर्नु भएको ?
कणादले भने– तिम्रो राज्यको सीमा कहाँसम्म हो ? बताऊ । म सीमा छोडेर बाहिर जान्छु । किनकि मेरा कारण तिमी दुःखी भयौ । यो त बडो नराम्रो कुरा भो ।
सम्राटले भने– मेरो भनाइको अर्थ त्यो होइन । म त यहाँ तपाईंले केही धन लिइदिनुहोस् भनेर निवेदन गर्न मात्र आएको हुँ । यसलाई स्वीकार गरिदिनुहोस् ।
कणादले भने– यो सबै तिमी नै फिर्ता लिएर जाऊ ।  किनभने यो धनधान्यको व्यवस्थापन र सुरक्षा कसले गर्छ ? यो सुविधा भोग कसले गर्ने ? यसको रेखदेख कसले गर्छ ? मलाई त फुर्सद छैन । म त आफ्नै काममा लागेको छु । थोरैतिन फुर्सद पाउँदा बिहानै घुम्न निक्लिन्छु, त्यही बेला खेतमा केही अन्नदाना टिप्छु । त्यसैले काम चलाइहाल्छु । मलाई कुनै झन्झटै छैन । तिमी आफ्नो यो सबैचिज फिर्ता लैजाऊ । यसको चिन्ता कसले गर्छ यहाँ ? मैले यसको फिक्री गर्नु कि मैले आफ्नो फिक्री गर्नु, जुन खोजमा म लागिरहेको छु । त्यो पूरा गर्नुछ । तिमीले छिटो भन्दा छिटो यसलाई फिर्ता लैजाऊ । र, फर्केर फेरि यता नआउनू । यदि आउने हो भने मलाई खबर गर्नू । म नै यो राज्य छोडेर हिँडिदिनेछु । म त कण जहीँ पनि चाल्न सक्छु । यसै फ्याँकिएका अन्न त सबैतिर फेला पर्छ ।
यी जुन मानिस हुन्, यिनलाई कण चाल्न मै सुविधाको अनुभूति हुन्छ । किनकि कुनै ठूलो व्यवस्था गर्नुपर्दैन । कुनै व्यवस्थापनमा नाहक समय खेर फाल्नु पर्दैन । ती मानिस भाग्यशाली हुन् ।
अधिकांश मालिकहरू घुमिफिरी सम्पत्तिको व्यवस्थापक मात्र रहन्छन् । देखिनलाई ती मालिक देखिन्छन् तर वास्तवमा ती त सम्पत्तिको व्यवस्थापक नै हुन् ।
(गीतादर्शन – भाग २ बाट)