प्रार्थना

रचित

ईश्वर ख्याल राख्नु
उभिनको लागि मलाई
मेरो अस्तित्वभन्दा अधिक ठाउँ नदिनू

म ऋग्वेदको गोठालाका करुणासहित भन्छु :

मलाई यो अनन्त ब्रह्माण्डमा
मेरो पेटभन्दा ठूलो खेत नदिनू

हलोको वजनभन्दा शक्ति
गोरुको आनन्दभन्दा धेरै श्रम नदिनू

म टोल्स्टोयको किसानबाट शिक्षा लिएर भन्छु:
मलाई नदिनू त्यति जमिन
जो मेरी जीवनयापनको आवश्यकताभन्दा धेरै होस्
धेरैमा मलाई एउटा खाट दिनू
छेउमा एउटा टेबल कुर्सी राख्न सकियोस्

मलाई मेरो ज्ञानभन्दा बढी शब्द
सत्यभन्दा अधिक तर्क नदिनू
सबैभन्दा महत्त्वपूर्ण कुरा
मलाई सत्यको सत्यसँग पनि अवगत गराउनु

मलाई त्यो कहिले नदिनू
जसका लागि अरूले प्रार्थना गरिरहेका छन् ।

***

ब्रेकअपपछि केटाहरू

ब्रेकअपपछि केटाहरू छिमेकीको काम आउन थाल्छन्
साथीहरू माझ पुरानो जस्तै साथी बन्छन्
हाकिमले दिएको टार्गेटभन्दा बढी काम गर्दिने, चितुवा बन्छ्न्
आसपासका युवतीका लागि रहस्यमय पात्र बन्छन्

ब्रेकअपपछि केटाहरूलाई झिँजो लाग्दैन-
इकोनोमिक्स टाइम्स पढ्न
लगातार हेर्छन्, सन्दीप माहेश्वरीका पाँचपाँचवटा भिडियो
जमैकन र्‍याप गाउँदै हिँड्छन्
शशी थरूरको अङ्ग्रेजी छिचोल्न थाल्छन्
अश्लील संगीतमा प्रेमको खोजी गर्छन्
गालीमा साहित्य
ट्याटुमा शान्ति
रातमा बिहानीको प्रतीक्षा खोज्छन्
एउटै कोठामा जगत खोज्छन्

ब्रेकअपपछि केटाहरूलाई आमा खुब याद आउन थाल्छिन्
कान्छी बहिनीको पढाइको चिन्ता जिन्दगीमा पहिलोपटक महसुस हुन थाल्छ
बुवाको सेन्स अफ ह्युमर गज्जबको हो भनेर पहिलोपटक मेसो पाउँछन्
गुल्मीका काका त्यति पराइ होइन कि सप्ताहमा एकपटक फोन उठाउन नसकियोस्

ब्रेकअपपछि केटाहरू हावालाई महसुस गर्न सिक्छन्
हावामा कसैको नाम लेख्न सकिन्छ भन्ने ज्ञान आत्मसात गर्छन्
लेखिएका नाम मेटाउन भुल्दैनन् उनीहरू

ब्रेकअपपछि केटाहरू मध्यरातसम्म चिया पसल रुँग्न थाल्छन्
सडक किनारको बेन्चमा बसेर
आकाशको सप्तऋषि मण्डल र ध्रुव तारामा
केही खोज्ने कोशिश गर्छन्
उनीहरू कयौंपटक मंगल र शुक्रभन्दा पनि पर पुग्छन्

उनीहरू एन्ड्रोमेडा ग्यालेक्सीको संभावना खोजी गर्दै
यो कोशिशमा उनीहरू खगोल विज्ञानका लागि
अहिलेसम्म अज्ञात कयौं आकाशगंगा
कयौं सौर्य परिवार
कयौं ग्रहका नयाँ नामकरण गरिदिन्छन्

यो सिलसिलामा सम्पूर्ण ब्रह्माण्डले यो चाल पाइसकेको हुन्छ कि
पृथ्वीमा कसैको ब्रेकअप भएको छ ।

***

जोड

`रचित फुच्छे मेरो सानो भाइ हो।´

भनेर भन्दा उसको जोड भाइ कम
फुच्छे सानोमा धेरै थियो ।

****

मान्नु

अन्ततः मनुष्यले मान्ने छ-
चुरोटको खोलमा लेखिएको सावधानी
क्यान्सरको विज्ञापन हो

एकदिन मनुष्यले मान्ने छ –
सानासाना झूटले जीवनमा सुख भरिदिन्छ

एकदिन मनुष्यले मान्ने छ –
शायद ऊ केही कम मनुष्य हो
कम हुनु पनि र्वाचनमय बहुत हो ।

***

हामी हुनु

हेडफोनको आविष्कार हुनुभन्दा पहिले
कसैलाई सुनेको नसुने झैँ गर्न
हामी बहिरो हुन जरूरी थियो ।

***

हल्ला

जब लडाइँ हल्लाको विरुद्धमा भएको हुन्छ
चुप लाग
हल्लाको विरोध नगर
हल्ला गरेर ।

***

प्रश्न

अखबार पढदै यो सोच्छु :

कतिजना मरे ?

यो प्रश्न गणितको हो कि मानवताको !

****

सम्भावना

जब ऊ क्रोधित हुन्छ
यो सोचेर खुसी हुनु कि गाली दिइरहेको छैन

जब उसले गाली गर्छ
त्यतिबेला यो सोचेर खुसी हुनु कि
हात हालाहाल गरेको छैन

यदि उसले कुटपिट गरिरहेको छ भने
यो सोचेर खुसी हुनु कि
उसले तिम्रो हत्या गरेको छैन

हत्या गरिहाल्यो भने
तब यो सोचेर मर्नु कि पुनर्जन्म हुनेछ ।

** **

कोही

कोही जाँदै गरेको देख्दा
मलाई तिम्रो याद आउँछ

कोही जाँदै गर्दा
साथमा तिमी पनि अलिअलि जान्छौ
केही थोरै अझै धेरै बाँकी रहन्छौ ।

** **

प्रतीक्षा छ

म त्यो दिनको प्रतीक्षामा छु
जुन दिन दुनियाँका सारा मानिसले
प्रष्टसँग आफ्ना ईश्वरलाई भन्नेछन्;
तिमीहरू आफैं लड्नु आफ्ना लडाइँ
हामीलाई फुर्सद छैन

हाम्रा अत्यावश्यक काम बाँकी छन्

हामीले पहाडलाई स्नान गर्दिनु छ
बादललाई ढोकासम्म पुर्‍याएर आउनु छ
नदीको गुञ्जन सुन्नु छ
तोरीको फूल हेर्नु छ
चिनी किन्न जानु छ ।

** **

पङ्क्ति

– के हुनेछ कविताको ?

– प्रेमिकाको लागि लेखिएका पङ्क्ति
श्रीमतीको फोटोसँगै पोस्ट हुनेछ ।

मूल कवि : रचित
भावानुवाद : जनक कार्की