यतिबेला नोबेल पुरस्कार विजेता अर्थशास्त्री अभिजित भट्टाचार्जीको नयाँ पुस्तकले चर्चा बटुलिरहेको छ । उनको ‘छऔंक’ (तडका) पुस्तकले दैनन्दिनीमा भान्सामा उपयोग हुने पकवान र सामग्रीहरूमार्फत भारतीय समाजको अर्थतन्त्र र मनोविज्ञान, अर्थतन्त्र र संस्कृति अनि अर्थतन्त्र र सामाजिक नीतिमाथि बडो गज्जबको टिप्पणी गर्न भ्याएका छन् ।

त्यसो त उनले विभिन्न अखबारहरूमा लेखेका लेखहरूको सँगालो हो तर अखबारलाई पनि उनले विस्तृति दिएका छन् ।

पुस्तकमा उनले आफूले खाना पकाउँदै जाँदा उनकी आमालाई सम्झन्छन् । उनकी आमाको सन् २०२३ नोभेम्बरमा निधन भएको थियो । आमाको निधन यता उनले यति धेरै सम्झिएका छन् कि पूरै किताबमा उनले भान्सा र आमालाई समर्षित गरेका छन् भन्दा पनि हुन्छ ।

उनले यस पुस्तकमार्फत् लैंगिक विभेद, पोषण तथा जलवायु परिवर्तनलाई समेत सम्झिएका छन् । पुस्तकमा केही रोचक प्रसंगहरू पनि संसारभरबाट बटुलेर हाल्न उनले बिर्सिएका छैनन् । उहिले जब बदाम खान हुन्छ कि हुँदैन भनेर व्यापक रूपमा छलफल हुँदा रोमका बदमास पोप सेसर बोर्गियाले आफ्ना एक सय भन्दा बढी वेश्याहरूलाई भोजको आयोजन गराएर खुवाएका थिए ।

पुस्तकमा बनर्जीले सामान्य पाठकलाई ध्यानमा राखेर लेखेका छन् । सँगैमा दिमागलाई खुराक पनि दिएका छन् । यस पुस्तकमा अन्य बेलामा झैँ उनकी पत्नी इस्टर डुफ्लोले निकै सघाएकी छन् ।

यस पुस्तकमा एउटा नेपाली दाइकोन सलादको प्रसंगबारे पनि लेखकले लेखेका छन् । तर त्यो सलाद कसरी नेपाली भयो भन्नेबारेमा उनले उल्लेख गरेका छैनन् । मात्र त्यो सलाद कसरी बनाउने भन्नेबारे छोटो जानकारी दिएका छन् ।

पुस्तकमा आफू चार वर्षको हुँदा आफ्ना हजुरबुवालाई प्रथम पटक देखेको वा चिनेको प्रसंग लेख्छन् । उनी यतिबेला लगभग ६० वर्षका छन् । उनले आफ्ना हजुरबुवालाई पहिलो पटक भेट्दा ६४ वर्षका थिए । त्यो बेला उनका हजुरबुवा कहिले ज्यादै खुशी हुने र कहिले रिसाउने बूढो मानिसका रूपमा चिनेका थिए । ती बूढो मानिसको खीर र माछा मोहका बारेमा पनि विस्तारपूर्वक लेखेका छन् ।

खानामाथि लेख्न थाल्यो भने यति विस्तृति खोजिन्छ भन्ने उनको यो पुस्तकबाट पनि थाहा हुन्छ । टेबुल म्यानरदेखि त्यो म्यानर कहाँबाट कसरी शुरू भयोसम्म अभिजितले लेख्न भ्याएका छन् । तर ती सबै कथा छोटोमीठोमा सकेका छन् ।

तर सबै किताब पढिसक्दा उनले रेसिपीहरू किन हाले भन्ने चाहिँ बुझ्न सकिँदैन । उनले सुझाएका रेसिपीहरू आफैँले बनाउने भएकाले मज्जा मानेका हुन् कि ती दुर्लभ भएकाले संसारलाई स्वाद चखाउन खोजेका हुन्, त्यो बुझ्न कठीन हुन्छ ।

तर जब उनी समाज र अर्थतन्त्रमा लेख्न थाल्छन्, उनको विषद् अध्ययन र तर्कप्रति साँच्चिकै लोभ लाग्छ ।