हामी ठेलमेलमा हुन्छौं, केही पर पुगेपछि गोडादुयेक बटुवा छाँटिन्छन्, अनि हामी केही खुकुलिन्छौं । बाटो टुङ्गिन्छ तथा टुङ्गिंदैन यसमा हामीलाई कुनै तर्क गर्नु छैन, निस्सन्देह हामी त्यहाँबाट फेरि यतै फर्कन्छौं अनि खल्ती छाम्छौं चियाको अथवा यसो भनौं स्थितिप्रति सतर्कताको एउटा निरीह बहाना खोज्छौं । यति म सोच्छु भवितव्य त्यही हुन्छ । हामी फर्किरहेका हुन्छौं । चिसो स्याँठप्रति तुजुक देखाउन कर लाग्छ । म सोध्छु, “त आज कोट किन नलगाउनुभएको ?”

ऊ कुम उचाल्छ तथापि यो लाजपचाइ होइन । म थाहा पाउँछु आज ऊ अस्वाभाविक देखिएको छ (कमिजभित्र पुरानो स्वेटर तह मिलाएर लाउनु) ।

“एउटा साथी आज… आफ्नो मायालु भेट्न गयो, कोट उसैले लगाएर गएको छ ।”

सडक हेर्छु स्थिर बसेको छ, सडक बढी गर्छ नै के र ? मलाई अति साधारण मान्छेको सम्झना आउँछ, जससँग कोट छैन अनि जो प्रेम गर्छ एउटी केटीसँग (झ्याङभित्र बसेर केही रोमान्स छाँट्नु प्रेमको अर्थ ?) । उसकी मायालु पनि हुन सक्छ साथीको सारी पैंचो लाएर आएकी छे । म निकै सस्तिन्छु केवल सोचाइभित्र । हुन त मानिस जो बोल्छ त्योभन्दा दशगुना निम्न कोटिको कुरा ऊ सोच्छ । मानिसलाई एस्टिमेट गर्नु ठूलै असम्भव !

एउटा बाघरङ्ग ट्याक्सी हुर्रिएर जान्छ । हूल निकै कम भइसकेको छ । खल्ती छाम्छु, एउटा सुकाले कहिल्यै विश्वास गरेको हुँदैन मानौं जीवनस्तरको यो एउटा लक्ष्मणरेखा हो (बढ्न सक्छ त्यो सम्भावना पच्दैन र घट्न सक्छ भने जीवन त्यही बिन्दुमा अपहरण भइसक्छ) ।

म सन्तुष्ट छु यो एउटा सुकीचा बोकेर । अघिपछि बगालमा अव्यक्त ध्वनिहरू भौंतारिएका हुन्छन् जसको सपाट मानेहरू बुझिन्छन्, तर रहस्य बुझिंदैन । म जीवनलाई कहिल्यै पनि यसको पूर्वघोषित लयमा बद्ध गराउन सक्दिनँ । कति ठाउँमा भीषण नकारात्मकता देखाएर मैले ढाड फर्काइदिएको छु जीवनलाई र चाहेको छु कोही जागरूक आएर पछिबाट मलाई गुलेली हानिदेओस् अथवा छुरी धसिदेओस् । यो शरीरको एउटा बीभत्स अन्त्य आह !

ऊ म चूपचाप हिंडेको देखी शायद सोचिरहेको छ मभित्र मेरो जिनियस रूप मरेको छैन । हामीले एकपल्ट धेरै अँध्यारो एकान्तमा गएर एकअर्कालाई जिनियस हुनुको सप्रमाण छनोट गरेका थियौं । शायद हामी दुवैको जीवनी त्यसपछि समयले बाह्रबाह्र वर्षको स्टेप लिइसकेको छ । त्यो समय पनि वर्तमान थियो । अहिले पनि वर्तमान छ । अनुहारमा हामी सालाखाला दुईदुई अमल खुम्चिसकेका छौं । ऊ यद्यपि अविवाहित छ र म… स्वास्नीमान्छे सँगको अनुभूतिमा वञ्चित छैन । सोझो भावमा यौनसुख मात्र मेरो एउटा अन्तिम सुख बन्न गएको छ, तर ऊ यसबाट पनि… ।

म कुनै पनि स्वास्नीमान्छेलाई प्रभाव नै पार्न सक्दिनँ । प्रेम त पछि आउने कुरा हो- यस्तो वाक्य उसले मलाई यिनै सडकहरूमा हिंड्दा नभनेको होइन । प्रभाव पार्नुको हकमा मैले चाहिने एउटी वेश्येलाई सबभन्दा पहिले प्रभावित पारें । त्यसभन्दा बढी आफ्नो विषयमा केही पनि सोच्न मन लाग्दैन । एउटा समय यस्तो पनि आएको थियो, चरम विवश भएर मैले यौनसुख स्वीकार गरिदिएँ किनभने सुखको सबैभन्दा सस्तो उपलब्धि (एउटा गरीबका निम्ति ?) यही मात्र थियो । त्यस वेला शायद म भित्रभित्रै निकै पिल्सिएको थिएँ । त्यसपछि अझसम्म यति कडा यथार्थ सकार्न सक्ने साथी भेटेको छैन । छन् त्यसो त आवरणलाई जीवनको एउटै अर्थ ठान्नेहरू- तर म चाहिने ढुङ्गामा एउटा सम्पूर्ण नाङ्गो मूर्ति खोपेर कलाको सफलता घोषणा गर्ने मान्छे । त्यसपछि (गजबको रिभर्स) एक क्षुद्रभन्दा क्षुद्रतर व्यक्तिगत स्वार्थको ( स्वास्नी ?) आडमा मैले एउटा सामाजिक मान्यतालाई लात मारिदिएँ । दुइटैको मिलित प्रतिक्रियाबाट आफूलाई कहिलेकाहीँ लाग्छ अलग्याइदिऊँ । तर त्यसपछिको निर्वासन (इन्सटिकदेखि ?)

अहँ ! कमभन्दा कम यो युगमा स्वीकार छैन । पश्चिमी आकाश रातोपनबाट हटिसकेको छ । हामीलाई निकै जाडो लाग्न थालिसकेको छ । आफ्नो टेरिकटनको कोटको आभास लिन्छु र सोच्छु- यो हाल्दा मैले पनि आफूलाई निकै साँघुरो स्थितिमा कैद भएको अनुभव गरेको छु, जसको असन्तुलन आर्थिक र मानसिक दुइटै आउने दुई वर्षभरि मिल्दैन । “हेर्नुस्” ऊ उभि नै दिन्छ ।

“चिया पिऊँ है ?”

अस्सी पाउन्डको ऊ एउटा मिनिएचर मान्छे झन्डैझन्डै । सफा कुरा ऊ ससाना हाडहरूको सङ्गठन मात्र हो । शारीरिक हैसियतले मूल्याङ्कन गर्दा ऊ केही पनि हुन सक्दैन- व्यापारी, सिपाही, अफिसर, ड्राइभर । सिवाय… एउटा बचाव छ उसको अस्तित्वको पनि । त्यो हो हास्यअभिनेता- अझै बढी त विदूषक । यसै सिलसिलामा एकपल्ट मलाई त्यो क्षणको अघोर भावुकता सम्झना आउँछ ।

हावा चलिरहेको छ, एउटा नीरस साँझ । फुटपाथमाथि एउटा टाढाका मूलबाटामा आधा नाङ्गा र फुस्रा केटाकेटीहरू दुई हात फिँजाएर दौडिरहेका छन् । ‘वा वल फय् वल अजि मवैनी’ यस्तै केके… ऊ घोरिन्छ । घोरिन्छ र अचानक बोल्छ- “सुन्नुभो, यो वातावरण कस्तो डिभाइन भइरहेको छ, यस मोडमा आएर लाग्छ हार खाइदिऊँ अथवा घुँडा टेकिदिऊँ त्यो अद्वैत शासनको अघि ।” म ओठ लेबारेर हाँसिदिन्छु । तुरुन्त उसमा पनि एउटा रिभर्स आउँछ । भोल्टेयर, अब्राहम लिङ्कन, कार्ल मार्क्स र अरू धेरै जना व्यक्तिहरूको एउटा सिङ्गो मिसकट म त्यसै नै उसको अनुहारमा देख्न खोज्छु ।

ऊ भन्दै जान्छ, “आह ! यी निरीह प्राणीहरूलाई र यिनीहरूको दारिद्रयलाई एकसाथ लिएर अँगालो हालूँ र उभिदिऊँ एउटा यस्तो एलियिनेसनमा, जहाँ म स्वतः बनेको हुन्छु, एउटा प्रवृत्तिहीन, संस्कारहीन, समाजहीन र देशहीन मान्छे ।”

मलाई झर्को लाग्छ, म त्यस वेला त केही पनि बोल्दिनँ मानौं मूक भएको हुन्छु । तर त्यसको प्रत्युत्तर मेरो छातीभरि उकुसमुकुस भएर आएको छ । पछिबाट म उसलाई भनिदिन्छु, “यो समाजले तपाईंको एउटा एफिजी बनाएर जलाउनेछ, नत्र एउटा कार्टुन बनाएर पब्लिक प्लेसमा टाँगिदिनेछ, अनि आवारा केटाहरूले त्यसमा तारो हान्ने गर्छन् । सुन्नुभो, तपाईंको शालिकलाई एक सय वर्षसम्मका नागरिकहरूले खिल्ली उडाउनेछन् र हन सक्छ शताब्दीको अन्तिम दशकले तपाईंलाई बाटाको एउटा उपयोगहीन मोड ओगटेबापत मानहानि मुद्दा दायर गर्नेछ ।”

ऊ सकभर अट्टहास गर्न खोज्थ्यो । त्यसपछि प्रायश: उसलाई भावुक भएको देखिइन्न ।

तातो चिया घाँटी रसाएर भिज्छ । नसाहरू जागरूक हुन्छन् । कोटको समस्या हामी दुइटैले बिर्सिसकेका हुन्छौं। हामीले जीवनका केही टुक्रा समयहरूमा एकले अर्कालाई बुझिदिएका छौं र जहाँ हामी खण्डित भइसक्छौं, त्यहीँ हाम्रा व्यक्तित्वहरू साधारणीकरण भइसक्छन् अर्थात् क्षुद्र संवेदनाको आदानप्रदान गर्छौं जस्तो गरीकन ऊ भनिदिन्छ, “तपाईंकी स्वास्नीले तपाईंलाई वास्तवमा रियलाइज नगरेको हो, नत्र सनक चढ्नु, मूड अफ हुनु क्षम्य छैन र ?”

म भन्छु, “यस्तैयस्तै वेला जस्तो गरीकन आज नभनौं तपाईंको साथीले कोट त्यसरी नलगिदिनुपर्ने हगि ? जब कि तपाईंसँग एउटा कोट भएको कुरा ऊ राम्ररी जान्दछ ।” त्यस्तरी नै उसको जुत्तासँग पनि धेरैपल्ट धेरै अन्याय भइसकेको छ, ऊ कसैलाई भन्दैन र पो ।

चिया खाएर फर्कंदा मलाई उसको माया लाग्छ र माया पाउनु पनि जन्तुसुख हो, बढी केही होइन । विचार गर्छु अझ बढी त यी पाशविक सुख हुन् । म र हामी, हाम्रा ससाना घरहरू, हाम्रा स्वास्नी, छोराछोरीहरू, हामीले कमाएका पैसा र विवशताहरू, यी पाशविक सुखहरू लुट्दालुट्दा जीवनमा कहिल्यै पनि उच्चता बोध हुन पाउँदैन ।

अहिले सडकमा बत्ती बलिसकेको छ । हामी तेहऱ्याएर सडक पार गरिरहेका छौं । उसले कुम निकै नै उचालेको छ । पुसको महिना कोट नलगाएर हिंड्नु । मलाई ऊ एउटा अपराधी जस्तो लाग्छ । निस्सन्देह ऊ एउटा अपराधी हो, किनकि ऊ साबिक हिसाबले त कहिले पनि बाँचेको छैन । ऊ सधैं यस्तो अनुभूति बताउँछ, जो स्वाभाविक भएको हुँदैन शायद कुनै पनि मूल्यमा ।

जाडोमा सन्तुलन नमिलेर ऊ केही काम्दो आवाजमा बोल्छ, “मलाई आजभोलि निद्रा लाग्दैन, लाग्छ- इन्सोमेनियाको शिकार हुन लागेको छु । तर एक महीनासम्म त केही पनि हुन सक्दैन कारण तीस दिन कुनै लामो अवधि होइन ।”

“रातभरि के गरिरहनुहुन्छ ?” म प्रश्नवाचक उभिदिन्छु ।

“हेर्नोस्, आफ्नो त त्यस्ता मिठासपूर्ण संस्मरणहरू केही पनि छैनन् । म र मसँग केही ठोस पर्खालहरू छन् । तथापि म सोचेरै रात बिताइदिन्छु ।”

“लुमिनलको चक्की लिने गर्नुस् ।”

ऊ अझ खुम्चेर बोल्छ, “हेर्नुस्, त्यसको निम्ति आफूसँग बजेट नै छैन । निद्रा नलाग्नु के हो र ? निर्वासन हुनुभन्दा नसुत्नु बेस होइन र ?”

“कम बेस म केही जान्दिनँ तर तपाईंलाई यो युगले निर्वासित गरिदिइसकेको छ, स्वीकार गर्नुस् न के छ र !”

ऊ खिसिक्क हाँस्छ अथवा स्याँठको धक्का पचाउँछ ऊ नै जानोस् । मलाई भनिदिन मन लाग्छ कि तपाईं मजाले डेट एक्सपाइर्ड भइसक्नुभएको छ, बरु आत्महत्या गरिदिनोस् न कसैले सोधपुछ त गर्ने होइन । उमेरले त अधबैंसे भइसक्नुभएको छ, मिनिएचर भएर मात्र नदेखिएको हो । शायद राष्ट्रको एवरेज मृत्यु मरिसक्नुभएको छ निकै अघि । यो अव्यक्त मनोभावनाहरू कुन्नि ऊ बुझिसक्छ कि क्या शड्डा लाग्छ । सधैं यस्तै त हुन्छ नि ऊ भन्दैन र पो ।

म र ऊमा फरक छ । मैले धेरैपल्ट त्यस अवस्थालाई (जहाँ मेरा महत्त्वाकाङ्क्षाहरूको हनन भएको छ) दुई जनाको अघि कसीमा राख्न खोजेको छु शायद अपरोक्ष रूपमा समाजको न्याय माग्थें र भन्न पनि खोज्थें हुँला तिम्रो समाजले मलाई के दिएको छ हँ ? तर ऊ मेरो टाइप होइन । समाज उसका निम्ति चेप्टो छ… बिचरा तथापि ऊ ट्युशन गरेर खान्छ ।

कुनै पनि असजिलो नभएर आँखाभरि घुम्न सक्ने उसको कोठा अति साधारण कोठा । ऊ त्यहाँ फुटेको कतारोको आधा हिस्सा एस्ट्रेको रूपमा राख्छ । साथीहरू उसलाई निस्फिक्री खिज्याउँछन् ठीक उसको शालिकको कल्पना जस्तो । अनि मलाई उसको भावुकता, उसको आउने युग र उसको वर्तमान लगभग एउटै लाग्छ । वास्तवमा केही फरक छैन । म सधैं चुरोटको खरानी झार्दा एस्ट्रेका विभिन्न मोडेलहरूको ताँती देख्छु र विचार गर्छु- सभ्यता घाउ भएर कहीं यो कतारोको एक छेउमा दुख्छ । सुखको कुरा ऊ शूली चढाइन्न ।

हामी चौथो पटक बाटो पार गरिरहेका हुन्छौं । बटुवाहरू एक किसिमले छाँटिइसकेका छन् । अब शीत खस्छ र टाउको खान्छ । यी सब त तर्कसङ्गत नै छैनन् । कमभन्दा कम हामी निर्धो सान्त्वनामा बाँचेका छौं । प्रश्न उठ्छ उही पनि सनक चढेको बेला यसरी विपरीत बाँच्न हामीलाई अधिकार छ र ? सडकको अन्तिम मोडमा पुग्दा म उसलाई बिनाअर्थ सोध्छु, “के यसरी बाँचेर आफूलाई हतभागी सिद्ध गर्नुभएको छैन ?”

ऊ फेरि पनि खिसिक्क हाँस्छ र भन्छ, “अधिकार र अनधिकार धेरै निरर्थक कुराहरू हुन् । तपाईं सोच्नुहुन्छ, मैले एवरेज मृत्यु मरिसकेको छु धेरै अघि, होइन त ?”

नीरवताले मेरो अनुहारभरि शिथिलता पोतिदिन्छ किनकि म प्रत्युत्तरहीन भइसकेको हुन्छु ।

(पारिजातको कथासंग्रह ‘सडक र प्रतिभा’बाट)