चालीस वर्षपछि थापा बाबुले अब दफ्तरबाट सधैंलाई विश्रान्ति पाउने भयो । सबैभन्दा पुरानिया साथै एक अनुकरणीय आदर्श सज्जन हुनाले दफ्तरका बाबुहरूले आपसमा पैसा उठाएर सजधजसँग उसलाई बिदा दिने चाँजो मिलाएका थिए । सो उपलक्ष्यमा उसलाई चढाउन एउटा असल उपहारसमेत किनिएको थियो ।

====

नियमित समयमा थापा बाबु बिउँझ्यो । सदा झैं झटपट बिहानको नित्य कर्ममा नलागी सिरकमा गुटमुटिएर बिडीको धुवाँ बङबङ उडाउँदै ऊ विचार प्रवाहमा मग्न रह्यो । नौकरी छुटेपछि घरखर्च कसरी चलाउने ? चिन्ताले उसलाई चाप्न थाल्यो । तीस रुपियाँ महीनावारी पेन्सन तोकिएको थियो । त्यसको उसलाई के भर ? चालीस वर्षको अवधिभित्र दफ्तरमा कलम रगड्न सिवाय अरू मेलो उसले जानेन वा अपनाएन । बेपार-बन्द उसलाई कुन चरोको नाउँ थियो, थाहा थिएन । उसको जिम्मेदारीमा काँध हाल्नसक्ने छोरालाई कलेज पढ्दापढ्दै कालले चटक्क चुँडेर लगिसकेथ्यो । बढेकी छोरी अर्काको भित्ता टाल्न गइसकेकी थिई । रहे दुईजना- चौध वर्षकी छोरी लक्ष्मी अनि पाँच वर्षको छोरो किशोर जसको प्रसव-वेदनामा उसकी पत्नीले स्वर्गीय छोरालाई भेट्न गइसकेकी थिई ।

गिलासभरी तातो चिया हालेर बाबुको अघि राखिंदिदै लक्ष्मीले सोधी, “बा, समय धेरै बितिसक्यो दफ्तर जानुहुन्न आज ?”

थापा बाबुले निधौरो अनुहारको भावशून्य आँखाले छोरीलाई हेरेर मुसुक्क हाँस्यो मात्र, केही भनेन । केही क्षण वाल्ल परेर लक्ष्मी भान्सा तयार पार्नपट्टि लागी । साग केलाउँदै लक्ष्मीले सोच्न थाली, “बालाई ठूलो विपद् आइलागेछ । नत्र हँसिलो अनुहारले हामीसँग कुरा गर्नुहुन्थ्यो । आमा खस्दा बाबुको अवस्था ठीक यस्तै भएको थियो ।“ आँखाको टल्बल टल्बल आँसु रोक्दारोक्दै बररर केलाएको सागमाथि पर्यो । आँसुले पिरोल्छ भन्ने त्यस विदुषी किशोरीले बुझेकीले आँसु परे जति अफालेर साग पकाउन थाली ।

थापा बाबु झैं जीर्ण अवस्थाको टेबल घडीले साढे नौको सूचना दिंदा थापा बाबु झस्क्यो । चालीस वर्षको अवधिभित्र आज चाहिँ ऊ दफ्तर धाउन ढिलाइरहेथ्यो । नियमितह रूपले दफ्तर धाउन बाँधेको पद्धतिमा आज यसरी फेर पर्दा उसलाई केही अचम्म औ बिस्मात लाग्नथाल्यो । जे होस् आज त दफ्तरमा उसको अन्तिम दिन थियो । ऊ राजाको फुकिएको राँगो थियो । जति बजे जाऊँ उसलाई खुशी थियो । यसैले ऊ ढुक्क पनि भयो ।

थापा बाबुले दाँत मञ्जन गर्दै थियो लक्ष्मीले भाइलाई तयारतम्मार पारी किताबको वासा भिराएर आफू पनि तयार भई भुजा खाने पैसा माग्न बाबुकहाँ आई । दिदीभाइलाई देखेर ऊ टोलायो । पछि खल्तीबाट चार आना झिकेर तिनीहरूको हाथमा दुई दुई आना राखिदिंदै किशोरको कपाल मसार-मुसुर गर्ने थाल्यो । मीठो खुवाएर राम्रै लाउन दिएर आजतक उसले नानीहरूको लालनपालन गरिआएको ! गाउँका कुटुनीहरूले उस्काउँदासमेत दोस्रो बिहे गर्न ऊ तम्सेन । सानीमाको निर्मम अनुशासनमा लालन-पालन भएकोले त्यस्ती आमाको हृदयसँग ऊ पूर्णरूपेण परिचित थियो । घरको जम्मै भार लक्ष्मीले लिइदिएकीले दोस्रो बिहे गर्न उसलाई खाँचो पनि परेन । तर अब उसको नौकरी छुट्छ । फन्डको पैसाले केही वर्ष थेग्ला, यसपछि कसो गर्ने उसलाई सुझेन । केही गर्न नसके नानीहरू आधापेट जिउनेछन्, भुत्रे-झाम्रे हुनेछन् । यस्तो दुष्कल्पनाले उसलाई दिक्क लाग्यो । अरूहरूले छक्कापञ्जा र विश्वासघातद्वारा क्याँटका क्याँट नोटको बिटाले खल्ती भरेको उसले नदेखेको होइन । वेला बखत उसलाई यस्ता स्वर्ण अवसरहरू हात लागिरहन्थ्यो । ऊ भने त्यसतर्फ एक डेग अघि नसर्ने । त्यस्ता अवसरहरू गुमाएकोमा अब उसले एक मनले पश्चात्ताप गर्न थाल्यो, अर्को मनले आफ्नो इमानदारीको कायममा सान्त्वना लिन थाल्यो ।

ऊ भान्सा गर्न थाल्यो । तीन-चार गाँस हालेर जम्मै भात उसले छाड्यो । एघार बजेतिर दफ्तर जान ऊ तयार-तम्मार भयो । यन्त्रचालित घडी झैं ठीक दश बजे दफ्तरमा हाजिर हुने चालीस वर्षको आदतमा आज भने एक घण्टा फेर पर्दा घण्टौं ढिलाएँ भनेर उसलाई लाग्यो । तैपनि उसमा रत्तिभर त्रास उब्जेन अन्तिम दिन हुनाले दफ्तरमा उसको कस्तै भूल पनि आजलाई क्षम्य थियो । ढल्कँदै ढल्कँदै ऊ दफ्तरको ढोकाअघि दाखिल भयो । ऊ टक्क अडियो । ओकको बलियो तख्ताको ढोकामा कुँदिइएका बुट्टाहरू उसले एकोहोरो निहार्न थाल्यो । ढोका त्यही हो जब बीस वर्षको अलमस्त जवानी लिएर नौकरीको साँग्लोमा बाँधिन ऊ त्यसको अघि आइपुगेथ्यो । चालीस वर्षअघि यौवनको उन्माद र आकाङ्क्षाहरू छचल्किरहने उसका दुवै आँखाले ढोकामा अब पो देख्यो कवि दाँतको प्रसिद्ध मुहब्बरा – ‘आशा परित्याग गरेर मात्र यहाँभित्र पस ।’

चालीस वर्षअघि काम पाएको सन्देशले उसको हृदयमा कति आशा र उमङ्गहरू सञ्चारित भएथ्यो । दफ्तरमा भर्ना हुन साता दिन थियो । यी सातै दिन उसले भविष्यमा जम्मै मनोकामनाहरू पूर्ण भएको कल्पना जल्पनामा बिताएथ्यो । गरीबी हालतले भेंडा-बाख्रा जस्तो उसको घरका जहानहरूले कुच्रुक्क परेको अँध्यारो कोठामा जीवन गुजार्नुपरेकोले एउटा आफ्नै असल घरको खायस थियो, जसको बैठक कोठा आधुनिक जिनिसपत्रले सज्जित भएको उसले कल्पना गरेथ्यो । दश-बाह्र वर्षसम्म बैंकमा पैसा थुपारेर एउटा मोटरगाडीसमेत किन्ने उसको ह्याउ थियो अनि सो मोटरमा जहान बालबच्चासँग टाढाटाढा जग्गाहरू सैर गरेको सुखद कल्पनामा कति पल्ट थापा बाबु आँखा चिम्लेको चिम्ल्यै भएथ्यो ।

उसको आशाको यस्तो भव्य महल खरानीको घर झैं भताभुङ्ग भयो जब वास्तविक जीवनसँग उसले टक्कर खानुपर्यो । चिताएको दश वटामा एउटै पुगीसरी आएन । सस्तो दामको टुइडको कोटले उसलाई कहिल्यै छाडेन । धेरै बालबच्चाले नघेर्दासम्म उसले वेला बखतमा सूट सिलाइहाल्थ्यो र बिहे-बटूलमा निम्तो हुँदा चिरिच्याँट्ट परी छरितो भएर जान्थ्यो । तर केही वर्षदेखि उसले सूट लाउन चटक्क छाडे जत्तिकै भयो । उसको दैनिक पोशाक भयो मयलपोश । यसरी दारिद्रयले उसलाई जातीय पोशाकको महत्व दर्शाउने भलाइ मात्र गर्यो । अघि अघि उसलाई सस्तो दामको सिगरेटले खोकी चल्थ्यो; बालबच्चाले घेरेपछि धुवाँको तलतल बिंडीले बुझाउनुपर्यो । यति गर्दा पनि उसले अलिकता पैसा जोहो गर्न सकेन । चालीस वर्षको दौडानमा केही गर्ने नसके जस्तो उसलाई लाग्न थाल्यो । झन्झन् रिङटा लागे जस्तो भएर दुई हातले निधार थामी ऊ केही क्षण घोप्टिरह्यो ।

यत्ति नै वेला तलबाट हाँफ र जाँफ गर्दै उसको चप्रासी आएर स्याँ स्याँ श्वास फेर्दै भन्नथाल्यो, “यतिन्जेल बाबु आउनु नहुँदा बाबुहरूले मलाई हेर्न पठाए किनकि आज तपाईंलाई बिदा दिन चिया र मिठाईको अर्डर गइसकेको छ । तपाईं आउनुहुन्न कि भन्ने उहाँहरूलाई सन्देह थियो ।”

मुसुक्क हाँस्दै व्यग्र भावमा थापा बाबुले भन्यो ‘हो र ?’ अनि कञ्चटलाई औंलाहरूले दाब्न थाल्यो ।

सरासर गएर थापा बाबु आफ्नो चौकीमा थचक्क बस्यो । दिन घुम्मिएर कोले अँध्यारो कोठा झन् अँध्यारिंदै बिजुलीको रोशनीमा बाबुहरू टेबलमा ढेरका ढेर फाइलको पहाड थुपारेर काम गरिरहेका थिए । टाइपिस्ट बाबुका औंलाहरूले चाहिं लट्टे पड़काएझैं मिशिन पडकाइरहेथ्यो ।

‘नमस्ते थापा बाबु ।’ वरपरका बाबुहरूले उसलाई अभिवादन गरे ।

शुष्क कण्ठले सबैको अभिवादनको जवाफ दिएर ऊ चूपचाप घोरिएर बसिरह्यो । नयाँ बाबुहरूलाई यस्तो भान पर्यो कि यत्रो वर्ष काम गरेको दफ्तरदेखि बिदा लिन थापा बाबु अफसोस मानिरहेछ । थापा बाबुको ध्यान आफू बसेको चौकीमा पर्यो । उसले काम गरेदेखिको यो तेस्रो चौकी थियो । शुरूमा काम गरेदेखिको टेबल भने अझ मजबूत थियो; यसमाथि पनि फाइलको ढेर थुप्रेकै थियो ।

चारैतिर आँखा घुमाएर उसले हेर्यो अनि देख्यो भित्ताको ताकताकमा खातका खात फाइलहरू खचाखच । ती फाइलहरू देख्दा उसको हृदय उकुसमुकुस हुन्थ्यो, अनुहारमा दिक्कको भाव झल्कन्थ्यो । ठाउँ ठाउँमा झुन्डेका सचित्र क्यालेन्डरहरूले बरु दफ्तरको यस्तो रूखो दृश्यमा केही आकर्षण थपिरहेथ्यो ।

एक टकसित हेरेको हेर्यै हुँदा ती फाइलहरूलाई करालकाल झैं चारैतिरबाट वाँ… गरेर मुख बाए झैं देखेर उसलाई भय लाग्दै आयो । निर्जीव पदार्थ पनि यत्तिको भयावह देखिन्छ भन्ने उसलाई आजै बोध भयो । अघिअघि त तिनीहरूको यस्तो वास्तविक रूपको परिदर्शन गरिरहने फुर्सदै कहाँ थियो र । दश बजेदेखि कलमको गतिसँग समय बितेर साढे चार बजेको उसले पत्तै पाउँदैनथ्यो; काम नसिद्धिएको दिन छ-सात बजेतक उसले खट्नुपर्दथ्यो ।

यी सब सोच्दा सोच्दै अनायास थापा बाबुको देब्रे हातले चाउरिएको निधार, गाला र केश झरेर खुइलिएको तालु मसारमुसुर गर्नथाल्यो अनि उसले हाड र छाला मात्र रहेको हातलाई हेर्यो । चालीस वर्षअघि भरिलो अनुहार र हट्टा-कट्टा शरीर लिएर ऊ काममा नियुक्त भएथ्यो । त्यतिवेला उसको ओठमा जुँगाको रेखी भर्खर बस्न थालेको थियो ; प्रशस्त रगत चढेको अनुहारमा अनि आँखाका कालाकाला रानीहरूमा जवानीको उन्माद छचल्किरहन्थ्यो । यस्तो जवानीलाई फाइलहरूसँग भिड्नमा बितायो तापनि उसले न त धन आर्जन गर्न सक्यो न त नाउँ ।

अब साठी वर्षको अवस्थामा नौकरीबाट उसले विश्रान्ति पाउनेभयो केही दिन बाँचेर मृत्युलाई अँगाल्न । यति लामो जीवनको कुनै निधि स्मरणीय घटना-गुम्फनले सुशोभित भएन । दिनहरू, साताहरू, महीनाहरू, ऋतुहरू, वर्षहरू सबै उसलाई एकनास थियो । हुबहु उसको जीवनमा चार घटना भने घटे अवश्य भन्न सकिन्छ- उसको बिहे, जेठी छोरीको जन्मोत्सव, बाबु अनि आमाको निधन । स्वतन्त्र जीवनको अलिकता अनुभव उसलाई थिएन, बाह्य संसारको ज्ञानदेखि ऊ अनभिज्ञ थियो । धेरै धुम्मिएको दिनपछि मननै हरण गरिदिने प्राकृतिक छटाको उपभोग गर्न जानेकै थिएन । ऊ त बाँधिएको गोरु थियो । वर्षमा पन्ध्र दिन छुट्टीको हक थियो तापनि ती सब उसलाई जरो, खोकी आदिले जपत पार्दा घरभित्रै बित्दथे ।

कुल्लीकवाडी र किसानहरू हाँसी-खुशीसँग खुला हावामा कमाइ गर्छन्, ड्राइभरहरूले एक ठाउँदेखि अर्को ठाउँ सेरोफेरो मारेर कमाइ निकाल्छन्, टाइप मिशिन मरम्मत गर्ने मेकानिक्सहरूलाई टाढा टाढासम्म जाने संयोग मिल्दछ, बेपारीहरूले चारैतिर डुलेर बजारको भाव बुझ्नुपर्छ, जक्खीहरूलाई दुई सिजन घोडा चढेर अरू दिन घुमेर खान पुग्छ, जुवाडेहरू दश ठाउँ जुवाको बड्डा ढुँडेर जीविकोपार्जन गर्छन्, पुलिसहरू खुलै हावामा आफ्नो काममा रुजु रहेर ड्युटी चुकाउँछन्, गुरुबाहरूको जीवन पनि त्यति बन्धनमय हुँदैन । किरानीहरू भने दफ्तरको अँध्यारो कोठाको एकै थलामा घोत्लिरहनुपर्छ एक दिन होइन, दुई दिन होइन वर्षौंतक । रात-दिन तिनीहरूको सम्पर्क रहँदछ कागजपत्रसँग मात्र । कल्पित स्वर्णिम भविष्यको तिनीहरूलाई हुन्छ हात लागे सुन्ना । जीवनको अकर्मण्यतामा थापा बाबुलाई आफैसँग जंग चलेर आउँथ्यो । तर अब के गर्ने ? तीन चौथाइ जीवन बितिसकेकोले नयाँ जीवन शुरू गर्नु साठी वर्षको बूढ़ो फेरि बीस वर्षको युवकमा परिणत हुनु थियो ।

बितिसकेकोमा चुकचुकाउनु उसलाई ठीक लागेन र आफैसँग उसले गुनगुनायो, “मेरो जगहमा आउने नयाँ बाबुले चाहिं म झैं स्वर्णिम भविष्यको सपनामा विभोर हुँदै दफ्तरको ढोकामा छिरेर नआओस् । जत्ति निम्नस्तरको उसका आकाङ्क्षाहरू उति उत्तम उसलाई… ।”

यत्तिमै एकजना चप्रासी आएर भन्यो, “बाबु, सभा भवनमा सबै भेला भए, र डाक्न आएको ।”

वरपरका बाबुहरू तीन बजे नै उठिसकेका थिए । विचारमा ऊ यत्ति तल्लीन थियो कि तिनीहरू त्यहाँबाट गएका उसलाई सुद्धि रहेन । चिन्तित मुद्रामा देखेर बाबुहरूले उसको ध्यान भङ्ग गर्न चाहेनन् । थापा बाबु चप्रासीसँग सभा भवनतिर लाग्यो ।

सभा भवनको बीचमा सेतो तूलले ढाकिएको टेबुलमाथि जिरिरिरि प्यालापिरिजहरू सजाएका थिए अनि ठाउँ ठाउँमा मिठाई खानेलाई मिठाई, केक खानेलाई केकहरूको राश थियो । थापा बाबुलाई माल्यदानको साथ उपहार चढाइयो ।

यसपछि दफ्तरको टाउके उठेर बोल्यो, “थापा बाबु एक योग्य कारिन्दा हुनुहुन्थ्यो । सधैं उहाँले तन-मनसँग काम गर्नुभयो । कुनै दिन काम बिग्रँदा आवेशमा मैले उहाँको मन दुखाइदिएँ हुँला । त्यसको माफी चाहन्छु, इत्यादि ।“

बिदाको वेलामा अफिसरले लोकाचार पारे जस्तो मात्र थापा बाबुलाई लाग्यो । कुनै दिन अफिसरको कडा वचनले पारेको हृदयको चोट फेरि आलो भयो र चसक्क उसको हृदय दुख्यो । जम्मै बाबुहरूका प्रतिनिधित्व गर्दै थापा बाबुभन्दा उमेरमा केही कान्छो रणधोज बाबुले बोल्यो । रणधोज बाबुको भाषणमा जम्मै बाबुहरूको हृदय बोलेको जस्तो थापा बाबुलाई लाग्यो ।

भाषणादि पछि सबैले खान शुरू गरे । केकको टुक्रा मुखमा क्वाप्प हालेर चिया सुरुप्प पिउँदै चपाइरहेको थापा बाबुको दृष्टि भने भित्तामा टाँगिइएका तस्वीरहरूमध्ये त्यो नक्सामा गाडिएको थियो जो पैंतीस वर्ष अघि लिइएको थियो । भित्ताको नक्सामा पच्चीस वर्षको जवान थापा बाबुले आफ्नै बूढापालाई अघिल्तिर देखेर खिजाइरहेको जस्तो भान उसलाई पर्यो ।

(‘भारतीय नेपाली कथा’ बाट)