पछिल्लो समय हटकेक बनिरहेको आर्टिफिसियल इन्टेलिजेन्स हाउगुजी पनि उत्तिकै बनेको छ । अविकसित मुलुकमा त यसबारे उति धेरै चासो र चिन्ता नदेखिए पनि विकसित मुलुकमा भने यसले सबैको लेखनलाई सिध्याउने डर पनि उत्तिकै छ ।

यस्तो बेलामा प्रविधिको क्षेत्रमा चर्चित अनुहारहरूले एआईका क्षेत्रमा लेखकहरूलाई जोड्ने प्रयास गरिरहेका छन् ।

गएको जनवरी १४ मा स्क्राइब्डका सहसंस्थापक ट्रिप एडलरले अन्य साथीहरूसँग मिलेर नयाँ कम्पनी दर्ता गरेका छन् । क्रिएटेड बाई ह्युमन्स नामक संस्था चलाउनका लागि पहिलो चरणमा सिड फन्डिङ जम्मा गरेको छ । हाललाई ५० लाख डलर जम्मा गरिएको छ ।

त्यसो त जुन २०२४ मा स्थापित यो कम्पनीले शुरूमा नै ५० लाख डलर लगानी गरिसकेको छ । यसमा ड्रपबक्सका ड्रयु हस्टन, स्लाकका सहसंस्थापक काल हेन्डरसन जस्ता व्यक्ति जोडिएका छन् ।

‘प्रकाशन उद्योगमा रहेका धेरै जसो लेखक तथा प्रकाशकहरू एआईबाट बढी नै आत्तिएको महसूस हामीले गरिरहेका छौँ,’ एडलरले पब्लिसर्स विक्ली पत्रिकालाई भनेका छन्, ‘एकातिर कोही आत्तिने र कोही चाहिँ ज्यादै उत्साहित पनि पाएका छौँ । हाम्रो संस्थाले एआई कम्पनीहरूलाई चाहिने तालीम अधिकार उपलब्ध गराउँछौँ ।’

एआई कम्पनीलाई ठूलाठूला डेटाहरू चाहिन्छन् । ती डेटा विश्लेषणबाट नै च्याटबटले सही उत्तर दिन्छन् । त्यसका लागि बढीभन्दा बढी आख्यान तथा गैरआख्यानका कृतिहरू चाहिन्छन् । अहिले कतिपय कम्पनीहरू लेखक तथा प्रकाशकको सहमति बिना नै त्यस्ता एलएलएम (लार्ज ल्याङ्वेज मोडल)लाई तालीम दिन ठूलो संख्यामा पुस्तक र अन्य जानकारीहरू प्रयोग गरिरहेको आरोप लगाइरहेका छन् ।

यस्ता आरोप ठूला पत्रिका प्रकाशन गर्ने संस्थाहरू (जस्तैः द न्यूयोर्क टाइम्स)देखि लिएर पेइन्गुइन रेन्डम हाउसजस्ता संसारकै ठूला प्रकाशकहरूसमेतले लगाइरहेका हुन्छन् । एआई कम्पनीहरू पनि कोसँग सम्झौता गर्ने र कोसँग नगर्ने भन्ने दोधारमा छन् । यस्तो अवस्थामा क्रिएटेड बाई ह्युमन्स नामक संस्थाले पुलको काम गर्ने बताइएको छ ।