प्रभाकरमणि तिवारी

शिक्षाविद्हरुको भनाइ छ, छापा किताबबाट युवा पिँढीले लगातार दूरी बढाउँदै लैजाँदै छन् । यो एउटा सामाजिक समस्या बन्न थालेको छ । आजका युवा पढ्नुभन्दा रिल्स र अन्य किसिमका भिडियो हेर्नुमा बढी मज्जा मान्न थालेको छ ।

नेपाल तथा भारतजस्ता मुलुकमा कोरोना कालमा अनलाइनबाट पढ्ने पढाउने र डिजिटल पुस्तकको चलन क्रमशः बढ्न थाल्यो । देशको सुविधासम्पन्न ठाउँमा

इन्टरनेटको सुलभताका कारणले सर्वसाधारणमाझ डिजिटल किताबसम्म पहुँच बढ्न पुग्यो । छापा किताबको तुलनामा तिनको मूल्य पनि प्रायः कम नै हुन्छ ।

साहित्यकार र शिक्षाविद्हरुको भनाइ मान्ने हो भने छापा किताबको तुलना डिजिटलसँग हुनै सक्दैन ।

छापाले स्मरणशक्ति बढाउनसमेत भूमिका खेल्ने गरेका छन् । उनीहरुको भनाइ छ, स्वस्थ दिमागका लागि पुस्तक पढ्न आवश्यक छ । रचनात्मकता र एकाग्रताजस्ता गुण विकास गर्न किताबभन्दा उम्दा केही पनि हुन सक्तैन । तर यसका बाबजुद पनि छापा किताबको बढ्दो मूल्यले सर्वसाधारणलाई विकर्षण गरिरहेको केहीको दाबी छ ।

कोलकातास्थित एक कलेजमा साहित्यका प्राध्यापक डा. सुमित चौधरी भन्छन्, ‘इबुकको प्रचलन राम्रै भइरहेको छ तर छापाजस्तो यसले अनुभूति दिन सक्ला त ?’

कोलकातामा रहेर पुस्तक लेखिरहेका जयकुमार बनर्जी भन्छन्, ‘बालापनमा गल्लीमा उभ्याइएका क्लाबहरुमा एउटा कुनामा कम्तीमा एउटा पुस्तकालय हुन्थ्यो ।

हामी त्यहाँ नियमित रुपमा पढ्न जान्थ्यौं । पछिका लागि भनेर किताबहरु घरसम्म लैजान्थ्यौं । तर इन्टरनेटको बढ्दो लतका कारण अब यस्ता पुस्तकालयहरु विलुप्त हुन थालेका छन् । तीव्र गतिले परिवर्तन हुन थालेको शिक्षा व्यवस्था र किताबका बोझ, ट्यूसन वा कोचिङका कारण छात्रछात्राहरुसँग आफ्ना स्कूले किताबबाहेक अरु थप पढ्ने समय नै रहँदैन ।’

उनी भन्छन्, पढाइमा बढ्दो प्रतिद्वन्द्विता र आमाबुवाका इच्छाहरुको बोझका कारण बालबालिकालाई पहिलेभन्दा अझ बढी व्यस्त बनाइदिएको छ । जे जति समय बच्छ, त्यो पनि स्मार्ट फोन र इन्टरनेटले खाइदिन्छ । यस्तो अवस्थामा बालबालिकामा किताब पढ्दाजस्तो एकाग्रता नै जन्मन सकिरहेको छैन ।

त्यसमाथि वर्षभरि कस्ता किताब पढिए भन्ने पनि गतिलो सूचना स्रोत छैन । जसका कारण पुस्तकप्रति आकर्षण बढाउन सकिएको छैन । कम्तीमा बेस्टसेलर सूची र पुस्तक चर्चालाई घनीभूत बनाउन सकिए, पुस्तक बिक्री वा पुस्तकप्रति रुचि दुवै बढ्न सक्ने केहीको मत छ । सन् २०२४ भरि भारतभर कुन किताब बढी बिक्री भयो भन्नेबारे भ्रामक सूचनाहरु फेला पर्छन् । तर गोरखपुरस्थित गीताप्रेसबाट छापिने रामचरित मानस लामो समयदेखि निर्विवाद रुपमा पहिलो नम्बरमा रहँदै आएको छ । यसका अतिरिक्त राजकमल प्रकाशन, प्रभात प्रकाशन, हिन्दू युग्म, पेइन्गुइन रेन्डम हाउसबाट छापिएका कयौं किताबहरु चर्चा र बिक्रीको मामिलामा शीर्षमा रहँदै आएका छन् ।

कथा र कथेतर विधाका किताब सबैभन्दा बढी बिक्री भए । इन्डिया टुडे मिडिया समूहको ‘साहित्य तकः बुक क्याफे टप १०’मा २०२४ मा सबैभन्दा बढी बिक्री भएका पुस्तकहरुलाई सम्मानित गरिएको थियो । त्यसमा ‘चरु, चीवर और चर्या’ सबैभन्दा बढी बिक्री भएको भन्दै सम्मानित गरिएको थियो । यस्तै सबैभन्दा बढी बिक्री हुनेहरुमा अनूदित पुस्तकहरु बढी देखिए । तीमध्ये शशि थरुर, हरीश भट्ट, अरुन्धति सुब्रमण्डयम, तसलीमा नसरीन र गाब्रिएल गार्सिया मार्खेजका पुस्तकहरु रहेका छन् ।

शिक्षाविद्हरुका अनुसार, छापा पुस्तकहरुसँग अहिलेका युवापुस्ताले क्रमशः दूरी बढाउँदै लैजान थालेका छन् । यो एउटा गम्भीर सामाजिक समस्या बन्दै जान थालेको छ । युवाहरु बढ्नुभन्दा रिल्स र अन्य भिडियो हेर्नुमा आनन्द मान्न थालेका छन् । अभिभावकहरु पनि आफ्ना सन्तानलाई जन्मदिन तथा अन्य अवसरमा किताबको उपहार दिनुभन्दा स्मार्टफोन र स्मार्टवाचजस्ता खेलौना दिन थालेका छन् ।

चोधरी भन्छन्, ‘दुई तीन दशक पहिलेसम्म स्कूल तथा कलेजका परिसरमा खाली समयमा पुस्तकमाथि बहस हुन्थे । अचेल भने इन्टरनेटमा भाइरल भएका वा ओटिटीमा रिलिज भएका फिल्म र शृंखलाहरुमाथि बढी बहस सुनिन्छ । देशका विभिन्न भागमा अहिले पनि ठूलो संख्यामा पुस्तकालयहरु छन् । त्यहाँ लाखौं पुस्तकहरु छन् तर त्यहाँ पाठकहरु जान छाडिसकेका छन् । यस्तो अवस्थालाई अहिले नै सुधारिएन भने अवस्था गम्भीर हुनेछ । यसलाई सुधार्न समाजका सबै तह र तप्का अघि बढ्नु आवश्यक छ ।’

त्यसो त कोलकाता तथा दिल्लीमा पुस्तक मेला आयोजन हुने गर्छन् । ती मेलामा किताब राम्रैसँग बिक्री भएको देखिन्छ । तर जयकुमार भन्छन्, ‘प्रदर्शनीमा किनिएका पुस्तकहरु कति पढिन्छन् । अर्कोतर्फ यस्ता प्रदर्शनीमा बढी चर्चित लेखकका किताब किनेर आफ्नो ड्रइङ रुम सजाउनेहरु बढी देखिन्छन् । यस्तो गर्नु एउटा स्टाटस सिम्बोल बन्न थालेको छ ।’

बाङ्लाका चर्चित साहित्यकार शीर्षेंन्दु मुखर्जी भन्छन्, ‘छापा किताब अहिले पनि उत्तिकै प्रासंगिक छन् । तर युवा पिँढीमा स्कूलदेखि नै पढ्ने बानी बसाल्न ज्यादै आवश्यक छ । यसको शुरुवात घरबाट हुन सक्छ । त्यसपछि स्कूलहरुले पनि पुस्तक पठनको अतिरिक्त कक्षा राख्न सकिन्छ । किताबहरुबाट युवा पिँढीले बढाउँदै जान थालेको यो दूरीले भविष्यलाई राम्रो संकेत गरिरहेको छैन ।’

कोलकातास्थित जादवपुर विश्वविद्यालयमा साहित्यका प्राध्यापक अविक मजूमदारको भनाइ छ, ‘किताब मानिसको सबैभन्दा असल साथी हो भन्ने भनाइ अहिले पनि उत्तिकै प्रासंगिक छ । यो कहिल्यै पुरानो हुँदैन । मात्र बालबालिकालाई शुरुदेखि नै पढ्न प्रेरित गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि घर र स्कूलहरुमा जागरुकता अभियान चलाउन ढिला भइसकेको छ । शुरुमा नै छापा पुस्तकहरुप्रति बालबालिकाको मोहभंग भयो भने उनीहरुले जीवनभर पुस्तक छुने छैनन् ।’

उनी छापा पुस्तकको फाइदाका बारेमा भन्छन्, ‘इन्टरनेटमा पढिएका कुरा मान्छे चाँडै नै बर्सिन्छन् । छापा पुस्तकमा पढिएका कुरा लामो समयसम्म दिमागमा बसिरहन्छ । उनी आफ्नो बाल्यकाल सम्झँदै भन्छन्, ‘इतिहास र भूगोलजस्ता पाठ्यपुस्तकका लामा लामा अध्याय मलाई याद हुन्थ्यो । त्यो बेला लामा लामा उत्तरहरु लेख्न तिनले हामीलाई सिकाउँथे ।’

शिक्षाविद्हरुका अनुसार तनावयुक्त आधुनिक युगमा छापा पुस्तकले मानसिक तनाव हटाउन उपयोगी साबित हुन सक्छ । किताबले भावनात्मक संवेग, बुद्धिमता र सहानुभूति विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

जयकुमार भन्छन्, किताब पढ्ने बानीले कल्पनाशक्ति र रचनात्मकतालाई निकै नै बढाउँछ । पुस्तक पढ्दा रचनात्मकता जसरी उम्दा हुँदै जान्छ, डिजिटलमा त्यो हुन सक्तैन । किताब पढ्दाका बेला बालबालिकाले बेग्लै संसार बनाउन थाल्छन् र आफ्नै कालखण्डको रचना–कल्पना गर्न थाल्छन् । प्राध्यापक मजूमदार भन्छन्, ‘छापा पुस्तक पढ्दा शब्दभण्डार बढ्छ । युवापुस्ताले नयाँ शब्द चाँडै नै सिक्न किताब पढ्न जरुरी छ । नयाँ शब्द सिक्नका लागि किताब पढ्नुजस्तो उम्दा कुरा र तरिका अरु केही छैन ।’

अहिले त स्वास्थ्य विशेषज्ञहरुले मज्जाले निद्रा पूरा गर्नका लागि पनि राति सुत्नुअघि किताब पढ्ने सल्लाह दिन थालेका छन् । मनोचिकित्सक डा. विवेक गोस्वामी भन्छन्, ‘राति सुत्नुअघि किताब पढ्नुजस्तो राम्रो कुरा केही हुँदैन । यसले ज्यादै गहिरो निद्रा लगाउँछ । यसको विपरीत यदि तपाईंले राति अबेरसम्म मोबाइल चलाउन थाल्नुभयो भने निद्रा खल्बलिन्छ । किताब पढ्ने बानीले मानसिक अवसादबाट पनि मानिस जोगिन्छ ।’

डिडब्ल्युबाट अनूदित