मेरी ड्रीम गर्ल । त्यो तिब्बती युवती । त्यसको सोलोडोलो जीउका कुन्नि कुन भाग मलाई ज्यादा मन पर्छ । तर मन पर्छ । त्यसका आँखा, नाक, मुख, ओठ अथवा पूरै चेहरा । त्यसको बाक्लो बक्खुभित्रको नरम अग्लो छाती अथवा कम्मरदेखि मन्तिर अथवा कम्मरदेखि मास्तिरका छुर्पी गनाउने फलमासुहरू ! चौंरीको दूध जस्तो छाला, म उन्मत्त बनेर कल्पना गर्छु : मनमा ग्रेनाइट जस्तो पत्रैपत्र सेक्स भावना जम्छ ।

सुत्ने बेलामा त्यसलाई नाङ्गै पारेर सम्झिदिन्छु । जीउमा एक धर्सो छैन । उदाङ्गो दैलो जस्तो त्यसको शरीर पनि नाङ्गो छ । त्यो नौनीको छाला जस्तो शरीर म मज्जा मानेर खेलाइदिन्छु । कापकापमा मेरा औंलाहरू फूर्ति बनिदिन्छन् । त्यसको भुत्लारहित कोखिला म नाक गाडेर सुँघ्दछु । त्यसका युक्लिप्टसे कापका स्याउ जस्तो मासुलाई सुमसुमाएर जोडले कराउन खोज्दछुः आदिम मान्छे भइसकेको हुन्छु ।

त्यसलाई म तीनै आयामबाट हेरेर सधैँ अघाइरहने वाक्क बन्न खोज्दछु । त्यसको फ्रन्ट भ्यू मात्र पनि त्यो होइन, साइड भ्यू मात्र पनि होइन ! त्यो त्यसको पछिल्लो पट्टिको पाटा पनि हो – पहाडको पछिल्लो भाग जस्तो ! डाइमन्ड छिलेको कट, बारुले कम्मर । कम्मरमन्तिरका मासुका दुई थुम्का पहाडहरू ! कति गिजिक गिजिकलाग्दो कमलो । नशा सोउ हुने गीलो कमलो । हातले छामेर जिरिङजिरिङ बन्दछु । ‍म्वाइँ खाने चाहना जागेर आउँछ । जम्मै शरीरलाई गुजुल्टाएर अँठ्याउन चाहन्छु । म भन्छु सधैं त्यसलाई मकैको घोगा जस्तो नङ्ग्याएर एकान्तमा उन्लपिलोमा सुताएर मुसारिरहन पाए हुनेथियो ।

त्यसको मोटो गरम लुगाको बक्खु खोलिदिएर नाइलोन लगाइदिन्थे । त्यसको नौनी जस्तो ध्यू-मासुको भाइलोन जस्तो शरीर देखेर मान्छेहरू हस्तमैथुन गर्न विवश भइदिउन् । त्यो मेरो वशमा हुँदो हो त म त्यसलाई ब्राण्डी ख्वाएर नाङ्गो नचाइदिन्थें । मान्छेका खापैखाप सेक्स भावनालाई लथालिङ्ग पारिदिने थिएँ ।

नाङ्गो वस्तु मान्छेको मौलिक अधिकार । अब मान्छे नाङ्गै बस्न सक्नुपर्छ । मान्छे आफ्नो अस्तित्वमा बाँचेको हुन्छ । समाज भन्ने कुरो अब पुरानिएर जानेछ । मान्छेका पुरातन आस्था र परम्पराहरू भाँचिएर जानेछन् । मान्छेलाई अब केही चाहिँदैन । भौगोलिक परिधि पनि चाहिँदैन । राजनीतिको ता अब गन्धै नाश हुन्छ । मान्छे अब एकलाएकलै हिँड्छ । जत्थाजत्था भएर जहाँ मन लाग्यो उहीं जान्छ । नाङ्गो नाङ्गो हिंड्छ । मनमा जे आयो त्यही गर्छ । त्यो सम्पूर्ण आफ्नो इच्छामा बाँच्छ । करकापमा बाँच्दैन । सामाजिक बन्धनमा बाँच्दैन । धार्मिक टन्टामा बाँच्दैन । आर्थिक दबावमा बाँच्दैन । शोषण र शासनमा बाँच्दैन ।

त्यो मौलिक रूपमा बाँच्छ । शुद्ध मान्छे भएर बाँच्छ । त्यो खारिएको घ्यू जस्तो गिदी लिएर बाँच्छ । त्यो भोट दिएर बाँच्दैन । भाषण दिएर बाँच्दैन । त्यो भावुक भएर पनि बाँच्दैन । त्यो किताबी ज्ञानमा सीमित भएर पनि बाँच्दैन । त्यो सद्दे मान्छे भएर बाँच्छ । चाम्रो भएर बाँच्छ । फाँटिलो भएर ढुङ्गाको छातीमा बाँच्छ । त्यो कोरिएको मानचित्र भित्र कुकुर-बिराला भएर कुनै जातिको सदस्य भएर बाँच्दैन । त्यो केवल मान्छेको असली रूपमा बाँच्छ ।

त्यो खोलाको बगरमा स्वतन्त्र घुमिहिँड्छ । त्यो आफ्नी प्रेयसीलाई गुफा कन्दरामा राख्छ । त्यो कन्दमूल खाएर बाँच्छ, खोलाको चिसो पनि खाएर बाँच्छ, माछा खाएर बाँच्छ । त्यो वनका बाघ भालूसित लाप्पा खेलेर बाँच्छ ।

आफ्नी मायालुलाई चाट्छ, चिथोर्छ, कोपर्छ, क्रूर पशुमा पेश आउँछ, फेरि मिलिहाल्छ अनि बगरको बलौटे बगरमा सुतेर फुक्का सास फेर्छ । दुःख, पीडा, व्यथा, भय, त्रास केही हुँदैनन् । खालि तगडा भएर मनमानी बाँच्ने रहर हुन्छ, उत्कट रहर हुन्छ । त्यो रहरभित्र जिन्दगीको चरम अस्तित्व त्यसले महसूस गर्छ ।

यो गुहे अन्डरवीयर र फोहोर पेटिकोटको जिन्दगी । यो छातीको अग्ल्याइँमा पौरुषता हाँक्ने ब्रेसियर गनाउने जिन्दगी यो टेरिलिन र नाइलोनको खोक्रो जिन्दगी । यो खडेरीमा परेको बाँझो जिन्दगी । यो ट्याब्लेट, मिक्स्चर र टनिकको जिन्दगी । यो वर्थ-कन्ट्रोल, चेक प्रेसरी र फ्रेन्च लेदरको जिन्दगी । यो करप्शनको जिन्दगी । सेक्सको जिन्दगी । डाइभोर्स र एबोर्शनको जिन्दगी यो सिनेमा र टेलिभिजनको जिन्दगी । यो जेट र रकेटको जिन्दगी । यो एक्स-रे सर्जरीको जिन्दगी । यो साइन्सको रूटिनबद्ध जिन्दगी । यो टीनभित्र बन्द माछा र मासुको जिन्दगी । यो बोतलभरीको रक्सी र ह्विस्कीको जिन्दगी । यो अभावको जिन्दगी । परम्पराभित्र मक्केको जिन्दगी । यो नैराश्यकी जिन्दगी । यो क्लब र होटलको कृत्रिम जिन्दगी । यो शिष्टाचारकी जिन्दगी । यो पेरिस, न्यूयार्क, लण्डन र सिंगापुरको अगर जिन्दगी । यो नाच्ने आइमाईको काप गन्हाउने जिन्दगी । यो एक्टर-एक्ट्रसको विलासी जिन्दगी । यो मलिन मनरोको जिन्दगी, क्रिस्टन कीलरको जिन्दगी। विथोविनको सिम्फोनीको जिन्दगी । यो चीनको जबर्दस्त जिन्दगी । यो रसिया र अमेरिकाको मंगल र जुनमा पुग्ने साइन्सको चरम चुनौतीको जिन्दगी ।

यो नेपालका पाखा-भित्ताको जिन्दगी । यो काठमाण्डूको जिन्दगी । यो इंडियाको जिन्दगी । यो गाउँ, बस्ती र चिया कमानको जिन्दगी । यो कडा मिहिनतको जिन्दगी । कलकत्ता, बम्बई र दिल्लीका ऐशआराम र साहबीको मौजको जिन्दगी । यो बिटनिक जिन्दगी, बीटल्स जिन्दगी, एंग्री यंग मेनको जिन्दगी । यो हिजडा-टाइपको चमेरे जिन्दगी । यो न्यूड क्याम्पभित्रको छाला गनाउने जिन्दगी । यो सोनागाछी, दालमण्डी र शीफलको जिन्दगी । यो उच्चवर्गीय होमो सेक्सुअल जिन्दगी । यो बलात्कारको जिन्दगी । यो नारसिसस जिन्दगी । यो ओडिपस कम्प्लेक्सको जिन्दगी । यो मोनालिसाको रहस्यमय मुस्कानको जिन्दगी । यो पाब्लो पिकासोको ज्योमेट्रिकल जिन्दगी । यो शार्त्र र कामूको चरम अस्तित्व बोधको जिन्दगी । यो फ्राइडको वासनाग्रस्त सपनाको

जिन्दगी । यो भ्यान्गोको चरम आवेगको जिन्दगी । यो देवकोटाको अस्तव्यस्त जिन्दगी । यो लेखक-कविको जिन्दगी । टीचर र क्लर्कको जिन्दगी । यो नेता र ठगको जिन्दगी ।

यो जिन्दगी, धेरै धेरै जिन्दगीहरू जसभित्र मान्छेले बाँच्नुपर्छ, बाँचिदिनुपर्छ : पेटको निम्ति, परिवारको निम्ति, देशको निम्ति, जातिको निम्ति, संसारकै निम्ति, अनि ईर्ष्याको निम्ति, ख्यातिको निम्ति अनि अमर बन्न खोज्ने लालसाको निम्ति । धेरैले जिन्दगी बाँचिदिन्छन् । थोरै जिन्दगी मात्र अस्तित्वलाई सँगालेर बाँच्छन् । अस्तित्वलाई सँगालेर बाँच्नेहरू, बाँचेर केही गर्न खोज्ने भावना राख्नेहरू र भोलिलाई केही जगेरा गरिराखेर जानेहरू एकदमै बिरलै । मान्छे साधारण अर्थमा छिमल बाँचिदिन्छन् । परन्तु एकै छिमल भए पनि मान्छेले इस्कुस भएर बाँचिदिनुपर्छ, गाई भएर बाँचिदिनुपर्छ । धेरै कम्ती मान्छे गिदी र छातीमा बाँचिदिन्छन् । केही मान्छे मुटुले बाँचिदिए तापनि रहलपहल मान्छेचाहिँ हातखुट्टा, आँसु-पसिना, आँखाकान, हाड-मासु रगत र स्याप्टो भुँडीमा बाँचिदिन्छन् । र यस्तै मान्छेहरूको निम्ति राजनीति चल्यो, शासन र शोषण चले, धार्मिक, आर्थिक र सामाजिक नियम-कानूनहरू बने कोरिए । त्यसैले नेता निस्किए (भेडाबास्नाका गोठाला), मिनिस्टर बने अनि सेक्रेटेरियट र पालियामेन्ट हाउस बने अनि साधारण मानिसहरू कल-कारखानाका सान्साना पुर्जा भए, हली र ज्यापू भए, सिकर्मी र डकर्मी भए ।

मान्छेको सोलीडोलोपन अथवा प्रायामिक बनौट मात्र जिन्दगी होइन । सासफेराइ मात्र पनि जिन्दगी होइन । मान्छेले आफूभित्र, मुटु, कलेजा, फोक्सो र गिदी छ भनेर जान्नुपर्छ । मान्छेले समस्त आफूलाई चिनेर इज्जत गर्न सिक्नुपर्छ ।

मान्छे फोसिल होइन, ग्रेनाइटको मूर्ति होइन, काँस र ताँबाको स्ट्याच्यू होइन, मिस्रको ममीको नकल होइन । मान्छेभित्र भोल्क्यानो छ, एटम छ, डाइनामाइट छ । मान्छे महादानव: फिफ्टी मेगाटन बम जस्तो ! मान्छे महासंहारी: त्यो हिटलर, मुसोलिनी छ मिलियन यहूदीहरूलाई ग्यास च्याम्बरमा सिन्की-गुन्द्रुक पारेर मार्ने हर इकम्यान ! मान्छे बुद्ध पनि हो, गाँधी पनि हो, नेहरू पनि हो । मान्छे सानो जिलिगान्टे पाँच हाते जादू बाकस, त्यो नेपोलियन, त्यसको असीम पौरुखताले सगरमाथा झुक्यो, त्यो तेन्जिङ जरूरत परेमा बलभद्र र भीमसेन थापा र मेजर धनसिंह ! त्यो शिवाजी पनि, अलेकजान्डर पनि र पुरु पनि । अझै पर गेलिलियो, न्यूटन र आइन्स्टाइन र सापेक्षवादलाई भन् परतिर लेजाने जयन्त नार्लीकार !

मान्छे आफैभित्र शार्त्र र कामू छ, इलियट र पाउन्ड छ, जुङ्ग र फ्राइड छ, सोक्रेटस, प्लेटो र एरिस्टोटल छ ! मान्छेले आफूलाई चिन्नुपर्छ, चिनेर काममा ल्याउनुपर्छ । आजको भौतिक विज्ञान मान्छेकै मस्तिष्कको उपज । मान्छे सकेदेखि सबै शाहजहाँ हुनचाहन्छ, प्रियसीको नाममा ताजमहल बनाउन खोज्छ । तर यो बन्नु र बनाउनु पनि शक्ति र साधनको कुरो । शाहजहाँसित दुवै कुरा थिए, ताजमहल बन्यो । अब मान्छेले के बनाउँछ ? ढुङ्गाको फक्ल्याँटोको चिहान बनाउन सक्तैन, फलेकको चौतारी बनाउन सक्तैन । मान्छे साधनहीन भएर जाँदैछ, लुइतामे भएर जाँदैछ, मान्छे अनर्थको भएर जाँदैछ, मान्छे बेकामे भएर गइरहेछ । मान्छेको छाती संकुचित हुँदै मुटुमा खिया परेर जाँदैछ, गिदीमा लेउ परेर गइरहेछ : मान्छेको विचारमा अब क्लिसो जम्छ । मान्छे अब च्याङ्लाच्याङ्ला भएर मक्किएर जानेछ । मान्छे अब धतूराको फूल जस्तो नराम्रो हुन्छ, कुकुरको पुच्छर जस्तो हुन्छ, उन्यू जस्तो हुन्छ, काग जस्तो हुन्छ, तुवालो जस्तो हुन्छ, भ्यागुतो जस्तो हुन्छ ।

दुई भागमा एक थरी मानिस मानचित्रका रेखाहरूमा झगडा गरेर मर्नेछन् बम, बारुद र ग्यासले । त्यहाँ पनि फिटेस्ट मात्र सरभाइभ गर्नेछन् । भौतिक साधनले सम्पन्न यी मानिसहरू ट्याब्लेट र इन्जेक्शनमा बाँच्नेछन्, अल्छे र पङ्गु बनिदिनेछन् । स्वास्नी-मानिसवेगरको जिन्दगी नीरस र खल्लो बन्नेछ अनि परस्परमा बगरी गर्नेछन् अनि एक छिमल बाँचेर बेअस्तित्व स्वाहा हुनेछन् ।

अर्का थरी मानिस भौगोलिक परिधिलाई तोडेर, मानचित्रका सिमानाहरू भत्काएर नाङ्गानाङ्गै, गुफागुफा, जङ्गल-जङ्गल, बगर-बगर हिंड्नेछन् । समाज टुटिसकेको हुन्छ, विश्व खुकुलिसकेको हुन्छ । मान्छे लहरा लहरामा झुण्डिएर वल्लो छेउ र पल्लो छेउ गर्छ । बाँदरसँग एउटै हाँगामा बसेर फलफूल खान्छ । मान्छे एकपल्ट फेरि प्रकृतिमा फर्कन्छ, हरियालोमा आउँछ  ।

म पनि त्यसलाई लिएर, नाङ्गै भइदिएर यूरेका यूरेका … चिच्याउँदै जङ्गलै जङ्गल पसेर टिस्टाको बगरमा गएर बिसाउँछु । म आफ्नो इच्छामा बाँच्ने फुक्का मान्छे भइसकेको हुन्छु । टिस्टाको ठूल्ठूला माछा मारेर त्यसलाई पोलेर खुवाउँछु, वन-तरूल र जङ्गली केरा दिएर ओडारमा बस्छु । म त्यसलाई चिथोर्छु, कोपर्छु, नङ्ग्याउँछु, चाट्छु अनि… … अनि … …

त्यो तिब्बती युवती, मेरी ड्रीम गर्ल, एउटा मीठो सपना जस्तो, हिमालको हिउँ जस्ती, चौंरीको नौनी जस्ती त्यो खरसाङमा देखेको तिब्बती युवती जसको गालाको गुलाफीले मलाई त्यस्तै बन्ने रहर दिन्छ, त्यसको नीलो रङको बक्खुले समुद्रको छाती दिएर आकाश जत्रै अग्लो बन्ने उत्साह दिन्छ … त्यसको प्राप्तिमा म यस छिप्पट सभ्यतालाई लात कसेर प्राचीनमा पुगिदिन्छु, प्रकृतिको हरियालीमा मिसिदिन्छु : म आफ्नो इच्छामा बाँच्ने फुक्का मान्छे भइदिन्छु !

(हरीश बमजनको कथासंग्रह ‘शो–केस भित्रको जिन्दगी’बाट)