अहिले पूर्वमा चलेको सबैभन्दा ठूलो द्वन्द्व मुक्कुमलुङ/पाथिभरा ताप्लेजुङमा केबुलकार राख्ने या नराख्ने भन्ने आन्दोलन चर्केको आधा दशक ज्यादा भैसकेको छ । त्यहाँको स्थानीयबासी र छिमेकी जिल्लाबासीलाई थाहा नहुने कुरै भएन । तर विश्वभर छरिएका सारा नेपालीहरूलाई किन यस्तो अराजक, हिंसा र द्वन्द्व भैरहेछ ? सबैलाई कौतुहल/जिज्ञासा लाग्न सक्छ । यी सारा कुरालाई बिट मार्नको लागि “मुक्कुमलुङ” नाटक गत माघ २ गतेबाट सुरुभै आगामी २७ गतेसम्म मन्डला थिएटर हल थापागाउँ काठमाडौँमा मञ्चन भैरहेछ ।

साहित्यकार गीलु रातोस, अनिल सुब्बा र स्वयं कलाकार विष्णु मोक्तानद्वारा संयुक्त लिखित मुक्कुमलुङ नाटकको निर्देशन स्वयं कलाकार अनिल सुब्बाद्वारा गरिएको हो । याक्थुङ/लिम्बु जातिको मुन्धुममा उल्लेख गरेअनुसार मानव समुदायकै पहिलो सृष्टि मुजिङ्ना खेयङ्ना नारी नै मुक्कुमलुङ (सेमुक्तु मुक्तु गोक्मा फोमा), फक्तालुङ र सेन्जेलुङ आदि पवित्र डाँडा हिमालको आसपासबाट उत्पत्ति हुँदै बस्ती बसालिएको कुरा उल्लेख गरिएको छ । यसैले यी जातिहरू मुक्कुमलुङलाई श्रीपेझैं आफ्नो चोत्लुङ शिर मान्दछ । यही पवित्र मुक्कुमलुङमा वायु, ढुङ्गा, माटो, पानी, जुन, घाम, आकाश, खोला, प्रकृतिबाटै वैशाली नारी मुजिङ्ना खेयङ्नाको कोखबाट सुसुवेन लालावेन पुत्र जन्मन्छ । त्यहाँको हरियाली वन जङ्गल, डाँडा काँडामा रमाउँदै ऊ किशोरकालमै सिकारी बन्दछ । लालावेन जवान भएपछि घर छोडेर आफ्नो पाँचवटा शिकारी कुकुरको साथमा आमा मुजिङ्नासँग बिदावारी भई परदेश लाग्दछ । आमाले पनि छोरा लालावेनलाई —
“एकले अर्कालाई कहिलै एक्लै नपार्नु
एकले अर्काको शिर कहिलै नढाल्नु”
भनेर आशीर्वाद दिन्छिन् । शिकारकै खोजीमा रमाइरहेका जोडी चराहरूमध्ये उस्ले एउटालाई वाँणले मारेर सराप पाउँछ । फेरि शिकार घुमफिरकै क्रममा नारीहरूसँग लालावेन प्रेममा लिप्त हुन्छ । कुनैबेला सिकार नपाउँदा ऊ अरुको बारीको कन्दमुल र पिंडालु स्वीकृति नलिई मीठो मानेर खाइदिन्छ तर देवा (लिम्वुदेवा) लागेर या विक्षिप्त पंक्षीको सराप परेर त्यो खानाले सुतेपछि कहिलै नउठ्ने गरी मृत्युलोक जान्छ । उसका शिकारी कुकुरहरू पनि चारवटाले क्रमशः छोडेर जान्छ । अन्तिममा एउटै मात्र कुकुरले रुँघेको हुन्छ । डुलिरहेको पंक्षी र मौरीको माध्यमले त्यो अशुभ खबर उता आमा खेयङ्नालाई पुर्याउँछ । सुरुमा त कुकुरले भने पनि त्यो कुरो पत्याउँदैन, तर धेरैजनाले भनेपछि छोरा लालावेनको मृत्युले ऊ भावविह्वल भई हृदय विदारक मुन्धुमी कारुणिक रौद्र हाक्पारे गीत गाउँछ । जुन गीतले दर्शकहरू भाषा नबुझे पनि भावुक बन्दछ । लालावेनको प्रेमिकाहरूबाट भने बालबच्चाहरु फैलिन्छ, त्यसैको सन्तानको रुपमा मानव सृष्टि भएको भनेर मुन्धुमले वर्णन गरेको छ ।

नाटकको श्रीगणेश मण्डला थिएटरको प्रागणमा बाँसको लिङ्गो/याङ्ग्राङसिङहरू गाडेर, सिलाम साक्मा, स्याउला, मुवालो र घुग्री टाँगेर गाउँघरकै परिवेशजस्तै देखिने केही घर आँगनको दृश्य देखाइन्छ । जहाँ तीन जना धामी बिजुवा योवाहरूद्वारा तङ्सिङ पूजा गरिएको हुन्छ । यसरी तङसिङ स्वास्थ्य, शान्ति र समृद्धिको लागि गरिएको हुन्छ । योवा पुजारीहरू थाल बजाउँदै फलाक्दै खोला, नाला, डाँडा, काँडा, वन, जङ्गल, हावा, पानी, आदि मिथक मानी मुन्धुमको कुरा गर्दै यसरी याक्थुङ किरात जातिको शिर नै मुक्कुमलुङ, फक्तालुङ र सेन्जेलुङको वर्णन गर्दछ । यो दृश्यमा बेरोजगार अल्लारे ठिटाहरू गाउँमा तास खेलेको, केही बेकामे पुरुषहरू रक्सीले मातेर झल्लु भएको, गाउँघरमा इष्टमित्र थुप्रिएर कचहरी बसी –  “गाँऊ बाँच्नुपर्छ, संस्कृति बाँच्नुपर्छ” आदि भन्दै आआफ्नो दुनियाँमा गाउँघर रमाएको करीव २५ मिनेटको खुल्ला जीवन्त दृश्य देखाइन्छ । जस्मा अग्रज बुद्धिजीवी तुम्याहाङहरू योवा पुजारीहरूलाई —
बोटविरुवा पहाड सवैको शिर ढलेकोहोला,
माङ्गेना (शिर उठाई) गरिदेऊ है”
भनेर इशारा गर्छन् ।
करीव अढाई घन्टाको नाटकमा झन्डै दुई घन्टाको मुन्धुमसँग आधारित मिथकहरूको कहानी देखाइन्छ । त्यसपछि भने अहिलेको समसामयिक विषय भनेको सुदूरपूर्व ताप्लेजुङको मुक्कुमलुङमा जुगौंदेखि बसोबास गरेका बहुसंख्यक लिम्बु जातिको पवित्र मुन्धुमी, संस्कृति, आध्यात्मिक, प्रकृतिक, पर्यावरणलाई विनाश गर्न केही कुतत्त्व लागिरहेका छन् । त्यै पनि केवल एउटा ठेकेदार व्यक्तिलाई पोस्न केही पार्टीका स्वार्थीहरूको मिलोमतोमा राज्यद्वारा नीति, नियम र कानूनकै बर्खिलाप गर्दै विश्व सम्पदाकै उचाईमा रहेका यो पवित्र आस्था र अस्तित्वमाथि जघन्य अपराध र खेलवाड गरिहेछन् किनकि विकासको नाममा विनाश कुनै हालतमा हुन सक्दैन । विकासै चाहने हो भने ताप्लेजुङमा फुङफुङे झर्ना, कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, सिङ्जेम्मा ताल, तिम्वुङ पोखरी, लोदेन ताल, चीनसँग जोडिएको नाका ओलाङचुङगोला आदि प्रशस्तै प्रवल पर्यटन सम्भावना बोकेका यी रमणीय महत्त्वपूर्ण ठाउँहरूमा खोई यातायात खोई केवलकार ? पूर्वकै सबैभन्दा ठूलो जिल्ला स्वयं सदरमुकाम फुङलिङमा अहिलेसम्म पर्यटकको मन अढिने आकर्षण मनोरञ्जनात्मक रमाइला कुरा खोई के छ र ? तर यी पार्टीका ठूटे नेता र पार्टीका झोलेहरूको चस्मामा कुदृष्टि सोचले डेरा जमाएको छ । यिनीहरू विकास बन्दै चाहँदैनन्, आफ्नो गोजी तताएर विनाश गर्न तल्लिन छन् । त्यसैले यिनीहरू नै मुख्य विकासविरोधी बाधक हुन् भन्ने छर्लङ्ङै भएको छ । मूलबासी आदिवासीहरूको नैसर्गिक हक र अधिकारमाथि दमन गरिएको छ । हो, यसैको आधारमा यो ऐतिहासिक नाटक देखाइएको छ ।

यो मुक्कुमलुङ एउटा लिम्वु किरात समुदायको शिर/चोत्लुङ सभ्यता मात्र नभएर सिङ्गो नेपाल राज्यको साझा सम्पदा हो । यसको प्रकृति सुन्दरता विछट्टै अवर्णनीय छ । हजारौं वर्ष पुराना रुख, बोटविरुवा, जैविक आयुर्वेदिक जरिबुटीदेखि राष्ट्रिय फूल लालीगुराँस आदि मास्नु धार्मिक र कानूनी अपराध त छँदैछ । घनघोर अजङ्गको जङ्गलभित्र रमाउने निर्दोष जिजीविषा पशुपंक्षीहरू लोपोन्मुख भएका रेड पान्डा, घोरल, मृग, डाँफे, मुनाल आदि असङ्ख्य वन्यजन्तुहरू सबैको विनाशले सुन्दर र स्वच्छ पर्यावरणमा कति असर पुर्याउँछ ! यसैको सन्देश —
“हामी आ-आफैँ बाझेर लडाईँ गरेर हुँदैन
प्रकृति प्रकोपको बारेमा कहिल्यै सोचेका छौ ” ?
भनेर मञ्चबाट विरोधी र दर्शकलाई सुनाइन्छ ।

निर्देशक अनिल सुब्बाद्वारा गरिएको रङ्गमञ्चका झन्डै दुई दर्जन पात्र कलाकारहरू — विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्वु, सौजन सेनेहाङ, अन्जना थुलुङ, सम्पता थुलुङ, मणि कु. राई, नुमा राई, नमिता राई, प्रवीण मगर, भूमिका थारु, पवन गोले, अजय लामा, डेविट सुवेदी, सन्जित थुलुङ, अमर वुढाथोकी, आकाश सुहाङ र ईशा सिन्जाली सबैको भूमिका सन्तोषजनक र प्रशंसा गर्न लायक देखिन्छ । मुजीङ्ना खेयङ्नाको अभिनय गर्ने पात्र कलाकारहरू वेदना राई तान बुन्ने र धागो बनाउने बूढी बोजुहरू अलि कुप्री, चाउरी परेकी, कपाल फूलेकी कुप्री कुप्री देखाउनु पर्ने थियो भने धागोवाली तानवालीको स्वर आवाज मसिनो भएकाले पछाडिका दर्शकहरूले सुन्दैन थिए । अर्का महसुर कलाकारहरू विष्णु मोक्तान र साथीहरूको योवा झाक्रीको हाउभाउ, भेषभूषा र अभिनय प्रशंसनीय छ भने सुरज तमुको सुसुवेन लालावेन पात्रको अभिनय पनि उत्तिकै प्रशंसनीय र गर्व गर्न लायक थियो ।

समग्रमा सबै कलाकारको जीवन्त अभिनय, हाउभाउ, कलात्मक भेषभूषा र सभामन्डपको साजसज्जा रोमाञ्चक आकर्षण छ । साउन्ड सिस्टममा कुनैकुनै गीतमा अचानक ठूलो बजाए तापनि लाइट सिस्टम र साऊन सिस्टमलाई राम्रै मान्नु पर्दछ । कम्तिमा अन्तिममा भए पनि सबै कलाकारको परिचय दिनुपर्ने थियो ।

तर प्रत्यक्ष दर्शकको नाताले कुरो नचपाई भन्नैपर्छ । सुसभ्य समाजमा यत्तिको ऐतिहासिक महान् नाटक देखाइसकेपछि अश्लील अपाच्य शब्द (मुला जिम्वु खाने, जाँड खाने) हरूले नाटकलाई कमजोर र अशोभनीय पारेको छ । त्यस्तै अहिलेको समसामयिक निम्न मुद्दाहरूको कुरा उठान गर्नै पर्दथियो ।

१. राज्य र प्रमुख राजनीतिक दलहरू किन एउटै व्यक्तिको पछि लागेर नकाम विध्वङ्स मच्चाइरहेछन् ?
२. नित्य हिंसा र द्वन्द्व चर्किरहेछ, समाधान र निकासको निम्ति राज्यपक्ष वार्तामा जान किन बन्दै चाहँदैन ?
३. मुक्कुमलुङको लडाईँ समाधान र निकासका उपाय के के हुन् ?
४. मुक्कुमलुङको निम्ति केबुलकार आवश्यक छ कि छैन ? छैन भने के कारणले छैन ?
५. सुरुमा प्रति रोपनी ९० हजारमा किनिएर सबै जग्गालाई ८ लाख मूल्यको जग्गालाई एकैचोटी झन्डै ३० करोडमा कसरी किन किनबेच भयो ?
६. नेपालको संविधान धारा ३२ उपधारा ३ ले र अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघको महासन्धि (आईएलओ)ले स्पष्ट रुपमा मूलबासी आदिवासीहरूको धर्म, संस्कृति, भूमि आदिलाई संरक्षण गर्न अधिकार दिइएको कुरोलाई स्वयं राज्यपक्षबाटै किन उलङ्घन र बर्खिलाप गरियो ?

हुन त गत असोज २ देखा २० गतेसम्म पनि शिल्पी थिएटर बत्तिसपुतलीमा पवित्र राईले निर्देशन गरेको यस्तै नाटक मुक्कुमलुङमा देखाए तापनि यी माथिका उल्लेख गरिएका कुराहरू बन्दै उठाएका थिएनन् तर त्यो पहिलो मुक्कुमलुङ नाटक भन्दा अहिलेको मुक्कुमलुङ नाटक भने धेरै गर्व गर्न लायक भने अवश्य छ । सबैभन्दा ठूलो कुरो प्रकृति र संस्कृतिको संरक्षण गर्न आस्था र अस्तित्वको लागि अन्याय र अत्याचारको विरुद्ध रङ्गमञ्चबाटै यत्रो ऐतिहासिक नाटक “मुक्कुमलुङ” प्रदर्शन गर्नु नै महत्वपूर्ण कुरा हो । मानव सृष्टिदेखि मृत्युसम्म हुँदै अहिलेको समसामयिक चर्केको वर्तमान परिवेशको एउटा रङ्गमञ्चबाट बुलन्द आन्दोलन नै हो । त्यसैले मुक्कुमलुङ नाटकका परिकल्पनाकार, लेखक, निर्देशक, कलाकारहरू र टिमका सबैलाई हार्दिक बधाई तथा शुभकामना ।