
२७ दिसम्बर १९२७ मा जन्मग्रहण गरेका कवि गिरी खाँटी भारतीय नागरिक हुन् । राष्ट्रियताले उनी भारतीय थिए; कला सृजनशीलताका दृष्टिले नेपाली कवि । नेपाली हुनाले नेपाली मन थियो गिरीसित । नेपाली मनले गर्दा उनका काव्यमा नेपालीपन थियो । नेपालीपन र नेपाली मनले सारा नेपालीलाई काव्यमा बाँध्न पुगे किनभने गिरीका काव्यमा जुन नेपालीको दुर्दशा र आस्तित्विक सङ्कटको कोलाज छ त्यससित सारा नेपालीको मर्मले मेल खान्थ्यो । यसैले गिरीका काव्य भनेको नेपालीको सांस्कृतिक सेतु हो । यस अर्थमा गिरीलाई डायस्पोरिक कवि भन्न सकिन्छ ? प्रस्तुत सन्दर्भमा कविको कवित्व कुनै भौगोलिक सीमा र जातिगत समूहमा निर्दिष्ट भएको हुँदछ ? यसो हो भने एउटा भूगोलभित्र सीमाङ्कन गरेर कविलाई राखिरहँदा कलाको सर्वजनीनता र सार्वकालिकता कवितामा बाँचिरहन सम्भव होला ?

अगमसिंह गिरी
कवि अगमसिंह गिरीलाई नाना थरीका रूपक र विशेषणसित चिनाउने काम भएको छ । तीमध्ये एउटा हो जातिवाद । कवि गिरीको जातिवादभित्र पर्ने एउटा तत्त्व जातिप्रेम रहेको स्विकारिन्छ । डफ्फाले नै गिरीलाई नेपाली जातिप्रेमी कवि भन्न रुचाउँछन् । उनको त्यस जातिप्रेमको सम्बन्ध नेपालीत्व र नेपालसित रहेको पछिल्ला अध्ययनले पनि खुलाएको छ । गिरीका सम्बन्धित जातिप्रेमको नेपालीत्वमा ‘नेपाल-प्रेम’ छैन भन्न सकिँदैन । यसको एउटा बलियो आधार नेपालीत्व तथा जातिप्रेम हो ।
अतः गिरीका ‘नेपालीत्व’ र ‘नेपाल-प्रेम’ जातीय भावचेतनामूलक काव्यिक अभिव्यञ्जना न हो भन्नु ठीक पर्ला ! कारण जातीय स्वत्वाधिकार र स्वतन्त्रताको क्रान्तिकारी काव्यिक स्वर लिएर देखापर्ने रोमान्टिक कविहरूमा गिरी उल्लेखनीय तथा अग्रपङ्क्तिमा पर्ने कवि थिए । यसैले कवि गिरीलाई नेपाली जातीय कवि भन्नमा उपयुक्तता छ तर दुःखको कुरा गिरीको कवित्व चिनारीमा भ्रान्तिसहित एउटा रूपक पनि साथसाथै जोडेर भन्न थालियो – डायस्पोरिक कवि ।
गिरीले शुरूशुरूमा विषाद र वेदनाका बढी काव्य लेखे । यसमा जातिप्रेम प्रबल छ । युवा अवस्थाका गिरीको कवित्वले नेपाली जातीयता प्रकट गर्न थाल्दा भावुकतामा सुदूरको प्यासी भई कल्पनामा नेपाल देख्न थालेको कुरा स्पष्ट हुँदछ ।
भावुक गिरीमा नेपाल मोहलाई जगाउने तीनओटा तत्त्व यस प्रकार रहेका इतिहासकार कुमार प्रधान उल्लेख गर्दछन्, “सुदूर विगत, अतीत गौरव र अनुपस्थायी सौन्दर्य ।” यही तीन तत्त्वले कालान्तरमा गिरीलाई व्यक्तिगत जीवनमा भ्रान्तिको घेरामा पुर्याए । भ्रान्तिको पर्दाबाट आजपर्यन्त समेत गिरीको कवि अछुत छैन । गिरीले जीवनमा पाएको यस लाञ्छित पक्ष विचारनीय मात्र छैन विमर्शको विषय पनि भएको छ ।
गिरीको राष्ट्रियता भारतीय हुँदाहुँदै पनि किन गिरी पारम्परिक आँखामा डायस्पोरिक कवि साबित भए त ! नेत्र एटमले उल्लेख गरेको एउटा पङ्क्तिमा डायस्पोरा भनेको भाषा, संस्कृति र मान्छेको छरिने र विसर्जन हुने प्रक्रिया हो । भारतमा नेपालीहरूको राजनैतिक इतिहासअनुसार के गिरीलाई उक्त उल्लिखित डायस्पोराको घेराभित्र राख्न मिल्ला ! भ्रान्ति र प्रश्नको समाधान वास्तवतः हामीले कवि गिरीकै काव्यमा खोज्नु पर्दछ ।
कवि गिरीका काव्यलेखन पूर्वार्द्ध र उत्तरार्द्ध चरणमा विभाजित हुन्छ । पूर्वार्द्धको चरणमा गिरीका युवा हृदयको स्पन्दित भावमा नेपाल मोह आरोपित पाइन्छ । त्यो मोहलाई उनको ‘नेपाल आमा’, ‘सम्झना’, ‘क्रन्दन’, ‘समाचार यही भन्दिनु’ जस्ता कविताहरूमा पाउन सकिने उल्लेख छ । गिरीको नेपाल मोहमा नेपाल राष्ट्र वा ‘देश’ थिएन, नेपाल ‘शब्द’ मात्र थियो भन्ने क्यै आधारहरू अघि आएका छन् – यसको पहिलो आधार हो नेपाली भाषा ।
ब्रिटिशकालीन दार्जीलिङका विभिन्न नेपालीहरूको जातीयताका आधार नेपाली भाषा मूल कारक थियो । भाषाकै आधारमा नेपाली जातीयता दार्जीलिङमा विकसित हुनपुगेको हो । नेपाली भाषा नै दार्जीलिङको समाजमा सांस्कृतिक र ऐतिहासक शक्ति बन्यो । यो कुरा इतिहासकार कुमार प्रधान स्विकार्छन् । भाषाले बाँधेका जातीय सूत्रमा स्वतः भिन्न राजनैतिक भूगोल जो ‘नेपाल’ कविका काव्यमा परिलक्षित बन्यो । जातिप्रेम यस सूत्रको बन्धन हो । गिरीको जातिप्रेम अन्तर्गत ‘नेपाल’ आउँछ भने ‘नेपाल’ गिरीको जातिप्रेमको रूपक मात्र भयो ।
यसको अन्य आधार भन्नुपर्दा भर्खर भर्खर स्वाधीनता पाएर प्रष्ट राजनीतिक आकारसमेत लिन बाँकी रहेको भारतको स्थिति; नेपाली वीरहरूप्रति अगाध श्रद्धा, कवि भानुभक्त आचार्यको स्तुति इत्यादि कारकले गर्दा गिरी पनि यता तत्कालीन अरूहरू झैं नेपालमुखी हुनु स्वाभाविक नै थियो । तत्कालीन भारतेली श्रमजीवी नेपालीहरूले खेपेका अभाव, असुरक्षा साथै शोषणपछाडि जातीयताको टेवाका लागि नेपालतर्फ दृष्टिगोचर राख्नु आवश्यकता थिएन भन्न सकिँदैन । यस्ता ऐतिहासिक तथ्यहरूबाट गिरीको कवि अछुत रहन नसक्दा नै ज्यादा भावुक र संवेदनशील बन्नपुग्यो होला ।
कतिपय आलोचकका भनाइमा आफ्नो पुर्ख्यौली इतिहासप्रति गिरी विज्ञ व्यक्ति होइनन् । अर्कोतिर गिरीका लागि नेपाल कल्पनालोक मात्र हो । प्रत्यक्ष नेपाल नदेखेका र नचिनेका गिरीमा पाइने नेपालमोह केवल कुण्ठित भावुकता हो । जो कुण्ठित भावनादेखि पछि कवि मुक्त भए । त्यो कुण्ठित भावुकता र संवेदनशीलताको उपज भएर कवि गिरीको नेपालमोह काव्यमा प्रकट भयो । गिरीको कविका निम्ति ‘नेपाल’ देश नभएर यसर्थ अतीतको गौरव सिवाय क्यै होइन । अतीतको गौरव गिरीको कविको ‘नेपाल’ रूपक मात्र हो ।
उपर्युक्त कतिपय कारण र कार्यले गर्दा गिरीसित नेपाल मोह पलायो तर भ्रान्तिका रूपमा गिरीलाई आप्रवासी तथा डायस्पोरिक कवि मानिने जुक्ति भयो । यद्यपि, उत्तरार्द्ध चरणको गिरीका कविमा नेपाल मोहको सट्टा क्रान्तिकारी हुँकार र विद्रोहको आलाप आयो । पछि कवि गिरीले आफ्नो प्रारम्भको विषाद र रोदनप्रति पछुतोसमेत गरेर कविताहरू लेखे । कालान्तर प्रौढा गिरीको बौद्धिकता र चिन्तनमा आएको गम्भीरतासितै काव्यमा पनि क्रान्तिको प्रवेग थपियो । कवित्वको संवेदनशीलता क्रान्तिमा रूपान्तरित भएर प्रज्वलित बन्यो । उत्तरार्द्धमा गिरी काव्यमा सामाजिक एवम् क्रान्तिकारी भई प्रकट भए । अन्ततः कवि गिरी क्रान्तिकारी नै ठहरिए । क्रान्तिकारी गिरीका काव्यमा अघिको जातीय भावना वा जातीयता सामाजिक सचेतताका रूपमा प्रकट भए भने दार्जिलिङको नेपाली माटो र भावनामा गिरीको जातीयता हुर्केर काव्यमा लहलह फर्के ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

