अलकत्रामाथिबाट एक मुठा सागलाई ब्यूँझाएर, उठाई आफूसँग त्यसलाई जुझाएर, किन्नेले सोध्छ ‘यो साग कति पैसा ?’

‘साग त्यो छ पैसा ।’

अन्याय हाहाकार्छ किन्नेको स्वार्थ वरिपरि आक्रोश लिएर । जंगलमा हुँदाको सित्थै पाइनुको सम्भावना उसलाई अझ छ । ‘पहेंलिएछ,’ उसले पहेंलिएको भए सहजै त्याग्थेंको अडकलमा भन्यो अनि गयो ।

मैनाकी आमा अर्को ग्राहक पर्खेर बस्छ ।

‘दार्जीलिङमा बस्नु हुँदैन अब ।’ एउटा मान्छेले भन्दैछ । ‘यहाँ काम खोज्नेहरू मात्रै छन्, र पढेर यहाँ केही हुने होइन अब । खाने कुरा पुग्दैन हामीलाई यहाँ रहेर । हामी आउँदा थोरै थियौं, अब अरू पनि थपिन आएका छन् । अब हाम्रो पशुसम्मलाई घाँस पुग्दैन । हामीले नयाँ जग्गा जानुपर्छ । यहाँ वृष्टि हुन छाडिसक्यो, रूखहरू नाङ्गा छन् । हामीले नयाँ जग्गा जानुपर्छ । आइमाई, केटाकेटी, चीजबीज, गोरुगाडीमा राखेर भोलि घाम झुल्कँदै हामी घोडामा हिँडिसकेको हुनुपर्छ । ताँतको अघि र पछि बलिया युवकहरूलाई बस्न लाउनू । पशुहरू बिस्तारी हिंडाउनुपर्छ । साँझसम्म हिंडेर बास बस्नुपर्छ । पचास कोश गइसकेपछि अन्तिम कता लाग्ने विचार गरौंला ।’

‘लेकलेकै आसाम जानुपर्छ । पूर्व-उत्तर ।’

‘पछि आउनेले भेट्टाए भनोस् : यहाँ धेरै कालअघि दार्जीलिङ नाउँको सानो शहर बसाएर नेपालीहरूको शाखा बसेको रहेछ । यिनीहरूको विशेष आफ्ना चिनोहरू निकै पाइएका छन् । सानो खेलौना शहरसँग सय वर्ष अधिक यिनीहरू भुलिरहे, यस्तो प्रमाण पाइन्छ । ससाना बाटाहरू, ससान मेसिन, ससाना घरहरू पाइन्छन् । आधार प्रशस्त नहुँदा तिनीहरू महादेशभरि फिंजिएर घुमन्ता बनेका थिए । आधार प्रशस्त थिएन र त्यहीं भुप्पिरहे सबै मर्ने थिए। अन्य ठाउँ सरेर आफ्नो सभ्यता बढाउने युग पनि बितिसकेको थियो । यस्तै समयमा यिनीहरूले तुरुन्तैको आवश्यकताले घर छाडे ।’

‘होस्, हामीले नयाँ जग्गा जानुपर्छ ।’

सागहरूमा पानी छिट्न लागेकी छ मैनाकी आमा । धेरै पानी छिट्न पाए पातहरू ताजा हुन्छ, धाराको चिसोमा पुर्याउन पाए सब बाँच्छ – उसलाई लागेर आयो एक्कासिसँग – यहाँ सक चीजलाई बचाइराख्न सकिन्छ । तर पानी छैन ।

छोटा मैला लुगाले मुठाहरूको शरीरलाई ढाकी । ‘आइपुग्यो ?’ आएर उभिएकी आइमाईलाई उसले सोधी ।

‘बिक्यो सागहरू ?’ आइमाईले सुतेको सागलाई हेरी । ‘कति बिक्यो ?’

‘बिकेकै छैन ।’

‘बित्थामा दिएछु यहाँ । आफैले बेच्दा बिक्थ्यो ।’ आइमाई युग लामो टाढोदेखि थाकेर आइपुगेकी थिई, थचक्क भुइँमा बसी । ‘मलाई दिइहाल जति दुईचार पैसा छ । मेरो नानीको बाबु घरमा मर्छ कि बाँच्छ छ, दिदी ।’ आइमाई लगत्तै आत्तिएर उभी ।

प्रत्येक थोपाको खुट्टामा रेखाहरू घुम्रन्छन्; यही ठाउँदेखि पुरानो पोखरीमा पानी झरेको देखिंदैछ । पानीले जंगल कराउँछ, वृष्टिको खबर ठूलो भएको छ । दहलाई दाहिने फन्को मारेर कोरेको गोरेटोमा हतारिएर दुई-तीन शरीर कुद्दै छन् । एउटा आएर पालअघि उभिन्छ, चिनेको मान्छे हो, हाँस्छ । त्यस्तो पानीमा हाँस्छ र भन्छ : ‘पानी दर्किहाल्यो, हगि ?”

उसले पाँसुला सुर्काएको रहेछ कुद्दा ।

‘कता ग’को उँभोतिर ?’ धूरी खाँबा जत्रै पाँसुलालाई हेरेर मैनाकी आमाले सोध्छे, उसकी आमाकी आमाले जस्तै ।

‘मास्तिर जग्गा हेर्दैछु । गौशाला पाखा ढाकिसक्यो मान्छेले । म मास्तिर ठाउँ खोज्दैछु पछि मान्छेले ढाकेपछि दार्जीलिङ दूलो बजार हुन्छ अरे ।’

उसले जवाफमा सुन्यो : ‘त्यसै भन्छ सबले ।’

‘कुरा नगर !’ भनेर एक्कासि बाहिर दृष्टि चिच्याउन थाल्छ । पालभित्र तीन ढुङ्गाको अगेना जल्दै उभिएको छ, दाउराको धूवाँ पानीले बाहिर जान दिएको छैन । धूरी खाँबा जत्रो पाँसुलाको मान्छे पिरा पाएर बस्यो । ‘ए, भल आयो भित्र,’ ऊ फेरि उठ्यो, चिया बेच्ने पनि उठी, पालको फेद फेदबाट भलभित्र बग्न थालेको थियो ।

‘खन्ने केही छैन ?’

‘खै, केही छैन ।’

दाउरा टिपेर गयो । पानीले पिटिंदै भल काट्नु थाल्यो । आइमाईले पालको फेदमा आलो माटो उधिनिएको, भलभित्र आउन छाडेको देखी, आफू रिङ्ग घेरिएको देखी । ‘भयो, भल रोकियो ।’ उसले भनी तर त्यो बलियो मान्छेले अझै कहाँकहाँ राम्रो बनाइरह्यो ।

पानी पार्दै बादल अकर्कोतिर गयो । घाम निस्केर आउँदा जंगलको हरियो सबै पहेंलो बन्छ । त्यो बलियो मान्छे दाउराले माटो अझ उप्काउँदै थियो ।

‘यो पोखरी मारेर बजार बनाउँछ रे यहाँ ?’ छेउमा गएर दोकान बेच्नेले सोधी ।

‘हो, बजार बनाउँछ ।’

‘पोखरी फोरेर बगाइपठाउँछ पानी ?’

‘पोखरीको उता छेउ पड्‌काउँछ ।’

‘गौशाला गाउँ बगाउँछ; पैह्रो जान्छ रे ?’

‘कसले भन्यो ?’ उसले उभेर सोध्यो ।

‘हामी पनि मास्तिर सर्दैछौं ।’

‘मलाई भागेको भनेको ?’ उसले मनमा नजीक आज हुनसकेर सोध्यो ।

एक पैसा गोजीमा नभएको, चामलको सानो पोका समाएको एउटा व्यक्तिले भन्यो, ‘हाम्रो यहाँको झारपात र घाँसहरू सब दवाइ हो अरे; जाने र बिकेदेखि काट्दै बेच्नुहुन्थ्यो ।’

उसको घरसम्मै पुग्ने अर्कोले उसरी भन्यो, ‘खानीहरू छ अरे हाम्रै मनि हाम्रोतिर । मेरो बारीमा नै तामा खानी होला । हाम्रा खोलाहरूको पानीको ट्याक्स लाउनुपर्ने मधेशलाई ।’

हुइँक्क एउटा ढुङ्गा (मान्छे जूनमा जान्छ) टाउकैबाट गयो, मैनाकी आमाले छलिएर बाँची । एउटा झटेरोले आएर (मान्छे भई बाँच) छातीमा हिर्कायो उसलाई, कुप्रिएर लडी । उभिएका जम्मै दुःखहरू घरमा आइरहनेहरू रहेछन् सुखहरू नचिनेका र घमण्डीहरू । ठूलो खबरले गुड्दै आएर किच्याउला, उसले भुइँभित्र पस्न चाही । गह्रौं आशाको भारले उसलाई भुइँमा भसाउँछ, ऊ पर्वत हुन खोजी ।

कहाँदेखि हिमाल राम्रो देखिन्छ, हेर्दै सर्दै यहाँ आइपुगेका छौं । अब कहीं जान मन लाग्दैन । बिहान झ्याल खोलेर हिमाल हेर्ने घर हामी प्रत्येकको हुनुपर्छ ।…

(तातिएको शरीरले उसलाई भन्न लाएछ ।)

यहाँ मानिस स्वस्थ छैन । जुनै थोकदेखि ऊ छिट्टो अघाउँछ, रुग्णको रुचि । एउटा हिमालदेखि हामी अघाएनौं ।

हामी कत्तै गयौं भने यो भूमि पोका पोका बाँधेर हामी लानेछौं । पाँच वर्षे बालकलाई समेत आफ्नो सम्पत्ति बोक्न लाउनेछौं ।’

लुगा फ्याँकेर मुठाहरू जराकजुरुक उभिए । मुठा खोलिएर डाँठ एक-एक छुट्टिए । निद्रा फ्याँकेर हाई काढे सबले । थोरै न्यानो हावा बेलुकीको आइपुगेको रहेछ, रायोका ससाना पहेंला फूलहरू अढेसिएर त्यसमा हल्लिए । हाँगाहाँगै माथि र अग्लोमा चढेर पुगेको सानो बोट छ, तेर्सो हाँगामा मन घस्रे र अझ माथि पुग्यो, तलसँग कहालियो । फेदमा आएको घाँसहरू उखेलिदिन गोडिदिन हातले घाँस छोयो । रामबेडाको झ्याङछेउमा चिप्लो पानीको कुप जमेको रहेछ, त्यहाँको मक्किएको टिन टिपेर बोटमा पानी लाइदिन मन लाग्यो । गह्रामा केही रोपिराखेको खुशी ऊ सास फेर्छ । आँखाभरि बाँसको झ्याङ उभिन्छ । उसको अस्तित्व पर्खाई एक फिरफिरे पात झरेको उसको आँखाले हेर्छ । कैलो ड्याङै ड्याङ ऊ निकै पर गई । डीलमा हम्हम्ती घाँस उम्रिएको ड्याङ छ बारीको पुछारदेखि ऊ गह्रैगह्रा उकालो आई।

किन पो यहाँ आयौ नि ?

किन पो यहाँ आयौ नि ?

किन पो यहाँ आयौ नि ?

किन पो यहाँ आयौ नि ?

बजार बीचमा जाँतो । बजार बीचमा थालहरू ।

हजार घरको आवरूक र छत्तीपत्ती बेच्दैछ बजारले । जाँतोले घरको सिकुवा रुङ्‌नुपर्छ : घरको भुइँ समातेर यसले एक देह बन्नुपर्छ। यसले डुलिहिंड्नु हुँदैन, बिहान कि बेलुकीको घामले मात्रै एक खेप सिकुवामा यसलाई भेटिराख्छ । यसको वरिपरि छोरी बैनीहरू मनका कुरा गर्छन् । यो बजारमा आइपुगेको कदापि राम्रो होइन । चिरेटो र पाखनबेतका ती काला डाँठहरू घरघरका टिन र पोकाहरूमा हुनुपर्ने, ची बजार लाइएका बालहरू ताकमा थन्किएको, मझेरीमा पसेरी लागिरहेको हुनुपर्ने । मैनाको आमालाई घर जस्तो लाग्छ यो बजार हजार पर चण्डाबण्डा भएको लाग्छ ।

यहाँ हजार घरहरू किन बजारमा अलपत्र छन् । उसलाई टिपेर धेरैवटा घरहरू जोडिदिऊँ लाग्छ । उँखुका साक्राहरू नानीहरूले चबाउने, चिउराहरू बुहारीहरूले कुटिएर घरैमा बस्नुपर्ने । हाम्रा घरका चीजबीजहरू पनि हामीसँगै बजारमा राखिएका छन् यहाँ । पहिला मान्छेले घर छाडेछ, पछ्याएर आएका चीजबीजहरू उसलाई फर्काएर लैजान बजारमै पर्खिरहेका छन् । मैनाकी आमा पर जान खोज्छे बजारको खुल्ला उज्यालो दिउसोसँग ऊ आतेसिन्छे ।

क्याको शब्द भयो भनेर हनुमान् लूक्या ती झन् पातमा ।

आयो रावण जल्दि ताहि नजिकै सब् स्त्री लिई साथमा ।।

कैले मर्छु म राम देखि अझ तक् सीता हौँ ता पनी ।

आयेनन् रघुनाथ् भनेर रहँदा देखेछ स्वप्ना पनी ।।

सीताजी पनि दुष्टलाई नजिकै देखी अधोमुख गरिन् ।

श्री राम्का चरणारविन्द मनले अन्तःकरणमा धरिन् ।।

आफूलाई होशमा राख्न उसले यता उति हेरी । मानिसका काला टीकाहरू सिँडिमा चढ्छन्, बात गर्छन् । तिनीहरूको बात सकिँदैन, आँखा कता-कता हेर्छन् अर्का मान्छे देख्छन् । दृश्य आवाज बनेको छ, देखिनेहरू बोल्दैछन्, छुट्टिएर आउँछन्, हेरिएका चीजहरू छेक्किन्छन् । झोला र पाल हल्लेर ठोक्किन्छन् ।

झन्डीको रंग छाया गयो, कानमा माइक रोकियो। एउटा सानो केटा दगुर्छ । तीन जना आए, गइसके, विचारमा हिंड्दै आएको अर्को, पुग्नुलाई हिंडेको एक जना । (म यहीं जन्मेको; यहीं बस्छु; मसँग यही छ; यही बेच्छु; सोझो सम्पत्ति यतिलेनै  मैले सुक्ख पाउनुपर्छ यो टेक मेरो ।) कुकुर खेदिंदै गयो, पर पुगिसकेको छ मैला कागज, धेरै आवाजहरू कराउँछन् । बजार चल्मलाइ बस्छ, कन्याई बस्छ, सक्सकाउँछ ।

बिजुलीको टुप्पामा घाम राखिएको छ। ‘किन आयौ ?’ छेउको नदेखिने कसैले सोध्यो । ‘किन आयौ ?’ बजारको डुल्दो आवाजले उसलाई सोध्यो । अघि बाट हिंडेको मान्छेले फर्केर उसलाई त्यही सोध्यो । सडकका उभेका मानिसहरू जम्मै उसलाई ताँती लागेर त्यही सोध्दै आए; बिल्डिङका झ्यालहरू खोलेर ती भित्रका जम्मैले उसलाई त्यही सोधे, उच्च आवाज, तिखा आँखा, बाउँदा मुखहरूले उसलाई ताकेर सोधिरहेछन् ।

मैलो मजेत्रोले उसले मुख छोपी, झ्याल फाटेकोबाट चियाई, बूढो डर । जम्मै बजार काम छाडेर उतिर आयो, हजार अनुहार घेरा लागेर (किन आयौ ?) सोध्दै नै आएको छ ।

साग कुल्चिदिन्छ (उसको डर चिसो तिखारियो) : उसले जीउ छाडेर यो ठाउँ काठको एउटा बाकस र एउटा डोको घोप्टाएर भोलिको निम्ति ओगटी राखी ।