होमस्टेमा पुग्दा तीस वर्ष हाराहारीको एक युवक र साठी–पैंसठ्ठी वर्षका जस्ता देखिने एक प्रौढ यताउता गरेर बसेका रहेछन् । म पुग्ने बित्तिकै युवाले आफूलाई उमेश राई भनेर चिनाए र नमस्कार सहित मलाई स्वागत गरें । विमलभाइले उमेशलाई म त्यहाँ बस्नेगरी आउने कुरा भनेका रहेछन् । उमेशले बेलुकीको खानामा फापरको रोटी, कालीनिगुरोको साग, लोकल कुखुराको मासु र कोइरालाको फूल र आलुको अचार तयार पारेको र सबै स्थानीय अर्गानिक उत्पादनबाट बनाएको बताए । भाइ विमलले मेरो लागि तेल, खुर्सानी, मसला र नून कम गरेर खाना बनाउन पनि भनिदिएका रहेछन् ।

होमस्टेमा त्यस दिन रात बस्ने अरू पाहुनाहरू रहेनछन् । मलाई देखाइदिएको सुत्नेकोठामा मेरो सानो ब्याग राखेर, फ्रेश भई केहीबेर आराम गरेर खाना खाने ठाउँमा आएँ । खाना खाँदै कुरा गर्दैजाँदा थाह भयो, त्यहाँ भएका प्रौढव्यक्ति उमेशका बाबु जीतबहादुर रहेछन्, छोरा भएको ठाउँमा आजै मात्र आएका रहेछन् । मैले आफू राई माइलाले गाउँ छोडेको कुराबारे जान्न प्यूरेगाउँ गएर फर्किंदैगरेको बताउँदा जीतबहादुरले अकमकाउँदै, “किन होला ?” भनी सोधे ।

मैले दिनभरको प्यूरे गाउँको कुराकानी र राईनी ठूलीको भट्टीपसलसम्मको घटनाक्रम बताउँदा उनी छक्क पर्दै राई माइलासँग ओहोरदोहोर गर्ने भनिएको मानिस आफू नै भएको बताए । कस्तो संयोग ! मैले भेट्न खोजेको मान्छे मेरैअगाडि पाउँदा म दङ्ग परें ।

अब बल्ल मलाई राई माइलाले गाउँ छाडेको चुरो कुरो थाहा पाइने भयो भन्ने लाग्यो । सबै कुरा सुनिरहेका उमेशले हाम्रो कुराकानीमा थपे, उनका बुवा जीतबहादुर नै त्यस क्षेत्रका राईहरूका पितृकर्मदेखि लिएर झारफुक सबै कार्य गरिदिने रहेछन् ।

भोजपुरको तुवाचुङ्ग पुर्ख्यौली थलो भएका राईहरूका सन्तान त्यहाँबाट सुनसरीको चक्रघट्टी त्यसपछि मोरङको मधुमल्लाछेउ तोरीबारी हुँदै उनीहरूका सन्तान दरसन्तान राई माइलाका बुवा र जीतबहादुरका बुवाहरूको पुस्ता एकै समयमा विसं. २०२३/२४ तिर मोरङको मधुमल्लाछेउको तोरीबारी भन्ने ठाउँबाट बसाइँ आएका रहेछन् ।

शुरूमा प्यूरेकै खतिवडा श्रीधर बाजेको टिमाईको बेंसीखेत कमाएर बसेका जीतबहादुरका बाबु पछि वि.सं.२०३५/३६ तिर ईरौंटारको चिसापानी नजीक बीस रोपनी माटो किनेर अहिले बसेको ठाउँमा सरेका रहेछन् । भोजपुरको तुवाचुङ्ग पुर्ख्यौली थातथलो भएका यी दुवै परिवारबीच बिहाबारी सम्बन्धले गर्दा साइनोमा जीतबहादुरका बाबु राई माइलाको मामा (आमाको काकाको छोरा) पर्ने भएकाले करीब दश वर्षको उमेर फरक भएका राई माइला र जीतबहादुर बीच दाजुभाइको साइनो रहेछ । राई माइला हाङ्खिम राई र जीतबहादर दुङ्गमाली राई रहेछन् । गाउँघरमा जीतबहादुरलाई दुङ्गमाली कान्छा भनेर चिनिंदोरहेछ ।

* * *

खाना खाइसकेपछि मैले जीतबहादुरलाई राई माइलाले किन गाउँ छाडेको रहेछ भनेर सोधें । जीतबहादुरले बताएअनुसार २०८० फागुनको अन्तिमतिर एक साँझ राई माइलाकी आमालाई अचानक शरीर काम्ने आएछ, देवता बोलेको भनेर आमाको मुखबाट आफ्नो घरको माङ्ग (पितृ देवताहरू) र सिया (भूतप्रेत)हरू रिसाएका र परिवारमा दुखाइ-पिराइदेखि घरव्यवहार बिग्रिएको अनि अबको तीन महीनाभित्र अझ ठूलो सङ्कट र अनिष्ट पर्न लागेको भन्दै खबरदारी भएछ । उसले देवता चढेकी आमालाई शुद्धजल छर्किंदै अब के गर्नुपर्छ भनी सोध्यो । आमाको बोलीमा ङोपा (कुलधामी)लाई बोलाएर, पहिरोमा हराएका सबै कुलदेवीदेवता खोजेर फेरि स्थापना गरेर घरमा पूजाआजा गरी ङोपाले अह्राएको गर्नु भन्ने आदेश भयो ।

उसले आफूले देवताको बोली अनुसार सबै गर्छु भनेर घरभित्रको थानमा शिर राखेर ढोग्यो र देवता चढेकी आमालाई शरीरमा शुद्ध जल छर्किदियो । घरपरिवारमा देवताका कुरा आमाका मुखबाट सुनेका परिवारका सबैजना अब के हुने हो भनेर डराए ।

खाना खाएर सबै सुते, राई माइलालाई धेरै बेर निद्रा लागेन, छटपटी भइरह्यो । कतिखेर झकाएछ थाह पाएन ।

‘राई माइलाले लामो सेतै फुलेका कपाल, दाह्रीजुँगा, हातखुट्टामा लामा नङ र चप्पलजुत्ता नलगाएका खालीखुट्टा र धेरै दिनदेखिका भोकाजस्ता लाग्ने दुब्लापातला बराहक्षेत्रको खुवालुङ नजीक सुनकोशीको पूर्वकिनारमा बसिरहेको उसका बाबुलाई भेटेछ । राई माइलाले बावुलाई घरतिरको हालखबर र देवताले आमाको बोलीमा भनेका सबै कुराको बेलिबिस्तार लगाएर बावुको काखमा बेस्सरी रोएछ । उसका  बाबुले कुलपूजा बिग्रेकाले गर्दा अझै आफूले संसार छोडेर जान नपाएको, यतै भौंतारिइरहेको र परिवारको दुःख नजीकैबाट देखिरहेको बताए । सांसारिक दुःखमा आफूले केही गर्न नसके पनि घरपरिवारको भलो होस् भनेर पहिरोमा हराएका देवीदेवताका शिलास्वरूपहरू र सामग्रीहरू भेला पारेर घरमुनिको खोल्सापारि एउटा जामुनको फेदमा सजाएर राखिदिएको र आफूले रेखदेख गरेको बताएछन् ।

आफ्नो पनि चिहानभित्र पची नसकेको हाडखोडहरू पहिरोमा परी खोल्सीमा यत्रतत्र छरिएको र तिनलाई पनि फेरि  ङोपासँग सल्लाह गरेर दाहसंस्कार गरिदिनु भनी अह्राएछन् । उसले बावुलाई घरै जाऔँ भनी हात समाउन खोज्दा बाबु अलप भएछन् ।’

कस्तो सपना देखें भन्दै राई माइला ब्युँझियो । सपनासँग डराउँथ्यो किनकि उसका सपना प्रायःजसो बिपनासँग मेल खान्थे । कान्छो ज्वाइँ गाडीदुर्घटनामा परेको अघिल्लो रात उसले सपनीमा ज्वाइँलाई चीलले टिपेर आकाशतिर गायब भएको देखेको थियो । बाबुको स्वर्गवास भएको अघिल्लो राति बिरामी बाबुलाई स्वर्गवासी सेता लुगा लगाएका उसका घरका र मावलीका हजुरबाबुहरूले लिएर घरबाट ओह्रालो लगेको देखेको थियो । दुई वर्षअघि पहिरोले बारी बगाएको अघिल्लो रात पनि हाँसपोखरीमाथि थामडाँडा बस्ने पाथीभरादेवी की दूत हुँ भन्ने एक बिछट्टै सुन्दरी देवीले सपनामा उसलाई आफूहरू बस्ने बारीछेउको थलो सुरक्षित नभएकोले गुहार माग्न आएको बताएकी थिइन् । भोलिपल्ट उसको बारीसहित देवीथान पनि बगेको थियो । यसरी धेरै सपना बिपनामा पनि मेल खाएको राई माइला बावुसँगको सपनापछि फेरि निदाउन सकेन । कतिखेर बिहान होला र चिसापानीमा दुङ्गमाली कान्छा दाइलाई लिनजाने भनी ओल्टेकोल्टे फर्किरह्यो ।

* * *

झिसमिस हुनासाथ उठेर चाँडचाँडो नित्यकर्म सकेर भान्छाकोठामा भएको चामलको बाल्टीबाट एक मुट्ठी चामल सानो प्लास्टिकको झोलामा बोकेर राई माइला ओह्रालो लाग्यो । बिहानको साढे छ पनि नबज्दै चिसापानीमा जीतबहादुरको घर पुग्यो र आमाले भनेका कुरादेखि बाबुसँग सपनाको भेटका कुरा सबै जीतबहादुरलाई बतायो । जीतबहादुरकी श्रीमतीले दुई गिलास चिसो चिया ल्याएर राखिदिइन्, राई माइलाले भाउज्यूलाई ढोग गर्दै दाइसँग सरसल्लाह गर्न एकाबिहानै आएको बतायो ।

जीतबहादुरले उसलाई साथमा ल्याएको चामलबाट तीन ओैंलाले चेपेर थोरै चामल एउटा काँसको थालमा छरे, अनि मसिनो स्वरमा मन्त्र पढ्दै जोरबिजोर बनाई थालमा यताउता सारे । के के हिसाब जोडे जस्तो गर्दै टाउको हल्लाए । फेरि अलिकति  चामल थालमा थपेर सात सात दाना चामलको सात भाग लगाए । पाँच दाना चामल फाल्टु भयो । उनले निकैबेर घोरिएर सोचे र टाउको मात्र हल्लाए । थालको सबै चामलका दाना मिसाए र फेरि केही चामल हातले थपे । अघिकै जस्तो गरी नौ नौ दाना चामलको सात भाग लगाए, बाँकी दाना गन्दा सात रह्यो । फेरि निकैबेर घोरिएर आँखिभौं खुम्च्याउँदै टाउको हल्लाए । यही क्रममा अरू दुई पटक चामल थप्दै, एघार र तेह्र दाना चामलका भाग लगाए । एक पटक नौ र अर्को पटक छ दाना चामल फाल्टु भए । जीतबहादुर सोचमग्न हुने र टाउको हल्लाउने क्रम चलिरह्यो । अन्तिम पटक जीतबहादुरले अलिकति चामल राई माइलाका हातमा राखिदिए र चामलका दाना गनेर आफूलाई दिन भने । चामलका दाना गन्दा सत्ताइस दाना भयो ।

अचम्मको कुरा अघि जीतबहादुरले चामलका दाना भाग लगाउँदा फाल्टु भएका चामलका दाना पनि जोड्दा जम्मा सत्ताइस नै थियो । थालबाट गनेर सत्ताइस दाना र राई माइलाले गनेका सत्ताइस दाना एकै ठाउँमा मिसाई जीतबहादुरले सानाठूला भाग लगाउँदै, मिसाउँदै, हिसाब गर्दै, टाउको हल्लाउँदै गरेपछि ती चौउन्न दाना चामल छुट्टै राख्नु भनी एउटा कागजमा राई माइलालाई दिए । जीतबहादुरले बाँकी चामल पनि प्लास्टिकमा राखेर उसलाई फिर्ता दिंदै घर गएर सिमाली र काउलोको सेउला, घुँघुरूको लहरा, निगालोका पाँच वटा लिङ्गा, कुखुराको अण्डा दश वटा ठीक पारिराख्नु बेलुका आफू प्यूँरे आएर फेरि राम्रोसँग हेरिदिने बताए ।

राई माइलाले कस्तो देखियो त दाइ भनी सोध्यो । तिम्री आमाले भनेका र सपनामा तिम्रा बाबुले सुनाएका कुरा सबै मिलेको देखिन्छ, तिम्रो घरतिरको र मावली दुवैतिरको पितृहरूको राम्रो उद्धार नभएर संसारमै सिया भएर भौंतारिएका जस्तो देखिन्छ । म बेलुका फेरि सबै केलाएर हेर्छु, अहिले जाऊ बेलुकाको पूजाका लागि तयारी गर, म आज उतै बस्ने गरी आउँछु ।

* * *

माङ्पा (पूजापाठ, झारफुक र अन्साइपन्छाइ गर्ने) र ङोपा (कुलधामी) को कामका लागि चाहिने आफ्ना सबै सामग्री लिएर बेलुका जीतबहादुर राई माइलाको घर आइपुगे । यथायोग्य ढोगभेट र घरपरिवारको कुशलमङ्गल सोधपुछपछि जीतबहादुर पूजाको थान बनाउन लागे, राई माइलाले बिहानको सल्लाह अनुसारका सबै सामान ठीक पारेको थियो । घरको सिकुवामा उत्तर–पूर्वछेउ गोबरले लिपेर शुद्ध पारेको भुइँमा केराको डाँठ सहितको पात ओछ्याएर, त्यसमाथि निगालो र सिमालीको लिङ्गा बनाएर रातो, पहेँलो, सेतो कपडाका धजा बनाएर बाँधे । अदुवाको पाना सहितको हरियो बोट पनि थानमा राखे । सानो काँसोको लोटामा पानी हालेर त्यसमा आँपको पात र लालुपाते फूलसहित राखेर कलश बनाए । हरियो बाँसको एक हात जति लामा दुई वटा सिटाको दुवै छेउमा खुर्पाले खुर्किएर फुर्का बनाएर थानमा राखियो ।

दीपबत्तीको लागि टपरीमा अलिकति चामल, एउटा सिक्का पैसा र फूल राखेर तामाको दियोमा तोरीको तेल र कपासको बाती हालेर तयार पारियो । केराको पातमा लहरै नौ ठाउँमा चामलका सानासाना थुप्रा लगाएर प्रत्येक थुप्रामा सिक्का पैसा, अबिर र फूल राखेर नौ ग्रहको थपना गरियो । थानको छेउमा तर छुट्टै एउटा पलाँसको पातमा अलिकति चामल, सिक्का पैसा, अबिर, फूल र एउटा सानो फलामको किलासमेत राखेर सिमेभूमे, भूतप्रेत, पिशाचका लागि पुज्ने ठाउँ ठीक पारियो । त्यतिबेला सम्ममा राई माइलाकी श्रीमतीले चामलको पिठोको सानासाना बाबर पकाएर ल्याइसकेकी थिइन् ।

झोलाबाट  जीतबहादूरले अलिकति सुकेका टोटलाका बीज निकाले अनि बाबर रोटीसँगै सबै थुप्रामा एक एक वटा राखे । राई माईलाले कूलको रूपमा पुज्ने गरेको रातो कपडाले मोहोरेको वस्तु खोपाबाट ल्याएर जीतबहादुरलाई दियो । उसले त्यो वस्तुलाई टाउकोमा छुवाएर ढोगेर थानको बीच भागमा राखे । झोलाबाट तामाको त्रिशूल, खुर्पा र बाँस खिपेर बनाएको धनुकाँड निकालेर थानको बीच भागमा गाडे र अबिर अनि फूल लगाइदिए । राई माइलाले पेरुङ्गामा सुकेका साना माछा र एक बोतल रक्सी ल्याएर जीतबहादुरलाई दियो, घरमै पूजाका लागि तयार पारेको छ्याङ्ग पनि ल्याइयो । मुसुरे कटुसको सट्टामा डालेकटुसको पात, तीतेपाती र काउलोको सेउली तयार पारेर राई माइलाले दियो, कुखुराको अण्डा दश वटा दिउँसै खोजेर राखेको थियो । धूप हाल्नको लागि कोइलेंटोमा सखुवाको बलिरहेका कोइला र सालधुप ठीक पारेपछि जीतबहादुरले आफ्नो जामा, रूद्राक्षमाला, घण्टी (घुंघुरू)को माला, सर्पको हड्डीको माला, मयूर र कुखुराको प्वाँखको कल्की भएको फेटा टाउकोमा लगाए, काउलो र डाले कटुसको हरिया पातहरू शरीरका लुगामा दुईचार ठाउँमा टाँसे । निधारमा खरानीको टीका लगाए, ढ्याङ्ग्रोमा दुवैपट्टि खरानीले त्रिशूलको आकार बनाए । एउटा काँसोको थाललाई पूजा गरेर चिन्ता बस्दा बजाउन थान छेउमा राखे ।

बिहान राई माइलालाई दिएको चउन्न दाना चामल मागेर अर्को काँसोको थालमा राखे, त्यसमाथि चउन्न दाना भएको रूद्राक्षको माला र सानो कर्द राखे । एउटा काँसोको बटुकोमा काउलोको पात पानीमा घोलेर लिसाइलो झोल बनाई काउलोकै सेउलीको अभिशेष गर्ने गुच्छा बनाए ।

यसरी पूजाथानको तयारी र आफू तयार भएपछि जीतबहादुरले घरका सबैलाई थानको अगाडि बस्न लगाएर राई माइलालाई आफूले भनेको बेला काउलो पानीले उनलाई अभिषेक गरिदिनु भनी अह्राए । जीतबहादुरले त्यसपछि धुपदीप बालेर अक्षताले थानमा छर्कंदै राई मुन्धुम अनुसार मन्त्र फलाक्दै थानमा स्थापना गरेका देवीदेवता र पितृहरूका थपनामा क्रमशः पूजा गरे । थाल ठटाए, ढ्याङ्ग्रो बजाए, अनि कुलदेवतादेखि सिमेभूमे सबैलाई यथास्थानमा आएर बसिदिन आह्वान गरे र क्रमशः रक्सी, छ्याङ्ग र अण्डा अनि सुकेको माछा अर्पण गरे । त्यति बेलासम्ममा जीतबहादुरको जीउमा कम्पन आइसकेको थियो ।

उनी ढ्याङ्ग्रो बजाउँदै विभिन्न मन्त्रहरू फलाक्दै उठेर थानलाई घुमेर बाहिर निस्केर घरलाई तीनफेरा लगाए । फेरि थानमा आई सबै पितृ तथा देवीदेवतालाई आफूमाथि कृपा गर्न र आजको पूजाआजा सफल पार्न शक्ति दिन बिन्ती गरे । फेरि काँसोको थालमा चामलका दाना यताउता सार्दै विभिन्न सङ्ख्यामा साना थुप्रा लगाउँदै गन्ती गर्दै धेरै पटक त्यहीक्रम दोहोर्‍याए ।

परिवारजन सबैका टाउकामा छुवाएर अलिकति फूल र केही रुपियाँ जोखाना हेर्दै गरेको थालमा राई माइलाले राखिदियो र घरपरिवार, कुलदेवता, देवी, सिमेभूमे, खेतीपाती सबैका बारेमा राम्रोनराम्रो र दुःखाइपिराइ खुट्याएर हेरिदिनु परमेश्वरी भनी अनुरोध गर्‍यो ।

जीतबहादुरले जोखानाको थालमा चामलका दाना थुप्रा लगाउँदै सानो खुर्पीले छुट्याउँदै गन्ती गर्दै के के सोचेजस्तो गर्दै थानमा चामल छुवाउँदै फेरि थुप्रा लगाउने छुट्याउने गन्ती गर्ने क्रम धेरै पटक गरे । त्यस बीचमा एकपटक चिन्ताको लागि तयार पारेको काँसोको थाल ठटाउँदै घरवरिपरि घुमे, बारीको पल्लोछेउको पहिरोबाट तलतिर निकैबेर हेरे, घरमुनि बारीमा गएर के के खोजे जस्तो गरी खोस्रिएर हेरे, अनि फर्केर थानमा आएर कोइल्याँटोमा धूप थपे, सबै पितृ, देवीदेवता र थानमा भएका सिमेभूमेका थपनामा शुद्धजलले अभिषेक गरे, रक्सी र छ्याङ्ग चढाए, थानमा निहुरिएर सबैलाई ढोगे । ढ्याङ्ग्रो र गजो समातेर थानमा छुवाए, ढ्याङ्ग्रो र गजोलाई ढोगे अनि बजाउन थाले ।

उनको शरीरमा कम्पन चलेकै थियो, त्यसै वेला उनको आवाज परिवर्तन भएर राई माइलाको बाबुको जस्तो आयो । राई माइलाले सपनीमा भेट्दा जे जे बावुले भनेका थिए सबै कुरा बेली बिस्तारमा जीतबहादुरको मुखबाट बके । नयाँ कुरामा राई माइलाको घरबारी तलतिर जमीन चिरा परेको र धसिन थालेको त्यसले ठूलो अनिष्ट ल्याउन लागेको बताए, साथै आफूसहित अरू पितृहरूको उद्धार गर्न घरको कुलथानलाई पहिला आफूहरू आएकै बाटो भएर पैतृक उत्पत्तिस्थल लगेर पुनः जोडाइदिनु भनेर बताए ।

राई माइलाले पुर्खाहरू आएको बाटो बताइपाऊँ परमेश्वरी भनी सोधे । बावुको स्वरमा जीतबहादुरले बकेअनुसार तोरीबारी, चतरा, खुवालुङ, त्रिवेणीघाट (अरूण-तमोर र सुनकोशी नदी दोभान) हुँदै खोटाङको बाटो भएर तुवाचुङ्ग भोजपुर पुगेपछि आफूहरूको पुर्ख्यौली थातथलो पुगिने बताए । त्यही वेला राई माइलाकी आमालाई पनि देवता चढ्यो र बक्न थालिन् – धेरै कुरा पहिले कै दोहोरिए पनि आफू पट्टिका कुलहरूको पुर्ख्यौली थातथलो पनि तुवाचुङ्ग नै भएको र एकै समयमा उही बाटो र ठाउँ हुँदै यहाँसम्म आएको बताइन् र आफूहरूलाई पनि चाँडै यो ठाउँबाट सुरक्षित ठाउँमा लगिदिन भनिन् ।

जीतबहादुरले शुद्धजलले छम्किदिएपछि राई माइलाकी आमा चूप लागिन् । जीतबहादुरले देवता चढेकै भाषामा उपाय पनि बताउँदै गए । पहिरोमा हराएका देवीदेवता खोजेर पुनःस्थापित गर्ने, पहिरोमा भेटिएका बाबुका हाडखोड फेरि सुरक्षित ठाउँमा गाडेर सदगति गर्ने, घरको कुलथानलाई नियमित सेवा गर्ने र पुर्ख्यौली थलोमा लगेर आदि पुर्खाहरूसँगै जोडिदिने, जतिसक्दो चाँडो गर्नु भनी सुझाए र त्यसको लागि वैशाखशुक्ल पूर्णिमा (चण्डीपूर्णिमा) असल साइत हुने बताए ।

त्यसपछि जीतबहादुरको पनि कम्पन बन्द भयो, उनले थानमा थपना गरिएका सबै पितृ, देवीदेवता, सिमेभूमेहरूलाई यथायोग्य पूजा आराधना गरिदिए र क्रमशः सबैलाई बिदाइ गरे ।

रातको बाह्र बजे पूजाआजा सकियो । त्यसैबेला घरबाहिर बुढोमान्छे खोकेको जस्तो आवाज सुनियो, राई माइलाले बाहिर गएर हेर्दा यौटा सेतो लुगा लगाएका मानिसजस्तो देखिने आकृति बारीको पल्लोछेउबाट पहिरोतिर गएको देख्यो । उसलाई आफ्ना बावुको झल्को आयो । जीतबहादुरले गरेको पूजाआजा र त्यहाँ सुनेका कुराहरूले राई माइलाको परिवारका सबैजनाको अनुहारमा एक किसिमको डर पसेको प्रष्टै देखिन्थ्यो, राई माइला झन् धेरै डराएको थियो । सबै सुते, त्यसरात जीतबहादुर पनि राई माइलाको घरमा नै बसे ।

* * *

राई माइलालाई धेरै बेर निद्रा लागेन । कति बेला झकाएछ, घरअगाडि उभिएका राई माइलाका बावुसँग भेट भयो । बाबुले आइज म तँलाई तुवाचुङ्ग लगिदिन्छु भनेर लिएर गएछन् । उनी बाबुसँगै मोरङ तोरीबारी ठुल्दाइकोमा, त्यसपछि सुनसरी चतरामा काकाको घरमा, त्यहाँबाट बराहक्षेत्रमा खुवालुङ्गलाई दर्शन गर्दै त्रिवेणीघाटमा अरूण तरेर खोटाङको बाटो भएर भोजपुरको तुवाचुङ्ग पुगेर त्यहाँ बुबाका हजुरबुबाका दाजुभाइका सन्तानहरूसँग भेटघाट गरे । एकदुई दिन त्यहाँ बसेर बाबुसँगै तीनदिन पैदल हिँडेर राईहरूको पवित्र तीर्थस्थल भोजपुरको साल्पापोखरी पुगी स्नान गरेर पवित्र सिलाचुङ्ग पर्वतमा महादेवको दर्शन पनि गरे । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा अवस्थित ३ हजार ४४३ मिटरको उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल साल्पापोखरीमा वैशाख पूर्णिमा (चण्डीपूर्णिमा) को दिन ठूलो मेला लाग्ने रहेछ । त्यो दिन राई माङ्पा, ङोपा, बिजुवाहरू दैवीशक्ति माग्न साल्पापोखरीमा नुहाएर सिलिचुङ्ग पर्वतमा महादेवको दर्शन र पूजाआजा गर्दारहेछन् ।

त्यसैगरी पितृउद्धार र परिवारकल्याणको लागि आशीर्वाद लिन भक्तजनको घुइँचो लाग्नेरहेछ । यसरी पुर्ख्यौली थलो पुग्दा राई माइला खुशी भइरहेको बेला कसैले पछाडिबाट काँधमा हातले  झकझक्यायो । राई माइलाको सपनी टुट्यो । बिहान भइसकेर जीतबहादुरले उठाएका रहेछन् ।

* * *

चिया पिउँदै राई माइलाले सपनाको कुरा जीतबहादुरलाई सुनायो, आमाले पनि सुनिरहेकी थिइन्, उनले आफ्ना माइतीपट्टिका सन्तानहरू पनि राई माइलाका बाबुका सन्तानहरूसँगै तिनै ठाउँ र बाटा हुँदै आएका सुनेको बताइन् ।

चिया पिइसकेपछि राई माइला र जीतबहादुर घरमुनिको बारीमा गए । बारी साँच्चै गहिरा तेर्सो र ठाडो धाँजा परेर फाटेको रहेछ । धाँजाहरूले पुरानो पहिरोले बगेको बारीको डीलसम्म छोएका रहेछन् । देवता बकेको कुरा ठीक निस्कियो । पहिरोबाट ओह्रालो लाग्दै खोल्सीसम्म झरे दुई भाइ । सपनीमा बाबुले भने जस्तै खोल्सीपारिपट्टि जामुनको फेदमा त्रिशूलसहित केही शिलाहरू सजाएर बनाएको थान रहेछ । राई माइलाले पहिरो आउनुभन्दा अगाडि आफ्नै बारीमा भएका शिलाहरू र त्रिशूल चिन्यो । पहिरोको छेउमा मानिसको एउटा नलीखुट्टा, टाउकोको हड्डीका टुक्रा र करङका केही टुक्राहरू भेटिए । ती सबै जम्मा गरेर त्यही जामुनको फेदमा राखे । माथि घरमा गएर कसैलाई केही नभनी यौटा कोदालो, केही चामल र फूल, अनि यौटा लोहोटा लिएर फेरि तल आए । खोल्सीको पानी लोहोटामा ल्याएर थानको वरिपरि साफ सुग्घर गरे ।

जीतबहादुरले राई मुन्धुम अनुसार पारूहाङ र सुम्निमाको उपासना गरिएको मन्त्र सुन्नेगरी भट्भट्याउँदै सवै देवीदेवता, पितृहरू र सिमेभूमेहरूसँग अहिलेसम्म सेवा पुर्‍याउन नसकेकोमा क्षमायाचना गरेर लोहोटाको शुद्धजल चढाउँदै अक्षता र फूलले पूजाअर्चना गरेर यथास्थानमा रही राई माइलाको घरपरिवारमा आशीर्वाद दिन र रखवाली गरिदिन बिन्ती गरे । थानको नजीकै तीनहात लम्बाइ र दुईहात चौडाइ भएको खाल्डो खनेर पहिरोमा भेटिएका मानव हाडखोडहरूलाई त्यसमा हालेर जल, चामल र फूल चढाई दुई हात जोडेर दुवै जनाले क्षमायाचना गदै बिस्तारै जीतबहादुरले गुनगुनाएर पढेको मुन्धुमका वाणीसँगै पुरिदिए र माथिबाट जङ्गली जनावरले नखोस्रिउन् भनेर मैदलको काँडा, कुकुरडाइनीको लहराले छोपिदिए ।

त्यतिबेलै छेउको झाडीबाट सानो जनावर दौडे जस्तो खस्र्याङखुस्रुङ आवाज आयो र विस्तारै हरायो । राई माइलाका बुवाको भौंतारिएको प्रेतात्मा भागेको भनी अर्थ लगाए जीतबहादुरले । केही मन्त्र भनेर आवाज आएतिर पानी छर्किदिए । त्यति गरेर खोल्सीको पानीमा हातखुट्टा धोईपखाली र मुख र शिर पानीले पुछेर माथि घरतिर लागे । फर्किंदा उकालोमा उसलाई बावुले सपनामा भनेका, आमाले काम्दै भनेका, जीतबहादुरले चिन्ता बस्दा भनेका कुराहरू सबै दुरुस्तै मिलेकोले चाँडै अनिष्ट आउने कुराले अझ धेरै डर लागेको बतायो । खोल्सीबाट माथि घरबारीतिर हेर्दा अहिलेको घरबारी तलतिर पनि पानी रसाइरहेको देख्दा राई माइला अझ डरायो ।

घरमा जीतबहादुर, राई माइला र आमा तीन जनाको चुम्लुङ बस्यो, सबैको बिचारमा कुल र पितृ दुवैले सङ्कट आउने बताएको र अरू सबै कुराहरू पनि मिल्दै आएकोले राई माइलाका बुबाले देखाइदिएको बाटो हुँदै पुर्ख्यौली थलो फर्कनु नै सबैभन्दा उचित हुने निर्क्योलमा पुगे । राई माइलाले श्रीमती र छोरीहरूलाई घरमा बिजुवा राखेको र त्यस दिन घटेका केही कुरा पनि घरबाहिर कसैलाई नभन्नु भनेर सिकायो ।

चैत्र ३० गते बिहानका राति नै घरबाट निस्केर हिँड्दा बावुले भनेका सबै ठाउँ हुँदै कुल र पितृहरूको जोडान र अन्य बन्दोबस्तीका व्यवहार मिलाउँदै आरामले पुर्ख्यौली  थलो तुवाचुङ्ग पुगिने हिसाब निकाले जीतबहादुरले । बरु राई माइलाले देखेको बाबुसँगको सपनामा जस्तै विपनामा नै अधिकमासको कारण वि.सं. २०८१ जेष्ठ १० गते पर्ने वैशाख शुक्लपूर्णिमा   (चण्डीपूर्णिमा)को दिन साल्पापोखरी र सिलिचुङ्ग दर्शनका लागि जान आफू पनि श्रीमतीसहित जेष्ठ महीनाको पहिलो हप्ता तुवाचुङ्ग आइपुग्ने बताए । यति सल्लाह गरेर जीतबहादुर चैत्र २९ गते बेलुका प्यूरेमा उनको भान्जीज्वाइँकोमा बास बस्दै आउने र ३० गते बिहानको ३ बजे राई माइलाको घरबाट तल गौंडासम्म परिवारलाई गाडी चढाउन आउने भन्दै चिसापानी घरतिर लागे।

* * *

राई माइलाले सबैलाई आआफ्ना अति आवश्यक सामानहरू झिटीगुन्टासहित बोक्न सजिलो भारी बनाउनु भनी अह्रायो, सबैले त्यसै गरे । छोरो नितेशसँगै काठमाडौं गएको तल्लोगाउँको कार्की केटो फेरि फर्किने गरी आएको रहेछ, पैसा फिर्ता लिन अझै समय लाग्ने कुरा उसले बतायो । राई माइलाले नितेशलाई घर आउँदा तोरीबारी बडिबाकोमा जानु भनिदिनु भनेर उसलाई खबर पठायो । कुलबहादुरलाई भेटेर अहिले आफूलाई गाह्रो साह्रो परेको भए पनि ढिलोचाँडो आफूले ऋण तिर्ने र खेत निखन्ने बतायो । कुलबहादुरले आफूले दिएको वचनअनुसार नै दुई वर्षसम्म केही नलिने भनेर ढाडस दिए ।

राई माइलाले आफूहरू परिवार नै गाउँ छाड्न लागेको कुरा कसैसँग गरेनन् । दुई दिनमा सबैको आ–आफ्नो प्याकिङ सकियो । राईमाइलाले दुई वटा काठका डिब्बामा बुवातर्फका र आमातर्फका कुल मानेर ल्याएका शिलाहरू र तिनका सामानहरू छुट्टाछुट्टै राखेर रातो कपडाले मोहोरेर सुरक्षित किसिमले आफ्नो सामानको पोकामा राख्यो । बेलुकाको खाना सबैले सँगै बसेर खाए, सबैको आँखामा आँसु थिए, अनिश्चितता र उदासीनताले सबैका अनुहार फुङ्ग उडेका थिए । निद्रा नपरे पनि बिहान छिटो उठ्नुपर्ने भएकाले सबजना चाँडै सुते ।

* * *

बिहान ३ बजे नै जीतबहादूर आइपुगे र सबै उठेर हतारहतार बाहिरफेर गएर दाँतमुख सफा गरेर लुगाहरू लगाएर हिँड्न ठीक परे र सुतेका ओछ्यानहरू उठाएर यौटै खाटमाथि पट्याएर राखे ।

राई माइलाले आफूहरूसँग पितृहरू र कुलका देवीदेवताहरूका साथ भएकोले कसैले डराउनु नपर्ने भन्दै सबैलाई आ–आफ्ना सामान लिएर कतै केही नसोची बिस्तारै गौंडातर्फ ओह्रालो लाग्न अह्रायो । आफूले ढोकामा ताल्चा लगाएर साँचो जीतबहादूरको हातमा राखिदिंदै नागबेली र कुकुर डाइनीका लहराले ढोकामा छेकबार राखिदियो ।

गौंडामा पुग्दा साढे पाँच बजेको थियो, त्यहाँबाट बस छ बजे छुट्यो । अलिक तल घुमाउरो बाटोमा बाँसघारीले बसलाई नछेकुन्जेल जीतबहादुरले उनीहरू गएको बसलाई हेरिरहे ।

बसमा राई माइलाका परिवारलाई बिदा गरेर जीतबहादुर आफ्ना छोरा उमेश काम गर्ने र बस्ने घट्टे होमस्टे आएर दिनभर बसिरहे, उनलाई राई माइलाले गाउँ छोडेको कुरा सपना कि विपना जस्तो भइरह्यो । कसैलाई केही भन्न सकेनन् र राई माइलासँगको सल्लाह पनि गाउँमा कसैलाई नभन्ने नै भएको थियो । तर दिउँसोतिर राई माइलाको परिवार गाउँछोडेर गएको हल्ला फैलियो । त्यही हल्लाहरूका बीच सुनेका कुराहरूलाई शब्द र संगीतमा राखेर जोरसाँघुको झोलुंगे पुलमाथि बसेर राई माईलाले गाउँ छोड्यो रे ! भन्ने गीत बनाएका रहेछन् कालीप्रसाद, सुनिता र उनीहरूका साथीहरूले ।

* * *

राई माइलाको बारेमा यति लामो विवरण आज पहिलो पटक जीतबहादुरले मलाई सुनाएका रहेछन् । घटना विवरण भन्दै जाँदा उनी धेरै ठाउँमा भक्कानिएका थिए, धेरै पटक मेरा पनि आँखाहरू छचल्किए । अन्त्यमा मैले घडी हेरेर रातको बाह्र बजेछ अब सुतौं, मलाई पनि बिहानको गाडी समाउनुछ भनी उनलाई नमस्कार गरेर धन्यवाद दिएँ । उनले पनि राई माइलाजस्तो एउटा असल मान्छे र परिवारले गाउँ छाड्दा आफूलाई धेरै दुःख लागेको र आज यति खुलस्त सबै कुरा भन्न पाएकोमा मन अलिक हलुका भएको भन्दै नमस्कार फर्काए ।

* * *

म भोलिपल्ट बिहानै गौंडाबाट बस चढेर धुलाबारी फर्कें । म फर्केको बस र जीतबहादुरले बताएको राई माइलाहरू चढेर गएको बस एउटै परेछ, मलाई जान्ने उत्सुकताले बाटामा बसका कन्डक्टरलाई त्यस दिन गाडीमा चढेर गएका एक पुरुष, चार जना महिला र एक बच्चीका बारेमा सोधें । कन्डक्टरले राई माइलाकी कान्छी छोरीलाई यही रूटको गाडीमा ओहोरदोहोर गर्दा पहिलेदेखि चिनेका रहेछन् । उनले बताएअनुसार त्यो दिन राई माइलाहरू विर्तामोड उत्रिएर त्यहाँबाट पश्चिम जाने गाडी चढ्ने कुरा भएको रहेछ ।

* * *

घर पुगेपछि राई माइलाले गाउँ छाडेको कुरा हाम्रो आमाबुवालाई छोटकरीमा सुनाएँ । राई माइलाले गाउँ छाडेको कुरा सुन्दा आफूलाई पनि दुःख लागेको बताउनुभयो । वास्तवमै कसैले पनि गाउँ छाड्नु नपरे हुन्थ्यो – यही कामना गरौं ।

कोटेश्वर, काठमाडौं