
मै जान्ने, मै सुन्ने, म बिना अरू कौन जान्ने छ केटा ?
कुनै शीर्षक पाऊँ म जसरी दिने एक मनुख्खे देखा ।
हाम्रै भारतवर्षको कुरा गर्ने हो भने पाइन्छ : मध्ययुगीन बादशाह, सम्राट्, राजा, नृपतिहरू आफ्नो प्रशस्ती, विरुदाबली लेखाएर आफ्नो देवत्व गाउन लाउँथे प्रजाहरूलाई । अस्ति भर्खर हाम्रा राणाहरूले पनि यस्तै आफ्नो विरुदाबली लेखाएर ‘खाँडो जगाउने’ नाममा जनताका घरघरको बिहेमा आफ्नो पुरुषार्थ र देवत्व गाउन बाध्य पारेका थिए ।
एक वेलामा बिहेमा खाँडो जगाएन भने राजबात लाग्ने जमाना थियो । शासकका पाउमा लम्पसार परेर, आफ्नो स्वत्व गुमाएर बाँच्ने दास संस्कार यो खाँडो जगाउने प्रथाले पनि गाउँगाउँमा एक जब्बर सनातनका रूपमा प्रसार गर्यो हाम्रातिर । ‘खाँडो’युग समाप्त भइसकेको छ । अहिले ‘खाँडो’ भनेको के हो बुझ्ने भन्दा नबुझ्ने पुस्ताको बहुमत छ तर त्यही ‘खाँडो जगाउने’ जुग भेटेर र त्यसको मूल्यभन्जन देखेर हुर्किएको पुस्ता अहिले पनि हामीमाथिका शासक छन् । र, शासन माथिका दुई हरफले भनेको जस्तै ‘खाँडो जगाउने’ सिद्धान्तमा नै सञ्चालित छ ।
राजा, राज्य वा शासक किन चाहिन्छ त मान्छेलाई ? यसको छोटो उत्तर खोजौं पहिले ।
आदिकालमा, अस्तित्व उदयका वेला मान्छे एक्लाएक्लै बाँच्न थाल्यो । नातागोता, हाडनाता भन्ने थिएन । भाले र पोथी मात्रै थियो । एक ठाउँमा ठेगान लागेर बस्न सिकिनसकेको मान्छे डुली खान्थ्यो, शिकार गर्थ्यो । ज्यानको सुरक्षा थिएन जंगली जनावरबाट र अर्को भाला बोकेको मान्छेबाट । एकको ठाउँमा दुई भएपछिका जीवनभोगका सजिला उपायले परिवार बनायो । परिवार, परिवारको युद्ध भयो खाना र यौनका लागि । क्रूर हत्या भयो । सुरक्षाका लागि परिवारबाट कबिला बने । कबिला झन् उग्र र भयानक हुन थाल्यो । यौन गर्नु, भोजन जुटाउनु र अर्को कबिला सिध्याउनु खास काम थिए । कबिला युद्धले संग्रह, संग्रहले सुरक्षा र सुरक्षाले बुद्धि र योजनाको माग गर्यो । अनि कबिलाबाट सिक्दै गएर कबिलाभित्रै मुखिया, अगुवा हुनथाले जसले खाना, बास र सुरक्षाको व्यवस्थापनमा बुद्धि लगाउने, अरूले काम गर्ने हुन थाल्यो ।
यही मुखिया, अगुवाको विकसित रूप नै राजा वा राज्य हो आजको । राजा र राज्य भएपछि मनोमानी शुरू भयो । धन, यौन र सुविधा राजा वा राज्यको अधीन र हुकुममा गयो । काम नगरी खाने, क्रूर सजातीय-हत्या र मनमौजी, पाशविक प्रवृति भयो राज्यको । रित, न्याय, समानता, शान्तिको खोजी भयो । अनि मान्छेले आफ्नै बली चढाउँदै प्रजातन्त्र ल्याए र सिद्धान्त, आफ्नै भलाइका लागि उत्पत्ति भएको र निश्चित काम र कर्तव्य भएको राज्यलाई प्रश्न गरेर, कारण खोजेर औंलो ठड्याउन पाइने प्रजातन्त्र आयो । यसरी राजा, राज्य वा सरकार हुनु भनेको विशुद्ध सेवाका लागि हुनु हो । मनमौजी र पाशविक हुनका लागि राजा र राज्यको उदय भएको होइन । त्यसैले मान्छेले मान्छेका लागि बनाएको मान्छेको समूह नै राज्य हो । तर पनि ‘ईश्वरको दूत’ नै घोषणा हुँदैछ राज्य ।
राज्य यति साधारण अर्थ, उद्देश्य, काम र कर्तव्यको हुने रहेछ त ! किन ईश्वरको दूत ठानियो र मानियो राज्यलाई ? किन सर्वज्ञ, दैवीय हुङ्कार आउँछ राज्य वा राजा वा राज्यका प्रमुखलाई ? किन आजको युगमा पनि नेपालीले एक अहंकारी र मपाईंत्वले भसक्कै फुलेका “सर्वज्ञानी” र “माखापित्ते” अगुवाबाट शासित हुनुपरेको हो त ? कि सतीले सरापेरै हो यो पनि ?
कस्तो हुन्छ त्यो कुर्सीमा पुगेपछि त यति विधि सिपालु भइने हो सबै थोकमा । किन ठीक्क बोलेर, पुग्ने बोलेर, दुई जिब्रे नबोली एक तेजस्वी राजनेताको ढङ्ग र परिचय बनाउन नसकिने रहेछ त त्यस कुर्सीमा बसेपछि ? आज अनेक जिज्ञासाले पेलेको छ । प्रधानमन्त्रीगिरी सिक्न मन लागेको छ प्रत्यक्ष हाजिर भएर प्रधानमन्त्रीबाटै कक्षा लिएर । तपाईंहरूलाई पनि लैजान्छु कक्षामा । हिंडिनहाल्नुस् है ।
प्रधानमन्त्रीगिरी सिक्ने कक्षामा पसेपछि बोल्न पाइएला नपाइएला । पहिला बोल्न पाइने प्रजातन्त्रमा अलिकति बोल्छु अनि बल्ल कक्षामा पस्छु भन्दा पनि जहिले समय कम हुने प्रधानमन्त्रीको जात अरूलाई घण्टौं कुराएर मात्रै आउने हुन् । त्यसो भएर उता गएर कुर्नुभन्दा एकैछिन यतै बसेर बसिबियाँलो गर्दै गरौं ।
हुन त सबैका मुखमुखमा झुन्डेको छ -‘हामी एक्काइसौँ शताब्दीमा बाँचेका बाठा मान्छे हौँ ।’ अर्थात्, विज्ञान, तर्क, प्रमाण, चेत र चेतनाले पर्गेलेर जोसुकै मान्छे विवेकशील हुनसक्छ यस शताब्दीमा । ज्ञान पहिलेको जस्तो ‘पढे बौलाइन्छ’ भनेर उच्च ब्राह्मण कुलका लागि मात्रै सीमित छैन अहिले । केही नभए गूगलै गरेर भए नि ज्ञान निर्वाह त चल्छ यस एक्कइसौं शताब्दीमा । त्यसो भएर भन्न सकिने होला यस युगमा – हामीलाई कसैले थाङ्नामा सुताउने सपना नदेख्दा हुन्छ । सपना पो नदेख्दा हुन्छ त । बिपनामै लुतुलुतु थाङ्नामा सुत्नु, सुताउनु त हुनेरहेछ नि बीसौं सकेर आएको एक्काइसौं शताब्दीमै पनि ।
यसो पनि भनिएला यस युगमा – प्रजातन्त्रको कदर, फरक मतको सम्मान, सहसतित्व स्वीकार, विनयशीलता, जनआवाजमा कान नथाप्ने शासकका खैरियत हुन्नन् यस युगमा । खैरियत पो नहुने रहेछ त तर कुहिएर नझरुञ्जेल घुँडाको सीङ नै भए पनि मरिमेटेर, अनेक तिकडम गरेर हत्याएको कुर्सी र त्यसका वरपर प्रदक्षिणा गर्ने केही डाडुपुन्यु र चम्चा वर्तन त हुने रहेछन् नि । अर्थात् गाँडू तन्नेरी टाइपको प्रधानमन्त्रीगिरी त चल्ने रहेछ नि यसै शताब्दीमा पनि । एक ढिक्का ठोस बस्नुपर्ने विवेकले नै अनेक टुक्रा र सत्यका बहुरूपमा कित्ताकाट गरेपछि जे पनि सम्भव हुने रहेछ ।
आज पर्यन्त बदनामी कमाएको भए पनि, इतिहासले सर्वथा धिक्कारेको, छि:छि: दूरदूर गरेको भए पनि कुख्यात मुसोलिनीका पनि ग्यालेज्जो सियानोहरू, अन्य अनुचरहरू थिए । जे गर्दैछ मुसोलिनी ठीक गर्दैछ भनेर वान्ता गर्नेहरू थिए । एक्काइसौं शताब्दीको प्रधानमन्त्रीगिरीका आज पनि छन् जसोजसो बाजे उसैउसै स्वाहा: गर्ने अनुचरहरू । कोही फेसबुकमा छन्, कति ट्विटरमा छन्, केही मुख्यालयमा छन् र कति गाउँगाउँमा छन् ।
“हामी डर मान्ने खुट्टा कमाउने होइनौं, तानाशाही ज्ञानेन्द्रको बन्दुकसँग सम्झौता नगरेका मान्छे हौँ,” भन्छन् जनतातिर मुख फर्काएर यी मुर्दा कुट्न बानी परेकाहरू । के युवा नेता, के वायु नेता जम्मैको एउटै स्वर एउटै भाका छ । स्यालको झैँ एकोहोरो ‘हाउउs हाउउs !’ अनि जनतातिर पिँध फर्काएर एउटा मामुली मान्छेको मपाईंत्व र सर्वज्ञानी स्वेच्छाचारितासँग दण्डवत् झुकेका छन् यी । यो आमविवेक माथिको चरम धोका हो “एक्काइसौं शताब्दीमा” ।
अब एकैछिन बोलेर प्रधानमन्त्रीउवाच श्रवणको प्रशिक्षण सत्रतिर पसिहाल्छु । बोल्न त पाइनुपर्ने हो ।
पञ्चायतमा राजा, अन्चालाधीश, पञ्चहरूको यही अरुले बोल्न नहुने मनपरी तन्त्रका विरुद्ध घरबार र ज्यान छोडेर हिंडेका यिनै हुन्, जो आज कोही तिनै जस्तो तानाशाह हुँदैछन् र बाँकी अरू त्यही झुपडपट्टि तानाशाहको निरीह अर्चना गर्नसक्छन्, तर त्यसो होइन भन्न सक्दैनन् । म त केही भन्दिनँ तर हाम्री आमाले भने यस्ता पानीमरुवाहरूलाई, “थुक्क धन्धुकारी मोरा हो” भनिसक्ने थिइन् हजारबार ।
ल अब आउनुहोस् एक्काइसौं शताब्दीको प्रधानमन्त्रीगिरीका लागि केही टिब्सन पढौं स्वयं प्रधानमन्त्रीबाट ।
उद्घोषक – हाम्रा राजनेता, युगपुरुष, राष्ट्रनायक, चिन्तक, दार्शनिक, जनताका स्वप्नद्रष्टा, तपाईं-हामी सबैका काइँलाबा परममाननीय प्रधानमन्त्रीलाई स्वागत गरौं । (पररर तालीपछिको सन्नाटा ।)
प्रधानमन्त्रीउवाच : तपाईं उ त्याँ बस्नुहोस् । तपाईं त्याँ पछाडि जानुहोस् । तपाईं उ त्यो कुनाको कुर्सीमा बस्नुहोस् । के रे तपाईंको नाम ? डाक्टर फलानो ? के को डाक्टर ? औषधी गर्ने डाक्टर कि ट्याउँट्याउँ गर्ने डाक्टर ? ल ठीक छ, डा.सा.को धेरै फूर्ती नगर्नू, पढेर भन्दा परेर सिकेको दिगो हुन्छ भनेका छन् हाम्रा पूर्वजहरूले । डा. भनेको डाका पनि हुन्छ । (गलल हाँसो गुन्जिन्छ) ।
त्याँ पछाडि किन हल्ला ? तपाईंलाई ठाउँ पुगेन ? ठीक छ । उभिनु पनि पर्छ । हाम्रा ऋषिमुनिहरू यही हिमवतखण्डमा उभिएर एकखुट्टे साधाना गर्थे । हेर्नुहोस् त हाम्रा शास्त्र र पुराण कति लेखिए ? हाम्रा पूर्वीय ज्ञान र दर्शन हेर्नुहोस् । कुनै नासाफासाले लेखेको देखाओस् त यति बिघ्न ! यो सब उभिनुको परिणाम हो । (उभिन नसकेर, अर्दलीको भर छेउको विशेष प्रकारको कुर्सीमा बस्दै) । गुटुमुटु परेर सिरक ओढेर सुतेको भए कहाँ जन्मिन्थे व्यास ? कहाँ हुन्थे बाल्मिकी ? त्याग गर्नुपर्छ त्याग । मनुष्यको जन्म नै त्याग गर्नलाई हो । मैलाई हेर्नुहोस्, जेल बसिएन कि, नेल लाइएन कि ! अहिले अलिअलि भएको खेल, छिटपुट भएको झेल गनेर हुन्छ ?
पहिलो कुरा म भ्रष्टाचार सहन्न । दोस्रो कुरा मेराले गरेको भ्रष्टाचार र मैले काखीमुनि लुकाएको कुरा ज्यान गए कहन्न । छोटकरीमा भन्दा म भ्रष्टाचार पनि सहन्न, भ्रष्टाचार भयो भन्ने मान्छे पनि सहन्न । (पछाडितर्फ दृष्टि फाल्दै) त्याँ पछाडि के को खासखुस, के को गाइँगुइँ हो ? चुर्ना परे जस्तो ! चुर्ना परेको छ भने निमको पात वा त्यसका कलिला मुन्टा टिपेर पकाएर गाईको दूधमा मिसाएर खाली पेटमा खाँदा फाइदा गर्छ । जडीबुटीका धनी हामी चुर्ना परीकन डराउनु पर्दैन ।
एकछिन शान्त हुनुहोस् । समयको पाबन्दीलाई पनि हामीले ख्याल गर्नुपर्छ । हामीसँग खेर फाल्ने समय छैन ।
(कक्षाको अघिल्तिरको लहरमा विश्वविद्यालयका डिग्रीधारी प्राध्यापक, शिक्षक, वकिल, बुद्धिजीवी, उद्योगी, अन्य पेशेवर सुकिलामुकिलाहरू थिए । बीचमा विद्यार्थी र पछिल्लो भागमा किसान, मजदूरहरू थिए । अग्रभागका सबै गन्यमान्यले पछाडि फर्केर हल्ला आएको किसान मजदूरको आसनतर्फ हेरे ।)
(प्रधानमन्त्रीको कानैमा कोही भन्छ, “प्रश्न छन् रे केही ?” )
प्रधानमन्त्रीउवाच : ‘प्रश्न ?’ के को प्रश्न ? जति प्रश्न गर्नुपर्ने हामीले गर्यौँ उहिले पञ्चायतसँग । हामीले जेलबाट प्रश्न गर्यौँ । हामीले राजा, महाराजासँग प्रश्न गर्यौं । अब उत्तर सुन्ने पालो हो । अब समाधानको पालो हो । प्रश्नै मात्र गरेर जुगै बिताउने समय छैन हामीसँग । धेरै प्रश्न नगर्नुहोस् । काम गर्नुहोस् । प्रश्नले कुरा मात्रै जन्माउँछ । कामले प्रतिफल जन्माउँछ । हामीलाई परिणाम चाहिएको छ, कुरा होइन । तपाईंहरू सबैका बाबुआमा हुनुहुन्छ । अथवा हुनुहुन्थ्यो होला कतिपयका । तपाईंका बाउआमाले प्रश्नै मात्र गरेर बसेका भए तपाईंले जीवन पाउनुहुन्थ्यो ? उहाँहरूले कर्ममा विश्वास गर्नुभो, त्यसैले आज तपाईंहरू हुनुहुन्छ यहाँ । तपाईंहरू पनि कर्ममा लाग्नुहोस् प्रश्नमा होइन ।
(गलल्ल हाँसो गुन्जिन्छ । पछिल्तिर किसान-मजदूर हूलबाट ‘प्रश्न प्रश्न’ भनेको आवाज आउँछ । अग्रभागका एक डिग्रीधारी उठेर आक्रोश र आवेगमा जोरबाहु फालेर पछाडिको प्रश्नको मूलतिर ध्वाँस फाल्छन्, ‘तपाईंहरू कुरो बुझ्नुहुन्न नेपालीमा बोलेको ? प्रधानमन्त्रीज्यूले भनिसक्नुभो आज प्रश्न होइन उत्तर सुन्ने भनेर । हलबाट बाहिर जान मन छ ?’
के रे ? जहिले समय कम छ भन्दै हामीलाई चाहिं कुराउने अरे ? कुराउने भन्या के ? भतेरमा भान्से पहिले आउँछ कि जन्ती ? भान्से आउनु कहाँ छ कहाँ अघि आलीका डीलमा बसेर भतेर कुर्नेलाई भान्सेले के गर्न सक्छ ? समयको महत्व हामीले बुझ्नुपर्छ । भान्सेले चुलोचम्का नगरी भतेर कुर्न आउने होइन, घरमा भुइँसीलाई दोडा मुठा बढी घाँस काट्नुपर्ने हो कि, भकारो तह लाउनुपर्ने हो त्यो गर्ने हो, भतेर कुरेर बेगारी भएर बस्ने होइन । हरेक कुराको यथोचित समय हुन्छ । वसन्त नआई बिरुवामा पालुवा खोजेर हुन्छ ? उफ्रीपाफ्री गरेर हुन्छ मलाई गुराँस चाहियो भनेर पुषमाघमा ? समय आएपछि सबैथोक आउँछ । प्रधानमन्त्री आउँछ । (गलल्ल हाँसो गुन्जिन्छ, केही तालीका कर्तल ध्वनि सुनिन्छ) ।
खैर, हामीसँग फाल्तु कुरा गरेर समय खेर फाल्ने सुविधा छैन । हामीले देश बनाउने जिम्मा लिएका छौं । यदाकदा कसैकसैको घर महल बन्ला, भाग्य बन्ला त्यो अलग कुरा हो । यस्ता झिनामसिना कुरामा अलमलिएर बस्ने समय छैन हाम्रो । देश बन्छ । सरकार ढल्दैन । ढलिगो भने नि कतै जाँदैन । यही जमिनमा ढल्ने हो । बेलायतका सर आइज्याक न्युटनले पत्ता लगाएको गुरुत्व बलले यस सरकारलाई वायुमण्डलमा ढलेर हाम्रो पुष्पक विमानजस्तो उतैउतै अन्तरिक्षमा उड्न दिंदैन । भुइँमै थचार्छ । फेरि उठिन्छ । उठ्ने भनेकै लडेपछि हो ।
हामीले गाएकै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गीत हो । हामीलाई उठ्न कुन गाह्रो छ । ल तपाईं एकैछिन उठ्नुहोस् त (अगाडिको एकजना प्राध्यापक आज्ञाकारी याचक झैँ फ़ौरन उठ्छन्) । ल अब तपाईं फेरि उठ्न सक्नुहुन्छ ? सक्नुहुन्न । ल अब त्याँ भुइँमा ढल्नुहोस् त । (श्रीमतीले टिकटिकमा नचाएको आज्ञाकारी श्रीमान जस्तो उहाँ प्राध्यापकले दण्डवत् ढलेर देखाइदिनुभो) ल अब उठ्नुहोस् (उहाँले उठेर देखाइदिनुभो) ।
हो ! तपाईं उठ्न सक्नुभो किनभने तपाईं ढल्नुभो नि त । नढली त उठिन्न रहेछ । अरूजस्तो होइन हाम्रो पार्टी – प्रयोग, विज्ञान र प्रमाणमा विश्वास गर्छ । उठ्नलाई टेक्ने अनेक लौरा हुनसक्छन् । मुसा नपाएर खाँबो चिथोरेर बसेका केही सुरीम्याउँ लौराले ‘यता यता’ भनेर इशारा दिइसकेका छन् । केही नभए, उरन्ठेउले केटालाई गहुँत मन्त्रेर चोख्याएर भए नि त्यसैको लौरो टेक्नुपर्छ । भनिएकै छ ‘स्थायी शत्रु’ हुन्न भनेर । (पररर ताली बज्यो, अग्रस्थानको ताली जोडको सुनियो पछाडिको भन्दा) ।
(पछाडिपट्टि किसान मजदूरको दीर्घाबाट ‘जंगलीहात्ती’, ‘बाघ’, ‘बाँदर’ भनेको सुनियो ।)
बाघ, हात्ती , बाँदर ? किन खराखर जंगली जनावरको नाम आयो यहाँ सबै नेता, विद्वान, लेखक बुद्धिजीवी भएको ठाउँमा ? के रे ? जंगली हात्तीले दुःख दियो रे ? बाघ लाग्यो रे ? बाँदर पसे रे बालीनालीमा ? उखानै छ हात्ती लम्किंदै गर्छ, कुकुर भुक्दै गर्छ भन्ने । हात्ती लम्किरहने भएकोले एकै ठाउँ अडिन्न, आउँछ जान्छ । नाङ्लो ठट्टाइरहनु पर्दैन हात्तीलाई । हाम्री आमा भन्थिन्, “बाघको बच्चो र मान्छेको बच्चो पनि एकै ठाउँ बसिराख्दैन रे ।” त्यसको पनि चिन्ता भएन ।
त्यसमाथि हाम्रो ‘पर क्यापिटा टाइगर’ पनि बढी नै भएजस्तो छ । टीक करोडलाई तीन सय बाघ गर्दा करोडको सय बाघ पर्यो हामीलाई । किन चाहियो सयसय वडा बाघ एक करोड मान्छेलाई ! बेकारमा, बाख्राआ काल किरो । रह्यो बाँदरको कुरा । लंकायुद्ध पहिले भारतवर्षमा धेरै बाँदर थिए । राम-रावण युद्धमा धेरै सखाप भए । अहिले फेरि आए, हामीले गाउँ छोडेपछि । दोष त हाम्रै हो । सबैको दिन आउँछ । २०१७ सालमा हरण भएको प्रजातन्त्र २०४६ आएजस्तै हो यो । त्रेतायुगमा मासिएका बाँदर अहिले बिस्तारै फर्किंदैछन् । आत्तिहाल्नुपर्दैन । म वन मन्त्रीलाई भनिदिउँला बाँदर आएको खबर बारेमा । हामी राजाराजै धपाएर आएका मान्छे हौँ । यी झुसे बारुला हात्ती, बाँदर पनि लखेटिने छन्, धपिने छन्, खेदाइने छन् । तिनको यथोचित व्यवस्था हुन्छ ।
हामी कसैका पनि दास होइनौं अरू देशजस्तो । हाम्रो स्वतन्त्रता दिवस छैन किनभने हामी परतन्त्र नै भएनौं कहिले । हामी आफ्नो निर्णय आफैँ गर्छौं त्यो पनि आफ्नै विवेक र चेतनाले । हामीलाई दासता स्वीकार्य छैन एक्काइसौँ शताब्दीको यस चेतनाको युगमा । हाम्रा विश्वविद्यालय छन्, थिङ्कट्याङ्क छन् । तर सबैभन्दा माथि देश छ । देश भनेको के हो ? देश भनेको सरकार हो । अनि सरकार भनेको नेता र त्यसको दल हो । त्यसो भएर देश सरकार, नेता र दल मिलेर देश भनेको हुन्छ । यी सबभन्दा तल विज्ञ, प्राज्ञ, प्राडा, थिङ्कट्यांक स्याङ्क के के हो तपाईंहरूको, त्यो हुन्छ ।
अहिले नेता भएन नेता भएन भन्छ मान्छे । म सुन्छु यस्ता बजारे कुरा । मोटा धान मात्रै होइन मासमति धान कुटाएर ल्याउँदा पनि अलिअलि बियाँ त हुन्छ चामलमा । बियाँ निफन्ने काम तपाईंहरूको हो । चामल केलाएर भातै पाकिसकेपछि निफन्न नजान्ने नाङ्लो टेढो भन्ने हुन्न । चुनिएको नेता भनेको पाकेको भातजस्तो हो । खाए पाकेको भात खाने हो नखाए घिच्ने हो । हाम्रो काम निष्फल सेवा गर्ने हो । बरु चौरासीमा भ्रष्टाचारीलाई, काम नगर्नेलाई, एक्लै सगर थाम्या छु भन्ने हुट्टिट्याउँलाई, कसकसलाई निफन्न, चाल्न पर्छ, सुची तयार पार्नुहोस्, त्यसमा आजैबाट हेक्का राख्नुहोस् । नाङ्लो, चाल्नो ठिकठाक पार्न आजैबाट लागिहाल्नुहोस् । काम गर्नेलाई छान्ने हो, नगर्नेलाई निफन्ने हो । हामीसँग समय कम छ । अर्को कार्यक्रममा पुग्नुछ । हस् त नमस्ते । अभिवादन ।
कक्षा सकिएर बाहिर निस्किएपछि पत्रकारले घेरे । डाडु, पन्युँ, काँटाचम्चाहरू माइकको फुँदोमा छाँद हालेर दौडिएर गई बोल्दै हुनुहुन्थ्यो: “एकदमै फलदायी प्रशिक्षण भयो राजनेताबाट । हामी अत्यन्तै धन्य भयौं सारगर्भित कुरा सुनेर । हाम्रा राजनेताको विकल्प छैन, हाम्रो पार्टीको विकल्प छैन, नेपाली जनताको भाग्य, भविष्य निर्माणको गुरुत्तर दायित्व छ हाम्रो राजनेताको काँधमा । उहाँको यही भनाइ पनि रह्यो । हस् त । नमस्कार !”
म पनि निस्कँदै थिएँ । पत्रकार आए बाइट्स लिन ।
कस्तो लाग्यो प्रधानमन्त्रीउवाच श्रवण ?
मैले जे मनमा थियो त्यही उत्तर दिएँ, “बरु स्वतन्त्रता दिवस भएको भए हुन्थ्यो हाम्रो पनि । कम्तीमा दासताबाट मुक्ति खोज्ने स्मरण दिवस त हुन्थ्यो बरु हरेक वर्ष ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

