कलाकार लालकाजी लामा अहिलेका नेपाली समकालीन कलाकारहरूमा अग्रपक्तिमा गनिने नाम हो। तीन दशक देखि अनवरत कलाक्षेत्रको उन्नयनमा सक्रिय कलाकार लामा कलासम्बन्धी विभिन्न संघसंस्थाहरूमा आबध्द रहँदै हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा उपकुलपति जस्तो गरिमामय नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। आज हामी कलाकार लालकाजी लामाका कलामाथि संक्षिप्त विश्लेषण र चर्चा गर्नेछौं।

क) कलामा लुङदरको प्रयोग

कलाका सबै माध्यम र शैलीमा काम गर्न रूचाउने कलाकार लालकाजी लामाका कलाहरूमा प्राय लुङदरले स्थान पाइरहेको हामी देख्न सक्छौं । मूर्त या अर्धमूर्त शैलीमा बनाइरहेका उनका चित्रहरूमा शहरमाथि झपक्क फहराइरहेका लुङदरहरू देखिन्छन्। जुन वास्तवमै सुन्दर, अलौकिक अनि अर्थपूर्ण देखिन्छन्। कलाकार लामाका चित्रहरूमा देखिने लुङदरलाई एउटा कलात्मक बिम्वको रूपमा लिन सकिन्छ। त्योभन्दा अगाडि लुङदर के हो बुझ्न जरूरी देखिन्छ । साधरणतया लुङदरसँग हामी त्यति अपरिचित छैनौं। विभिन्न स्तुप, गुम्बा वा बौध्दमार्गीहरूको घर आँगनमा फहराइरहने रंगीचंगी झण्डा नै लुङदर हो। आयाताकार हलुका कपडामा ५ ओटा बेग्लाबेग्लै रङले बनेको हुनाले यसलाई टाढाबाट पनि सहजै चिन्न सकिन्छ । देख्नासाथ मनमा एक किसिमको शान्ति र आनन्द महशुश गर्न सकिने लुङदरले बौध्द धर्मका अनुयायीहरू माझ धार्मिक महत्त्व र विशेष अर्थ राख्छ । बौध्दधर्मको विश्वास र आस्थासँग जोडिएको यस झण्डालाई शुभ प्रतीकको रूपमा लिइन्छ । त्यस्तै लुङदरका रातो, हरियो, पहेंलो, नीलो र सेतो ५ रङहरूले फरक फरक अर्थ जनाउँदछन् । हरियो रङले पानी, रातो रङले आग़ो, सेतो र नीलो रङले हावा र पहेंलो रङ धर्तीको प्रतीक मानिन्छ । साथै यसले चारै दिशालाई जनाउँछ भने पञ्चबुध्दको प्रतीक समेत मानिन्छ । लालकाजी लामाको कलाहरू अध्ययन गर्दा प्रारम्भिक चरणमा उनी दृष्यचित्र, दैनिक जनजीवनका चित्र सिर्जनातिर लागेको देखिन्छ । उनका चित्रहरूमा प्राकृतिक र यथार्थ दृष्यहरूलाई सुन्दर ढङ्गबाट देखाएको छ । गाउँघर र हिमालका दृष्यचित्रहरूलाई प्राथमिकता दिएको देखिन्छ । पछिल्ला चरणमा उनका कलाहरूमा देश, समाज, धर्म र दर्शनहरूमाथि चिन्तन मन्थन गरी मौलिक प्रभाव देखाउने प्रयास गरेको पाइन्छ । उनका चित्रमा देखिने लुङदरले समाज र जीवन दर्शनका यावत् पक्षहरूलाई पारस्परिक ढंगबाट उधिन्न खोजेको प्रतीत हुन्छ । उनको कलाका विषयवस्तुहरूमा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरू मठ मन्दिर, चैत्य गुम्बा, शहर आदि महत्त्व पाएको देखिन्छ । उनका चित्रमा मूर्त वा अर्धमूर्त शैलीका शहर र पृष्ठभूमिमा लुङदरको प्रभाव देखिन्छ । घरैघरले भरिएको शहरले विशाल मानव समुदाय र सभ्यताको प्रतिनिधित्व गर्दछ भने मानव सभ्यताको विकास भई बनेको समाज र विशाल शहरलाई पृथ्वीको बिम्ब रूप भनेर पनि बुझ्न सकिन्छ । यसलाई सिंगो धर्तीमाथि समस्त मानव र जीवजगतको कल्याणको कामना गर्दै फहराइरहेको लुङदर हाम्रो आस्था हो, मौलिक संस्कृति हो भनेर बुझाउन खोजेको देखिन्छ । अर्को पाटो नियाल्दा लुङदरमा रहेका विभिन्न पाँच रङहरूले विभिन्न जातजाति, धर्म संस्कृतिलाई प्रतिनिधित्व गर्दछ भने सुखशान्ति, सद्भाव र ऐक्यबध्दतालाई जनाउँछ । आध्यात्मिक पाटोबाट अध्ययन गर्दा लुङदरले मोक्ष र जीवन दर्शनका कुराहरू समेट्ने गर्छ । जसले पृथ्वीमा चोलाधारण गर्ने समस्त प्राणी र मानव समुदायको कल्याण गर्ने हेतुले प्रेरित भै हावामा फहराइरहेको प्रतीत हुन्छ । मौलिक दृष्टिकोणबाट हेर्ने हो भने लुङदर हाम्रो धर्म संस्कृतिसँग जोडिएको विषयवस्तु हुनाले कलाकार लामाले कलामा मौलिकता र नेपालीपन झल्काउन लुङदरको प्रयोग गरेको बुझ्न सक्छौँ । लुङदरमा प्रयोग गरिएका रङहरू जस्तै एक आपसमा सद्भाव राख्ने, विविधतामा एकता देखाउने, एकअर्काको अस्तित्व स्वीकार गर्ने जस्ता समाज दर्शनका पाटाहरूलाई तुलनात्मक ढंगबाट देखाउन पनि लामाले लुङदरको साहरा लिएको देखिन्छ।

ख) मौलिकता र पहिचानको अन्तर्राष्ट्रियकरण

कलाकार लालकाजी लामाका चित्रहरू नियाल्दा प्रचुर मात्रमा नेपालीपन र मौलिकता झल्किएको देख्न सकिन्छ। चित्रको विषयवस्तु र शैलीले नै यो लालकाजी लामाको काम हो भन्ने पर्याप्त बुझ्न सकिन्छ । शहरका बीचबीचमा मठ मन्दिर, चैत्य स्तुप, पृष्ठभूमिमा फहराइरहेको लुङदर, धार्मिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक पक्षले भरिपूर्ण एउटा सिंगो मानव सभ्यता र सम्पदा बोकेर बाँचिरहेको पुरानो शहर देख्दा विश्वको जुनसुकै कुनाबाट पनि यो काठमाडौँ उपत्यका र नेपाली मौलिक चित्र हो भनेर सहजै अनुमान गर्न सकिन्छ । लामाका कलाले समग्रमा इतिहासको कालखण्ड र सभ्यतासँगै जोडेर आउने जीवनदर्शन र निर्वाणका कुराहरूलाई समेटन खोजेको छ भन्ने आधारहरू भेटिन्छ । यही जीवन सत्यको जग हालेर सिर्जना गरिएका चित्रहरू विश्व कलाजगतमा आफ्नो मौलिक पहिचान बोकेर बलियो उपस्थिति जनाउने र प्रभाव छाड्ने, नेपाली कलाको अन्तर्राष्ट्रियकरण गराउने उद्देश्य र हेतुले पनि कलाकार लालकाजी लामाले लुङदर इम्प्रेशन आधारित कामहरूलाई निरन्तरता दिइरहेको देखिन्छ।

ग) रङहरूको प्रधानता र महत्त्व

कलाकार लालकाजी लामाका अर्धमूर्त वा मूर्तशैलीका लुङदर र शहर सम्बन्धित कलाहरूले रङ संयोजन र प्रयोगका आधारमा पनि महत्त्वपूर्ण अर्थ र प्रभाव राख्छ । यस शैलीमा बनेका उनका कलाहरूमा नीलो, हरियो, पहेँलो, गुलाबी र खैरो रङहरूको प्रधानता देखिन्छ । हरियो रङ प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । जसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ पनि भनिन्छ । यस्तै पहेंलो रङलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रङ मन पराउनेहरू धर्मकर्ममा रूचि राख्ने स्वभावका हुन्छन् । नीलो रङलाई शान्ति र सन्तुलनको प्रतीकको रूपमा लिइन्छ । त्यस्तै गुलाबी रङलाई मित्रता, प्रेम र सौन्दर्यको प्रतीकको रूपमा लिइन्छ।

यसरी समग्र रूपमा भन्नुपर्दा लामाको कलामा देखिने प्रभाव शहरमाथि फहराइरहेका लुङदरले समग्र मानव सभ्यता र समुदायको शान्ति समृध्दि र मुक्ति निर्वाणको कामना गरी फहराइरहेको देखिन्छ।

घ)कलाकारको चरित्र चित्रण

कलाकारको कामले उसको व्यक्तिगत चरित्र चित्रण पनि झल्काउने गर्दछ । नेपाली ललितकला क्षेत्रमा लामो समयदेखि लागिपरेका कलाकार लालकाजी लामाले आफ्नो कलामा प्रयोग गरिरहेका शैली र रङहरूको संयोजनका आधारमा उनको चरित्रचित्रण गर्नुपर्दा भावुक, आध्यत्मिक, प्रेम र सदभावमय, अध्ययनशील र गतिशील देखिन्छन्।