मृत्यु– दुई

—मंजुल

मसँग एउटा किताब छ
यसका आँखाहरू छन्
मलाई हेर्ने
यसका मुखहरू छन्
मसँग कुरा गर्ने
यसका कानहरू छन्
मेरा कुराहरू सुन्ने
यसका हातहरू छन्
मलाई माया गर्ने

सहलाउने, सुम्सुम्याउने
उठाउने, बलियो गरी समाउने
यस्ता यसका हातहरू छन्
र यस्तो एउटा किताब मसँग छ

योसँग हृदय पनि छ
अनुभूत गर्ने, माया गर्ने
योसँग दिमाग पनि छ
सोच्ने, तर्कहरू प्रदान गर्ने
यो– यो एउटा रुखजस्तै छ
र यसका लागि म चराजस्तै छु
यो– यो एउटा मान्छेजस्तै छ
जसका लागि म किताबजस्तै छु

यस्तो एउटा किताब मसँग छ
मान्छेहरू भन्छन्
यसको नाम हो– जीवन
मान्छेहरू भन्छन्
म भन्छु
यसको नाम हो– मृत्यु
अँ, म भन्छु

म मृत्यु–किताब
पढ्छु
जीवनलाई गहिरोगरी, एकदम गहिरोगरी बुझ्नका लागि ।

(राल्फाली आन्दोलनका एउटा अभियन्ता मंजुल चर्चित कवि हुन् । पहिलो चरणमा उनी कुनै एउटा राजनीतिक पक्षसँग जोडिए पनि पछिल्लो समय उनले त्यसलाई त्यागेको पाइन्छ)