
कथाका पछाडि मात्र सिनेमा बन्दैनन्, सिनेमाहरू बन्नुका पछाडि पनि धेरै कथा हुन्छन् ।
कथामा बनेका सिनेमालाई फिक्शन सिनेमा नै भनिन्छ तर साँचो घटना वा आत्मकथामा बनेका सिनेमालाई बायोपिक भनिन्छ, बायोपिक अहिले सिनेमा बजारमा चलेको थीम हो ।
बायोपिक दुई प्रकारले बनेका छन्, कसैको आत्मकथामा वा कसैको बारेमा लेखिएको जीवनीको आधारमा तर दुइटै विषयले बोक्ने सत्यता एउटै हो, कुनै चरित्रको आत्म सत्य ।
आत्मकथ्यलाई आधार बनाएर नै बायोपिक धेरै बन्न थालेका छन् ।
प्रायः आत्मकथा जुन लेखिन्छ, त्यसमा आत्मसत्य नै पाइँदैन भन्ने गुनासो सर्वत्र व्याप्त छ । अहिले धेरै प्रायः मान्छे आत्मकथा लेख्नमै व्यस्त देखिन्छन्, उद्योगपतिदेखि सेना प्रमुख, पूर्व राष्ट्रपतिदेखि सामान्य हास्य कलाकार, देहव्यापारी महिलादेखि विमान चालक …. जो कोही पनि आत्मकथा लेखनमा आत्मलीन छन् ।
आत्मकथा लेखनको संक्षिप्त इतिहास
पश्चिमा चिन्तक हेलेन किक्सूयसले रुटप्रिन्टस् मा भनेका छन्, सबै जीवनकथा आत्मकथा जस्तै हुने हुन्, तिनले गएर विवरणात्मक शैलीमा एउटा कथा अर्को शैलीमा भन्छ ।
आत्मकथा लेखनको आधार वा इतिहास आठौँ शताब्दीदेखि ११ शदीका बीच जापानमा हेइयान शासकहरूमा निक्की बुँग्कागू अर्थात् स्मृति पुस्तिका राख्ने परम्पराबाट शुरु भएको मान्न सकिन्छ । आफ्ना मालिक वा मालिक्नीलाई उनका सेवकले त्यो पुस्तिका पछि उपहारस्वरुप दिने प्रचलन शुरू भयो । खोजका आधारमा सन् ९९४ देखि १००० का बीचमा द पिल्लोबुक अफ सेइ शोनागन यस किसिमको पहिलो ग्रन्थ मानियो । दरबारका ढोके शोनागनले आफ्ना रानी सादाको टेशीका बारेमा लेखिएको यो स्मृति पुस्तिका नै अहिलेसम्मको प्रामाणीक दस्तावेज मानिन्छ ।
त्यसपछि सन् १७९७ मा आधिकारिक रुपमा आँग्ला कवि विलियम टेलरले अङ्ग्रेजी भाषामा अटोबायोग्राफी नामक शब्द आविष्कार गरेर यस किसिमको पुस्तक लेख्न शुरू गरे । सम्भवतः बायोग्राफी अङ्ग्रेजी भाषामा आविष्कृत भएको पनि यही समय मानिन्छ ।
सेल्फ बायोग्राफीलाई सेम्युलर टेलर कलरीजले यो सैक्सन् ग्रीक हाइब्रीड शब्द हो भनेर स्वीकारेका छन् पछि उनैले सम्पूर्णतः ग्रीक मिश्रित शब्द अटोबायोग्राफीलाई सिक्काबद्ध गरे , अटोको अर्थ स्व अर्थात् आफू, बायोज्को अर्थ जीवन र ग्राफेनको अर्थ हुन जान्छ लेख्नु । आफू स्वयम्ले आफ्नो जीवनी लेख्नु ।
बेन्जामिन फ्य्राङ्क्लिनले अटोबायोग्राफी शब्द प्रयोग गरेरै आफ्नो पुस्तक सन् १७९० मा आफ्ना पिताको निधनपछि प्रकाशित गरे ।
यसपछि सम्भवतः धेरै आत्मकथा, आत्मजीवनी अनि आत्मगाथाहरू प्रकाशित भए ।
आत्मकथाको लहरमा यसै समय सन् १८४९ मा डेविड कपरफिल्ड्, सन् १८७२ मा द लाइफ अफ चाल्र्स डिकेन्स् प्रकाशित भए ।
आत्मकथामा फरक प्रस्तावना त्यतिबेला आयो जब एन्थोनी ट्रोल्पको एन् अटोबायोग्राफी उनको मरणोपरान्त सन् १८८३ मा प्रकाशित भयो, उनले यसमा स्पष्ट लेखेका छन्- यदि महिलाको महिलाको पेटिकोट घस्रिनुले मेरो रगतमा तरंग आउँछ, यदि एक बटुका रक्सीले मलाई रमणीयता दिन्छ, यदि मध्यरातमा म कुनै तमाखुको स्वादमा धरतीको स्पर्शसितको आनन्द पाउँछु भने यदि मलाई पाँच पाउन्डको नोटले विचलित वा चिन्तित बनाउँछ भने त्यो घटनाले पाठकलाई के सरोकार ?
उनको यो प्रश्नले आत्मकथामा ठूलो संकट र खाडल अवश्य ल्यायो तर धेरै चिरकालसम्म रहेन । ज्याँ जूक रुसोको कन्फेशन्सन, आइरिश लेखक अस्कर वाइल्डको आत्मगाथा बजारमा आइसकेपछि सिग्मन्ड फ्रायडले सन् १९०० को अन्त्यमा इन्टरप्रेटेशन अफ ड्रीम प्रकाशन गरे ।
निक्की बुँगाकू शैलीबाट शुरु भएको आत्मकथाको पद्धतिलाई लक्ष्यित गर्दै कुनै समय निबन्धकार मोन्टेँले भनेका थिए, हरेक मान्छेमा वा ऊभित्र सम्पूर्ण मानवीय स्थिति हुन्छ नै । सन् १५८८ मा प्रकाशित मोन्टेँको यो निबन्धमा उनले सगर्व भनेका छन्, कहिलेकाहीँ म आफ्नोबारे भन्दा सिसेरोका बारे बढी जान्दछु यदि म सही अर्थमा राम्रो अध्येता हुँ वा हुनसक्छु भने मैले अरुका बारे झन् धेरै जान्न वा बुझ्न जरुरी छ ।
मोन्टेँले भन्दा फरक धारणा राखेर सन् १६६८ मा मेरो बारेमा भन्ने निबन्धमा अब्राहम कोवलेले लेखेका छन्, यो कठिन र रमाइलो काम हो मान्छेले आफ्नो बारे आफैँ लेख्नु वा आत्मसात् गरेर आफूलाई इमान्दारीपूर्वक व्यक्त गर्न सक्नु । शायद पाठक कानैकानमा उसले भनेको कुरा पत्याउन सक्छ त ?
आत्मकथाका निम्ति यस्ता धेरै चुनौती आए पनि आत्मकथा लेखनको दौड एक दिशाबाट निर्वाध रुपमा चलिरह्यो । सेन्ट अगस्टिन, ज्याँ पल सात्र, विन्स्टन चर्चिल, हेनरी किलर, महात्मा गान्धी, हिटलर, चार्ली च्याप्लिन्, पाव्लो पिकासो, पाव्लो नेरुदाका आत्मकथाले बजार तताई रहे भने फिल्मकार इँग्मार बर्गम्यान्, ज्याँ रेने, लुई बुनियाल, आकिरा कुरोसावा आदिले आफ्नो आत्मकथा पर्दामा र पुस्तकमा एकसाथ दिइरहे । तर हरेक आत्मकथाले विवाद र बहस निम्त्याइरह्यो ।
संसारका केही आत्मकथाहरु जलाउन पर्ने अवस्थासम्म आएको थियो, केही आत्मकथा प्रकाशित भए पछि लेखकले देश छोड्नु परेको, धर्म परिवर्तन गर्नु परेको विकराल घटना पनि छन् ।
कमला दासको आत्मकथा माइ स्टोरी र इन्दिरा गोस्वामीको लाइफ इज नो बारगैन यसका उदाहरण हुन् भने सइद जाफरी, एमएफ हुसैन र सलमान रुश्दीका आत्मकथाका अलग अलग झलक छन् । भारतमा प्रसिद्ध मानिने महात्मा गान्धीको आत्मकथा एक्सपेरिमेन्ट विथ् माइ ट्रुथ आत्मकथा नभएर अर्का (छाया लेखक) ले लेखेको जीवनकथा मात्रै हो तर अहिलेसम्म पनि यसलाई आत्मकथा भनेर नै व्याख्या गरिन्छ जुन गलत हो ।
लेखक जर्ज बर्नाड शाले जीवनी आधा झूठो हुन्छ भनेका छन् भने विचारक यूजी कृष्णमूर्तिले जीवनी आधा झूठो हुन्छ भने आत्मकथा पुरै झूठो हुन्छ भनेर व्यङ्ग्य कसेका छन् ।
नेपालका यस किसिमका आत्मकथाको लहर वि.सं. २०६० पछि व्यापक भयो । हास्य कलाकारको तुक्काबन्दी आत्मकथादेखि उद्योगपति व्यावसायीको अहम् कथासम्म छापिइरहे र संयोगले बिकी रहे ।
नेपालमा सच्चा रुपमा लेखिएको दमनराज तुलाधरको आत्मकथालाई लेखक सौरभ एक उत्कृष्ट मान्छन् तर त्यस्तो कृति प्रकाशन गर्न सक्ने दुस्साहस दोस्रो लेखकले गर्न सकेन ।
आत्मकथाका बारेमा भारतकी प्रसिद्ध कवि उपन्यासकार अमृता प्रीतमले लेखेकी छिन् , आत्मकथालाई प्रायः चम्किलो दम्किलो एकाँगी सत्य सम्झिने गरिन्छ, आत्मश्लाघाको कलात्मक माध्यम, तर धरातलीय सत्यतालाई लेखकको आफ्नो आवश्यकता मानेर म भन्न चाहन्छु, यो यथार्थबाट यथार्थसम्म पुग्ने एउटा प्रक्रिया हो ।
सिनेमामा आत्मकथा
सिनेमा आएपछि चलेका विषयमध्ये एक हो, बायोपिक, साइफाई र रोमकोम । रोमकोम पछिल्लो पटक चलेको कथा विषय हो तर बायोपिक सिनेमा इतिहास शुरू भएदेखि नै चल्दै आएको विषय हो ।
सन् १८९५ डिसेम्बर २८ मा पृथिवीतलमा सिनेमाको प्रदर्शन भएको ठीक ४५ वर्षमा पहिलो बायोपिक सिनेमा बन्यो, द सिटीजन केन ।
फिल्मकार अर्सन वेल्सले हर्मन जे मेनक्विज्जको कथामा बनाएको यो बायोपिक सन् १९४० जुलाई १६ मा बजारमा आयो ।
पचास वर्षसम्म सर्वाधिक सफल मानिएको अर्सन वेल्स निर्देशित सिटीजन केन हलिऊडमा मात्र नभई सर्वत्र विश्वमा चर्चा योग्य फिल्म मानिन्छ । यो सिनेमा बन्दा सन् १९४० मा यस्तो धारको सिनेमाको कसैले कल्पना समेत गरेका थिएनन् यद्यपि यसअघि मूक युगमा लाइफ अफ अमेरिकन फायरम्यान चैँ बनेको थियो तर त्यो कुनै कृति वा जीवनीमा आधारित थिएन ।
विस्कायन्सिनको केनोशामा सन् १९३९ मा जन्मेका वेल्सले सिनेमाको पर्दामा देखाएको त्यो बायोपिकले संसारको आँखा उघारी दिएको थियो ।
एक मिडिया टाइकूनको जीवनीमा आधारित यो फिल्म धेरै किसिमले एक महत्त्वपूर्ण सिनेमा मानिन्छ तर यसको प्रबल पक्ष जीवनी मात्र नभएर यसमा दृश्यित राजनीतिक जीवन वा संघर्षको झलक पनि हो ।
सिटीजन केन पछि विश्वका धेरै महत्त्वपूर्ण व्यक्तिको जीवनीमा सिनेमा बने । आत्मकथा वा जीवनीमा राजनीतिक लेप लाएका व्यक्तिको समग्र जीवनलाई उनको जीवनसित जोडेर ऐतिहासिक धार वा आलापलाई एउटा श्रवणयोग्य सूरको रुपमा समेटेर तयार पारिएको सिनेमाले एउटा व्यक्तिको जीवनी, उतारचढाव अनि अनेक अकल्पनीय कथालाई समेट्छ ।
आत्मकथाको शृङ्खलामा डेविड वार्क ग्रीफिथ, सर्जेइ आइजेन्स्टाइन, आकिरा कुरोसावा, ज्याँ रेने, इँग्मार बर्गमान, चार्ली च्याप्लिन, हिच्कक, त्रुफो, गोदार आदिले कहिल्यै बायोपिक बनाएनन् । तर विश्वप्रसिद्ध फिल्मकार सत्यजित रेले रवीन्द्रनाथ टैगोर र उनका पिता सुकुमार रे का बारेमा जीवनीमा आधारित वृत्तचित्र बनाएका छन् ।
भारतका राजनीति मोहनदास कर्मचन्द गान्धीको जीवनीलाई लिएर यस्तै सिनेमा बेलायतका निर्देशक रिचार्ड अटेनब्रोले बनाए । यसै फिल्मबाट बेलायतले आफ्नो फिल्म इतिहासको आधा शताब्दीमा ओस्कार महोत्सवमा सबैभन्दा धेरै मान सम्मान र पुरस्कार अनि आकर्षण बटुल्यो । पश्चिमी जगतले अलगै रुपमा चिनेका एक दुब्ला पातला, क्षीणहीन व्यक्तित्व भएका मोहनदास करमचन्द गान्धीमाथि अर्को विश्वले कसरी रुचि लिनेछ भन्ने कुरा फिल्म नबनुन्जेल कसैलाई थाहा थिएन तर फिल्मको प्रदर्शनपछि यसका पात्र परिवेश र इतिहासले जुन सम्मान पायो त्यो अद्धितीय थियो ।
भारतका अनेक व्यक्तिमा फुलन देवी, मलखान सिंह, मिल्खा सिंह, सरदार वल्लभभाइ पटेल, अभिनेता सञ्जय दत्त, गायिका हंसा वाडेकरको जीवनीमा धेरै फिल्म बने तर ती चर्चामा यसकारण रहे तिनमा विवादको जरा बाहेक केही थिएन । शेखर कपूर निर्देशित फूलनदेवीको जीवनीमा आधारित बैँन्डिट क्वीन प्रदर्शन भएपछि फुलनले लेखिका माला सेनलाई अदालतमा मानहानिको मुद्दा हालिन् ।
भारतममा महात्मा गान्धीपछि इन्दिरा गान्धीको जीवनीमा अर्को फिल्म बन्यो , आँधी र इन्दिरा । यी दुवै फिल्म स्वतः विवादमा आए कारण त्यतिबेला इन्दिरा राजनीतिमा उग्र रुपमा विराजमान थिइन् भने उनका कारण देशमा इमर्जेन्सी लागू भएको थियो ।
कमलेश्वरको उपन्यास काली आँधी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको असफल वैवाहिक जीवन र त्यसपछिको राजनीतिक जीवनमा आधारित जस्तो भनिएको थियो तर पूर्ण रुपमा इन्दिरा गान्धी र उनका पति फिरोज गान्धीसितको अन्तरंग सम्बन्धमा केन्द्रित थियो र यसलाई पृथक् शैलीमा फिल्मजस्तै बनाइएको थियो । पछि यस फिल्मलाई सेन्सरले रोका गरेपछि यो सिनेमा समयमा रिलीज हुन सकेन ।
इन्दिरा गान्धीको जीवनीमा बन्दै गरेको अर्को बायोपिकको निर्देशन बासु भट्टाचार्यले गरेका थिए र यसबारे लेखिक अमृता प्रीतमले लेखेकी छिन्- इन्दिराजीको घरको भित्तामा एकातिर मोतिलालजी र नेहरु जीको केही तस्वीर थिए । बासुदाले उनको शट लिने बेलामा इन्दिराजीलाई भन्नु भयो- यी तस्वीरहरूलाई हेर्दै गर्दा जब यसमा धूलो परेको तपाइँ देख्नु हुन्छ तपाइँ आफ्नो धोतीको फेरोले यो धूलोलाई पुछेजस्तो गर्नोस् । अवश्य पनि बासुदा त्यो धूलोलाई होइन समयलाई पुछेको देखाउन चाहनुहुन्थ्यो तर इन्दिराजीले निश्चित स्वरमा हुन्न भनेर भन्नु भयो । भन्नु भो, बरु म डस्टरले लिएर पुछ्न सक्नेछु तर धोतीको फेरोले होइन । तस्वीर कसैको होस् म कपडाले पुछ्न सक्दिनँ मलाई फेरि साडी बदल्नु पर्ने हुन्छ । मलाई धूलोसित कुनै प्रेम छैन । …
एउटा बायोपिक बनाउँदा जीवित पात्रसित भएको यो संवाद्ले फिल्मलाई न्याय दिन सकेन । यस्तै र अन्य यस्तै तर्क र बहसले गर्दा यो बायोपिक समयमा रिलीज हुन सकेन ।
इन्दिरा गान्धी मात्र होइन, आफ्नो जीवनी वा आत्मकथामा फिल्मबाट त्यो पात्र वा त्यो चरित्र सत्यता बाहिर आओस् वा सत्य नै प्रकट होस् भन्ने त चाहन्छ तर कहिलेकाहीँ त्यो हानिकारक पनि भइदिन्छ ।
भारतीय सिनेमाको इतिहासमा जति पनि बायोपिक बने त्यसमा प्रायः कथामा उद्धृत अन्य पात्रको आपत्ति वा असहजता बेलाबेलामा प्रकट भइरहन्छ ।
बायोपिक निर्माणको क्रममा फुलनदेवीको जीवनीमा बनेको फिल्ममा खेल्दा एउटा यथार्थवादी दृश्यमा जीऊ फालेर अभिनय गर्ने क्रममा नायिका सीमा विश्वासले दिएको दृश्यका कारण उनले आफ्ना पतिसित सम्बन्ध विच्छेदसम्म गर्नुपर्ने अवस्था आयो ।
हलिऊडबाट बनेको बायोपिकहरूमध्ये संगीतकर्मी रे चाल्र्सको जीवनीमा आधारित रे होस् वा गायक क्वीनको जीवनीमा आधारित बोहेमियन र्याप्सोडी यिनमा निर्माण शैली फरक भए पनि भनिएको वा भन्ने तरिका एउटै हो ।
चलचित्र आफैँ कथावाचनको माध्यम भएको हुनाले यसका सबल र दुर्बल पक्षमा कथा कसको भनिँदैछ, वा कसलाई के कारण केन्द्रियतामा राखिएको छ, विषयमा न्याय भए पनि विषयभित्रकै इतिहासमा न्याय नहुन सक्छ । यस्तै धेरै कारण प्रकारणले बायोपिक असफल वा साध्यहीन पनि हुन गएका छन् ।
बायोपिकमा बनेपछि चर्चामा आएका विश्वका केही चर्चित पात्रमा जोन एफ केनेडी र उनकै जीवनीमा बनेको फिल्म जे एफ के मा देखिएका सरकारी अधिवक्ता जिम्मी ग्यार्सन, त्यसैगरी हैनरिक हैरिअरको जीवनीमा आधारिक सेभेन इयर्स इन टिबेटका नायक र त्यस बायोपिकमा देखिएका दलाई लामा सदा चर्चामा रहे ।
दलाई लामाको जीवनीमा पछि बनेको मार्टिन स्कोरस्सेसीको कुन्दनमा त्यो भाव र सत्यता स्पष्ट रुपमा देख्न सकिन्छ । यस किसिमका बायोपिकमा स्कोरस्सेसीको आफ्नो शैली स्पष्ट देखिएन । यद्यपि उनी सिनेमायी भाषामा पोख्त भएका कारण पछि यसमा केही चमात्कारिक काम गरेर उनले यसलाई रिलीज गरे ।
फुलन देवीको जीवनीमा बायोपिक बनाई सकेका भारतीय मूलका निर्देशक शेखर कपूरले पछि बेलायतकी महारानी एलिजावेथ मा एक संगीतप्रधान फिल्म बनाए जसका निम्ति उनले आलोचनात्मक समर्थन धेरै पाए, यसमा उनले बलिऊड शैलीमा गीतहरूको संख्यात्मकताका आधारमा सिनेमामा काम गरे ।
गान्धीपछि रिचर्ड एटेब्रोले अश्वेत नेता स्टीभ विको को जीवनीमा क्राई फ्रिडम बनाए, यो त्यति चर्चामा आउन सकेन ।
बायोपिक बनेपछि सो पात्र समाजमा कसरी जीवित रहन्छ ? वा त्यसअगि उनको सामाजिकता के थियो प्रसङ्गमा आउने हो वा होइन ? यी धेरै प्रश्नका बावजूद चाल्र्स शोभराजको जीवनीमा पनि बायोपिक बन्ने तयारी गर्दै गर्दा उनले (स्वयम् चाल्र्स शोभराज) ले रोकिदिए, यसको कारण थियो उनी बायोपिकमा मर्न चाहँदैनथे ।
नेपाली सिनेमामा जगतमा पनि बायोपिकको अवधारणा वृत्तचित्रबाट शुरु भयो, शाही शासनकालका राजा महेन्द्रको जीवनीलाई मुम्बईबाट आएका फिल्म निर्देशक हिरा सिंह खत्रीले स्वराष्ट्का हे नायक नामबाट बनाए ।
नेपालमा सिनेमा विकासमा अहम् भूमिका निर्वाह गर्ने शासक महेन्द्रको इच्छाअनुसार प्रचार प्रसार डिभिजनले सिनेमा बनाउन थालेपछि शाही नेपाल चललचित्र संस्थान स्थापना भयो । प्रचार प्रसार डिभिजन र शाही नेपाल चलचित्र संस्थानको स्थापनासँगै निजी क्षेत्रबाट सिनेमा बन्न थालेपछि आदिकवि भानुभक्तको जीवनी लाई बायोपिक शैलीमा शुरु गरेर यहाँ पनि बायोपिक सिनेमाको बीजारोपण भयो ।
नेपालमा जे जति बायोपिक बनेका छन्, तिनको जीवनीमा बायोपिक बन्नु पर्ने हो कि ?वा बनाउनै नपर्ने मान्छेका बारेमा बायोपिक बनाएर हामीले हाम्रो सिर्जनात्मक समय ह्रास गरेका हौँ, यो सोचनीय छ ।
नेपालमा बायोपिक बन्नुपर्ने मान्छेहरू बीपी कोइराला, नारायणगोपाल, पारिजात, मेलवादेवी, शहीद गंगालाल, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, झलकमान गान्धर्व, मित्रसेन थापा मगर, तारादेवी, अरुणा लामा, अरुण थापा वा श्याम थापाका बायोपिक कहिले बन्लान् ?
यस पंक्तिकारसित समाजसेवी एवम् होटल व्यवासायी कर्ण शाक्यले गायक नारायणगोपालको जीवनीमा बायोपिक बनाउने इच्छा व्यक्त गरेका थिए तर उनले यस फिल्मका निम्ति बजेट र विषयको अवधारणा पछि कुनै चासो दिएनन् ।
सम्भवतः बायोपिकका निम्ति नारायणगोपाल जतिको सही पात्र वा विषय अर्को हुन सक्दैन तर नेपाली समाजले नारायणगोपाललाई त्यति नजीकबाट चिन्न सकेकै छैन । यसलाई पंक्तिकार मायोपिकको समस्या भन्न मन पराउँछ ।
हालै भारतको बलिऊडले आफ्ना प्रिय गायक किशोर कुमारको बायोपिक बनाउने चर्चा गर्दा सरकारी स्तरबाट त्यसका निम्ति प्रशस्त सहयोग हुने आशा राखेको छ ।
राजनीतिक जीवन बिताएका चारु मजूमदार, कानू सान्याल, राममनोहर लोहिया, भीम राव अम्बेडरका बायोपिक बनाउन नसक्ने बलिऊडले धेरै पटक दाउद इब्राहिम र हाजी मस्तानको बायोपिकमा खर्च गरिसकेको छ ।
शायद यो पनि अन्यौलको परिणाम नै हो कि ?
हामी चैँ त्यो अन्यौलमा नपर्ने हो कि ?
००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

