निकोल केनी

सन् १९६० मा डीएच लरेन्सको उपन्यास लेडी च्याटर्लीको लभर बेलायतमा प्रकाशित हुँदा यो घटनाले देशभर चर्चा पाएको थियो।

यो उपन्यास बजारमा छापिनेबित्तिकै नोभेम्बरमा प्रतिबन्ध लाग्यो । त्यसो त हत्तपत्त प्रतिबन्ध लाग्ने थिएन तर केही पाठकलाई यसको विषयवस्तु ज्यादै उत्तेजक र अश्लील लागेका कारण होहल्ला मच्चाउन थाले । हल्ला मच्चिन थालेपछि बेलायती सरकारले अश्लील र अनैतिक लेखन ठहरिएका पुस्तक तथा प्रकाशनलाई आपराधिक क्रियाकलाप मान्दै प्रतिबन्ध लगायो ।

यसपछि बेलायती प्रकाशक पेंगुइन बुक्सले अश्लील प्रकाशन ऐनमार्फत जसरी यसलाई प्रतिबन्ध लगाइएको थियो, त्यसलाई चुनौती दिन चाहन्थ्यो । यसअघि असंशोधित संस्करण पनि बजारमा आइसकेको थियो तर प्रकाशक सरकारसँग अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर लड्न तयार थियो । त्यसैले पेंगुइनले डीएच लरेन्सको पुस्तकको पूरा र असंशोधित संस्करण छाप्ने निर्णय गर्‍यो। यसअघि अमेरिकामा यो असंशोधित पुस्तक प्रकाशन भएर चर्चा बटुलिसकेको थियो ।

खासमा दोस्रो विश्वयुद्धपछि विस्तारै सामाजिक सोचमा परिवर्तन भइरहेको थियो । सर्वसाधारणमा यौन स्वतन्त्रताका कुराले घर गर्न थालिसकेको थियो । यस्तो अवस्थामा यो उपन्यासले व्यक्तिगत स्वतन्त्रता र नैतिकताबीचको दूरी कसरी घट्दै छ भन्ने प्रतीकात्मक प्रतिनिधित्व गर्न पुग्यो ।

लेडी च्याटर्लीज् लभर सन् १९२० को दशकको अन्त्यतिर इटाली र फ्रान्समा प्रकाशन गरिएको थियो । यो उपन्यास कुनै ठूला प्रकाशन गृहले प्रकाशन गरेका थिएनन् । निजी रूपमा प्रकाशित गरिएको यो उपन्यासले क्रमशः चर्चा बटुल्न थालेपछि अमेरिका, अस्ट्रेलिया र जापानजस्ता धेरै देशहरूमा प्रतिबन्धित गरियो।

अदालतको ऐतिहासिक निर्णयपछि अखबार पढ्दै उपन्यासका पाठक

यो उपन्यास प्रतिबन्ध मुद्दा अघि बढ्नुअगाडि बेलायतमा लेखक र प्रकाशकहरू धेरै पुस्तकहरूलाई अश्लीलताको अभियोग लगाएर प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध लगाइएका धेरै पुस्तकहरूको चर्चा उति भएन तर यो उपन्यासको चर्चा अन्यको तुलनामा बढी भयो । अब जे सुकै भए पनि अश्लीलताको अभियोग लगाएर जेसुकै प्रकाशन बन्द गर्ने अवस्था देखिएपछि सांसदहरूबीच पनि यसका बारेमा चर्चा चल्न थाल्यो ।

त्यसैले बेलायती संसद्मा प्रकाशकहरूको डरलाई मत्थर पार्न सन् १९५९ मा नयाँ अश्लील प्रकाशन ऐन पास गर्‍यो, जसले “साहित्यको रक्षा गर्न र अश्लीलतासम्बन्धी कानूनलाई सुदृढ गर्न” प्रतिवद्धता जनाएको थियो। यस संशोधनले “फोहर पुस्तक”को आरोप लागेका प्रकाशकहरूलाई बचायो । यसले तिनीहरूलाई पुस्तकमा साहित्यिक महत्त्व कति छ भन्ने प्रमाणित गर्न मौका दिन्थ्यो, चाहे साधारण व्यक्तिलाई त्यसको सामग्री झस्काउने किसिमको किन नलागोस् !

पुस्तकको विवादास्पद विषयवस्तु

लेडी च्याटर्लीज् लभर विवादास्पद मानिएको थियो किनकि यसमा उच्च वर्गकी एउटी महिला लेडी कन्स्टान्स च्याटर्ली र श्रमिक वर्गका पुरुष ओलिभर मेलर्सबीचको आशक्तिपूर्ण सम्बन्ध चित्रण गरिएको छ। पुस्तकमा आपत्तिजनक शब्दहरू र यौन क्रियाकलापहरूको खुला रूपमा लेखिएको छ । यसले महिलाको यौन आनन्दलाई समेत महत्त्व दिएको छ । कुनै स्त्रीको यौनानन्दलाई लेखक लरेन्सले साहित्यमा स्वीकृत गराउने लक्ष्य राखेका थिए। उनले भनेका थिए, “मैले यौन सम्बन्धलाई लज्जाजनकको सट्टा मूल्यवान् र अमूल्य बनाउने प्रयास गरेको छु।”

मुद्दा र यसको ऐतिहासिक निर्णय

डि.एच. लरेन्स

सन् १९६० मा पेंगुइन कम्पनी नयाँ ऐन परीक्षण गर्न तयार थियो। तिनीहरूले सार्वजनिक अभियोजनका निर्देशकलाई पत्र लेखेर पुस्तकको मौलिक संस्करण छाप्ने योजना सुनाए। त्यसै वर्षको अगस्टमा, क्राउनका प्रमुख कानूनी सल्लाहकार रेजिनाल्ड म्यानिङ्हाम-बुलरले साउथह्याम्प्टनतर्फको ट्रेन यात्रामा उपन्यासका पहिलो चार अध्याय पढे। उनले अभियोजनको समर्थन गर्दै, “तपाईंले सजाय पाउनुहुन्छ भन्ने आशा गर्छु,” भने।

नयाँ ऐनअन्तर्गत यो पहिलो मुद्दा थियो। पेंगुइनले ३५ जना लेखक र राजनीतिज्ञलाई साक्षीका रूपमा उपस्थित गरायो। एक प्रभावशाली लेखक र शैक्षिक व्यक्तित्व रिचर्ड होगार्ट प्रमुख साक्षीका रूपमा उपस्थित भए। उनले पुस्तकलाई “नैतिक र पवित्र” कृति भने।

तर अभियोजन पक्षले पुस्तकलाई “अनावश्यक अश्लीलता” भने। उनीहरूले शपथ खुवाएर जूरीलाई सोधे, “के तपाईं आफ्ना छोराछोरीले यो पुस्तक पढून् भन्ने चाहनुहुन्छ?”

छ दिन लामो मुद्दा सकिएपछि, २ नोभेम्बर १९६० मा जूरीले पेंगुइन बुक्सलाई दोषी नठहर्याउने निर्णय गर्‍यो।

पुस्तकको अप्रत्याशित सफलता

निर्णयपछि लेडी च्याटर्लीज् लभर तुरुन्त बिक्रीका लागि उपलब्ध गराइयो। पुस्तकले २ लाखप्रति पहिलो दिनमा नै बिक्री गर्‍यो। तीन महिनामा यो ३० लाख प्रति बिक्री भयो।

पुस्तकको सफलताले यसलाई अभिव्यक्तिको स्वतन्त्रताको प्रतीक बनायो।