अमेरिकामा ओप्रा विन्फ्रेलाई धेरै विधागत नामले एक प्रसिद्ध महिलाको रुपमा चिनिन्छ । ७० वर्षीया ओप्रा विन्फ्रे टेलिभिजन प्रोड्युसर, कलाकार, लेखक र मिडिया सञ्चालक हुन् । ओप्राको जन्म २४ जनवरी १९५४ मा भएको हो ।

विन्फ्रेलाई ‘क्वीन अफ अल मिडिया’ भनेर पनि चिनिन्छ । किशोरी आमाबाट जन्मिएकी ओप्राको प्रारम्भिक बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो । यिनकी आमाले अरुको घरमा काम गरेर जीवन चलाएकी थिइन् । यिनकी हजुरआमा खेतमा ज्याला मजदुरी गर्थिन् । यिनकी आमाले यिनी शैशव अवस्थामा नै हुँदा ओप्राकी हजुरआमाकहाँ पठाइदिइन् । ओप्रा तीन वर्षको उमेरबाट हजुरआमासँग चर्चमा जाने गर्थिन् । त्यहीँ उनमा वाकपटुता र वाककलाले हुर्कने अवसर पायो । त्यही बेला उनको वाककला देखेर अरूले यिनलाई ‘प्रिचर’को उपनाम पनि दिएका थिए ।

विनफ्रेले एक अन्तरवार्तामा आफ्नो नाम उनकी काकीले रोजेको बताएकी थिइन् । हजुरआमा पनि गरिवीसँग जुझिरहेकी थिइन् । त्यो बेला लगाउने कुनै कपडा नभएकाले हजुरआमाले आलुको बोराको कपडा बुनिदिएकी थिइन् । आफ्नो अस्वस्थता र अभावका कारण हजुरआमाले आमासँगै पठाइदिइन् । आमा भने ओप्रालाई छोडेर काम गर्न जानु पर्दथ्यो । यस्तो अवस्थामा यिनलाई नजिकका आफन्तले कयौं पटक यौन शोषण गरे ।

सरसंगतका कारण उनले आमाका पैसा चोर्न थालिन् । यसरी घरबाट पैसा चोर्न थालेपछि ओप्राकी आमाले आजित भएर आफ्नो पार्टनरकहाँ पुर्याइदिइन् । ओप्रालाई ती सौतेनी बाबुले राम्रो शिक्षा, दीक्षा दिन तयार भए । उनका बाबुले अनुशासित र सहयोगपूर्ण भावले ओप्रालाई पढ्न मद्धत गरे ।

१३ वर्षको उमेरमा उनी यौन शोषणमा परिन् । दुःख, घृणा, पीडा सहँदै एकदिन ओप्रा घरबाट भागिन् । उनी त्यसबेला गर्भवती पनि थिइन् । ओप्राले विभिन्न समस्याको बावजुद एक बच्चा जन्माइन् तर समयअगावै जन्मिएकाले बच्चाको जन्मनेबित्तिकै मृत्यु भयो ।

पढ्न भने उनी तेज थिइन् । मेधावी उनी नाटक,वक्तृत्वकला आदि अतिरिक्त क्रियाकलापमा पनि भाग लिइरहन्थिन् । यिनी हाइस्कूलमै हुँदा स्थानीय रेडियोमा न्यूज रिडरको रुपमा काम पनि गर्न थालिन् । यिनले अतिरिक्त कार्य गरिरहँदा पढाइ भने छोडिनन् ।

पछि शिकागोबाट प्रसारित आफ्नो टक शो ‘द ओप्रा विन्फ्रे शो’ले सन् १९८६ देखि २०११ सम्म एकछत्र सिण्डिकेड कायम गरेको थियो । २० औं शताब्दीकी सबैभन्दा धनी अफ्रिकी अमेरिकीको रुपमा नाम कमाएकी ओप्रा कुनै समय विश्वकै एकमात्र अश्वेत अर्बपति दरिएकी थिइन् । फोर्ब्स पत्रिकाका अनुसार संसारमा केवल १० जना स्वयंनिर्मित महिला अर्बपतिहरु छन् । ओप्रा विन्फ्रे अमेरिकी अर्बपतिहरूको रुपमा सूचिबद्ध नाममध्ये सबैभन्दा धनी हुन् । सन् २००७ मा ओप्रालाई विश्वको सबैभन्दा प्रभावशाली महिलाको दर्जा दिइएको थियो ।

ओप्रा विन्फ्रेले विवाह गरिनन् तर उनको लामो समयको पार्टनर एक बिजनेसमेन थिए । ओप्रा विन्फ्रे र स्टेडमेन ग्राहमबीच पहिलो भेट सन् १९८६ मा एउटा च्यारिटीमा भएको थियो । त्यो भेट ‘द ओप्रा विन्फ्रे सो’को प्रिमियरको बेला भएको थियो । त्यतिबेलादेखि नै उनीहरू एकअर्काका साथी बने । पछि विन्फ्रे र ग्राहमले सन् १९९२ मा इन्गेजमेन्ट गरे । कालान्तरमा उनीहरू दुवै जना विवाह नगरी सम्बन्धमा मात्र बस्ने निर्णय गरे । जुन सम्बन्धले ३५ वर्ष पार गरिसकेको छ ।

ओप्रा विन्फ्रे एक मानवतावादी दाताको रुपमा पनि परिचित छिन् । उनले विद्यालय तथा विश्वविद्यालयमा सहयोग गर्ने क्रममा मोरहाउस कलेज, टेनेसी स्टेट युनिभर्सिटी तथा शिकागो पब्लिक स्कुलमा पनि सहयोग गरेकी छन् । ओपेरा विन्फ्रेले पीडित महिलाको आश्रय स्थल तथा बाल दुर्व्यवहारकारी विरुद्धको अभियानलाई पनि सहयोग गर्ने गर्दछिन् ।

ओप्रा विन्फ्रेले खेलेका सिनेमाहरुमा द कलर परपल, द प्रिन्सेस, अ रिंकल इन टाइम, द बट्लर आदि चर्चित छन् ।

ओप्रा विन्फ्रेले पिपल च्वाइस अवार्ड १९८८, २००४, बब होप हयुम्यानिटेरियन अवार्ड २००२, केनेडी सेन्टर अनर्स २०१०, प्राइम टाइम एम्मी अवार्ड २०००, ग्लाड मिडिया भ्यानगर्ड अवार्ड २०१४ लगायत अन्य थुप्रै अवार्ड प्राप्त गरेकी छन् ।

अफ्रिकन,अमेरिकन सुप्रसिद्ध महिलाहरूमा ओप्रा विन्फ्रेको नाम उच्च स्थानमा आउँछ । उनको बाल्यकाल जतिसुकै त्रासद भए पनि शोकलाई शक्तिमा बदल्ने भन्ने भनाइजस्तै उनले आफूमा भएको प्रतिभालाई चिनेर त्यसलाई नछोडीकन निरन्तरको मेहनतले आफ्नो नाम प्रसिद्ध बनाउन सफल भइन् ।

ओप्रा विन्फ्रेका केही महत्त्वपूर्ण उत्प्रेरणात्मक भनाइहरूः
ड्ड जब तपाईंहरू आफ्नो कामलाई अवमूल्यन गर्नुहुन्छ, संसारले तपाईंको अस्तित्वलाई पनि अवमूल्यन गर्दछ ।
ड्ड आफ्नो घाउलाई बुद्धिमा बदल्नुहोस्
ड्ड चुनौतीहरू उपहार हुन् । तिनले हामीलाई गुरुत्वाकर्षणको नयाँ केन्द्र खोज्न बाध्य पार्छन् ।
ड्ड जीवनमा ठूलो रहस्य यो हो कि त्यहाँ कुनै ठूलो रहस्य छैन ।
ड्ड तपाईंको लक्ष्य जस्तोसुकै होस्, तपाईं काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईं आफूले सोचेको उचाइमा पुग्नुहुन्छ ।