

हान काङ
कोरियाली उपन्यासकार हान काङको ‘भेजिटेरियन’ उपन्यासमा पितृसत्ताको चर्को प्रस्तुति भेटिन्छ। पितृसत्ताको उदय भएपश्चात यो सत्ता सार्वभौमिक रुपमा एउटा राष्ट्र वा समाजमा मात्र सीमित नरहेर विश्व मानव समाजमा रहेको गम्भीर समस्याग्रस्त मानसिकता बन्न पुगेको छ । तर कुनै पनि सार्वभौमिक सत्ता चिरस्थायी रहन सक्दैन । यसैले निश्चय पनि पितृसत्ताको कुनै समय अन्त्य हुने नै छ । विश्व लैङ्गिक विभेद सामाजिक, राजनैतिक, शिक्षित, आर्थिक क्षेत्रमा पहिलाको समयको तुलनामा केही सामान्य परिर्वतन देखापर्दै गएको अवस्थामा पितृसत्ताको नयाँ संस्करण पुँजीवाद अझ विश्व समाजमा घातक बनेका छन् । यस घातक रोगबाट उन्मुक्ति पाउन वर्ग विभाजनरहित, लैङ्गिक विभेद, परम्परित रूढीग्रस्त मूल्यमान्यताको विरोध गर्दै प्रत्येक क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्षरूपमा सर्वाधिक जनचेतनाको सञ्चार गर्नु अति आवश्यक देखिन्छ । कोरियाली उपन्यासकार हान काङले साहित्यलेखनकै माध्यमबाट पितृसत्ताको जरालाई पहिलाउने र यसको प्रकोपबाट उत्पन्न हुने भयावह परिणामलाई समेत सचेतनामूलक ढङ्गमा प्रस्तुति दिएका छन् ।
हानकाङले यस उपन्यासमा परम्परित गल्पभन्दा भिन्न प्रभावोत्पादक गल्प राखेर आफ्नो विशिष्ट शैलीकौशलद्वारा उपन्यासको विषयवस्तु स्केचमा विचित्र चित्र उतारेझैँ त्यसको रहस्यमा भुलभुलैया जस्तो देखिने सत्य के हो भन्ने भेउ पुर्याउन गाह्रो भएझैँ यो उपन्यास पनि पाठकको ठिम्माईलाई अनौठो प्रकारले मन-मस्तिष्कलाई नै च्याप्प समाउँछन् । यथार्थ र कपोलकल्पनाको भरमारमा मुछिएर अलौकिक भान हँदाहुँदै पनि उपन्यासको विषयवस्तुले यसरी आकर्षित बनाउँछ कि एक मुटु कमजोर पाठकले यो उपन्यास नपढेकै राम्रो । मेरा भन्नुको तात्पर्य, एक स्वस्थ व्यक्तिको मस्तिष्क पनि हल्लाउन सक्ने क्षमता उपन्यासामा निहित छ ।
‘अक्षरहार’मा प्रवीण ढुङगेल भन्छन् – ‘भयावह, सनसनीखेज र उत्तेजक किताब पढ्न मन छ भने मजाको नै छ यो उपन्यास दुईवटै भाषामा – नेपाली र अङ्ग्रेजीमा । बस, धैर्य र कथानकमा के हुँदैछ अनि पात्रहरूका बद्लिँदो कथनसँग सहयात्रा गर्न सक्नुपर्छ। नियमित पठनी भन्दा व्यापक फरक कृति चाख्न परेमा यो नि राम्रै कृति छ ।’
यस उपन्यासभित्र रहेको शाकाहारी, नीलडाम, ज्वलन्त रुख यी तीनै भागले, पितृसत्तालाई नै दर्साएको पाउँछौं । गेरडा लर्नर एक अमेरिकी इतिहासकार र महिला इतिहासका लेखिका हुन्, उनले पितृसत्तालाई परिभाषा गर्ने क्रममा भनेकी छन्– ‘पितृसत्ता परिवारमा स्त्री र बच्चाहरूमा पुरुषको वर्चस्वको अभिव्यक्ति र संस्थागत सामान्य रूपमा स्त्रीमाथि पुरुषको सामाजिक वचर्स्वको विस्तार हो ।’ अर्थात पितृसत्ता परिवारबाट उत्पन्न भएर सर्वाधिक फैलिन्छन् । हान काङको यो उपन्यासलाई पारिवारिक हिंसाबाट उत्पन्न हुने विकृत मानव मस्तिष्क र परिणामलाई यसरी आलोकन गर्न सकिन्छ ।
हान काङ, बूकर पुरस्कार हात पारेपछिपितृसत्तामा एउटी विवाहित स्त्रीको चरित्रमापक आधार पतिव्रत धर्म मानिन्छन्, जसद्वारा उनीहरूको तर्कशील मस्तिष् समेत संकुचित र कमजोर बनाउँछ साथै उसको लोग्ने जति नै अभद्र र क्रूर किन नहोस्, लोग्नेको चरणमा रहेर सेविका बन्नुपर्ने बाध्यता हुन्छ । यसैले कतिपय पुरुष आफ्नो जीवनसाथीको नाममा घरको कामकाज गर्ने स्त्रीलाई रोज्ने गर्दछन् । हानकाङ लिखित भेजिटेरियन उपन्यासको एक पात्र चेओग उही पुरुषप्रधान नैतिकताको प्रतिनिधि पुरुष हुन् । यसैले जीवन संगिनीको खोजमा यस्तै स्वास्नीको आवश्यकताबोध गर्छन्, जसमा घरकै काममा तल्लीन रहने, आफ्नो लोग्नेलाई कता, कहाँ, किन, के – जस्तो कुनै पनि प्रश्न नतेर्साउने, ग्रहस्थी जीवनमा निपूर्ण अर्थात् परम्परित संस्कारको भनाइमा पतिव्रत धर्ममा निपूर्ण, एक कुशल ग्रहणी !
चेओग भन्छ – अपेक्षा गरेझैँ ऊ कुनै मद्दा उच्छृङ्खलता अत्यन्तै साधारण स्वास्नी बनी प्रत्येक बिहान ६ बजे उठेर भात, सूप र प्रायजसो माछा पनि तयार पार्थी । धेरै बोल्ने आइमाई थिइन ऊ । उसले मसामु कुनै माग राख्नु विरलै थियो र म जति ढिलो घर पुगे पनि निहुँ खोजेर झगडा गर्ने झ्याउलो कहिल्ये पनि गरिन ।
नारीवादी लेखिका तसलीमा नसरिनले भनेकी छन्– “सौन्दर्य केवल स्त्री शरीरमा मात्र हुँदैन, पुरूष शरीरमा पनि हुन्छ तब यसलाई ढाक्ने प्रथा स्त्रीलाई मात्र किन ?
उनको यो भनाइ वास्तवमा बुर्का सम्बन्धित भनाइ हो तथापि बुर्का नै भए पनि स्त्रीले आफ्नो शरीर छोप्नुपर्ने बाध्यता कुनै पनि पुरूषप्रधान समाजको मानसिकतामा निहित रहेकै हुन्छ चाहे स्त्रीलाई कुनै पनि समस्या किन नहोस् । स्त्रीलाई उसको पहिरनमा पुरुषको दृष्टिकोण ध्यानमा राखेर आफ्नो शरीरको अङ्गलाई छोप्नुपर्ने बाध्यता हुन्छ किनभने स्त्री शरीर उत्तेजित गराउने किसिमको हुन्छ साथै स्त्री शरीर कुनै पनि परिवार वा पुरुषको इज्जत हुन्छ भन्ने भनाइ छ । यो भनाइ पनि उही पितृसत्ताकै मखुन्डोधारीको भनाइ हो । स्त्री र पुरुष दुवै शरीर मानव शरीर हुन् । दुवैमा आकर्षण वा सौन्दर्य विशिष्ट हुन्छ तब किन स्त्रीले मात्र शरीर छोप्नपर्ने !
यदि उसले आफ्नो शरीर प्रदर्शन गरिदिएमा के उसलाई चरित्रहीनका रुपमा जोख्नु पर्ने हो ! यहाँ येङह्येले भित्री कपडा नलगाई आफ्नो छात्ती उदाङ्गो राख्नुमा यो उसको आफ्नो स्वेच्छा हो किनभने उसलाई ब्रा लाउँदा, निस्सासिएको अनुभाव हुन्छ । तब अरूले के भन्लान् जस्तो त्रासपूर्ण, लज्जास्पद मानसिकता नराखी स्वेच्छालाई प्रधानता दिन्छिन् तर उनको प्रेमी (लोग्ने)ले क्षणिक भए पनि उसको चरित्रमा शङ्का गर्छ । उसको प्रेमी (लाग्ने)को उसप्रतिको यो दृष्टिकोणले त्यही पुरुषप्रधान समाजकै प्रतिनिधित्व भेट्छौ । उसको लोग्नेको विचार “एकपटक उसको पिठ्युँमा हात राख्दा ऊनेको स्वेटरमुनि ब्राको फित्ता भेटिन्, झल्याँस्स त्यसको अर्थ बुझ्यो । त्यसले मलाई प्रशस्तै उत्तेजित बनायो । उसले मलाई कुनै सङ्केत दिन खोज्दैछ कि भन्ने बुझ्न उसलाई नयाँ नजरियाले हेर्दै र उसको हाउभाव नियाल्दै एक-दुई मिनट बितायो । मेरो गहन अध्ययनको निष्कर्ष थियो, अँह उसले वास्तवमा मलाई कुनै सङ्केत दिन खोजेको हैन ।’
स्त्री मान्छे घर-परिवारको इज्जत भन्ने मानसिकता पनि एक हदसम्म स्त्रीहरूलाई उत्पीडित नै तुल्याएको हुन्छ । इज्जत, मानसम्मान आदिकै देखरेखमा आफूलाई कसरी सङ्कुचित परिधिभित्र राखेर आफ्नो इच्छा आकांक्षाहरू तिलाञ्जलि दिई कठपुतलीझैँ अरूकै इशारामा हिँड्नुपर्ने बाध्यता कोरियाली समाजमा होस् या कुनै पनि समाजमा होस्, स्त्रीलाई हेरिने दृष्टिकोण उस्तै नै छ । यस सन्दर्भमा चेओङ भन्छ– ‘रोजाइ त उसले बाक्लो ब्रा लगाओस् भन्ने नै थियो ताकि मलाई चिन्नेजान्नेका अघि मेरो अलिकति इज्जत रहोस् ।’
येङ ह्ये शाकाहारी हुनु र परिवारलाई समेत आफ्नो इच्छानुसार शाकाहारी खाना ख्वाउन बाध्या बनाउने उसको यो साहस नै हो, किनकि उसकी लोग्ने पुरुषप्रधान नैतिकताले ग्रसित छ र आफ्नी स्वास्नीलाई सेविकाकै रुपमा राख्न उद्यत छ । सेविकाले विरोध गर्न सक्दैनन् होइन उनीहरूको क्षमता हुँदैन । त्यो संस्कार उनीहरूमा पाइँदैन भन्ने गलत सोचको केही हदसम्म धज्जी उडाउँदै चेओङको सोचको विपरीत उसकी पत्नी देखा पर्दछिन् । उनी मासु खान छोड्नु मात्र होइन घरभित्र समेत हुल्न अस्वीकार गर्छिन् । यसमा कारण जे सुकै भए पनि हान काङले विशिष्ट वैचारिक माध्यमबाट अहिलेसम्म आभास नगरेको छुट्टै गल्प प्रयोजनले पितृसत्तालाई चुनौती दिएको भेटिन्छ । हुन त उपन्यासकारले येङ ह्येलाई शाकाहारी हुनमा मात्र सीमित नराखी उसले अन्य खाना पनि छाड्नु तथा मानसिक रोगको सम्मुख पनि राखेका छन् । उनी शाकाहारी हुनुमा उनको स्वेच्छा, परिवार एवम् लोग्नेलाई भने त्यो मान्य भएन । उनी दुब्लाइन् भन्ने एउटा बहाना मात्र देखिन्छ । वास्तवमा यहाँ एक स्वतन्त्र चाहना राख्ने स्त्री आफ्नो लोग्ने र परिवारको अड्चन बनेकी छन् !
अर्कोतिर उसको बुवाले सधैँ येङ ह्येलाई बाल्यकालमा पनि हिंसात्मक मारपिट गरिरहन्थ्यो भन्ने येङ ह्येको दिदी इन ह्येले उपन्यासको अन्तिम भागमा उजागर गरेकी छन् । यसरी एक स्त्री शारीरिक इच्छा भन्दा बढ़ता उसले गर्नुपर्ने कर्तव्य, इष्टमित्रको अघि इज्जत राख्ने वस्तुको रूपमा हेरेर बाहिरी वैचारिकताको धारणालाई अघि सारेर, बलजफ्ती उसकी बुवाले येङ ह्येको मुखमा मासुको टुक्रा घुसारेका छन् । यसको प्रतिकारमा उनले हातको नाडी काटेर आफैँलाई घाइते बनाएकी छन् । यति मात्र होइन मानसिक रोगीसमेत भएकी छन् । कसैमाथि बलात् इच्छाविरूद्ध जानु अत्याचार हो । जसमा येङ ह्ये पारिवारिक अत्याचारले ग्रस्त छिन् ।
येङ ह्येको शरीरमा जन्मजात नीलडाम बीस वर्षको उमेरसम्म नहराउनु यसमा आचार्य मान्ने र यसलाई कामतृप्तिकै रूपमा लिनुपर्ने पनि आवश्यकता थिएन तर यस्तो सोच लिनु पनि एकप्रकारको मानसिक रोग नै हुन् । इन ह्येको लोग्नेले यस विषयलाई निकै वर्ष अघिदेखि पोषण दिइरहेको तथ्य यो भनाइबाट प्रष्ट हुन्छ । ‘अहिले ऊभित्र हिलिक्क उम्लिएर आएको तिक्त वास्तवमा त्यही अनुभूति थियो जुन उनले थोरै वर्षअघि जापानी कलाकार या येङ कुसामाको भिडियो कला हेर्दा अनुभव गरेको थियो । त्यस भिडियोकृतिमा छ्यासमिस यौनक्रियाका दृश्य थिए । महिला र पुरुष दश जना थिए, हरेकको शरीर अनेक रङले लत्पतिएको थियो र साइकेडेलिक सङ्गीतको गुञ्जनबीच एकअर्काका देहप्रति उनीहरूको लालसाको क्रीडा फक्रेको थियो। एकक्षण पनि नथामिई उनीहरू निरन्तर छटपटाइरहेका थिए, पानी बाहिरको माछाझैँ । यसरी हेर्दा उसको कामुक भावनाको बीज त्यहीबेला गाडिएको मानिलिन सक्छौँ, जसमा नीलडाम मात्र कामुक हुनुको साधन बनेको छ। उनी आफ्नो बढ्दो उमेरदेखि अनभिज्ञ छैन येङ ह्येलाई उसको लोग्नेले तलाक दिएकै कारण उसप्रति कामुकता भरमारको दृष्टि लिएको हुनसक्छ फेरि प्रथमचोटि येङ ह्येलाई उसकै घरमा नाङ्गै भेट्टाएपछिको घटनाले उसको कामुकतालाई थप पोषण दियो तर येङ ह्ये नाङ्गो हुनु कुनै कामुक भावना थिएन । उनी मानसिक रोगी हुन् भन्ने विषयलाई भुलेर पारपाचुके लिएकी स्त्रीलाई समाजले जुन दृष्टिमा तौलने गर्छ, त्यही दृष्टि इन ह्येको लाग्नेको छ । वास्तवमा येङ ह्ये मनोरोगकै कारण औषधी खाएर दिनभरि ट्वाल्ल परेर बस्ने स्त्रीलाई फकाई-फुलाई उसकै मानसिकताको आधारमा आफूलाई उद्भिद झैँ फूल लहराको रङ्गमा चित्र कोरेर सम्भोग गर्ने पुरुषलाई हामी सहजै बलात्कारी नै भन्नुपर्ने हुन्छ । इन ह्येको लोग्नेको यसप्रकारको कामुकताले त्यो सम्पूर्ण बलात्कारीका प्रतिनिधित्व गर्दछ जसले नाबालिक, वृद्धा, युवती कसैलाई पनि बलात्कार गर्न छोडेको छैन । अझ ती नाबालक मस्तिष्क भएकाहरूलाई यो के हुँदैछ भन्ने भेउसमेत हुँदैन यस्तै येङह्येलाई हामी देख्नसक्छौँ भने अर्कोअर्थमा उसको स्वःइच्छाद्वारा उसलाई नाङ्गो बनाउनु पुँजीवादको अर्को हतियार हो।
हान काङको उपन्यासको दोस्रो भागलाई हामी पितृसभाको नयाँ संस्कारण पुँजीवादलाई अर्थ्याउने प्रयास गरेको भेटिन्छ । यसमा उनी सफल बनेकी छन् । कुनै पनि स्त्री बलात्कृत बनेपछि उनीहरू समाजको डर, परिवारको डरले आत्महत्या गर्नुपर्ने बाध्यता विश्व समाजको प्रतिविम्व उपन्यासकारले यसरी दर्शाएकी छन् -‘बरन्डातिर दोडिन पर्थ्यो तुरून्तै सालीले अडेस लगाएर बसेका रेलिङमाथिबाट फाल हालिहाल्नु पर्थ्यो । तीन तला खसिसकेपछि उसको टाउको छिन्नभिन्न हुने थियो । यही एउटा उपाय बाँकी थियो।’
इन ह्येको लोग्नेले सालीसँग बलात्कार गरेपछि इन ह्येले लोग्नेलाई सहजै मानसिक अस्पताल थुनेका थिए डाक्टरले ऊ मानसिक रोगी नरहेको पुष्टि गरेपछि प्रहरीकहाँ लगे पनि पछि छुट्टिएर भूमिगत भएको थियो। त्यसपछि एक छोरा र कस्मेटिक दोकानसँगै आफ्नो मानसिक रोगी बहिनी येङ ह्येलाई सहयोग गरेर बाँकी जीवन सङ्घर्षपूर्ण बिताएका छन्।
एकदिन अचनाक येङ ह्ये अस्पतालबाट हराउँछ । यसमा येङ ह्येको व्यवहार रहस्यमय नभएर यथार्थसँगै भ्रामिक पनि छ। ऊ मानसिक रोगी हुनाले उसको मानसिकतामा कुनै पनि भ्रम उत्पन्न हुनसक्छ । यसैले ऊ एकान्त जड्गलमा रूखहरूजस्तै पानीझरीमा पनि जडवत् उभिनुमा यसलाई कुनै रहस्य भन्न मिल्दैन।
उपन्यासको अन्तिम भागमा (ज्वलन्त रखहरू) येङ ह्येको मानसिकता असन्तुलनको थुप्रै आशङ्का देखाएका छन्, जसको निचोड़ हामी पितृसत्ता मान्नुपर्ने हुन्छ।
प्रख्यात नारीवादी कमला भासिनले पितृसत्ताको परिभाषा गर्ने क्रममा भनेकी छन्- ‘पितृसत्ता शब्दको शाब्दिक अर्थ बुवाको शासन वा पितृसत्ता हो र मूल रुपमा यो एक विशेष प्रकारको पुरुषप्रधान परिवार तथा पितृसत्ताको ठूलो परिवार जसमा महिला, कनिष्ठ, पुरुष, बालबालिका दास र घरेलु नोकरहरू सबै यस वर्चस्व पुरूष शासनअन्तर्गत पर्दछन् । पुरूषले महिलामाथि प्रमुख प्रभुत्व जमाउने शक्ति सम्बन्ध र महिलाहरूलाई अनेक तरिकामा अधिनस्थ राखिएको नैतिकतालाई चित्रण गर्ने प्रयोग गरिन्छ ।’
आफ्नै परिवारमा नै बालबालिका शोषित बनेपछि उनीहरूको कलिलो मस्तिष्क बेहाल हुन्छन् । घरभित्रको सुख-शान्ति भन्दा हिंसा अशान्ति, मनमुटाव अत्यधिक भएमा घर घर हुँदैन । येङ ह्ये नौ वर्षको उमेर हुँदा जब घनघोर जङ्गलमा येङ ह्ये र इन ह्ये दिदी बहिनी बाटो बिराउँछन्, त्यसबेला येङ ह्येले दिदीलाई भनेको हुन्छ, ‘हामी फर्केर जाँदै नजऔँ ।’
एक नौ वर्षीया बालिकाले त्यस्तो घनघोर जड्गलमा हिंस्रक पशुहरूको आक्रमण र रातको कालो अन्धकारको डर लिँदै घरको सम्झनामा धुरुधुरू रूने बेलामा ऊ आफ्नी दिदीलाई घर नै नजाने आग्रह गर्छिन् । उसको यस्तो सोचले ऊ आफ्नो परिवारसँग कति त्राहीत्राही थिई भन्ने प्रष्ट हुन्छ । यो भनाइ इन ह्येले निकैपछि बुझेकी छन् । उनकी बहिनी येङ ह्ये मान्छे भनिदो हिंसाकार ठाउँमा एकदमै बस्न रूचाउँदिन बरू ऊ हिंसाविहीन एकान्त जङ्गलमा रुखहरूजस्तै बस्न रूचाउँछे । जब दुवै दिदीबहिनी बाटो खोज्दै घर पुग्छन्, त्यसबेला उनीहरूको बुवाले येङ ह्येलाई पिटेका थिए। यसमा उपन्यासकार सचेतनापूर्वक सुझाव दिँदै भन्छिन्, ‘त्यस दिनको पारिवारिक भेटघाटमा उसको बाले येङ ह्येलाई मुखमा पिट्नुअघि बाको पाखुरा उसले अलिक धेरै बलले समातेको भए अहिले परिस्थिति अर्कै हुन्थ्यो कि ! (१५० )
इन ह्ये सानै उमेरदेखि उसकी आमाको सहयोगी हुनुको साथै घरमा उसको बुवाको कतिपय आवश्यकताहरूको ख्याल राख्नु पर्थ्यो । उसले खुबै लगनशीलतापूर्वक गर्थी । यसले पनि ऊ बहिनी येङ ह्येजस्तो बुवाको हिंसाको शिकार हुनुपर्दैन थियो । यस परिस्थितिगत रणनीतिले पनि स्त्रीमान्छे (छोरी)लाई पितृसत्ताको अधिनता स्वीकार गर्न बाध्य गराएको हुन्छ भन्ने उपन्यासारले इन ह्येको माध्यमद्वारा यसरी बुझाएकी छन्- उनीहरूको बाले रक्सीसँग सितन खाने सुरूवा बनाउने जिम्मा इन ह्येको थियो । जसका कारण ऊसँग व्यवहारमा उसका बाले विशेष सतर्कता अपनाउने गरेका थिए । तर निश्चल र सोझी येङ ह्येले मात्र उनीहरूको बाको रिस झेल्न वा कुनै प्रकारले त्यसको प्रतिरोध गर्न सक्दैनथ्यो । यति समयपछिको अन्तरालमा हेर्दा मात्र इन ह्येले के बुझी भने त्यसबेला उसले अपनाएको बलिदानी र मिहिनेती जेठी छोरीको भूमिका परिपक्वताको हैन बरु कायरताको सङ्केत थियो । आफूलाई जोगाउने रणनीति थियो ।’
यदि येङ ह्ये र इन ह्ये दुवै दिदी बहिनीले सानै उमेरदेखि साहसपूर्वक शोषणको प्रतिरोध गर्न सकेको भए उनीहरूको अवस्था अलि फरक हुन्थ्यो कि ?
१७९२ को दशकमा मैरो वोल्सटनक्राफ्टले आफ्नो पुस्तक ‘ए विन्डिकेशन ओफ द राइटस अफ वुमेन’ पुस्तकमा प्रसङ्गवश भनेका छन्- स्त्रीहरू चमेरो तथा लाटोकोसेरोजस्तै जीउने गर्छन्, पशुहरूजस्तै परिश्रम गर्छन् र कीराहरूजस्तै मर्छन् ।’
यो भनाइमा स्त्रीहरू दुर्बल होइन बरु सामाजिक संरचनामा स्त्रीहरूलाई परिस्थितिवश आइपर्ने लाचारीपनलाई प्रकाश पार्दै विद्रोही हुनुपर्ने दर्शन दिन खोजेका छन् । यही कुरा हान काङले पनि स्त्रीहरूले बाध्यतावश पितृसत्तालाई कसरी पोषण दिरहेका हुन्छन् भन्ने देखाउँदै स्त्रीहरू स्वयं विद्रोह नगरी कहिले पनि आफ्नो अधिकार प्राप्त गर्न सक्षम हुँदैनन् भन्ने विषय अघि सारेकी छन् ।
उपन्यासमा येङ ह्येले भनेझैँ दुवै दिदीबहिनी घरबाट भागेको भए सबै कुरा भिन्न हुन्थ्यो कि भन्ने आशयले पनि अनुमान लाउन सकिन्छ । येङ ह्ये र इन ह्येले आफ्नो जीवनमा जुन विपत्तिको सम्मुख सङ्घर्ष गर्नु परिरहेछ, यसको मूल कारण पितृसत्ता हो ।
निष्कर्षमा के भन्न सकिन्छ भने, भेजिटेरियन उपन्यासको तीनै भागलाई सोलोडोलो पारेर हेर्नु हो भने पितृसत्ताको छवि कोरियाली समाजमा पनि उत्तिकै प्रभावकारी छ भन्ने प्रष्ट हुन्छ । उपन्यास पढ्न थाल्नुअघि कतिपय विद्वान एवं पत्रकारद्वारा गरिएको टिप्पणी राखिएका छन् । यी टिप्पणीहरूमा यो उपन्यास रहस्यमय अलौकिक अनौठो मानेलिएका छन् । रहस्यमय हुनु भनेको सही तत्थ प्रकाशमा नआएसम्म भ्रामिक कपोकल्पनाले ग्रस्त गराउनु हो । यहाँ यस्तै रहस्य देखापर्दछन् जुन चाहिँ उपन्यासकारको उत्कृष्ट लेखनकौशल हो । यस उपन्यासको विषयवस्तु यथार्थिक हुँदाहुँदै कपोकल्पनाको भरमारमा प्रयोगात्मक ढङ्गमा नौलो गल्प जोडिएर भ्रामिक हुँदाहुदै यथार्थिक हुँदै गएको भान हुन्छ । साँचो भन्नु हो भने यस उपन्यास यथार्थसँगै भ्रम तुल्याउने गल्प, त्यसैमा उद्मिद जगतको सत्यतातिर आकृष्ट गराउँदै हिंसाका विरोधमा एउटा नौलो आयामद्वारा प्रस्तुत गरेको पितृसत्ताको जड पुरूषप्रधान परिवारमा नै निहित छन् भने धारण भेटाउन सक्छौँ।
मकैबारी थापाथली
खरसाङ्ग, भारत ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
