हलिउडमा यौनकाण्ड कुन ठूलो कुरा हो र भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुन सक्नुहुन्छ । मीटू अभियानपछि हलिउडलाई अनुशासित बनाउन अनेक कामहरू भइरहेका छन् । यस्तोमा कुनै अखबारले पनि यौनकाण्डको छनक पायो भने, त्यसलाई कुन तहमा लैजान्छ भन्ने उदाहरण ‘इट इन्ड्स विद अस’ फिल्मका निर्देशक तथा कलाकार जस्टिन बाल्डोनी र सो फिल्मकी अभिनेत्री ब्लेक लाइभलीको झगडाले प्रस्ट्याएको छ ।

कथाअनुसार, अभिनेत्री ब्लेकले निर्देशक तथा सहकलाकार जस्टिनमाथि यौन दु्र्व्यवहारको आरोप लगाइन् । र, सो आरोपलाई विश्वप्रसिद्ध अखबार द न्यूयोर्क टाइम्सले प्रमुखताका साथ छाप्यो । त्यसपछि अखबारले आफ्नो मानहानी गरेको भन्दै निर्देशक जस्टिनले २५ करोड डलर बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरे ।

यो कथाको जरो निकै लामो छ । त्यसैले यसलाई अब विस्तारपूर्वक पढ्नुहोस् ।

जस्टिन बाल्डोनीले आफ्नै फिल्मकी हिरोइन ब्लेक लाइभलीलाई यौन दुर्व्यवहारको आरोप स्वयं हिरोइनले लगाएपछि सो कुराको प्रतिवाद गर्दै गएको मंगलबार न्यूयोर्क टाइम्सविरुद्ध मानहानिको मुद्दा दायर गरिएको छ । अभिनेता बाल्डोनीले अखबारले लाइभलीको “आफ्नै स्वार्थपूर्तिका लागि बनाइएको कथालाई” आधार मानेर “अशुद्धता, गलत प्रस्तुति र तथ्य मोडिएका” सामग्रीहरू प्रकाशित गरेको आरोप लगाएका छन्।

लाइभलीले गएको डिसेम्बरमा क्यालिफोर्निया नागरिक अधिकार विभागमा उजुरी दर्ता गर्दै बाल्डोनीमाथि यौन दुर्व्यवहार र प्रतिशोधको आरोप लगाएकी थिइन्। उक्त उजुरीमा लाइभलीले “इट एन्ड्स विथ अस” फिल्मको सेटमा यौन दुर्व्यवहारको विषय उठाएपछि बाल्डोनी र उनको टोलीले उनको पेशागत प्रतिष्ठा बिगार्न नकारात्मक प्रेस सामग्रीहरू चुहाएर प्रतिशोध लिएको दाबी गरेकी छिन्।

लाइभलीको उजुरीको पहिलो रिपोर्ट न्यूयोर्क टाइम्सले डिसेम्बर २१ मा “‘वी क्यान बेरी एनी वन’: इनसाइड अ हलिउड स्मियर मेसिन” शीर्षकमा प्रकाशित गरेको थियो। उक्त ४,००० शब्दको लेखमा नागरिक अधिकार विभागको गोप्य रूपमा राखिने उजुरीका सामग्रीहरू समावेश गरिएका थिए।

न्यूयोर्क टाइम्सको लेखको प्रभाव कति पर्यो भने बाल्डोनीलाई प्रतिभा व्यवस्थापन एजेन्सी डब्लुएमई (WME)ले तुरून्तै बर्खास्त गरेको थियो । यो प्रतिष्ठित संस्था हो र यही संस्थाले लाइभली र उनका पति रयान रेनोल्ड्सलाई पनि प्रतिनिधित्व गर्ने गर्छ । खबर सार्वजनिक हुनेबित्तिकै लाइभलीको समर्थनमा हलिउडभरिबाट ताली बजाइयो । अभिनेता संघ SAG-AFTRA ले लाइभलीको पक्षमा वक्तव्य जारी गर्‍यो भने फिल्म “इट एन्ड्स विथ अस”का निर्माता स्टुडियो सोनीले पनि लाइभलीलाई स्याबासी दियो ।

यी सबै घटिसकेपछि जस्टिन तिल्मिलाए । उनले पनि लाइभलीले झूटो यौन दुर्व्यवहारको आरोप लगाएर नियन्त्रण जमाउन खोजेको बताए । उनले लाइभलीलाई आफ्नो सार्वजनिक छवि “पुनः परिभाषित” गर्न बाल्डोनीको नाउँ जोडेर चर्चा बटुल्ने प्रयास गरेको आरोप लगाए ।

“लाइभलीले यौन दुर्व्यवहारको आरोपहरूको दुरुपयोग गर्दै उत्पादनको हरेक पक्षमा एकपक्षीय नियन्त्रण जमाउन रणनीतिक र चलाखीपूर्ण चाल खेलेकी थिइन्,” बाल्डोनीले हालेको मुद्दाको बान्कीले भन्छ, “साथै, लाइभलीको सार्वजनिक छविमा भएका केही उच्च-स्तरीय त्रुटिका कारण उनको छवि बिग्रिएको थियो, जसलाई उनले बाल्डोनीमाथि दोष लगाएर ध्यान अन्यत्र मोड्ने प्रयास गरिन्। यो केवल बहाना हो। प्रशिद्धि दुईधारे तरबार हो तर लाइभलीका यस्ता रणनीति अस्वीकार्य छन्।”

मुद्दाले न्यूयोर्क टाइम्सलाई “पत्रकारिताको इमानदारी” गुमाएको आरोप लगाउँदै भनेको छ, पत्रिकाले लाइभलीका यौन दुर्व्यवहार र प्रतिशोधका आरोपहरूको सावधानीपूर्वक छानबिन नै नगरी खबर छाप्यो । मुद्दामा दाबी गरिएको छ‑ पत्रिकाले “लाइभलीका प्रमाणित नगरिएका र स्वार्थप्रेरित कथाहरूलाई लगभग शब्दशः उतारेको छ, उनका दाबीहरूलाई खण्डन गर्ने र उनको वास्तविक उद्देश्य उजागर गर्ने प्रमाणहरूलाई पूरै बेवास्ता गरेको छ।”

जब न्यूयोर्क टाइम्सलाई जस्टिनको यो मुद्दा र उनले अखबारमाथि लगाएको आरोपका बारेमा सोधियो, प्रवक्ता ड्यानियल रोड्सले इमेल जवाफमा भनेका छन्, “हामीमाथि लगाइएको मुद्दाको कडा प्रतिरक्षा गर्नेछौं ।”

प्रवक्ता रोड्स भन्छन्, “स्वतन्त्र समाचार संस्थाको भूमिकाचाहिँ तथ्य जहाँ भए पनि त्यसलाई पछ्याउनु हो। हाम्रो समाचार ध्यानपूर्वक र जिम्मेवारीपूर्वक नै लेखिएको छ । यो हजारौं पृष्ठका मूल दस्तावेजहरू समीक्षा गरिएपछि लेखिएको हो । त्यहाँ हामीले उद्धृत गरेका टेक्स्ट मेसेजहरू र इमेलहरू पनि समावेश छौँ । अहिले सम्म, वेफेयर स्टुडियोज, बाल्डोनी, लेखका अन्य पात्रहरू र तिनका प्रतिनिधिहरूले एउटा पनि गल्ती औंल्याउन सकेका छैनन्। हामीले लेखमा लगाइएको आरोपहरूको जवाफस्वरूप उनीहरूको बयान पनि शब्दशः प्रकाशित गरेका थियौं।”

अभिनेत्री लाइभलीको तर्फबाट वकिलहरूले भनेका छन्, “जस्टिनले मुद्दा त हाले तर यसले लाइभलीले गरेका दाबीहरूमा कुनै जवाफ दिएको छैन र मुद्दाले केही फरक पार्दैन ।”

लाइभलीले सुरुमा बाल्डोनी र उनको वेफेयर प्रोडक्सन कम्पनीविरुद्ध क्यालिफोर्नियाको नागरिक अधिकार विभागमा उजुरी दायर गरेकी थिइन्। तर मंगलबार, अभिनेत्रीका वकिलहरूले संघीय अदालतमा अर्को उजुरी दायर गरे।

“हामी वेफेयरका हरेक आरोप अदालतमा सामना गर्न तत्पर छौं,” लाइभलीका वकिलहरूले भने।

बाल्डोनीको मुद्दा वकिल ब्रायन फ्रिडम्यानले लॉस एन्जलस सुपीरियर कोर्टमा १० जना मुद्दादाताहरूको तर्फबाट दायर गरेका हुन्। तिनमा बाल्डोनी, वेफेयर स्टुडियोज, उनका प्रोडक्सन साझेदार जेमी हिथ (जसलाई पनि लाइभलीले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्), र बाल्डोनीका पब्लिसिस्ट तथा संकट व्यवस्थापक जेनिफर एबल र मेलिसा नाथन समावेश छन्।

बाल्डोनीले लाइभलीसँग अभिनय गरेको र “इट एन्ड्स विथ अस” निर्देशन गरेका थिए। यो सोही नामको पुस्तकमा आधारित थियो, जसले एक जोडी र उनीहरूको सम्बन्धमा हुने घरेलु हिंसाको कथा केन्द्रित छ। वेफेयर स्टुडियोजले पुस्तकका अधिकार हासिल गरेर फिल्म निर्माण गरेको थियो, जसले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो।

लाइभलीको उजुरीमा टेक्स्ट मेसेज र पत्राचारका स्क्रिनसटहरू समावेश थिए, जसमा लाइभलीको टोलीले बाल्डोनीको पब्लिक रिलेशन टोलीले उनीविरुद्ध मिडियामा “सामाजिक हेरफेर अभियान” गर्न खोजेको दाबी गरेको थियो।

बाल्डोनीका वकिलहरूले भने पत्रिकाले म्यासेजहरू प्रकाशन गर्दा जानाजान सन्दर्भहरू छुटाएको बताएका छन् । बाल्डोनीको मुद्दामा भनिएको छ, “यदि टाइम्सले आफूले प्राप्त गरेका हजारौं निजी संवादहरूको समीक्षा साँच्चै गरेको भए, त्यसका रिपोर्टरहरूले लाइभलीले योजनाबद्ध रूपमा निर्देशक तथा अभिनेता बाल्डोनीलाई बदनाम अभियान सञ्चालन गरेकी छन् ।”

लाइभलीको उजुरीको सबैभन्दा गम्भीर दाबीहरूमा बाल्डोनी र हिथले “उनको मेकअप ट्रेलरमा निमन्त्रणा बिना प्रवेश गरेको, जब उनी कपडा नलगाई बसेकी थिइन्, र स्तनपान गरिरहेकी थिइन्,” भन्ने दाबी समावेश छ।

लाइभलीको उजुरी दर्ता भएपछि दुवै पक्षले एकअर्कामाथि आक्रमण गर्न थाले । यसपछि घटनाले ठूलो मोड लियो । यसपछि लाइभलीलाई पठाइएको भनिएका निजी टेक्स्ट सन्देशहरू कसरी प्राप्त गरिए भन्ने प्रश्न उठ्यो। त्यसपछि बाल्डोनीकी पूर्व पब्लिसिस्ट स्टेफानी जोन्सले दायर गरेको अर्को मुद्दामा दाबी गरियो कि ती टेक्स्ट सन्देशहरू उनकी पूर्व कर्मचारी एबल—जो बाल्डोनीकी वर्तमान पब्लिसिस्ट हुन्—को फोनबाट आएको थियो। एबल पनि ती व्यक्तिहरूमध्ये एक थिइन्, जसलाई लाइभलीले आफ्नो विरुद्धमा बदनाम अभियान चलाएको आरोप लगाएकी थिइन्।

बाल्डोनी, हिथ, एबल, नाथन र वेफेयर सबैले लाइभलीका मूल आरोपहरू अस्वीकार गरे र लाइभलीलाई नै बाल्डोनीविरुद्ध नकारात्मक प्रेस चुहाउने व्यक्ति भएको आरोप लगाए।

“यी आरोपहरू पूर्ण रूपमा झूटा, अपमानजनक र जानाजानी बदनाम गर्ने उद्देश्यले गरिएका छन्,” जब लाइभलीको उजुरी दर्ता गरिएको थियो, त्यतिबेला वकिल फ्रिडम्यानले भनेका थिए। मंगलबार फ्रिडम्यानले लाइभली, उनको टोली र न्यूयोर्क टाइम्सले “क्रूर बदनाम अभियान” चलाएको आरोप लगाएका छन् ।

“यसो गरेर,” फ्रिडम्यानले भने, “उनीहरूले आफ्नो कथाको नतिजा पहिले नै तय गरे, र आफ्नै सार्वजनिक छविमा परेको आलोचनालाई पुनर्जीवित गर्न र लाइभलीको आफैंले कमजोर बनाएको सार्वजनिक छविलाई सुधार्न मद्दत पुर्‍याए।”

सीएनएनबाट अनूदित