
…सुन्तली चुप छे । आँखाबाट अहिले आँसुका नीरव थोपा खस्न थालेका छन् । आज कैयन् दिनदेखि यसको सम्पर्क सान्निध्यमा छु । प्रगत्यताबाहेक, उन्मुक्तताबाहेक, प्रबलताबाहेक यसमा कुनै उदासीनता, दुःख-करुण र रुदन हेर्न पाएको छैन । सधैंभरि सम्झन्थे – यो हो सुषमाबालादेवी ! सुन्तलीचाहिँ त नवडाँडाबाटै अल्पिएकी छ ।
आज, तर, सोच्नु परिआएको छ, मानिसको दम्भ, मानिसको पाखण्डले मानिसको मूल्य लगाउँदैन । मूल्य लगाउँछ भने अन्तरको सङ्घातले ! मर्मले नै दिन्छ मानिसको परिचय, संवेदनाले नै उघार्छ मानिसको सत्य ! जन्मजन्मान्तरका कतिकति आर्द्रमैल्य, अचम्म मानिसको अनन्तमा निहित रहन्छन्; त्यसको पत्ता कसैले लगाउन सकेको छ र ? क्षुद्र शरीरको कायाभित्र कुनै सीमातीत अनन्त पनि आसीन छ, प्रतिष्ठित रहिबसेको छ भन्ने कुरा मानिसमाथि मानिसकै न्याय, फैसलाको क्षुद्रताले कहिले सोचेकै पनि छ कि ?
साँझ परेर कोठामा बिस्तारै अन्धकार फैलिन थालेको छ । मनभित्र पनि अँध्यारोले नै चियाएको छ । म नै सुषमा, होइन, सुन्तली अहिले कथा छोडूँ । अँध्यारो भयो र भोलि भेट्न सक्यौं कि ?
जुरुक्क उठी सुन्तली । कुनै, केही पनि उत्तर छैन । उठेर आँखा पुछी र मेचमा फालिराखिएको आफ्नो स्ट्रा ह्याट टाउकोमा जमाएर ढोकाबाहिर निस्की । कोठामा नै रहेर सुन्तलीलाई हेरिरहें । बाहिरको धमिलो प्रकाशमा उसलाई फेरि चिनजान थालेकी त्यो आइमाई सुषमाबालादेवी हो- प्रगल्भ, उन्मुक्त, सुस्पष्ट सुषमा । त्यो सुन्तली होइन, अवश्यमेव होइन !
दार्जीलिङबाट शिलाङ जाने कार्यक्रम थियो; तर सौभाग्य वा दुर्भाग्यले दार्जीलिङमा सुन्तलीलाई भेटेपछि आफ्नो यात्राक्रम बढाउने इच्छा लागेन । सुन्तलीको शेष कथा विवरण पनि सुन्न मन लागेन । दार्जीलिङबाट सोझै नवडाँडामा नै फर्किआएको छु । आफ्नो बाबुलाई दिन भनी सुन्तलीले आउने बखत केही रुपियाँ पठाएकी छ भन्ने कुरा उसको बाबु वा कसैसित भन्नु नै कसरी ? सुन्तली बाँचेकी छैन । त्यो मरिसकेकी छ । बाँचेकी जो हो र जससित भेटेर आएको छु त्यो सुन्तली हो नै कहाँ ? त्यो त हो सुषमाबालादेवी ! बिचरी सुन्तली, गाउँले केटी र निर्धाकी छोरीसँग रुपियाँ हुने नै कसरी ? त्यो रुपियाँ दिन पठाउन सक्छे र ? दिन सक्छे भने, सुषमाबालादेवी हुन सक्छे ! सुषमाबाला पो त !
सुनेजति बाहेकका शेष सुषमा-कथाको एकेक रत्ती सुन्ने, सुनिसिध्याउने, जम्मै थाहा पाउने कुतकुती नलागेको होइन । तर ती जम्मै सुन्ने ह्याउ नै भएन । जो भयो होला, जो चरितार्थमा आएका होलान् तिनका खुलस्त वा साक्षात्को अगाडि उभिने साहसै भएन, मनै किसिमको प्रभावमा मानिसहरूले हामीलाई सम्पन्न नै मान्दछन् । थाहा भएअनुसार मेरो यसै परिवार-पूर्वज मेरा स्वर्गीय बाजेकी एक जना छोरी थिइन् । सुनेको हुँ, उनी साह्रै राम्री र गाईको काँचो दूधजस्तै सेती स्निग्ध थिइन् । बोलीको सुर भने सितार जस्तै सुनिन्थ्यो । उनका यही सबै रूपगुणका बारे थाहा पाएर उनीलाई मधेस तराईतिरका कुनै बहुतै ठूलो सम्पन्न जिमीदार परिवारले आफ्नो उत्तराधिकारीको लागि माग्यो र मधेसमा नै केटी लगी जम्मै कर्मकाण्ड, धर्माचरण, यज्ञादिको विधि पुऱ्याई धूमधामसित प्रजापति विवाह गरी बुहारी बनाएको थियो ।
त्यो परिवार बाहुनहरूको थर-परम्परामा शुक्ल वंशीय बाहुन थियो । उनै मेरा बाजेकी छोरी अर्थात् मेरी फुपूकी एउटी छोरीको बिहा भारत देशमा भएको थियो । तर अल्पकालिक सधवा जीवन पाएर उनी बिधुवी भइन्, अनि माइतीमा नै आइबसेकी थिइन् । वस्तुतः उनको माइतीपरिवारका धनाढ्य शुक्लहरूले नै बिधुवी छोरीलाई ससुरालीमा बस्न दिएनन् र आफ्नै घरमा ल्याई बसालिराखेका थिए । उनीलाई जीवनपर्यन्त त्यहीँ बस्ने व्यवस्थासमेत मिलाइदिएका थिए ।
एकपल्ट मेरो बाबु आफ्ना तिनै नातादार शुक्लज्यूकहाँ मधेस-तराई जाँदा मलाई पनि लग्नुभएको थियो । मेरो किशोर वय थियो । त्यस बखत त्यस घरमा दामी साज-सर्जाम, विविध वस्तुहरू, कोठाका गलैंचा, फर्निचर आदि मेरा आँखामा बहुतै महत्त्वका र अचम्म लाग्दा पनि भएका थिए । त्यस्तै त्यस परिवारकाहरूका बस-उठ, बोली-बानी, खान-पान पनि निकै बडप्पन सम्यक् र लोभलाग्दा मैले पाएँ ।
मेरा बाजेकी छोरी मरिसके पनि तिनका सन्तान धेरै थिए । आइमाई पनि कैयन् थिइन् र स्पष्टतः ती नेपाली थिइनन् । फलतः त्यस परिवारमा रहेकी तिनै बिधुवी, मेरी फुपूकी छोरी, मेरी एकान्तकी आफन्त आत्मीय भएकी थिइन् । मेरो ‘बा’ चाहिँ फर्केर नवडाँडा आउन थाल्दा उनले मलाई आउन दिइनन् र बासँग भनेर केही दिनका लागि मलाई आफूसँगै राखिन् । मलाई अघिदेखि नै सिकाएअनुसार उनीलाई म दिदी भन्थें, त्यस्तै उनले मलाई भाइ भन्थिन् ।
त्यहाँ बस्ता म अनौठे प्राणी भएको थिएँ र परिवारमा अनेकन ठाउँबाट आएकी बुहारीहरू र तिनका छोराछोरी साराले मलाई माया गर्थे । केटाकेटी हामीसँगै बस्थ्यौं, खेल्थ्यौं, खान्थ्यौँ । अवश्यमेव कहिलेकाहीँ झगडा र पिटापिट पनि हुन्थ्यो । यस्तै अवस्थामा एक दिन एउटा केटीसँग झगडा भयो । मभन्दा ऊ बलियो थियो र उसले मलाई पिट्न थाल्दा भित्रबाट दिदी दगुर्दै आइन् र मलाई छुटाएर छाती च्यापिन् ।
उनलाई देख्ता त्यो केटो तर्सेर थर्कमान भयो । असङ्गत र लरखरिएका कुरामा आफ्नो सफाइ पनि दिन थाल्यो । दिदीले उसतिर हेरिन् मात्रै, भन्न भने केही पनि भनिनन् ।
दिदीले मेरो हात समाती तान्दै आफ्नो कोठामा लगिन् र ओछयानमा बसेर मलाई आफ्नो काखमा बसालिन्, हामी दुवै चूपसित बसिरह्यौँ । केही पछि मेरो टाउकोमा केही न्यानो थोपा खसेको अनुभव गरी टाउको घुमाई दिदीको अनुहारतिर हेरें । रक्तिन-श्वेत गाला हुँदै आँसु बगिरहे पनि उनका आँखा कुन्नि कुन आसमानमा झुन्डिएका थिए । कदाचित् उनका आँखाबाट बगेका नेत्र-नीरको थाहा उनलाई नै थिएन । अनि मलाई आफ्नो अनुहारतिर टोलाएको थाहा पाएर उनले सारीको फुर्कोले आँखा, अनुहार पुछी मलाई छाती च्यापिन् । हामी निकै बेरसम्म चूप नै बसिरह्यौं ।
आज मेरी तिनै दिदीको अश्रुधीत गाला र रक्तिम अनुहार मभित्र पुनः उद्दीप्त भएको छ, साथै प्रेम देख्तछु, उनको जीउको त्यही श्वेत शुभ्र आभानिहित अन्तर्विह्वल अवलोकनको दृश्यमा उभिन आएकी छ सुन्तली !
सुन्तली नै उभिएकी छ, सुषमाचाहिँ यस पटलमा निःसत्व, निःसार, निरस्तित्व भएकी छ । सम्झँदै छु, यसै नवडाँडाकी फ्याउरी सुन्तलीको धृष्टता र त्यसै अनुदृश्यमा मेरै उनै दिदीको कोमल-कान्त अनुहारको गरिमामहिम मधुरिमा, निधारको नैसर्गिक दीप्ति र अश्रु-सिञ्चित परेलाभित्रका करुण हेराइ ! एउटी बिधुवी युवती र एउटी प्रगल्भ, अविकसित, गाउँले केटीको सादृश्य-विरोध !
मनमा हाँसो पनि उठेको छ, अचम्म पनि लागेको छ। ‘परम’ र ‘नगण्य’ आज दुवै एक जातीय भएका छन्, विपत्ति र क्लेशले आज दुवैलाई एक-लीन पारेको छ; प्रस्ट्याएको छ भने एउटै नारीजाति, नारीको सहिष्णुता महिमा ! उस बखतकी घिनलाग्दी सिंघाने, दुष्ट सुन्तली केटी आज जब बखत पनि मेरो सम्झनामा उन्मुक्त रूपले साधिकार आइबस्ने कुराको कल्पनासम्म पनि त्यस बखत कहिल्यै भएको थियो र ?
अझ मेरी दिज्यूसित त्यस फ्याउरीको, जो आज सुषमाबाला पनि भएकी छ, कुनै सादृश्य तुलना केलाएर पनि कतै पाइन्छ र ? पाइँदैन, पाइने नै होइन । तर आज तिनै दिज्यूको त्यही ‘आभा’ ले नै त्यस सुन्तलीलाई यस परम विमूढ शिवूको हृदयान्धकारमा उजिल्याइदिएको छ । छर्लङ्ग्याइदिएको छ । कुरा चाहिँ अचम्मैको भएको छ ।
छैन र ? निश्चय नै यी कुरा सुन्ने वा पढ्नेहरूले मनमनै हाँस्तै भन्लान् – नारीको आदर महिमाप्रति जतिसुकै जोडसित तिमीले नगरा, झ्याली पिटे पनि तिमीमा नारीको ‘साध्वी’ र मातृत्वचाहिँ श्रद्धेय भएकै कहाँ छ ? त्यही नभएरै त आजको प्रत्यक्ष प्रष्ट सुषमाबालामा सुन्तलीको पुनःप्रतिष्ठा गराउन चाहेका होइनौ र ? कुरा भने त्यही हो त्यही ! अझ त्यतिले पनि नपुगेर यी यत्तिका बाग्जालका सिर्जनासमेत गरेका छौ र चाहिने तागत जुटाउनलाई एउटी सम्मानित घरकी प्रतिष्ठित नारीलाई समेत खालि आफ्नो दिज्यूको नाताले उपस्थित गरी, उभ्याई त्यस हीनाकाङ्क्षालाई ठड्याउने टेवासमेत बनाउन खोजेका होइनौ र ?
कदाचित् यी साराको उत्तर दिन सक्तिन हुँला र आफूलाई अपराधी नै मानी चूप लगाई बस्नै पर्ला । तर यस अपराधले नै आज थुनिएको हृदयस्रोतको जुन मुहान खोली फुक्का पारिदिएको छ र त्यही मुहानको बाटो गरी ममता मोहको जुन पुलक प्रवाह बग्न थालेको छ, त्यसलाई थुन्न सकिने क्षमता पनि यस दुर्बल प्राणीमा कदाचित् कतै पनि छैन ! शिवू महोदय परे ‘शनि’ को दशामा । ‘राहु’ को दृष्टि शत्रु क्षेत्रबाट छड्केरी पर्दै छ । अलमल्ल, एकछिन सोच्नुमा नै बिताएर अनि धर्मेसित भने- रुपियाँ पठाउन खोज्ने कुनै मानिसको चिठी हो क्यारे । कस्तो फोहोरी लेखौट । लेख्नेको नाउँ नै पढ्न सकिएन । जे होस् यति थाहा हुन्छ, तैंले पाउनुपर्ने रुपियाँ पठाउन सकिएको छैन । रुपियाँ कहाँ पठाउने, कुन ठेगानामा के गरी पठाउने भनी सोधिएको छ ।
वाल्ल परेको धर्मे पर बसेको छ । केहीबेरपछि उसले केही भन्न खोज्यो, तर मैले नै भनें, “अहिले जा ! म डुल्न जाँदै । भरेभरे आ । अनि राम्ररी पढेर जम्मै सुनाइदिन्छु ।”
‘हवस् हजुर हवस्’ भनी धर्मे सन्तोषसाथ गयो । बाहिर निस्कें । सुन्तली अन्ततः आई नै लागी यस मूढको अन्तस्मा । बिर्सनु त कहाँकहाँ, सोच्नुपर्ने पो भयो । रुपियाँ गरीब धर्मेले पाउनुपर्ने नै हो । निर्धा बाबुलाई छोरीको मद्दत मिल्छ भने त्यो बिगार्ने, अलमल्याउने झुक्क्याउने म को हुँ ? चिन्तना चल्दै छन् । डुलाइ पनि हुँदै । एक घण्टापछि घर फर्केँ । भरेतिर धर्मे आयो ।
“हजुर, हजुरसित लुकाउनु किन ! सुन्तली मरेकी छैन । कहाँ छ, कहाँ छ ? खालि, वर्षमा एक पटक उसले अलिअलि रुपियाँ पैसा पठाउँदै गरी । फेरि त्यो आउन पनि थामियो । गाउँमा यी कुरा कसैसित मैले भनेको छैन । भन्नु पनि भएन हजुर । हजुरमा भर परेर यो चिठी पढाउन ल्याएँ । मालिकबाट निर्धोको बिगार त कसरी होला ? एउटा जबाफ लेखिबक्सिन पर्यो । रुपियाँ अघिअघि जस्तै गरी पठाए हुन्छ हजुर । एक-दुई महीनापछि नै देश ‘भारत’ जानु नै पर्ला, जान्छु हजुर । देशका साहू ठूलै मानिस हुन् । त्यहाँ मेरो रुपियाँ मासिने होइन । जो निगाह हजुर । गरीबमाथि निगाह रहोस् हजुर । जय होस्, यति उपकार होओस् मालिक… ו”
धर्मेलाई आएको सुन्तलीको चिठीको जबाफ उसले भने जस्तै लेखिदिएँ । आफ्नै हातले मलाई लेख्नुपर्यो । गाउँमा अरूहरूलाई थाहा हुनुहुँदैन, बाँची बसेकी छ । धर्मे पनि यस गोप्यतामा निकै सावधान छ ।
कहाँकहाँ डुल्दै गरेको छु । धर्मेका लागि चिठी लेखिसकेपछि सप्रयास दुई-तीन महिनाजति घरैमा बसें । घरको लागि आयस्ताको उत्तरदायित्वअन्तर्गत चेतनाको मोल चुक्ता गर्न खेतीपाती, बन्दव्यवसाय, लिनुदिनु इत्यादि मध्येका आवश्यक जतिमा लागें । त्यसपछि पनि घरैमा बसिरहन मन लागेन । हाम्रो देश र देशका पहाडी गाउँ । बस्नुपर्ने, बस्न सकिने… के-कतिको अभाव लाग्छ । तर यो मेरै प्रकृति होला । अरू सारा बसेकै छन् । मेरै परिवारका पनि कति छन् कति ! सम्मिलित कुटुम्ब, भरिभराउको गृहस्थी; सारा थोक लिएरै बसेका छन्, अस्थिर, कार्यरत, आम्दानीप्रति सचिन्त इत्यादि !
घरमा सूचित गरें, आयअनुसार व्ययबेहोराका खर्च उपलब्ध गरें । लुगाकपडाको सुटकेस र यात्रा प्रारम्भ । मेरो शिक्षास्थल हो- शिलाङ । त्यहाँ मेरा एक जना पारिवारिक नातादार आफन्त छन् । नाउँ हो नारायणप्रसाद अधिकारी । धेरै अघि उनी नवडाँडाबाटै विदेश लागेका थिए र शिलाङ पुगी समाते गो-पालन र दुग्ध पर्दाथको व्यवसाय । उनका प्रेरणामा मेरो शिक्षा त्यहीँ भयो । मेरो चिरपरिचित ठाउँ भयो शिलाङ !
शिलाङमा दार्जीलिङको सम्झना नहुने होइन । केटाकेटी रहेका बखत शिलाङ छँदा दार्जीलिङ हाम्रो रमाइलो ठाउँ हुन्थ्यो । कुनै पनि बिदामा दार्जीलिङ, पुग्नु सुखद हुन्थ्यो । तर यसपालि शिलाङमा बसी दार्जीलिङलाई नसम्झने प्रयास नै मेरो अन्तरप्रक्रिया भनौँ प्रचेष्टा भयो । अझ मनभित्र कुनै प्रचेष्टा पनि चल्दै छ भन्ने कुरा पनि प्रष्ट हुन पाएको थिएन । हुन पाएको किन हुन दिइएको थिएन । तर यसै प्रचेष्टा, प्रयासमा नै कुनै त्राहित्राहि पनि निहित यात्रा-क्रम-परिबद्ध थियो क्यारे ।
एक दिन शिलाङको एक जना धेरै पूर्वपरिचित साथी मैले बसेकै डेरा, डेरा किन यसलाई मेरो घर भने पनि हुन्छ, मा बिहानै आइपुग्यो, ठीक जलपानादिकै बखत । खुशी नै लाग्यो । त्यस घरमा दुग्ध परिकारका लागि, स्वभावतः निहित रहने व्यय-चेतनात्मक चिन्ता नै अस्वाभाविक भएको थियो । अतएव हामी बेस्करी खायौँ । त्यसमाथि असमको चियापान उत्तेजक पनि भयो र कुरैकुरामा साथीले सोध्यो- “दार्जीलिङ गएनौ ? आउँदा सोझै आएको कि ? अचेल त्यहाँको हाम्रो नेपाली समाजमा एउटा अनौठो व्यस्तता व्याप्त छ !”
अप्रत्याशित र अनिच्छित दुवै कुरा आफैं आई उभेँ । यस्ता कुराका लागि झर्को लाग्नुपर्ने मनस्थिति स्वयंमै उपस्थित राखिछोडेको पनि झर्को लाग्दै लागेन । अझ साथीसित सोधें पनि, “कुन खालको व्यस्तता… ?”
‘बङ्गाल प्रदेश हो न दार्जीलिङ ? हामीले पारिराखेजस्तै र हामी भएर नै त्यो नेपाल त हुन सक्तैन नि ! दार्जीलिङ हो बङ्गालको प्रदेश र शिलाङ हो आसाम, अर्थात् हिन्दुस्तान !’ भनेर ऊ अलिक घोरिए जस्तै चूप लाग्यो ।
“कुरा प्रष्ट पार न ! कुनै पनि अर्थ लागेन, बुझ्न सकिन्छ र ?”
“हो, सकिँदैन । एक जना, होइन, एउटा बङ्गालीले एउटी नेपाली केटीलाई, त्यो मेरी स्वास्नी हो भनेर, जबरजस्ती कलकत्ता लान खोज्दा निकै उत्पात चलेको छ । दार्जीलिङ बङ्गालीहरूको सिलिगुडी त होइन नि !”
“नेपाली केटी कोहीको बङ्गालीसितको दाम्पत्य उत्पातको विषय कसरी भयो ?”
“यी कुरा म जान्दिनँ । उत्पात भएको पक्कै छ । निकै उत्तेजना । एजिटेसन त्यहाँका नेपालीहरूले सँगालेका छन् । होलान् बङ्गाली, होलान् हिन्दुस्तानी, दार्जीलिङ हामी नेपालीहरूको बसोबास हो, हाम्रो प्रदेश हो । हाम्रो समाजको अपमान गर्ने हिम्मत बङ्गालीले गरोस् त…?”
अझै पनि केही थाहा पाइएन । प्रष्ट कुरा गरे हुन्न कि ? यत्तिको उत्तेजना केको लागि ?…
तर वस्तुतः साथीलाई पनि कुनै पूरा कुरा थाहा थिएन । दार्जीलिङमा उत्तेजना, बङ्गाली र नेपालीहरूमा उठेको कुरा अवश्यमेव थियो । अन्ततः हामी दुवैले यो कुरा छोडी अन्य साना-ठूला कुरा, स्थानीय नेपाली समाजका कुरा इत्यादिबारे चर्चा गरौं । साथी गयो ।
अनेकन बनावटी काममा आफूलाई लगाउन थाले । दिन जति गरे पनि बित्न छोडे जस्तै भयो । मित्रलाई रिक्त राख्ने चेष्टामा असावधान छैन । तैपनि कुतकुती लाग्न छोड्दैन । दार्जीलिङमा केको उत्पात ? नेपाली केटीलाई बङ्गालीले पत्नी भनेर कलकत्ता लान खोज्दा उत्पात भयो, उत्तेजना भयो । हुन त सुन्तलीबाटै अलिअलि थाहा पाएको हुँ, कुनै भूतपूर्व बङ्गाली जिमीदारकी कान्छी छोरीसँग सुन्तलीकी अभिभाविकाले उसको सम्बन्ध लगाइदिएकी थिइन्… । तर पछि के भयो ? सुन्तली दार्जीलिङमा कसरी पुगी ? कथाक्रम भङ्ग छ । तर सुन्तलीले त अर्कै व्यवसायमा आफूलाई लगाएकी… ।
मनको कन्चटमा कसैको एउटा चड्कन बजेको अनुभूत भयो । अनि, अनि केही दिनपछि नै कुनै नियतिले अर्को जोर लगायो । साथीले आएर चिया जलपान जम्मै सिध्याई जर्मन सिलवरको एउटा बट्टा झिक्यो र त्यसमा राखेको असमिया पानमा अलिक चुना पोत्यो र एक टुक्रा काँचो गुवा सुपारी, जर्दासमेत राखी मुखमा हुली बस्यो । दुई मिनेटमा उसको अनुहार रातो भयो र पसिनाजस्तै निधारमा पनि
केही कण टल्के । अनि उसले प्रारम्भ गर्यो- “दार्जीलिङ पनि कस्तो ठाउँ हो । त्यो केटीचाहिँ बङ्गाली केटी पो त ! खालि दार्जीलिङका नेपाली बङ्गालीहरू बस्ने एउटा बदनाम टोलमा आई बसेकीले मात्रै त्यसलाई नेपाली मानेर त्यति झैझगडा उठाइयो । अझै पनि कुरा शान्त भएको छैन । बिचरी बङ्गालीले भन्दै छ यो मेरी स्वास्नी हो । नेपालीहरूले त्यसलाई ‘नेपाली केटी’ भन्दै मान्दै नमान्ने ! तर उही बङ्गाली आइमाई नै । उसको नाउँले नै थाहा पाइन्छ त्यो बङ्गालिनी हो… इत्यादि ।”
केटीको नाउँले नै ऊ बङ्गालिनी हो भनी थाहा हुने कुरा सुनेर आश्वस्त भएँ । मनको उपद्रवले दुःख दिन पाउँदैन, कुनै उत्पातमा अल्झिनु पर्दैन क्यारे !
अनि निकै उत्साहसाथ साथीसित गफसफमा लागें । अनेकन कुराका चर्चा भए । कुरैकुरामा दार्जीलिङतिर डुल्न जाने योजनाको प्रारम्भिक चर्चा पनि भयो । त्यहाँका बङ्गाली-नेपालीको वर्तमान झैझगडा केकस्तो हो, जम्मै कुरा थाहा पाउनै पर्यो । हामी नेपाली हौं, विदेशमा सामूहिक रूपले एकजुट नभई नबसे वा कुनै अप्ठेरोको सामना सम्मिलित रूपले गरिएन भने सारा हेप्छन्, थिचोमिचोमा पर्नुपर्छ, अस्तित्व नै लोप हुन्छ । कुरामा आवेग उद्वेग पनि कम्ती थिएन ।
दार्जीलिङ पुग्दा रात परेकाले यस पालि कुनै डेरामा नबसी होटेलमा नै बसें । चार-छ दिन मात्रै त बस्नु हो नि ! खर्च नै कति हुने हो ? भोलि बिहानै डुल्न निस्केपछि थाहा पाई नै हालिन्छ…, त्यो केटी कस्ती हो जसको चर्चा शिलाङसम्म पुग्यो । बङ्गालिनीलाई नेपाली भनेर यत्तिका उपद्रव कसरी भए ? तुलमुल अनेक छन् । तर आजै राति त म कोठाबाहिर निस्कने होइन । थाकेर चुर भएको छु । सुत्नुपर्छ ।
होटेलको डाइनिङ हलमा नै भोजन गरें । कोठामा सुत्न पुग्दा नौ बजेको थियो । मगजमा कुनै किसिमको तुलमुल पस्न नपाउने अठोटसाथ सुतें । निद्रा पनि पर्यो । मस्त निद्रासाथ सुतें । बिहानको शय्या-चिया ल्याउने बेयराले कोठाको ढोकामा खटखट गर्दा बिउँझेँ । ‘ल्याउनुस्’ भनेर पनि ओछ्यानमा पल्टिरहेँ ।
बाँकी अर्को साता…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

