घर
सम्झनाका गल्ली आज
मसानघाटजस्तै बन्दैछन्
हिँडेका बाटाहरू, रमाएका ठाउँहरू
अन्जान अपरिचित भएर बसेका छन्

यादकै पाना पल्टाउन पनि यो मस्तिष्क
मसँग घुस लिँदैछ
त्यो घर
याद र चाहनाहरूबीच
एकलकाँटेझैँ ठिङ्ग उभिएको छ
उप्किएको भित्ता र छानोले आफ्नो सामर्थ्य हराइरहेको
बीच त्यो आँगनमा सानो आशाको त्यान्द्रो बलिरहेछ

यो घर मेरो आशा हो, भरोसा हो, विश्वास हो
मेरा आमाबुबालाई एउटै फ्रेममा कैद गरिराख्ने क्यामेरा हो
म र मेरी दिदी मिलेर लुकामारी खेल्ने
सानी पुतलीको ठूलो महल हो

मैले पाएका, गुमाएका विचित्रका सपना देख्ने ठाउँ हो यो घर
मेरा बाआमाका हरेक समस्याहरू समाधान गर्ने न्यायालय हो घर
वर्षौंदेखि !
बाको निधारको पसिना र आमा संघर्षका सपनालाई बचाई राख्ने ठाउँ हो
मलाई मेरो मीठो सपनाको धुरी चढाइदिने ठाउँ हो
हरेक बिहान कसैको नजर नलागोस् भनेर मेरी आमाले लगाई राख्ने
आँखाको गाजल हो घर
मलाई मेरो पखेटा बिनाका सपनाहरूमा एकनासले उडाई राख्ने
अनि मलाई, म बन्नुमा प्रेरणा दिने न्यानो छहारी हो

तर आज
त्यहाँ
न मेरा सपनाका चप्पल पड्किन्छन्
न मेरो आवाज नै सुनिन्छ
एक्लै एक्लो छ
म बिनाको मेरो घर

फेरि पनि हाम्रै सपना र आमाबुबाको ज्यान बोकेर हिँडेको छ
हामीले घरभन्दा टाढा, सुख पाको हो, वा बाआमाको निधारले
हाम्रो सपना फराकिलो देख्न थालेका हुन्

तर
आज फगत
त्यो घरको सपनाले मेरो घाँटी दबाउन आउँछ
लाग्छ, साँच्चै घर ढुङ्गा र माटोले मात्रै बनेको हुँदैन रहेछ
घरलाई बलियो जगले मात्रै काँध थापेको हुँदैन रहेछ
प्लास्टर उप्किसकेको घरमा
यादहरू लिसो जसरी टाँसिइरहन्छन्
लाग्छ, म मुस्कुराउन थालेपछि, फेरि मेरो घरले नयाँ रङ भर्थ्यो कि
सपनीमा आउने ती जूनकीरी जसरी ।