बिहीबारदेखि नेटफ्लिक्समा झरेको स्क्विड गेमको दोस्रो सिजनले चर्चा बटुल्न थालेको छ । नथालोस् पनि किन, यसले पहिलो भागको लोकप्रियतालाई कायम राखोस् भनेर निर्माण समूहले राम्रो हल्लीखल्ली मच्चाएका छन् ।
लस एन्जल्समा गएको साता ‘स्क्विड गेम’ हेर्ने कार्यक्रम राख्दा १६ सय सर्वसाधारणले दौड प्रतियोगितामा भाग लिए । उनीहरूले साढे चार किमि दौडिएर ‘स्क्विड गेम’को अनुभूति पनि लिए ।
पेरिसमा नेटफ्लिक्सले आयोजना गरेको एउटा कार्यक्रममा २० हजार दर्शक भेला भए । तीमध्ये एक हजार जनाले बालबालिकाहरूले खेल्ने रेड लाइट, ग्रीन लाइट खेलमा सहभागिता जनाए ।
उता दक्षिण कोरयाली राजधानी सिओलमा पिंक ड्रेसमा भेला भएकाहरूले एउटा कन्सर्ट आयोजना गरेर स्क्विड गेमको नक्कल गरे ।
यी सारा क्रियाकलाप शुक्रबारबाट संसारभर नेटफ्लिक्सले रिलिज गरेको स्क्विड गेमको दोस्रो सिजनको प्रचारका लागि थियो ।
सन् २०२१ सेप्टेम्बरमा क्क्विड गेमको पहिलो सिजन नेटफ्लिक्समा आउँदा संसारभर तहल्का नै मच्चाउन सफल भएको थियो । कसैले पनि कोरियाली यो शृंखलाले यति व्यापक दर्शक पाउला भनेर कल्पेको थिएन । त्यो बेला पूरा शृंखलाले २ अर्ब ८० करोड भ्युज पाएको थियो । यो संख्या भनेको नेटफ्लिक्सको इतिहासमै सबैभन्दा बढी हेरिएको शृंखला वा फिल्म थियो ।
यो यति हिट भयो कि यसका प्रशंसकहरूले त शृंखलामा देखाइएजस्तो पहिरन किन्न थाले, आफैँ डिजाइन गर्न थाले । पुमाले हरियो ट्रयाक सुट बनाउन थालेको छ । स्क्विड गेमको भिडियो गेम बालबालिकाहरूले खेल्न थालिसकेका छन् । म्याक्डोनाल्ड अस्ट्रेलियाले त स्क्विड गेम खाजाको मेनु नै तयार पारेको छ । बालबालिकाहरू पनि आँगनमा त्यो पुरानो खेल रेड लाइट, ग्रीन लाइट खेल्न थाले । यो हिसाबको लोकप्रियता स्वयं नेटफ्लिक्सले पनि सोचेको थिएन ।
ह्वाङ दोङ ह्युकले एक दशकसम्म स्क्विड गेमको भ्रूण राखिरहेका थिए । फिल्ममेकिङमा लाग्दा आफ्नै आर्थिक संघर्षले उनलाई यति पिरोल्यो कि पैसा हुने र नहुनेबीचको प्रस्ट फरक उनले देखे । दक्षिण कोरियाले संसारभर व्यापारमा नाम त राखिरहेको थियो तर आम जनता भने दिनदिनै खानेपिउने संघर्षमै थिए । यही भावनालाई उनले शृंखलामा पस्किएका थिए ।
जर्ज मेसन युनिभर्सिटी कोरियाका सांस्कृतिक अध्ययनका प्राध्यापक ली ग्यु ताङ भन्छन्, ‘स्क्विड गेमले संसारभर कोरियाली फिल्मप्रति रूचि जगाइदियो र निकै ठूलो प्रभाव पारिदियो ।’
त्यही प्रभावलाई पुनः भुट्न नेटफ्लिक्सले पुराना शृंखला पनि हेरून् भनेर व्यापक स्तरमा विज्ञापन गरिरहेको छ । संसारभरका दर्शकले संसारका कन्टेन्ट त हेर्न चाहन्छन् नै आफ्नै देशका आफ्ना कथा पनि हेर्न चाहन्छन् । त्यहीअनुरूप कम्पनीले संसारभरका विभिन्न मुलुकमा कार्यालय स्थापना गरेर स्थानीय कन्टेन्ट विकसित गर्ने नीति लिएको थियो । सोही नीतिअनुरूप क्स्विड गेम बन्नुअघि मेक्सिमामा क्लम डि कर्भोस् बनाइएको थियो । त्यसपछि स्पेनी भाषाको डकैती ड्रामा ला कासेल डि पापेलको अहिलेसम्म पाँच सिजन आइसकेको छ । यसले ६.७ बिलियन भ्युज पाइसकेको छ ।
यो मोडलले काम गरेको भन्दै उसले संसारका २६ देशमा कार्यालयहरू स्थापना गरेको छ । नयाँ ग्राहकहरू पनि तिनै देशहरूबाट थपिएको थपियै छन् ।
नेटफ्लिक्सको यो नीतिले अन्य कम्पनीको तुलनामा यसलाई निकै अगाडि पुर्याएको छ । दर्शक बटुल्ने दौडमा अन्य सारा प्रतिस्पर्धीलाई उसले निकै पछाडि छाडेको छ । त्यसलाई सम्हाल्न अमेरिकी कम्पनी सिनेम्याक्स र एबिओको म्याक्स एपलाई हालै बजारमा ल्याएको छ । अमेजन प्राइम प्रतिस्पर्धामा जम्न नसकेपछि उसले दक्षिण एसियाली व्यापार युनिटलाई जनवरीबाट बन्द गर्दैछ ।
धेरैजसो स्ट्रिमिङ कम्पनीले डिज्नेको बाटो समातेका छन् । डिज्नेको फिल्म र टेलिभिजन शो बनाउने र त्यसलाई संसारभरका दर्शकसँग जोड्ने यो नीति निकै सफल छ ।
जुन स्तरमा स्क्विड गेम सफल भयो, त्यसको आशा निर्देशक ह्वाङलाई त थिएन नै, नेटफ्लिक्सलाई पनि थिएन । उनले त एमी अवार्ड नै जितेर कोरियाली फिल्म तथा टेलिभिजन मेकरको आरिससमेत बटुले । यति हिट शृंखलाको अर्को भागको कथा न त ह्वाङसँग थियो न त नेटफ्लिक्सले नै यसबारेमा केही सोचेको थियो । जबकि पहिलो शृंखला बनाउँदै अधिकांश अवस्थामा दोस्रो-तेस्रो सिजनको तयारी भइसकेको हुन्छ ।
यतिबेला नेटफ्लिक्समा झरेको दोस्रो सिजनका सात भाग लगत्तै तेस्रो सिजन पनि आउने बताइएको छ । यो तेस्रो सिजनपछि कथा सकिनेछ ।
दोस्रो सिजन रोचक बन्न पुग्नुको एउटा कारण संसार दुई भागमा विभक्त भएझैँ यहाँ पनि स्क्विड गेम रोक्न चाहने र खेल जारी राख्ने समूहबीचको द्वन्द्वले हो । संसार नै दुई खेमामा छ । जसले जे भन्छ, अर्को खेमालाई त्यो विरोध गरिहाल्नु पर्ने लाग्छ । जायज र नाजायज, इमान धर्म, यस्ता कुराको केही मतलब छैन भन्ने यसमा देखाइएको छ ।
पत्रकार सम्मेलनमा स्क्विड गेमका प्रमुख कलाकार ली जङ जेले भनेका छन्, ‘अमेरिकामा दुई खेमा जातिवादमा छ, कोरियामा लैंगिक छ, मध्यपूर्वमा धर्म छ, त्यस्तै यहाँ पनि खेल खेल्न चाहने र नचाहनेबीचको द्वन्द्व देखाइएको छ । मान्छेले आफैँ त्यो खेलमा सहभागी भएझैँ महसुस गर्ने छन् । यही कुराले स्क्विड गेमको नयाँ शृंखलालाई पनि दर्शकले मन पराउने छन् ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










