कुनै बेला धनीमानी, हुनेखाने र ज्ञानप्रति चासो राख्ने हरकोहीको घरमा ब्रिटानिका इन्साइक्लोपेडिया (विश्वकोश) को सेट नै दराजमा सजिएको हुन्थ्यो । ब्रिटानिका कम्पनीले ज्ञानको क्षेत्रमा काम गर्न थालेको २५० वर्ष भइसकेको छ । इन्टरनेटको दुनियाँमा जब सूचनाको बाढी आउन थाल्यो, यो कम्पनी अब डुब्ला र तब डुब्ला भन्ने अवस्थामा थियो । त्यसमाथि त इन्टरनेटमा सित्तैमा सूचना पाउन सकिने विकिपेडियाको शुरूवातपछि त पैसा हालेर ब्रिटानिकाको विश्वकोश कसले किन्ला र भन्ने सोचिरहेका थिए ।

हुन पनि सन् २०१२ मा ब्रिटानिकाले आफ्नो अन्तिम प्रकाशन भनेर प्रिन्ट निकालेको थियो । त्यसयता उसले विश्वकोश छाप्न छाडेको छ ।

सबैले अब यो कम्पनीले आफूलाई कसरी जोगाउला भन्ने हेरिसबेका थिए ।

ब्रिटानिका ग्रुपले यतिबेला वेबसाइट ब्रिटानिका डटकम र अनलाइन डिक्सनरी मेरियम वेब्स्टर डिक्सनरी चलाउँछ । साथै, विभिन्न विद्यालय तथा पुस्तकालयहरूलाई केन्द्रित गरी सफ्टवेयर बेच्ने गर्छ । पछिल्लो समय त उसले आर्टिफिसियल इन्टेलिजेन्स एजेन्ट सफ्टवेयर पनि चलाउन थालेको छ । उसले यो एआई सफ्टवेयर विभिन्न स्कूल, कलेज तथा पुस्तकालयहरूले उपयोग गर्छन् ।

सूचनाको बाढीको युगमा ब्रिटानिकाले आफूलाई जोगाउनु एउटा आश्चर्य बन्न पुगेको छ । यो कम्पनी यतिबेला आफ्नो अस्तित्व जोगाउने मात्र नभई आर्थिक रूपमा कंगालीबाट माथि उठेर एउटा सबल कम्पनी बन्न पुगेको छ ।

ब्रिटानिका ग्रुपका प्रमुख कार्यकारी अधिकृत जर्ज काउज

यो कम्पनीको सबलताले ज्ञानमा आधारित कम्पनीहरूले आफूलाई सित्तैको सूचना युगमा कसरी नाफा कमाउन सकिन्छ भन्ने पाठ पढाउन थालेको छ ।

अहिले यसको चर्चा हुनुको कारण भने, यसलाई एउटा ठूलो विश्वस्तरको कम्पनीका रूपमा अघि बढाउन कम्पनीका प्रमुख कार्यकारी जर्ज काउजले सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरिरहेका छन् । काउजले कम्पनीको एक अर्ब डलर बराबरको भ्यालुएसन गराएका छन् ।

यो कम्पनी यतिबेला स्वीट्जरल्यान्डका लगानीकर्ता जेकब इ. साफ्रा ले सन् १९९५ मा किनेका थिए । त्यो बेला कतिमा किनेका थिए, खुल्न नसके पनि करीव ५० करोड डलर छेउछाउमा किनिएको विश्वास गरिन्छ ।

अहिले ब्रिटानिकाको वेबसाइटमा वार्षिक सात अर्ब पेज भिजिट गरिन्छ । यसलाई संसारभरका १५० देशबाट हेरिन्छ । सूचनाको भिडमा विश्वासिलो जानकारी छुट्याउन ब्रिटानिकामा छिर्नेहरूको लर्को देखेर प्रमुख कार्यकारी काउज मख्ख छन्, भन्छन्, ‘हामीले यति धेरै पाठक त यसअघि कहिल्यै पनि पाएका थिएनौँ ।’

२५० वर्षअघि स्कटल्यान्डका तीन जना सूचना तथा जानकारी छापिरहेका प्रकाशकहरूले संयुक्त रूपमा इन्साइक्लोपेडिया ब्रिटानिकाका रूपमा काम शुरू गरेका थिए । पछि त यो ज्ञानको व्यापारमा सबैभन्दा अगाडि हुन पुग्यो । सन् २०१० को अन्तिम ३२ भागको संस्करण निस्कँदा ६० केजीको किताब तयार भएको थियो । यो विश्वकोश तयार पार्न हजारौँ विशेषज्ञहरूको मिहिनेत लागेको छ । र, सबै ३२ भागको ब्रिटानिकाको मोल एक हजार ४ सय डलर पर्थ्यो ।

सन् २००५ देखि विकिपेडियाले सित्तैमा हजारौँ सूचना सित्तैमा उपलब्ध गराउन थालेपछि विश्वकोश बेच्ने संसारभरिका सबै कम्पनीलाई ठूलो धक्का लाग्न थाल्यो । ब्रिटानिकाले पनि त्यस्तै धक्का महसूस गर्यो । विकिपेडियामा हजारौँ सम्पादकहरूले सित्तैमा सूचना र जानकारीहरू थप्न थालेपछि पुरानो ज्ञानको बिजनेस मोडल ध्वस्त भयो ।

त्यसलाई नयाँ मोडलमा विकास गर्न ब्रिटानिकाले आफ्नै विश्वकोशको वेबसाइट तयार पार्यो । उसले विभिन्न स्कूलहरूलाई बेच्न शैक्षिक सफ्टवेयरहरू बनायो । अहिले जब जेनरेटिभ एआई टूलहरूका कारण ज्ञानको क्षेत्रमा काम गरिरहेका कम्पनीका लागि अझ ठूलो अवसर सिर्जना हुन थालेको प्रमुख कार्यकारी काउजको धारणा छ ।

ब्रिटानिकाको इजरायल र अमेरिकामा दुई ठाउँमा मुख्य प्राविधिक काम हुन्छ । तिनले सन् २००० देखि एआईमाथि काम गरिरहेका थिए र अहिले त्यो ज्ञानको भण्डार काम लागिरहेको छ ।

पछिल्लो समय च्याटजिपिटीको लोकप्रियतासँगै सबैभन्दा ठूलो समस्या सत्यतथ्य केलाउनु रहेको छ । च्याटजिपिटीले अप्रशोधित, असम्पादित, कुतथ्याङ्क र हावा कुराहरूसमेत लेखेर तयार पारिदिने भएकाले त्यसको सत्यतथ्य कसरी जाँच्ने भन्ने समस्या संसारभरिका प्रयोगकर्ताहरूलाई भइरहेको छ । यस्तोमा ब्रिटानिकाले च्याटजिपिटीजस्तै सुविधा दिइरहेको छ । यसले पनि उसको लोकप्रियता चुल्याउन थालेको छ ।

सूचनाको सत्यतथ्य जाँच्ने काम सधैँ गाह्रो हुन्छ । त्यस काममा ब्रिटानिकाको विज्ञता दुई सय वर्षदेखिकै भएकाले उसलाई यस क्षेत्रमा स्थापित गराइरहेको छ ।

यही एआई मोडल ब्रिटानिकाले मरियम वेबस्टर डिक्सनरीको वेबसाइटमा पनि प्रयोग गरिरहेको छ । यो वेबसाइटलाई कम्पनीले विद्यार्थी र शिक्षकहरूका लागि अङ्ग्रेजी लगायत विश्वका सबैजसो भाषा सिक्न उपयोग गर्न सकिने गरी कस्टमाइज गर्न थालेको छ । व्यक्तिको आफ्नो रूचि र आवश्यकताअनुसार संसारभरिका भाषा (कथ्य र लेख्य) सिक्न सकून् भनेर डिजाइन गर्न थालेको छ ।

संसारभरिका विद्यार्थी र शिक्षकहरूको सिकाइमा सन् २०२० मा संसारभर शुरू भएको कोभिड १९ रोग र त्यसले निम्त्याएको बन्दाबन्दीले निकै ठूलो प्रभाव पार्यो । त्यो बेला ज्ञान र सिकाइको खोजीमा मानिसहरूले इन्टरनेटकै मुख ताक्नु परेको थियो । यही बेला ब्रिटानिकाले मरियम वेबस्टर वेबसाइटलाई सिकाइको थलोमा परिणत गर्न थालेको थियो ।

जति जति सत्यतथ्यप्रति सर्वसाधारणको जागरूकता बढ्दै जान थाल्यो, ब्रिटानिका र मरियम वेबस्टरको लोकप्रियता उति बढ्न थाल्यो । कम्पनीले सन् २०२२ मा १० करोड डलर आम्दानी गर्ने लक्ष्य राखेकामा झन्डै दोब्बर आम्दानी गरेर सबैलाई जिल्याइदियो ।

यो आम्दानी अझ बढाउन उसले भारत, ब्राजिल र थाइल्यान्डमा कम्पनी स्थापित गर्दै संसारभर पाइला फैलाउन खोजिरहेको छ ।

तर कम्पनीको सफलताको बाबजुद पनि अमेरिकी शेयर बजारमा यसको आईपीओ जारी गर्न सहज होला त ? सन् २०२५ को जनवरीमा यो कम्पनीको साधारण शेयर जारी गर्ने प्रयास हुँदै गर्दा त्यसको शेयर खरीद गर्ने उत्साह सर्वसाधारणमा कति होला ?