सिनेमामा संवाद् जरुरी छ, त्योभन्दा धेरै जरुरी कुरा हो चित्र वा आकृति ।

सिनेमालाई सस्वर प्रस्तुत गर्ने कला सन् १९२७ पछि मात्र विकास भयो त्यसअगि सिनेमाले आवाज पाएको थिएन । आवाज दिने क्रममा दोस्रो विश्वयुद्ध पछि युरोप र अमेरिका सिनेमाले झन धेरै प्रगति गर्यो ।

इटालीको नवयथार्थवाद र फ्रान्सको नौलो धारलाई दक्षिण एशियाई मुलुकमा भारतका फिल्ममेकरहरुले सीधै ग्रहण गर्न थाले । यस समय बनेका सिनेमाको असर भारतीय सिनेमामा सन् साठी र सत्तरी दशकमा भारतमा देखियो । भारतमा सत्यजित रे , चेतन आनन्दलाई छोडेर पछिल्लो समय यो प्रभावलाई स्वीकार्ने निर्देशकमा दक्षिण भारतमा अडूर गोपालकृष्णन्, जी कसरावल्ली , वी वी कारन्त , गिरीश कर्नाड आदि देखिए ।

भारतको मूलधारको सिनेमामा व्यावसायिक सिनेमा बनाउने गुलजार, बासु भट्टाचार्य , बासु चटर्जी, ऋषिकेश मुखर्जी बाहेक अर्को धारमा आए, श्याम बेनेगल ।

भारतको महाराष्ट्रको नजिकै कोकणी परिवारमा जन्मेका श्याम बेनेगलले हिन्दी सिनेमा परिवर्तन ल्याए, जसलाई समानान्तर सिनेमाको नाम दिइयो । विज्ञापन र रेडियो जिङ्गल बनाएर ब्लिट्ज मार्फत् निर्देशकको रुपमा आएका बेनेगल उनका आफन्त पर्ने फिल्म निर्देशक गुरुदत्तबाट प्रभावित र प्रेरित थिए तर उनले गुरुदत्तका सहायक वा अनुयायी भएर कहिले काम गरेनन् । फोटोग्राफी पिताका छोरा श्याम बेनेगल पहिलो पटक ‘अङ्कुर’ फिल्ममार्फत् निर्देशक भए । उनले आफ्नो निर्देशनको पहिलो फिल्ममा कवि एवम् शायर शबाना आजमीलाई नायिकाको रुपमा लिए , पहिलो फिल्ममा साइन गरेकै बेला शबानालाई ‘म तिमीलाई अर्को फिल्ममा पनि लिन्छु भनेका थिए ।

उनको यो कुरा सुनेर भर्खर सिनेमामा आएकी शबानाले पत्याएकी थिइनन्, उनले आफ्नी आमा शौकत कैफीलाई भनिन्, ‘खै कस्तो मान्छे हो ? एउटा फिल्म नबन्दै अर्कोमा पनि लिन्छु भन्छ, बन्डलबाज हुन् कि ?’

शबानाको यो शङ्का त्यतिबेला धूमिल भयो जब उनलाई श्याम बेनेगलले तुरुन्तै अर्को फिल्म ‘निशान्त’मा पनि लिए ।

श्याम यसअर्थमा नयाँ पुस्ताका लागि गडफादर सावित भए ।

त्यतिबेला भर्खरै पूणेस्थित एफटीआईआईमा निर्देशकका रुपमा गिरिश कर्नाड नियुक्त भएका थिए । उनले सन् १९७४ को ज्यानवरीको प्रथम दिनदेखि यो पद सम्हाल्नु अगि त्यहाँ जगत मुरारी र जे एन दीक्षित निर्देशक भइसकेका थिए ।

कर्नाडको हातमा यो संस्था आएपछि एक दिन त्यहाँ अभिनय पढ्ने विद्यार्थी नसीरुद्दीन शाहले उनलाई प्रश्न गरे, ‘म जस्तो सामान्य कदकाठीको मान्छेले अभिनय पढेर बम्बई गएर कसरी फिल्ममा काम पाउनु ?’

नसीरलाई उनले दिएको जवाफ यस्तो थियो , ‘बम्बई गएर तिमीले कसैसित काम पाएनौ भने पनि श्याम बेनेगललाई गएर भेट्नु उसले काम दिन्छ ।’

नसीरलाई मात्र होइन, उनका समकक्षी सबै साथीलाई त्यो उत्तर रामवाण भयो । नसीर उनका साथी जसपाल, ओम पुरी सबैलाई पछि श्याम बेनेगलले फिल्ममा आउन मौका दिए ।

शबाना, नसीर, ओम पुरी, जसपाल बाहेक स्मिता पाटिललाई पनि बेनेगलले नै फिल्ममा ल्याए । उनी सबैका प्रिय श्यामबाबू बने ।

तिनै श्यामबाबूले पछि सोनी राजदान, इला अरुण, अनीता कँवर, हरिश दफ्तरे, आदित्य भट्टाचार्य सबैलाई ‘मण्डी’ नामक सिनेमा मार्फत् एक विशिष्ट परिचय दिए ।

श्यामबाबू बलिऊड भनिने महाराष्ट्रको व्यवासायिक फिल्म जगतका निम्ति चुनौती भए । उनले सन् १९७७ मा बनाएको ‘भूमिका’ भन्ने सिनेमामा बलिउडका मात्र नभए भारतकै विख्यात कलाकारहरुलाई एकै ठाउँमा ल्याए , मराठी रङ्गमञ्चका अमोल पालेकर, हिन्दी रङ्गमञ्चका अमरीश पुरी, मराठी टेलिभिजनकी समाचारवाचिका स्मिता पाटिलसँगै नसीरुद्दीन शाह, ओम पुरी सबैलाई भेला गरे । यही फिल्मबाट स्मिता र श्यामबाबूका बीच गज्जबको घनिष्ठता बन्यो ।

मराठीभाषी गायिका हंसा वाडेकरको जीवनीमा आधारित यस फिल्ममा श्यामबाबूले श्यामश्वेत युगको झलकलाई पर्दामा उतारेका थिए । यो आजको अर्थमा एक सफल बायोपिक हो भन्न सकिन्छ ।

स्मिता पाटिल र शबाना आजमीलाई एक प्रतिस्पर्धीका रुपमा महेश भट्टको ‘अर्थ’ फिल्मबाट हेर्न थालियो तर श्यामबाबूले बनाएको ‘मण्डी’मा दुवैको भूमिका समानान्तर भएको कारणले मात्र नभई महत्त्वका रुपमा दुवैको उपस्थिति शक्तिशाली थियो ।

श्यामबाबू यी दुवै नायिकाका निम्ति एक असल अभिभावक रहे । यी दुवै नायिकालाई लिएर उनी एकपटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव क्यान्स फिल्म फेस्टिभलमा गए । त्यो चर्चा पनि निकै रह्यो ।

सिनेमालाई सफ्टपावरका रुपमा स्वीकार्ने श्याम बेनेगल सत्यजित रे र ऋत्विक घटकपछि दोस्रो पुस्तालाई प्रतिनिधित्व गर्थे । सिनेमामा उनको आफ्नै किचेन केमेस्ट्री थियो, क्यामेरामा गोविन्द निहलाणी अनि आफ्ना सहायक निर्देशकमा गोविन्दका भाइ दयाल निहलाणी । संवाद् लेखनमा शमा जैदी, जावेद सिद्दीकी हुन्थे भने सङ्गीतमा वनराज भाटिया, अजीत बर्मन नियमित रहे ।

रस्कीन बण्डको कथामा उनले ‘मण्डी’ बनाए भने, ‘अंकुर’, ‘निशान्त’ र ‘चरणदास चोर’ उनले आफ्ना प्रारम्भिक चरणमा सार्थक यात्राको शुरुवात माने ।

साहित्यकार इस्मत चुगताई, नफीसा अलीलाई उनले निर्माता शशि कपूरका निम्ति बनाएको फिल्म ‘जुनून’मा काम गराए भने कयौँ वर्षदेखि सिनेमाबाट हराइरहेकी नायिका लीला नायडूलाई पुनः ‘त्रिकाल’मा प्रस्तुत गरे ।

सिनेमामा महिलामाथि स्वच्छन्द बहस गर्न मन पराउने निर्देशक श्याम बेनेगलले पछिल्लो चरणमा धर्मवीर भारतीको उपन्यासमा ‘सुरजका सातवाँ घोडा’ पनि बनाए । उनी एक संस्थाको रुपमा स्थापित भइसक्दा पनि सिनेमामा निरन्तर काम गरिरहे ।

भारतमा आर्ट सिनेमाको तथाकथित युग शुरू हुँदा बङ्गालबाट सत्यजित रे, मृणाल सेन आदि अग्रपंक्तिमा थिए भने श्यामबाबूले ‘अङ्कुर’बाट आफ्नो यात्रा शुरु गरेका थिए ।

‘अङ्कुर’मा पहिलो पटक नायिकाको रुपमा आएकी शबाना आजमीलाई देखेर क्यामेराम्यान गोविन्द निहलाणीले आफ्ना मित्र गिरिश कर्नाडले पत्र लेखेछन्, ‘श्यामले घोडीजस्तो अनुहार भएकी एक हिरोइन ल्याएका छन् । खोई, सिनेमा कस्तो हुने हो ?’

निहलाणीले लेखेको यो कुरो गिरीश कर्नाडले अर्को फिल्मको शुटिङमा भेट्दा शबानालाई सुनाइदिएछन् तर शबाना र गोविन्दबीच कुनै तनाव आउन नदिन श्यामबाबू चूप नै बसे ।

मैले यही प्रसङ्ग उनलाई पहिलो पटक नेपाल आउँदा सोधेँ , ‘तपाईं यसमा किन चूप हुनु भयो ?’

उनी हाँसे मात्रै ।

मेरो र उनको बीचको यो कुरो सुनेर नेपालका लागि भारतका तत्कालीन राजदूत राकेश सूदले भने, ‘यो कुरा हो ? गस्सिप मात्र होला ।’

मेरो कुरामा विश्वास नगरेका राजदूत महोदयलाई श्यामबाबूले भने, ‘हो , गोविन्दले यस्तै पत्र लेखेछन् । गिरीशले सुनाइदिए … यिनीहरुको पछिसम्म लामै द्वन्द्व चल्यो ।’

श्यामबाबूले मलाई विश्वास मात्र गरेनन्, मेरो सम्मानमा सहमति गरे । काठमान्डूको होटल अन्नपूर्णको कुमारी हलमा ग्य्राफ्टी नेपालले निम्ता गरेको कार्यक्रममा उनी प्रमुख अतिथि भएर आएका थिए, त्यो बेला । एफटीआईआई पढेका नेपालका पुराना विद्यार्थीहरूले खोलेको त्यो क्लबमा उनी मुम्बईदेखि आएका थिए । हाम्रो वार्ताक्रमको फोटो त्यतिबेला हिमालय टाइम्स पनि छापिएको थियो ।

म सम्झन्छु ।

उनले त्यस समय मलाई आफ्नो हस्ताक्षरमा उनको जीवनी पुस्तक पनि दिएका थिए, त्यो पुस्तक मैले पछि मेरा मित्र शरद् प्रधानलाई उपहार दिएँ । उनी शायद श्याम बेनेगलबारे बढी इच्छुक थिए ।

पछि फेरि एकपटक श्यामबाबू दोस्रो पटक नेपाल आए, नेपालमा गणतन्त्र आइसकेपछि । माओवादीसहित अन्य पार्टी सरकारमा थिए । गोपाल किराँती त्यतिबेला संस्कृति मन्त्री थिए ।

तत्कालीन भारतीय राजदूत जयन्त प्रसादले राजदूतावासको इन्डिया हाउसमा मन्त्री किराँती, सत्यमोहन जोशी, पूर्वमन्त्री मिनेन्द्र रिजाल उनकी पत्नी दुर्गा रिजाल अनि तत्कालीन संस्कृति सचिव दिनेशहरि अधिकारी लगायत मलाई पनि बोलाएका थिए ।

सन्दर्भ लुम्बिनीको मायादेवी गार्डनमा लाइट पार्क बनाउने बारे थियो, त्यो लाइट पार्कको परिकल्पना र निर्देशन श्याम बेनेगलले गर्ने कुरा निश्चित भएपछि राजदूत महोदयले साहित्यका सत्यमोहन जोशी र श्यामम बेनेगलाई यसमा संयुक्त रुपमा सहभागी बनाउने कोशिश गरेका थिए ।

भारतको दिल्लीबाट आउनु पर्ने फ्लाइट ढिला भएको कारण श्याम बेनेगल रातिको आठ बजे मात्र राजदूतावास आइ पुग्न सके । छोटो मिठो कुराकानी त भयो तर त्यो काम अगि बढ्न सकेन । मलाई लाग्छ, श्याम बेनेगल त्यो कामका निम्ति निकै उत्साही थिए ।

त्यो काम किन अगि बढेन त्यसबारे भारतीय राजदूतावासबाहेक अरुले केही चाल पाउन सकेन ।

केही वर्षपछि मुम्बईमा एकपटक उनीसित भेट्दा मैले सोधेको थिएँ, उनले त्यसबेला पनि आफ्नो अनभिज्ञता प्रकट गरे ।

‘भारत एक खोज’ जस्तो टीभी धारावाहिक बनाएका श्याम बेनेगलले लुम्बिनीको परिकल्पनामा लाइटपार्क बनाएको भए कस्तो हुन्थ्यो ? त्यो सोचको गर्भमै रह्यो ।

अहिले त त्यतिबेलाका मन्त्री पनि राजनीति छोडेर कृषिकर्मतिर लागेका छन् । सत्यमोहन दाइ बितिसके । सचिव दिनेशहरिजी अब रिटायर्ड भइसके । बाँकी मिनेन्द्र रिजाल र मेरा बीचमा यो कुरा त सन्दर्भ बाहिर नै भइसक्यो ।

नेपालका प्रिय मित्र फिल्म निर्देशक श्याम बेनेगल बितेको खबर सुन्दा मलाई करीब बीस वर्ष अगिको यो घटना स्वतः स्मरणमा आयो । यो त एउटा सम्झनाको पाटो मात्र हो तर हामीलाई सिनेमा बनाउन र हेर्न सिकाउने संसारका धेरै राम्रा निर्देशकहरूमध्ये मैले श्याम बेनेगललाई सदैव सम्मानका साथ सम्झेको छु ।

उनी पछिसम्म सिनेमामै सक्रिय रहिरहे । उनका अन्तर्वार्ता, विचार वा लेख पढ्दा सुन्दा एकप्रकारको ऊर्जा आउँछ, जुन हामीजस्ता सिनेमाका विद्यार्थीका लागि सधैँ जरुरी छ ।

अर्को श्याम बेनेगल यो संसारमा विरलै होला तर उनले सिनेमामा गरेका सानासाना कामले पनि कयौँ वर्षसम्म अरु श्याम बेनेगल जन्मिरहनेछन् ।

सिनेमालाई जीवनको एउटा भाषा बनाउने श्यामबाबूको अन्तिम दर्शन गर्नका उनकै दावली अर्का फिल्ममेकर गुलजार विस्तारै हिँड्दै हिँड्दै आएको देख्दा झन् श्रद्धा बढ्यो श्याम बेनेगलप्रति ।

श्याम बेनेगलको सिनेमाले हामीलाई कहीँ न कहीँ जोडिरहनेछ ।
०००