म
आकाशमा
कुदिरहेको बादल देखेपछि तत्काल ओत खोज्दछु
पूर्वबाट
कालो बादल मडारिएपछि
सूचना नै नदिइकन मलाई
वर्षेपछि वर्षात मेरो तनैमा
अनि भिज्दै गरेका प्रेमिल जोडीहरू भेट्टिन्छन्
कतै रंगीन छातामुनि लुकेका अनुहारहरू
र जिस्काउँदै उड्छन् भंगेरी भुर्र
र लुक्छन् ठूलो पातमुनि
माथिबाट
आकाशले खिचिक्क खिचेपछि तस्विर
लाज मानी निहुराइदिन्छ सूर्यमुखीले अनुहार
फेरि
बादल, रिसाई गर्जिन्छ ठूलो स्वरमा
अनि फालिदिन्छ असिना आँगनभरि
कहिले
भेटिन्छन् तिनै असिनामा किसानका सपनाहरू
कहिले त्यहीँ मेटिन्छन् प्यासीका प्यासहरू
असिना
कहिले लुट्छ गरीवका चिचिलाहरू
कहिले फक्रन नपाउँदैका फूलहरू
वा लुट्छ कयौं गुँडका खुसीहरू
लुटेपछि
छिट्टै विलाइदिन्छन् खुसी जस्तै
र हराएझैँ झाडीमा गुच्चाहरू
भेट्टिदैनन्, चाहेर पनि
फेरि घामले दुःख बिर्सेपछि हेरिदिन्छ पुलुक्क
अनि फेरि बस्तीहरूमा ओर्लन्छन् आशाका किरणहरू ।
इटहरी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 









