लक्ष्मण थापा

संसाररूपी पुस्तकालयमा अनेक दर्शनहरू टनाटन भरिएका छन् । ती दर्शनहरूका क्षेत्र बेग्लाबेग्लै छन् । विषय र आयामहरू पनि बेग्लाबेग्लै छन् । तिनले संसारलाई पारेको असरका आयतन पनि बेग्लाबेग्लै छन् । ती दर्शनहरूमध्ये सबैभन्दा बढी मानिसलाई प्रभाव पार्ने अध्यात्मिक दर्शन नै हो । हुन त अध्यात्मको प्रतिपक्षमा रहेको भौतिकवादी दर्शनको असर पनि कम छैन । क्रियासँगै प्रतिक्रिया हुने शाश्वत नियमानुसार अध्यात्मको उत्पत्तिसँगै भौतिक दर्शनको उत्पत्ति भएको हुनुपर्छ । किनभने सनातनमै हेर्दा भगवान विष्णुको उत्पत्तिसँगै मधु र कैटव दैत्यको उत्पत्ति भएको थियो । मधु र कैटव भौतिकवादी बिम्ब हुन्, जस्ले भगवान् विष्णुको सार्वभौमिकतालाई चुनौती दिएका थिए । दर्शनको इतिहासमा हेराक्लिटस, हेगेल, मार्क्सहरूले भौतिक दर्शनको पाटोलाई अगाडि बढाए ।

संसारमा सबैभन्दा पुरानो दर्शन त वैदिक सनातनी दर्शन नै हो । तीस वर्ष वैदिक इतिहासको अध्ययन गरेकी विदुषी रुपा राठीको दाबीअनुसार वेदको उत्पत्ति दुई लाख वर्ष पहिला भएको हो । यो दर्शन भूत, वर्तमान र भविष्यकै लागि शाश्वत छ । यसलाई कसैले गलत प्रमाणित गर्न सक्दैन ।

भौतिक वस्तुहरूको उपयोगिताका आधारमा देवत्वकरण गरी आराधना गर्ने दर्शन सनातन हो । प्राचीन भारतवर्ष मात्र नभै मेसोपोटामिया, माया, ग्रीक, नीलघाँटी, ह्वाँग हो जस्ता सभ्यतामा पनि सनातनी प्रभाव देखिन्छ ।

कालक्रममा सनातन सभ्यतामा पुरोहितवादको प्रभाव बढ्दै गएपछि उच्च दार्शनिक चिन्तन भएका महापुरूषहरूले नवीन दर्शनको विकास गरे । आदि शंकराचार्यजस्ता महामनाले वैदिक सनातनलाई नै नयाँ दिशा दिए भने सिद्धार्थ, महावीर र गुरू नानकले नयाँ पन्थको स्थापना गरे । उनीहरूको पन्थप्रति मानिसको ध्यान गयो र फलस्वरूप भारतवर्षमा बौद्ध, जैन र सिख सम्प्रदायको स्थापना हुनपुग्यो । त्यसैगरी पश्चिम एसियाबाट ईसाई र ईश्लाम पन्थको प्रादुर्भाव भयो ।

कुनै पनि सम्प्रदायका प्रवर्तकले समसामयिक समाजलाई अझै परिस्कृत, उन्नत र सरल बनाउँन नयाँ विचार प्रस्तुत गर्ने हुन् । त्यस विचारको प्रभाव बढ्नासाथ उस्लाई देवत्वकरण गर्न सुरु हुन्छ । ती महामनाहरू वैचारिक रूपमा जति नै प्रभावशाली भए पनि भौतिक शरीर धारण गरेपछि उस्को क्षमता सीमित नै हुन्छ । सबैतिर ध्यान पुग्न सक्दैन ।

अनुयायीहरूको भर पर्नुपर्छ र ती अनुयायीको महत्त्वपूर्ण तप्का स्वार्थी पनि हुन्छ । फलस्वरूप त्यो तप्काले मूल दर्शनलाई आफ्नो स्वार्थ अनुकूल फेरबदल गरी प्रकाशमा ल्याउँछ र जस्ले गर्दा वास्तविक दर्शनभन्दा थपिएको कुराले व्यापकता पाउँदा मूल उद्देश्य नै छायाँमा पर्न पुग्छ ।

‘भारतवर्षमा जीसस, क्रुसीकरण अघि र पछिको जीवन’ नामक पुस्तक हात परेपछि पढियो । पुस्तकका मूल लेखक जर्मनी नागरिक होल्गर कर्ष्टेन हुन्, उनी धर्म सम्बन्धित ऐतिहासिक लेखनमा सक्रिय व्यक्ति हुन् । उनका पुस्तकहरूमध्ये प्रस्तुत पुस्तक बढी बिकेको जानकारी पाइन्छ । यस पुस्तकलाई नेपालीमा अनुवाद गर्न पाए नेपाली मुमुक्षु पाठकहरू लाभान्वित हुनेछन् भन्ने सोची उद्योगपति स्व. सूर्यबहादुर केसीले अंग्रेजीबाट नेपालीमा अनुवाद गर्ने विषयमा विद्यावारिधि गरेका प्रा.डा. यमबहादुर पौडेल क्षेत्री र नेपाली भाषा र साहित्यका प्रा.डा. नारायणप्रसाद अधिकारीद्वारा अंग्रेजीबाट नेपालीमा अनुवाद गराई प्रकाशित गरेका हुन् ।

अध्यात्म र भौतिकवादी सोचका बीचको मतभिन्नता बढिरहेको वर्तमान परिप्रेक्ष्यमा क्राइष्टको सन्देशको सत्यतामाथि नै सन्देह बढिरहेको छ । ईश्वर, क्राइस्ट, गिर्जाघर तथा दैवी प्रकटीकरणको प्रकृतिजस्ता कुराहरू, त्यसैगरी गिर्जाघरका पादरीकृत परम्परामा बाँधिएका अन्तर्निहित सिद्धान्त आदि कुराहरूमा धर्मशास्त्रका ज्ञाताहरू र धर्मानुयायीहरूका बीच उत्साहप्रद रुपमा छलफलका विषयवस्तु हुन पुगेका छन् । फ्रान्सेली राज्यक्रान्तिपूर्व सम्पूर्ण राजनैतिक, आर्थिक र सामाजिक अधिकार आफ्नो मुठ्ठीमा कैद गरी जनताको चरम शोषण गरेर विलासितापूर्ण जीवन बिताउन पाएका चर्चव्यवस्थाका मठाधीशहरूलाई क्रान्तिले नराम्रो झड्का दिएको थियो । राज्यक्रान्तिले धर्म निरपेक्ष राज्यको अवधारणा अगाडि सारेपछि पश्चिममा चर्चको निरंकुशताको अन्त्य भएको थियो ।

पुस्तकले पश्चिमी समाजमा ईशाइ सम्प्रदायप्रति विश्वास घट्दै गएको तथ्याङ्क प्रस्तुत गरेको छ । जर्मनमा मात्रै प्रत्येक तीनजना मध्ये एकजना ईश्वरप्रति विश्वास राख्दैनन् । हुन त लगभग डेढ सय वर्ष पहिल्यै नित्सेले ईश्वरको मृत्युको घोषणा गरेको थियो । मार्क्सले धर्मलाई अफिमको संज्ञा दिएको थियो । यो सबै तत्कालीन चर्च व्यवस्था, जीससको त्याग, प्रेम, दया, करुणा र सहिष्णुतासंग सम्बन्धित उपदेशहरू हटाएर सेन्ट पाउलले कमाउधन्दालाई सहयोग पुग्ने उपदेशहरू समाबेश गर्नाले भएको हो । यो ‘पाउलवाद’लाई तत्कालीन राज्यले जबसम्म स्वीकार गरेनन्, तबसम्म ईसाईको विस्तार भएन । राज्यले स्वीकारेर प्रचारमा सहयोग गरेपछि नै यो पश्चिमी जगतमा फैलिन पुग्यो । साम्राज्यवादी युगमा शासकहरूले पादरीका हातमा क्रस र व्यापारीका हातमा तुलो थमाई अघि लगाएर संसारका सुदूर देशहरूमा साम्राज्य विस्तार गरी आर्थिक, धार्मिक, सांस्कृतिक र सामाजिक चरम शोषण गरेका थिए यानि ईसाई पन्थलाई शोषणको पूर्जा बनाएका थिए ।

प्रस्तुत पुस्तकले जीससको उमेरको १२ वर्षदेखि ३० वर्ष र क्रुसीकरणपछिको अज्ञात जीवनका बारेमा उत्खनन गर्ने प्रयास गरेको छ । जीससले १२ वर्षको उमेरमा व्यापारीहरूका साथ सिल्करोड हुँदै भारतवर्षमा प्रवेश गरी वैदिक तथा बौद्ध ज्ञान हासिल गर्नुका साथै योग, ध्यान र साधना गरी आफूलाई योगी बनाएका थिए । लेखिका एलिज़ाबेथ क्लेयरले ‘द लस्ट एयर्स अफ जीसस’मा जीसस क्रुसीकरणपूर्व नै भारतवर्षमा आई नालन्दा र राजगीरमा छ वर्ष बसेर बौद्ध दर्शनको अध्ययन गरेर उडिसामा झण्डै छ वर्ष बसेर विद्वान ब्राह्मणहरूसँग सनातन धर्म, संस्कृति र वेदादि ग्रन्थको अध्ययनका साथै योग साधना पनि गरेका थिए भनी उल्लेख गरेकी छिन् । जीसस भगवान श्रीकृष्णको व्यक्तित्व र उपदेशबाट अत्यन्तै प्रभावित थिए । फ्रान्सेली विद्वान लुइस जेकोलियनले ‘द बाइबल इन इण्डिया’ भन्ने पुस्तकमा कृष्णको नाम लिइरहने भएकोले जीससलाई कृष्ण-कृस्ट-क्राइस्ट भनिएको दाबी गरेका छन् । अर्का लेखक पि.एन. ओकले ‘क्रिश्चियान्टी इज कृष्णनीति’ भन्ने किताब लेखेरै “कृष्णनीति नै पश्चिममा ‘क्रिश्चियानिटी’ बनेको” भनेका छन् ।

जीससमा भगवान श्रीकृष्ण, श्रीकृष्णका उपदेश र बुद्धका उपदेशको गहिरो प्रभाव परेकोले वास्तवमा उनका उपदेशमा पनि सेवा, त्याग, समर्पण, सहिष्णुता र अहिंसाका कुराहरू समावेश भएका हुनुपर्दछ । फलस्वरूप तत्कालीन पुरोहित वर्गको स्वार्थमा बाधा पुग्यो र उनको विरुद्धमा लागेर तत्कालीन प्रशासक पन्टियस पाइलटसम्म चुक्ली लगाउन पुगे र जीससलाई क्रुसीकरण गरे । तर उनीहरूलाई थाहा थिएन कि पूर्वीय योग साधनामा सिद्ध जीसस क्रसमा टाँग्ने बित्तिकै समाधिस्थ भए र तीन दिनपछि बिउँतिए । घाउको उपचार पश्चात उनी गोप्य रुपमा भारतवर्षमा आए र पूर्वीय वैदिक र बौद्ध ज्ञानपरम्परामा साधनारत रही १२० वर्षको उमेरमा महाप्रस्थान गरे ।

पुस्तकले जीससको जीवनबाट हराएका यिनै पानाहरूको उत्खनन् गर्ने प्रयास गरेको छ । बाइबलले उनले क्रुसीकरणपछि चमत्कारिक रुपमा पुनर्जीवन पाई ईश्वरीय राज्यमा गएका भनी उनलाई चमत्कारिक र अलौकिक व्यक्तिमा रुपमा स्थापित गरेका छन् । त्यसैले उनी क्रुसीकरणपछि गोप्यरुपमा भारतमा आई अध्ययन, ध्यान र चिन्तनमा लिप्त भै १२० वर्षको उमेरमा मरे भनेको कुरा ईसाई चर्चले पचाउन सक्ने कुरै भएन । पुस्तकले जीससलाई मानवीकरण गरेको छ । त्यसका लागि भएका प्रयास, अध्ययन प्रतिवेदन र भौतिक अवशेषहरूलाई प्रमाणका रुपमा अगाडि ल्याउने प्रयास गरेको छ । विशेषगरी रुसी इतिहास अध्येता निकोलाइ नोटोभिचले भारतको श्रीनगरदेखि लद्दाखसम्म गरेको खोजलाई महत्त्व दिएको छ । उनीहरूले हमिसको बौद्ध गुम्बामा प्राप्त अभिलेखका विवरणहरूको विश्लेषण गरेका छन् । सो खोजको जानकारी युरोपका उच्च आधिकारिक चर्चहरूलाई दिंदा किभ शहरका पादरीहरूले त्यसको प्रचारप्रसार नगर्न निकै कडा चेतावनी दिएका थिए । म्याक्स मुलरले समेत भ्रमात्मक खोज भनी कटु आलोचना गरेका थिए । नोटोभिचको आलोचना थुप्रैले गरेका भए पनि उनी पूर्व र उनी पछिका अध्येताले ती विवादित अभिलेखहरू देखेका रहेछन् । श्रीमती हार्बेले यस सम्बन्धमा लेखेकी छन् भने स्वामी अभेदानन्द पनि देख्नेमध्येका पर्दछन् ।

तत्कालीन बौद्धमार्गीहरूले त उनलाई पद्मसम्भवकै अवतार रहेछन् भन्ने निचोड़मा पुगेका रहेछन् ।

पुस्तकमा जीसस को थिए ?, हिब्रू जातीको उत्पत्ति, जीससको बाल्यावस्था, पूर्वीय बौद्धिकता पश्चिममा, जीससको रहस्यात्मक जीवन, शिरोवस्त्रः जीससको पैत्रिक सम्पत्ति, मृत्यु र पुनर्जीवन, क्रुसिकरणपछि भन्ने उपशीर्षकहरूमा बिभाजित पुस्तकले जीसस र भारतवर्षलाई जोड्ने प्रयास गरेको छ । तस्वीर र रेखाचित्रहरूले पनि धेरैकुरा प्रस्ट्याउँछन् । विशेषगरी कश्मीरमा भएको समाधिस्थल जीससकै हो भनेर पनि विभिन्न प्रमाण, तर्क र श्रुति प्रस्तुत गरिएको छ । वास्तवमा अहिले ईसाईहरूले बाँड्ने ज्ञान जीसस प्रदत्त नभै उनका प्रमुख प्रचारक सन्त पाउल र अझ पछि चर्च एवं पादरीहरूद्वारा विकृतीकरण गरिएको ज्ञान हो, भन्ने दाबी पुस्तकले गर्दछ । हुन पनि मत्तिको सुसमाचारमा जीससको उपदेश भनि यस्तो भनिएको रहेछ, “म संसारमा मेल गराउन आएको हुँ भन्ने नसम्झ । मेल गराउनका लागि होइन, तर तरबार चलाउनका लागि आएको हुँ । किनकि म मानिसहरूलाई उसको बाबुको विरुद्धमा र छोरीलाई उसकी आमाको विरुद्धमा र बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएँ । मानिसका शत्रु ता उसको परिवार भित्रैकैहरू हुनेछन् ।” – ई. मत्ति. प. १०/आ. १,२०, ३४, ३५,३६ (सत्यार्थ प्रकाश पृ. ५४६) ।

‘वसुदैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिन…’ भनेर विश्वकै सुख र कल्याणको कामना गर्ने वैदिक दर्शन र सत्य, अहिंसाजस्तो दर्शन बौद्ध दर्शनबाट दी़क्षित जीससले ‘जस्ले तिम्रो दाइने गालामा हान्छ, उस्लाई देब्रे गाला पनि फर्काइदेउ’ भन्न मात्र सुहाउँछ ।

साथै सन् ५३२ मा कन्ट्यान्टिनोपलमा स्थापित एक्युम्यानिकल परिषदले पुनर्जन्ममा अडिएको विश्वास र आस्थालाई गम्भीर चोट पु-याई ईसाई धर्म सिद्धान्तमा पुनर्जन्मलाई प्रतिबन्ध लगाएको, जुन विश्वास बाइबलको ओल्ड टेस्टामेन्टमा त थियो नै न्यू टेस्टामेन्टले पनि हेरोडको आत्मा नै जीससको रुपमा अवतरित भएको मान्छ । तर त्यसलाई ईसाई जगतले नै प्रतिबन्ध लगाएको छ । चर्च व्यवस्थाले प्रतिबन्ध लगाउँदैमा आत्मालाई चिहानमा कैद गरेर राख्न त सम्भव छैन । यसरी ईसाई सम्प्रदायलाई विकृत पारी अनेक प्रलोभन र बल मिच्याइँ गरी धर्मान्तरण गर्ने र साम्राज्य विस्तार गर्दै अर्थोपार्जनको साधन बनाइएको छ ।

नेपाल लगायत दक्षिण एसियाली परम्परागत धर्म र संस्कृतिमाथि ईसाईहरूद्वारा गरिएको कुठाराघातका सहयोगी यहींका शासन र प्रशासनमा बसेका मान्छे नै बनेका छन् । यस्तो अवस्थामा हाम्रो वैदिक र बौद्ध दर्शनबाट दीक्षित जीससको नाममा ‘पउलवाद’ अङ्गीकार गरेर आफ्नै पूर्वजले संरक्षण र सम्वर्धन गरी ल्याएको विश्वको सर्वप्राचीन र सर्वोत्तम धर्म, संस्कृति र दर्शन परित्याग गर्नुको कुनै औचित्य छैन । पुस्तकमा लेखक होल्गर कर्ष्टेन भन्छन्, “ईश्वर तथा जीवनको तात्पर्यको सम्बन्धमा उठेका अति प्राचीन मानव सवालहरूप्रति सम्भाव्य जवाफ कट्टर शीलधारी गिर्जाघरका मठहरूले दिन सक्दैनन् । आत्मज्ञानको गहिराईमा पुगेर पश्चिमी जगतका मानिसहरूले आफूलाई पुनःअभिमुखीकरण गर्न पूर्वीय उज्यालोतिर फर्कनुपर्छ । हाम्रो अभ्यान्तरिक लोकको उत्पत्ति र अनुभवको मुहान भन्नु नै पूर्व हो ।”

सन्दर्भ ग्रन्थः-

१. भारतवर्षमा जीसस, होल्गर कर्ष्टेन, अनु. पौडेल क्षेत्री, अधिकारी, प्र. केसी

२. सत्यार्थ प्रकाश, महर्षि दयानन्द सरस्वती, अनु.उपाध्याय,वेद विद्या सोध-२०७३

३. पोडकास्ट, रुपा राठी