साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

उज्यालो हुनुअघि

Chovar Blues Mobile Size

रंतेल कान्छाको कुरा सुनेर पञ्चायतसम्बन्धी ज्ञानले आत्मगौरवको अनुभव गर्ने साहूकान्छा सापकोटा रंतेल कान्छाले राखिदिएको बक्खु राडीमा थचक्क बस्यो र मसार गाउँमा लंसाल पंडितले आफ्ना घरमा पुराणभन्दाको सिको गरेर भन्न थाल्यो,“ हेर कान्छा दाइ ! यो पञ्चाइसको कुरो, अब आउने भुइँ सुधारको कुरा कता कता मालिकहरू, सचिव मन्त्रीहरूले त भन्नै सक्दैनन् भन्छन् । तिमी हामी जाबोले के जानौँला र तैपनि तिमारूले पत्यायौ र सदसे भैयो । बीच–बीचमा गोखा पनि गइन्छ । त्यताँ नि जान्ने सुन्ने ठूलाबडाले भन्या सुनिन्छ । नयाँ नयाँ पुस्तकहरू लिइन्छ र घराँ आएर पढिन्छ । तिनीबाट बुझेसम्मका कुराले तिमी हामी नै पञ्चाइसका सदसे भएर हाकिम बडाहाकिमकहाँ काम गर्न पाउने रे । जग्गा जमिन नभएका सुकुम्बासीले जग्गाजमिन पाउने रे । सपैले सुख पाउने रे बुझ्यौ ?”
“ हैन मुखिया ! गरीबका रिनजति सपै राजाले तिरिदिएर सम्बत् फिराउने भन्छन् नि कसो हो ? त्यसो भए त सत्ते जुगै लाग्थ्यो ही गरीपका निति न हैन नि त ?”

“रिनै जम्मै तिरिदिएर सम्बत् फिराउने कुरो त होला र कान्छा दाइ ? गोर्खामा ठूलाबडाहरू भन्थे, सैकडा दसभन्दा बढी खाएको छ भने सबै कटाइदिएर जमिन साहूबाट छुटाइदिने रे । अब उप्रान्त रिन जति होलो ब्याजमा राजाले बंकाट दिने रे कसैले चोके ब्याजमा रिन खोज्न जान नपर्ने रे । अँधिया ठेक्कामा कमाको जमिनको आधा मोइयानी हक माइकै हुने रे । तेसै जगा खोसमोस गर्नै नपाइने रे । यस्तै कुरा हुने रे भन्छन् ।

“त्यसो भए गरीपका जम्मै रिन राजाले तिर्दिएर सम्बत् फिराउने भनेका कुरा त होरै मात्न रचन् । जे होस् मुखिया ! मुखियाले भन्नुभा जति मात्रै कुरा भैदिए नि सत्ते जुगै आएजस्तो हुन्थ्यो हैन त ?”

पञ्चाइस् सदसे र स्याउरेले बाबुका कुरा घतलाग्दा जस्ता लागेर दैलाठेलामा घुँडा टेकेर रंतेल्नी कान्छीले पनि जम्मै सुनी । गरीबका दिन आउने कुरा सुनेर उसको मुख पनि उज्यालो भयो । यत्तिकैमा मक्राती बूढा आएर “जदौ मुखिया” भनी आफ्नो थोत्रो बक्खुमा बस्यो । मक्राती ठूले “ के को पञ्चाइस् हुन लाग्या जस्तो छ नि बा नि, गए भनी आयो । अनि त कबे कामी, रंतेल्नी ज्येठी, राते कान्छा, दंगी ठूले एक एक गरेर घरैपिच्छेका एक दुई गरेर जम्मा भए । साँच्चिकै पञ्चायसजस्तै भयो । पञ्चाइस सदसे खरीबोटे साहू कान्छा र रंतेल कान्छाको कुरा कामै लाग्ने होलान् भन्ने सबैको मनमा थियो । । तर आफू भेला हुँदा त रंतेल कान्छा अधिया बाख्रा निगाले चितुवाले लगेको कुरा मात्र चलेको सुनेर सबैलाई खल्लो लाग्यो । हँमा हँ त मिलाए । तैपनि कसैले सन्तोषको अनुभव गरेन । “ बाख्रा फुकाउन बेरभो ” रंतेल्नी ज्येठी उठी । “खरीबोटे लामछान्या मेला पर्म तिर्नु छ ढिलो भो भनेर कुरा काट्छन् ” भनी रातेकान्छो पनि उठ्यो । यत्तिकै दंगी ठूलेले भन्यो “हाम्रो रंतेल कान्छा दाइ नि सदसे नभए पनि हाम्रो सदसेजस्तै हुन् । उता साहूकान्छा सदसे नै हुनुभो ।” यत्रा ठूलाठूला गरीप बाँच्ने मीठा मीठा कुरा गर्यान् भनेर पो न्याउरीको आमाले मोल नबोकेर फेरि गफ हाक्नभन्दाभन्दै नि सुन्या नसुन्यै यता लागेको । यस्तै गनफसे कुरा गर्या होलान् ठूलाबडाले भन्ने लाग्या भए त किन आउँथे नि । लौ जाऊँ सपै काम नमारौँ ।

आँखा झिम्याउँदै –
“ कुटुमा कुटु सुपारी खाने कप्तानको बुहारी
सदसेसँग नगर गफ, दाइ बुन भकारी ”

sagarmani mobile size

दंगी ठूलेको गीत सुनेर सबै हललल्ल हाँसे । रंतेल कान्छाले हाँस्दै भन्यो , “नहेप ठूलाबडाले आफ्ना भाइदारी कुरा जस्ता पायो उस्तैका अगाडि नगर्न कुरा बङ्गाए होलान् । सदसे मुखियासँग यत्राबेर यस्तै गनफसे कुरा मात्रै गरियो होला त ?”
“ लौ मारे है मारे कान्छा दाइले ठहरै पारे । कलिजुग भन्या यही हो कलिजुग । हाम्लाई त सानातिना ठाने ठाने हाम्रा मक्राती बालाई नि हाम्रै घानाँ पारेर यही साँचो उही ठट्टा गरेर पेटको कीरा मारे है मारे” फेरि आँखा झिम्क्याउँदै –
यो रनबन बनमा रामसिङे दवाडी
सत्तेजुगी बूढा नजान्ने भए कलिजुग अगाडि ।

फेरि सबै हललल्ल हाँसे । रंतेल्नी जेठी ओड्नीको बुजो मुखमा हाल्दै “ छ्याः यी ठूलेका अगाडि त कसैलाई बस्न नपरोस्” भन्दै पछाडि फर्केर हाँस्न थाली ।

सदस्य साहूकान्छाले हाँस्दै भन्यो, “ ए रंतेल कान्छा दाइ यो ठूलेलाई न्याउरीकी आमाले ठटाउली भन्ने डर छ । हाम्ले गर्या कुरा भन्दौन । त्यो सुनेपछि नाच्दै सुनाउन जान पाउँछ अनि त खुसीले एक खोला जाँड नि दिहाल्ली नि न्याउरी कि आमाले ।”
“ लौ पञ्च भलाद्मी हो मैले गर्दा जड कुरो सुन्न पाउन आँट्यौ जड कुरो । मेरा घराँ त के जाँड हुन्थ्यो र दिन्थी न्याउरी आमाले । बरु मैले गर्दा मीठा मीठा कुरा सुन्न पाएँ भनेर रंतेल्नी ज्येठी भाउजूको फोक्सो फुलिहाल्छ कि एक खोला भाते जाँड दिन, अमिलो ट्वाक्क परेको सिन्कीको अचारसँग, दंगी ठूले मुख मिठ्याउँदै भन्यो ।

“ भो कुरा म नै सुनाउँला। राम्रो छिप्पिएको त छैन तै नि कोदाको दुई खोला जाँड मै दिउँला सिन्कीकै अचारसँग थचक्क त बस । ठूलीलाई हाम्रो ठूलmोई गाली नगर्नु है भनेर चिच्याइदिउँला यहाँटै । यी ठूले नभए त यो गाउँमा बस्नै पर्दैन मुखिया रंतेल कान्छा हाँस्दै भन्यो ।

“ लौ तिमारु कुरा गर है कान्छा दाइ । म त जाऊँ । कुरा गर्न त मन लाग्छ । तर एकल्सेरो भएपछि त क्यै गर्न नपाइने रच । सानेकी आमा आमा यौटा चुलाँ छ होली । भैंसीको पाडोसम्म पनि छोड्या छैन होला । एकहाते छ फेरि किरिया । सानेकी आमासम्मलाई कैल्ये दिहाल्छ कैल्ये दिन्न । आफू सदसे भयो । गफ हाँक्यो चुलो रोल्दथ्यो । फेरि भरे भैँसी भोकै हुन्छ । पोहोर मात्र छुट्टिएको, पोहोर सदसे भैयो । वखाभरी सिन्को पनि भाँचिएन भने हुन्छ । ययौटी सानेकी आमाले लहरो पहरो गरेर छिचोली, छुट्टिया बर्ख । पर्म ला त्यै, वन जा त्यै, ढिकीँ जाँतो गर त्यै, आफूचाहिँ दुनियाँको लोग्नेस्वास्नी बाझ्यासम्म नि छ्ट्याउन जानुपर्ने उपती छैन खती मात्रै” जुरुक्क उठ्दै सदस्य साहूकान्छाले भन्यो ।

रंतेल कान्छा गम्भीर भएर साहूकान्छालाई बिदा गर्ने शब्द बोलौँ बोलौँ गर्दै थियो । बीचैमा दंगी ठूलेले फेरि आँखा झिम्क्याउँदै भन्यो “ एकथरीको खती अर्काथरीको उपती, सदसे मुखिया ! लोग्ने स्वास्नी झगडा गरे नि उपती तिमारुलाई नै । एउटा बाख्राले एक पातको खती गरे नि उपती तिमारुलाई नै । कुनै विधुवा दोजिया भए नि दोजिया भएको भाग तिमारुलाई नै । दुनियाँको पैसा तिमारुकै घराँ त पस्ने भो नि । यस्तै चंचलासिरी भोग्न पाएर पो सानेकी आमा मुखिनी आफू मरी मरी तपाईँलाई दौरा सुर्वाल लाएर गफ हाँक्न पठाउनुभाछ त । हैन त कान्छ दाइ ? ”

“जोइपोइको चर्को स्वरले पुलिस टार्थे खाँचो
सदसे आजभोलि त्यसमै बाँध्छन् फाँचोँ ”

हलौ मोरा पञ्चाइसको बेइज्जत गरेकोमा तँलाई पुर्जी नकाटी । भर्खर ब्याएको लैनु गाइ छ क्यार त्यै चिलाको तँ मोराको भन्दै हाँस्दै सापकोटा कान्छो हिँड्न लागे । रंतेल कान्छा मक्राती बूडा सबैले जदौ जदौ सदसे मुखिया भनी बिदा गरे ।

प्रतिक्रिया
Loading...