
डेभिड जे. मोरिस
यदि तपाईं हाम्रो समाजको स्वास्थ्यप्रति चासो राख्नुहुन्छ भने साहित्यिक पुरुषहरूको कमी र पतनले तपाईंलाई चिन्तित बनाउनु पर्छ। खासगरी यस्तो बेलामा चिन्तित हुनु अत्यन्त जरूरी किन पनि छ भने अब ट्रम्पको युग शुरू भइसकेको छ र उनले विकृत पौरुषको अवधारणालाई वाहवाहीको तहमा पुर्याएका छन् ।
पछिल्लो दुई दशकमा, साहित्यिक फिक्सन मुख्यतः महिलाहरूको क्षेत्रमा परिणत भएको छ। उपन्यासहरू प्रायः महिलाहरूले लेखिरहेका छन् र महिलाहरूले नै पढिरहेका छन्। सन् २००४ मा, न्यू योर्क टाइम्सको फिक्सन बेस्टसेलर सूचीमा लगभग आधा महिला लेखक र आधा पुरुष लेखक थिए; तर यो वर्ष, सूचीमा तीन चौथाइभन्दा बढी महिला लेखकहरू देखिन्छन्। विभिन्न रिपोर्टहरूका अनुसार, फिक्सन बिक्रीमा महिलाहरूले झन्डै ८० प्रतिशत हिस्सा ओगटेका छन्।
मैले पढाउँदै आएको क्रिएटिभ राइटिङ कार्यक्रममा पनि यही ढाँचा देख्छु। हाम्रो ६० प्रतिशत आवेदन महिलाबाट आउँछन्, र केही समूह त पूर्ण रूपमा महिला मात्रै हुन्छन्। लगभग २० वर्षअघि, म यस्तै कार्यक्रमको स्नातक विद्यार्थी हुँदा समूहहरू लिङ्गका हिसाबले लगभग बराबर थिए। साइमन एण्ड शुस्टरका उपाध्यक्ष एमन डोलनले मलाई भनेका थिए, “युवा पुरुष उपन्यासकारहरू दुर्लभ प्रजाति भइसके ।”
साहित्यिक संसारमा,अन्य असन्तुलनप्रति धेरै संवेदनशीलता प्रकट गरिन्छन् । यस्तो बेलामा जब पुरूष लेखकहरूको कमी हुँदैछ भनेर आवाज उठाउनु वा पुरूषहरूको संख्या पनि बढाइनु पर्छ भन्नु ज्यादै असहज विषय हो। सन् २०२२ मा, उपन्यासकार जोयस क्यारोल ओट्सले ट्विटरमा लेखेकी थिइन्, “एक साथी, जो साहित्यिक एजेन्ट हुन्, उनले मलाई भने कि उनीसँग भएका युवा श्वेत पुरुष लेखकका उत्कृष्ट कृति पनि सम्पादकहरूले पढ्न चाहँदैनन्, चाहे तिनीहरू जतिसुकै उत्कृष्ट किन नहोस्।” ओट्सको टिप्पणीमा सार्वजनिक प्रतिक्रिया तीव्र र आलोचनात्मक थियो — केही हदसम्म जायज पनि, किनभने पुस्तक संसार अझै पनि अत्यधिक श्वेत वर्चस्वमा छ। तर त्यहाँ पुरुष लेखकहरूको अवस्थाप्रति चिन्ता भने निकै कमी प्रस्टसँग देखियो ।
स्पष्ट रूपमा भन्नुपर्दा, म साहित्यमा पुरुषको वर्चस्वको अन्त्यलाई स्वागत गर्छु। पुरुषहरूले धेरै लामो समयसम्म शासन गरे । यसले ज्यादै राम्रा महिला लेखकहरूले मूल्य चुकाउनु पर्यो । ती महिला लेखकका कृतिहरू उहिल्यै र व्यापक रूपमा पढिनु पर्थ्यो । म यो पनि ठान्दिनँ कि पुरुषहरूलाई साहित्यिक फिक्सनमा राम्रो प्रतिनिधित्वको आवश्यकता छ; उनीहरूले महिलाहरूले लामो समयसम्म सहनु परेको पूर्वाग्रह सामना गरेका छैनन्। अझै, युवा पुरुषहरूले स्याली रूनी र एलेना फेरेन्टेलाई पढ्नुपर्छ। पुरुष पाठकहरूलाई पुरुष लेखकहरूसँगै मात्र बाँधिनु पर्ने कुनै आवश्यकता छैन।
तर, यदि तपाईं हाम्रो समाजको स्वास्थ्यप्रति चासो राख्नुहुन्छ — विशेष गरी डोनाल्ड ट्रम्पको युगमा र उनले प्रवर्द्धन गर्ने विकृत पौरुष अवधारणासँगै — भने साहित्यिक पुरुषहरूको कमी र पतनले तपाईंलाई चिन्तित बनाउनु पर्छ।
पछिल्ला केही दशकहरूमा, युवा पुरुषहरू शैक्षिक, भावनात्मक र सांस्कृतिक रूपमा पछि पर्न थालेका छन् । चारवर्षे सार्वजनिक कलेजमा भर्ना भएका महिलाहरूमध्ये झण्डै आधाले चार वर्षपछि स्नातक गर्छन्; तर पुरुषहरूको दर ४० प्रतिशतभन्दा कम छ। यो असमानता स्पष्ट रूपमा युवा पुरुषहरूले पढ्ने उपन्यासहरूको गिरावटसँग जोडिन्छ, जसले गर्दा तिनीहरू भिडिओ गेम र पोर्नोग्राफीमा अझ गहिरो रूपले फस्दै जान्छन्। अझै पनि, जो युवा पुरुषहरूले संसारप्रति जिज्ञासा देखाउँछन्, उनीहरूले प्रायः “म्यानोस्फियर” का पात्रहरू जस्तै एन्ड्रयू टेट र जो रोगनबाट बौद्धिक प्रेरणा खोज्ने प्रयास गर्छन्।
युवा पुरुषहरूको उपेक्षा यस वर्षको राष्ट्रपतीय चुनावमा महत्त्वपूर्ण कारक भएको देखिन्छ। ट्रम्पप्रति सबैभन्दा बढी प्रतिबद्ध मतदाता युवा गोरा पुरुषहरू थिए — उनले हिस्पानिक पुरुषहरूबाट पनि राम्रो समर्थन पाए, र काला जातिका पुरुषहरूको सद्भाव पनि उत्तिकै पाइरहे । म सन् २०२४ लाई “फाइट क्लब” चुनावको रूपमा हेर्छु, जसमा असन्तुष्ट युवाहरूले आफ्ना निराशा र चिन्ताहरू एउटा लडाकू व्यक्तिमा पोखे, जसले कुनै दिन आफू उनीहरूको नायक होइन, कल्पनाको मात्र अंश हो भनेर प्रकट गर्नेछ।
यी युवा पुरुषहरूले राम्रा कथाहरू पढ्न आवश्यक छ — र उनीहरूले आफूलाई कथा सुनाउने संसारसँग जोडिएको देख्न आवश्यक छ। उपन्यासहरूले धेरै कुरामा सहयोग गर्छन्। तिनले मनोरञ्जन दिन्छन्, प्रेरित गर्छन्, सोच्न बाध्य पार्छन् र सम्मोहित बनाउँछन् । तर, फिक्सन पढ्नु भावनात्मक बौद्धिक क्षमतालाई सुधार गर्ने उत्कृष्ट उपाय पनि हो। उपन्यासहरूले हामीलाई हाम्रो पहिचान निर्माण गर्न र हाम्रो जीवन बुझ्न मद्दत गर्छन्। धेरै अन्य पुस्तकप्रेमी जेनेरेशन एक्सका व्यक्तिहरू जस्तै, म पनि आफ्नो बाल्यकाल र किशोरावस्थालाई डग्लस कप्ल्यान्डको उपन्यासबिना कल्पना गर्न सक्दिनँ, जसले हाम्रो पुस्तालाई नाम दिएको थियो। यही कारणले गर्दा हामीलाई एक समावेशी साहित्यिक संस्कृति आवश्यक छ, जसले युवा पुरुषहरूलाई अलगावबाट निकालोस् ।
म यो भन्न खोजिरहेको छैन कि महिला लेखकहरूको प्रगतिलाई अब पूरै प्रतिबन्धित लगाऔँ, उनीहरूको प्रतिनिधित्व पूरा भइसक्यो भन्ने घोषणा गरौँ भन्न खोजेको होइन । अनि, अब पूरै ध्यान पुरूष लेखकहरूमा मात्र केन्द्रित गरौँ भन्न खोजेको पनि होइन । मेरालागि मुख्य प्रश्न के मात्र हो भनेः यदि पुरुषहरूले पढ्न र लेख्नमा भाग लिन छोडे भने साहित्य — र वास्तवमै, समाज —कता जाला ? पुरुष र महिलाको भविष्य आपसमा गहिरो रूपमा जोडिएको छ। यही कारणले गर्दा, उदाहरणका लागि, म मेरा पुरुष विद्यार्थीहरूलाई द ह्यान्डमेड्स टेल पढ्न लगाउँछु। यसमा उनीहरूको ज्ञान मात्र महत्त्वपूर्ण हुँदैन; महिलाहरू पनि राम्रो पुरुषहरूको अस्तित्वबाट लाभान्वित हुन्छन्।
यहाँ म नारीवादी विद्वान बेल हुक्सले एकपटक लेखेको कुरा सम्झन्छु: “केही नारीवादी चिन्तकहरूको एउटा सानो समूह अझै पनि छ, जसले आफूले पुरुषहरूलाई दिन चाहेको सबै चीज दिइसकेका छन् भन्ने विश्वास गर्छन्; उनीहरू केवल महिलाहरूको सामूहिक कल्याण सुधार्नमा ध्यान केन्द्रित गर्छन्। तर जीवनले मलाई देखाएको छ कि जब कुनै पनि पुरुषले पितृसत्तात्मक सीमाहरू तोड्ने साहस देखाउँछ” — जुन म विश्वास गर्छु कि साहित्यले पुरुषहरूलाई गर्न सक्षम बनाउँछ — “त्यसले महिलाहरू, पुरुषहरू र बच्चाहरूको जीवनलाई आधारभूत रूपमा राम्रोतर्फ परिवर्तन गर्छ।”
(डेभिड जे. मोरिस अमेरिका, नेभाडा विश्वविद्यालयमा अंग्रेजीका सहायक प्राध्यापक र “द इभिल आवर्स: अ बायोग्राफी अफ पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर” का लेखक हुन्। यो लेख द न्यू योर्क टाइम्सबाट साभार गरिएको हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

