टेलर स्विफ्ट

झन्डै २१ महिना लामो सांगीतिक टूर ‘इरा’ पूरा भएको छ । संसारका विभिन्न देशमा १४९ शो गर्दा संसारकै सबैभन्दा धेरै कमाउने सांगीतिक शो बन्न पुगेको छ । उनको यो टूरले २ अर्ब डलरभन्दा बढी कमाएको छ ।

यो कमाई अन्य सांगीतिक कन्सर्टको तुलनामा झन्डै दोब्बर हो । यसअघि कोल्ड प्ले ब्यान्डको यस्तै कन्सर्टले १५६ दिने वर्ल्ड टूर कन्सर्टबाट एक अर्ब डलरको टिकट बिक्री गरेर कीर्तिमान कायम गरेको थियो ।

टेलर स्वीफ्टको कन्सर्टमा एक करोडभन्दा बढी संगीतप्रेमीले कन्सर्टमा सहभागिता जनाएका थिए । उनको टिकट अन्य कन्सर्टको तुलनामा बढी नै थियो । एउटा टिकटको मूल्य २०४ डलर उनका प्रशंसकले तिरेका थिए जबकि यसअघिका कन्सर्टमा सबैभन्दा बढी मूल्य १३१ डलर तिरिएको कीर्तिमान थियो ।

उनको लन्डनस्थित वेम्बली स्टेडियममा कीर्तिमानी प्रशंसकहरू भेला भएका थिए । त्यहाँको एक साताको कन्सर्टमा ७ लाख ५३ हजार १ सय १२ संगीतप्रेमी भेला भएका थिए । यस्तै अस्ट्रेलियाको मेलबर्नमा कन्सर्ट हुँदा गएको फेब्रुअरी १६ मा एकै पटकमा ९६ हजारले सहभागिता जनाएका थिए ।

कन्सर्टको टिकटबाहेक पनि टेलर स्वीफ्टले आफ्ना विभिन्न सामग्रीहरू, पुस्तक लगायत रिस्ट ब्यान्ड, टी सर्ट, हूडी, क्रिसमसका गहनाहरू पनि बिक्रीमा राखेकी थिइन् । तिनको बिक्रीको हिसाब निकाल्न अझै बाँकी छ ।

पछिल्लो कन्सर्ट क्यानडाको भ्यानकुभरमा हुँदा अमेरिकाबाट हुलका हुल कार लिएर धेरै दर्शक त्यहाँ पनि पुगेका थिए । हरेक दर्शकले गायिका स्विफ्टले बनाएका विभिन्न मर्कन्डाइज (स्विफ्टका गुडिया, नाडीमा लगाइने डोरोहरू लगायत अन्य) नलगाउने कुनै दर्शक थिएनन् ।

स्विफ्टले साढे तीन घण्टाको कन्सर्टमा ४५ देखि ५० वटासम्म गीत गाएकी थिइन् । सन् २०२३ को मार्चमा अमेरिकाको एरिजोना राज्यस्थित ग्लेन्डेलबाट शुरू भएको यो कन्सर्टमा खिचिएका भिडियोहरू सिनेमाहलमा रिलिज हुँदा पनि सो डकुकन्सर्ट पनि सुपरहिट भएको थियो । इरा टूर नामक सो भिडियो शो सिनेमा हलमा रिलिज हुँदा २६ करोड डलरभन्दा बढी व्यापार गर्न सफल भएको थियो । कुनै कन्सर्ट भिडियो सिनेमा हलमा रिलिज हुँदा यो हदको लोकप्रियता यो पहिलो पटक देखिएको थियो ।

अर्को आश्चर्य चाहिँ उनको इरा टूरको कथा लेखिएको पुस्तक गत महिना रिलिज गरिँदा सो पुस्तक दुई दिनमै ८ लाख १४ हजार प्रति बिक्री भएको थियो । यही बेला रिलिज गरिएको ‘टर्चर्ड पोएट्स’ गीति एल्बम पनि वर्षभरि सबैभन्दा बढी बिक्री हुने एल्बममा गणना हुन पुग्यो ।

यसै वर्षको फेब्रुअरीमा भएको प्रख्यात सांगीतिक अवार्ड ग्रामीमा उनले ६ वटा अवार्ड हात पारेकी थिइन् ।

यस्तो कन्सर्टको लोकप्रियता दुई दशकयता पहिलो भएको धेरैको प्रतिक्रिया छ । यसले टेलर स्वीफ्टको लोकप्रियता कुन हदसम्म छ भन्ने देखिन्छ । कतिले उनलाई ‘सुपर फेसम स्वीफ्टी’समेत भन्ने गरेका छन् ।

उनको लोकप्रियतालाई मनन गर्दै अघिल्लो वर्ष टाइम म्यागेजिनले उनलाई ‘वुमन अफ दि इयर’ घोषणा गरेको थियो भने यो वर्ष फाइनान्सियल टाइम्स अखबारले ‘वुमन अफ दि इयर’ घोषित गरेको छ । उनका बारेमा मेलिन्डा फ्रेन्च गेट्सले अखबारमा किन उनी वुमन अफ दि इयर भइन् भनी छोटो टिप्पणी लेखेकी छन् । उनले लेखेका कुरा खासै रोचक नभए पनि आफू छोरीहरूसँग टेलर स्विफ्टको कन्सर्टमा पुग्दा महिला भएकामा गर्व लागेको अनुभूत गरेको बताएकी छन् ।

उनको ‘इरा’ टूरले संसारभर उनका प्रशंसकहरू बढाउने काम गरेको छ । एक दशकभन्दा बढी समयदेखि काम गरिरहेको म्युजिक कम्पनीले उनलाई उनकै गीत प्रयोग गर्नबाट रोकेपछि त्यसको विरूद्ध उनले संघर्ष गरिन् । प्रायः संगीत कम्पनीले गीत रेकर्ड गर्न सघाउ पुर्याउँछन् र त्यसबापत जीवनभर त्यसको कमाईको अंश खाइरहन्छन् । यसको विपरीत उनले पुरानो कम्पनीले उनको रेकर्ड गरेका गीतहरू यत्तिकै छाडिदिइन् र नयाँ तरिकाले रेकर्ड गरिन् । ती गीत र थप नयाँ गीत जम्मा गरेर उनले कन्सर्टमा गाएकी थिइन् ।

उनले संगीत कम्पनीसँग गरेको संघर्षले धेरैले प्रशंसा गरेका थिए । यो एउटा कारणले पनि उनलाई सहयोग गर्नुपर्छ भनेर कतिपय स्रोताहरू उनका कन्सर्टमा पुगेका देखिन्थे ।