अहिले नेटफ्लिक्समा गाब्रियल गार्सिया मार्खेजद्वारा लिखित उपन्यास “हन्ड्रेड इयर्स अफ सोलिच्यूड”को आठ घण्टे शृंखला खसेको छ । पहिलो सिजनको यो आठ घण्टामा उपन्यासको आधा भाग मात्र हेर्न पाइन्छ ।
जीवनभर आफ्ना उपन्यासमा फिल्म र टेलिभिजन शृंखला नबनोस् भन्ने इच्छा राखेका मार्खेजको सन् २०१४ मा निधनपछि नेटफ्लिक्सले उनको परिवारका सदस्यहरूबाट स्वीकृति लिएर यो शृंखला तयार पारेको हो ।
गाब्रियल गार्सिया मार्क्वेजद्वारा लिखित “हन्ड्रेड इयर्स अफ सोलिच्यूड” (Cien Años de Soledad) विश्व साहित्यको सबैभन्दा महत्त्वपूर्ण कृतिहरूमध्ये एक मानिन्छ। सन् १९६७ मा पहिलो पटक प्रकाशित भएयता यसले लाखौं पाठकको मन जित्न सफल भएको छ। जादुई यथार्थवादको शैलीलाई यो उपन्यासले साहित्यिक परिदृश्यमा स्थापित मात्र गरेन, समाज, इतिहास र मानव अनुभवको गहिरो चित्रण पनि प्रस्तुत गरेको हुनाले यसलाई विश्व साहित्यको अनुपम कृतिका रूपमा चिनिन्छ ।
मार्खेजलाई यो उपन्यास लेख्न करिब १८ महिना लागेको थियो । उनले आफ्नो जीवनका अनुभव, कोलम्बियाली संस्कृति र ल्याटिन अमेरिकी इतिहासलाई कथानकका रूपमा प्रस्तुत गरेका छन् । “हन्ड्रेड इयर्स अफ सोलिच्यूड” लेख्ने क्रममा उनले आफ्नो कार बेचेर परिवारको खर्च चलाए, किनभने उनी आफ्ना विचारहरूलाई पूर्णरूपमा उपन्यासमा समाहित गर्न चाहन्थे। मार्खेजले यो उपन्यास लेख्ने प्रेरणा राति देखेको सपनाले दिएको थियो । सपनामा उनले आफ्नो जन्मस्थान अराकाटाको एउटा गाउँलाई देखेका थिए, जसलाई उपन्यासमा काल्पनिक “माकोन्दो” गाउँका रूपमा चित्रण गरेका छन् ।
उपन्यास बुन्दिया परिवारको सात पुस्ताहरूको कथा हो, जसले “माकोन्दो” नामक काल्पनिक गाउँको निर्माण गर्छन् । यो समयसँगै समृद्ध गाउँ बन्छ र अन्ततः यसको पतन पनि हुन्छ । यो उपन्यास जादुई यथार्थवादको एक उत्कृष्ट उदाहरण हो, जहाँ वास्तविक र काल्पनिक घटनाहरूलाई अनौठो तर गहन रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा मरिसकेकी पात्र मृत्युपछि पनि गाउँमा फर्कन्छे, बुन्दिया परिवारकी एउटी छोरी आकाशमा उडेर हराउँछे ।
“हन्ड्रेड इयर्स अफ सोलिच्यूड”लाई धेरैले एउटा साहित्यिक क्रान्तिका रूपमा पनि मान्छन् । यो उपन्यास आधिकारिक रूपमा संसारका ३७ भाषामा अनुवाद भएको छ र पाँच करोडभन्दा बढी प्रतिहरू बिक्री भइसकेको छ । यसको व्यापक लोकप्रियताका कारण मार्क्वेजले सन् १९८२ मा साहित्यतर्फ नोबेलसमेत पुरस्कार जिते ।
बिक्री भएर मात्र यो लोकप्रिय भएको होइन । यो त संसारका विभिन्न स्कूल तथा कलेजमा साहित्यिक अध्ययनका लागि पाठ्यक्रमको हिस्सा बनिसकेको छ । नेपालमै पनि अंग्रेजी साहित्य पढ्नेहरूले यो उपन्यास अनिवार्य रूपमा पढ्नुपर्छ । यसको अकादमिक क्षेत्रदेखि पप कल्चरसम्म व्यापक रूपमा चर्चा हुने गरेको छ । यसलाई ल्याटिन अमेरिकी “बूम” आन्दोलनको एक प्रमुख हिस्साका रूपमा पनि मानिन्छ । यो आन्दोलन २० औँ शताब्दीको मध्यमा ल्याटिन अमेरिकी साहित्य र संगीतलाई विश्वव्यापी चर्चाको केन्द्रमा थियो ।
यो उपन्यासका प्रशंसक को मात्र छैन । विलियम फक्नर, फ्रान्ज काफ्का र टोनी मोरिसनजस्ता लेखकहरूको यो मनपर्ने उपन्यास हो । खासगरी मार्खेजको लेखन शैली र यो उपन्यासको प्रभावले कयौँ लेखक र कलाकारहरूलाई प्रेरित गरिरहेको छ।
नेटफ्लिक्समा यो गत डिसेम्बर ११ मा रिलिज भएको हो । मार्खेज परिवारले यो शृंखलालाई बनाउन केही शर्तहरू राखेको थियो । यो कोलम्बियामै खिच्नुपर्छ, कोलिम्बियाली कलाकारहरू प्रयोग गर्नुपर्छ र स्पेनी भाषामै बनाइनु पर्छ भन्ने शर्त मान्ने भएपछि यसलाई बनाउन स्वीकृति दिइएको थियो ।
जब यो शृंखला बनाइने भयो, १० हजार आकांक्षी कलाकारहरूबाट २५ जना मुख्य भूमिकामा लिइएको थियो । फिल्ममा काम गर्ने जम्मा ३० प्रतिशत कलाकारहरू मात्र व्यावसायिक कलाकार थिए । फिल्ममा २० हजार एक्स्ट्रा कलाकारहरूलाई जंगलको बीचमा बनाइएको सेटमा राखिएको थियो ।
कोलम्बियाको १० हजार जनसंख्या भएको एलभाराडो शहर नजिकैको जंगलमा उपन्यासमा वर्णित मकान्डो शहर बनाइएको थियो । ११ सय कामदारले पूरै सहर बनाएका थिए । यो शहर निर्माणदेखि ध्वस्त हुँदासम्मको शहर बनाउनु पर्ने भएकाले चार वटा भिन्दाभिन्दै चरणको बेग्लाबेग्लै सेट डिजाइन गरिएको थियो । यो शृंखलामा काम गरेका ६०० कलाकारहरू सबै कोलम्बियाली नै रहेको बताइन्छ ।
फिल्मको पहिलो ८ वटा शृंखला हेरिसकेकाले यसलाई निकै सुन्दर प्रस्तुति मानेका छन् । यसले ८.० रेटिङ पाएको छ ।
साहित्यपोस्टको टिमले जब यो शृंखला हेर्यो, यसलाई एउटा सर्वोत्कृष्ट उपन्यासमाथि रचिएको सुन्दर शृंखलाका रूपमा पाएको छ । खासगरी मुख्यपात्र होसेको होश हराएको दृश्य जति कारूणिक छ, उति नै प्रभावी पनि छ । त्यस्तै विद्रोहमा लागेको माइलो छोरोको अभिनय पनि उत्तिकै सशक्त छ । दुई छोरीहरूले एक युवाका लागि देखाएको आशक्ति र एकअर्कामा देखिने ईर्ष्या निकै उम्दा रहेको छ ।
बाँकी दर्शकले यसलाई अवश्य पनि मूल्यांकन गर्लान् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।