![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
चिनियाँ बक्स अफिसमा यतिबेला दक्षिण भारतीय फिल्म ‘महाराज’ले राम्रो चर्चा बटुलेको छ । विजय सेतुपति र अनुराग कश्यप अभिनित यो फिल्म नेटफ्लिक्समा रिलिज हुनेबित्तिकै निकै ठूलो चर्चा बटुल्न सफल भएको थियो । तर चिनियाँ जनताले पनि यो फिल्मले रूचाउँदै गर्दा रिलिज भएको एक सातामा नै यो फिल्मले चीनमा मात्र ७५ मिलियन युआनको व्यापार गरेको छ । कुनै पनि फिल्मले त्यहाँ एक सय मिलियनको व्यापार गरे, सुपरहिट मान्ने गरिन्छ ।
यसैगरी, चीनको एउटा कमेडी फिल्मको चर्चा संसारभर हुन थालेको छ । नहोस् पनि किन, जम्मा तीन वटा मुख्य चरित्र भएको यो कमेडी फिल्मले चिनियाँ बक्स अफिसमा तहल्का पिटिरहेको छ । सबैभन्दा राम्रा मानिएका फिल्महरूलाई पनि घटीया भनेर रेटिङ गर्ने चिनियाँ रेटिङ साइट डोउबान.कमले पनि यसलाई ९.१ स्कोर दिएको छ ।
यो फिल्मले अहिलेसम्म चीनमा ४०० मिलियन युआन अर्थात् ५५ मिलियन डलर कमाइसकेको छ । फिल्मकी निर्देशक साओ यिहुईको ‘हर स्टोरी’को यो सफलताको चर्चा द न्यू योर्क टाइम्सले समेत गर्न भ्याइसकेको छ ।
निर्देशक साओले सन् २०२१ मा पहिलो फिल्म ‘बी फर बिजी’ बनाएकी थिइन् । यो एउटा व्यंग्यात्मक फिल्म थियो, जसमा उनले पुरूषहरू मात्र सपिङ गर्न छिर्ने पसलमा तिनको हाउ, भाउ, कटाक्षमाथि व्यंग्य गरेकी थिइन् ।
![](https://sahityapost.com/wp-content/uploads/2024/12/her-story.jpg)
कलाकारहरूलाई निर्देशन गर्दै (बीचमा) साओ यिहुई
उनको यो फिल्मलाई नेटिजन्सले २०२३ मा हलिउडले उत्पादन गरेको ‘बार्बी’सँग तुलना गरिरहेका छन् । ग्रेटा जर्विगले निर्देशन गरेको सो फिल्मलाई पनि दर्शकले चीनमा अत्यधिक रूचाएका थिए । तर यो फिल्मको चर्चा बढी हुनुको कारण भने महिलाहरूको समाजमा कस्तो भूमिका हुन्छ भन्ने बुझाउन सहयोगी रहेको धेरैको मत छ ।
चीनियाँ फिल्ममा प्रायः एकल आमाको कथा देखाइँदैन । यो फिल्ममा एउटी एकल आमाको संघर्ष मुख्य विषयवस्तु छ । अहिले चीनमा लैंगिक मुद्दा बुझाउन यो फिल्मलाई उदाहरण मान्नेहरू पनि बढेका छन् । किनभने, यसअघि एकल महिला वा एकल आमा भनेको समाजको दुःखी पात्रका रूपमा प्रस्तुत गर्ने चलन थियो । त्यसको विपरीत छोरी हुर्काइरहेकी एउटी आमाको अप्ठेराका बाबजुदको रमाइला क्षणहरू यसको प्रमुख आकर्षण बन्न पुगेको छ ।
![](https://sahityapost.com/wp-content/uploads/2024/12/महाराज.jpg)
महाराज
फिल्ममा महिनाबारीका बारेमा पनि देखाइएको छ जहाँ महिनाबारीका कुरा गर्दा सबैले जिब्रो टोक्छन् । यस्तो बेलामा एक जना पात्रले फिल्ममा भन्छिन्, ‘संसारका आधा जनसंख्या नछुने हुन्छन्, यो सबैलाई थाहा छ । यत्रो मान्छेले भोग्ने यसका बारेमा भने कुरै गर्न नहुने यो कस्तो कुरो हो ?’
यस्ता अनेक रोचक संवादले फिल्मलाई अन्तिमसम्म दर्शकलाई तानिरहन्छ ।
फिल्मका बारेमा भइरहेका सकारात्मक तथा नकारात्मक प्रतिक्रियालाई निर्देशक साओले सकारात्मक रूपमा लिइरहेको द बेइजिङ रिभ्यू साप्ताहिकले लेखेको छ । उनी भन्छिन्, ‘कम्तीमा सकारात्मक वा नकारात्मक जस्तो होस्, फिल्म हेरेर प्रतिक्रिया दिइरहेका छन् । नहेरी प्रतिक्रिया दिनुको साटो हेरेर, आफूलाई राम्रो वा नराम्रो लागेका कुरामा प्रतिक्रिया दिनु राम्रो हो ।’
चीनमा फिल्म निर्देशकहरू निकै कम छन् । संसारभर नै फिल्म निर्माणमा पुरूष वर्चश्व रहेका बेला महिलाका फिल्मले सफलता पाउनुले अन्य महिलाहरूका लागि अवसरको ढोका खुल्ने प्रख्यात सांस्कृतिक आलोचक तथा प्राध्यापक दाइ जिन्हुआ बताउँछन् । पेकिङ युनिभर्सिटीका प्राध्यापकले सन् १९९४ मा एउटा समीक्षामा लेखेका थिए, ‘कहिलेकाहीँ नारी फिल्म निर्देशकले पुरूषले बनाउने फिल्मजस्तै भालेपनका कथा पस्कन्छन् । त्यस्ता भाले नारीप्रधान फिल्मबाट भने सचेत हुनुपर्छ । यसको उदाहरणका रूपमा ‘मुलान’जस्तो फिल्मलाई उदाहरणका रूपमा लिन सकिन्छ ।’
महिला मुद्दामाथि बनाइएको पछिल्लो फिल्म सन् २०२१ को ‘हाई मम’ पनि एउटा थियो । फिल्मलाई कमेडियन जिया लिङले निर्देशन गरेकी थिइन् । यो फिल्मले त्यो बेला ५.४ अर्ब युआन (७४० मिलियन) कमाएको थियो । हलिउडको ‘बार्बी’ (ग्रेटा जर्विगद्वारा निर्देशित) आउनुअघि संसारमै बढी कमाउने महिलाद्वारा निर्देशित फिल्म यही थियो । बार्बीले संसारभर डेढ अर्ब डलरको व्यापार गरेको थियो ।
लिङकै निर्देशनमा २०२४ को शुरूमै रिलिज भएको योलो (यू वन्ली लिभ वन्स)ले ३.४ बिलियन युआन (४६७ मिलियन डलर) कमाएको थियो ।
चीनमा यो वर्ष फिल्महरूले खासै व्यापार गरेनन् । बक्स अफिस तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले टिकट कम बिक्री भयो । तर नारीवादी फिल्महरू ‘रिमेम्बर मी’ र ‘द अनसीन सिस्टर’ले १०० मिलियन युआन क्बलमा आफूलाई दर्ता गराएर हिट साबित गरेका थिए ।
यो वर्ष चीनियाँ बक्स अफिसमा हिट भएका अन्य फिल्ममा निर्देशक यिन लिचुआनको ‘लाइक अ रोलिङ स्टोन’लाई समीक्षकहरूले मोर्डन क्लासिक घोषित गरेका छन् । यसलाई वङ कारवाईको १९९४ को मास्टरपिस ‘चुङकिङ एक्सप्रेस’ र झाङ यिमाउको १९९१ को ‘रेज द रेड लान्टर्न’सँग यसलाई दाँजिएको छ । यो फिल्मले एउटी उमेर ढल्कदै जान थालेकी महिला देश भ्रमणमा निस्कँदा चीनभरि सडकयात्रा कसरी गर्छे भन्ने विषयमा फिल्म बनाइएको छ ।
पछिल्लो समय महिलाद्वारा उठाइएका नारीवादी फिल्महरू यति धेरै मन पराइनुको मूल कारण अचेल चीनमा महिलाको हातमा पैसा हुन थालेकाले पनि रहेको केही विश्लेषकको धारणा छ ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)