मदन चित्रकार

पाटनढोकास्थित पर्यटन विभागको सरकारी कार्यालयमा कलाकार मदन चित्रकारसँग मेरो पहिलो भेट भयो । २०५०–५१ सालको कुरा हो । त्यतिखेर उहाँ आफ्नो सरकारी जिम्मेवारी पूरा गर्दै हुनुहुन्थ्यो, पर्यटनमार्फत् कलालाई पनि समेटेर काम भइरहेको मैले उहाँको कार्यकक्षमा देखेको थिएँ । म भने उहाँको कलायात्राबारे जान्न र उहाँलाई नजिकबाट बुझ्न तत्पर थिएँ ।
भेटवार्ताका क्रममा उहाँका सरलता, सिर्जनशीलता र कलाप्रतिको समर्पणले मलाई गहिरो रूपमा प्रभावित बनायो । उहाँको व्यक्तित्व र सिर्जनाको संक्षिप्त विवरण मैले तत्कालीन ‘विमोचन’ पत्रिकामा लेखेको थिएँ । त्यस लेखनले हाम्रो चिनारीलाई औपचारिकता मात्रै दिएन, त्यो हाम्रो सम्बन्धको एउटा आधारशीला पनि बन्यो ।
राजमान चित्रकार, चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारपछि तेस्रो पुस्ताका अग्रज कलाकार मदन चित्रकारको जीवन र कलायात्रा मात्र होइन, उहाँको विचार र दर्शन पनि उत्तिकै प्रेरणादायी छ । पिताजी तेजबहादुर चित्रकारजस्ता ख्यातिप्राप्त गुरुबाट बाल्यकालमै प्रेरित हुनुभएका मदन चित्रकारको कला जीवनको सुरुआत आफ्नै घरबाट भयो ।
बाल्य उमेरमै उहाँले नेपाली चित्रकलाक्षेत्रमा स्थापित कलाकारहरूको सान्निध्यमा कलाको गहिराइ महसुस गर्नुभयो । यो पारिवारिक वातावरणले उहाँको बालमनमा चित्रकलाको गहिरो छाप पर्नु स्वाभाविक थियो । आज फर्केर हेर्दा उहाँमा परेको त्यो छापलाई उहाँले साँच्चै रामै्र किसिमले सदुपयोग गर्नुभयो । फलतः हामीले उहाँका सिर्जनाकर्ममा नेपाली कलाको उन्नतशील परिवेशको क्षितिज भेट्न पायौँ । अन्यथा विगतमै विलाइसकेका कैयांै हाम्रा अग्रज कलाकारको चिनारी र तिनको काम हामीले देख्न पाउने थिएनौं ।
भारतको प्रतिष्ठित सर जे.जे. स्कुल अफ आर्टस्मा अध्ययन गर्दैगर्दा उहाँले आफ्नो कलामा नयाँ आयाम थप्नुभयो । त्यहाँ रहँदा उहाँले व्यक्तिचित्र, प्राकृतिक दृश्य र पानीरङको प्रयोगमा आफूलाई निखार्नुभयो । अध्ययनको क्रममा बनाइएका उहाँका चित्रहरू त्यसबेला नै प्रशंसित भए, जसले उहाँको सिर्जनात्मक क्षमतालाई प्रमाणित ग¥यो ।
कलाशिक्षा हासिल गरी नेपाल फर्किएपछि मदन चित्रकारले नेपाली कलाक्षेत्रमा नयाँ परिचय स्थापित गर्नुभयो । प्रारम्भमा रेखाचित्रमार्फत सुरु भएको उहाँको यात्रा कालान्तरमा यथार्थवादी शैलीदेखि अमूर्त कलाको यात्रासम्म फैलियो । उहाँको रचना चित्रकलामा मात्र सीमित रहेन । पाठ्यपुस्तकहरूको डिजाइन, साहित्यिक किताब र पत्रिकाका आवरणकलाहरू र दृष्टान्त चित्रहरूसमेत उहाँको सिर्जनशीलताका प्रमाण बने ।
मदन चित्रकारसँगको मेरो सम्बन्ध कालान्तरमा व्यक्तिगत र भावनात्मक रूपमा गहिरिँदै गयो । उहाँको कलासिर्जनाले जति प्रभाव पाथ्र्याे, त्यति नै उहाँको कलालेखनले मभित्रको स्रष्टालाई जागृत गराउँथ्यो । सिर्जना कलेजमा प्रिन्सिपलको भूमिकामा नयाँ पुस्ताका कलाकारहरूलाई मार्गदर्शन गर्नु, काठमाडौँका सम्पदाहरूको रेखाचित्र बनाउँदै सांस्कृतिक सम्पदालाई अमर बनाउने काम गर्नु र अमूर्त शैलीमा कलाको नवीनतम् सौन्दर्य प्रस्तुत गर्नुजस्ता योगदानले उहाँलाई नेपाली कलाक्षेत्रमा अमर व्यक्तित्व बनाएको छ ।
अनेक विम्ब र शैलीमा उत्तिकै जीवन्त र कलात्मक पहिचान पस्किन उहाँ कुशल कलाकार हुनुहुन्छ । आज उहाँको कलासिर्जनालाई हेर्दा उहाँको व्यक्तित्वको गहिराइ र उहाँले जीवनलाई देख्ने दृष्टिकोण स्पष्ट रूपमा झल्किन्छ । कलासिर्जनामा उहाँले जति योगदान दिनुभयो, कलालेखन र विचारको विकासमा उहाँले गरेको योगदान पनि त्यत्तिकै महत्वपूर्ण छ । उहाँका रचनाहरूले नेपाली कला र जीवनको विविध आयामलाई उद्घाटन गर्छन् ।
मलाई लाग्छ, यस्ता विशिष्ट व्यक्तित्वको परिचय यो सामान्य एउटा लेखोटले दिन सक्दैन । उहाँको जीवन र सिर्जना नेपाली कलाक्षेत्रमा मात्र होइन, समग्र सांस्कृतिक चेतनाको एक अमूल्य स्रोत हो । उहाँसँगको मेरो सम्बन्धले मलाई सधैं उहाँको प्रेरणादायी व्यक्तित्वको नजिक रहन दिएको कुरा म बेलाबखत सम्झिँने गर्छु । ती सम्झनाहरूमा उहाँको चित्रकारिताका कलाकर्महरूका सन्दर्भ त छँदैछन् । त्यसबाहेक कला र कलाकारका विषयमा ओझेलिँदै गइरहेको कला लेखनको पाटोलाई उहाँले सशक्त रूपमा फुटकर लेखनमा होइन पुस्तकाकारमा अभिलिखित गर्नुभयो । नेपाली कलाका लागि जुन अति आवश्यक काम थियो ।
मदन चित्रकारको जीवन र कलायात्रालाई सम्झँदा उहाँ मेरो लागि एक अग्रज आदरणीय कलाकार होइन, प्रेरणा, स्रष्टा र तीन दशक पुरानो सम्बन्धका सेतु पनि हुनुहुन्छ । शायद अरूका लागि पनि उहाँ यस्तै केही न केही आदर्श व्यक्तिका रूपमा स्थापित हुनुहोला भन्ने मलाई लाग्छ ।
उहाँको नाम उच्चारण गर्दा एउटा व्यक्तिको समग्र स्वरूपको मात्र कल्पना हुँदैन । त्यो नेपाली कलाको एउटा युगको प्रतीक बनेर प्रस्तुत हुन्छ । उहाँ नेपाली कलाक्षेत्रमा एउटा यस्तो चमत्कार हुनुहुन्छ, जसले सिर्जनाका माध्यमबाट हिमाल, नदी, र प्रकृतिलाई बोल्न सिकायो । ऐतिहासिक सम्पदा र संस्कृतिलाई जीवन्त बनाउन प्रेरित भयो । यसका अतिरक्ति नेपाली चित्रकलाको पुरानो र गहिरो आयामलाई विश्वसमक्ष प्रस्तुत गर्ने पुलको भूमिका पनि निर्वाह गर्नुभयो ।
बाल्यकालमै पिताश्रीको प्रेरणाले उहाँको जीवनको दिशा निर्देश गरिदियो । त्यो प्रेरणाको प्रभावले उहाँको मन केवल कलाकारको रूपमा सीमित रहेन । बरु त्यो कलाका माध्यमबाट नेपाली समाज, संस्कृति र चेतनाको प्रतिविम्ब बन्न पुग्यो । उहाँका सिर्जनामा रेखाचित्रको कौशल मात्रै देखिँदैन, एउटा समाज, इतिहास र भविष्यको संवाद प्रतिध्वनित हुन्छ ।
म उहाँप्रति गहिरो आदर र सम्मानका साथ भन्न चाहन्छु– ‘मदन चित्रकार नेपाली चित्रकलाको इतिहासमा एउटा महत्वपूर्ण हस्ताक्षर हुनुहुन्छ । उहाँको योगदानका पाटाहरू जति खोतले पनि नयाँ र मूल्यवान नै रहन्छन् ।’
नेपाली चित्रकलाक्षेत्रमा एक विशिष्ट स्थान हासिल गर्नुभएका मदन चित्रकारको यात्रा केवल साधारण जीवनयात्रा मात्र छैन । यो यात्राले नेपाली कलाक्षेत्रमा नयाँ दिशाहरू दिन सफल भएको छ । बाल्यकालमै मनमस्तिष्कमा चित्रकलाको बीजारोपण भई परिपक्व प्रौढ उमेरमा आइपुग्दा उहाँको कलाकर्ममा नवीनतम कलाशैलीका सिर्जनाले फड्को मारेको छ ।
मास्टर तेजबहादुर चित्रकारजस्ता कुशल गुरु र प्रेरकको सान्निध्यमा उहाँले चित्रकलाको संसारमा पहिलो पाइला टेक्नुभयो । बिहानको उज्यालो मात्र सँगालिएको हुँदैनथ्यो, आँखा मिच्दै ओछ्यानबाट उठ्दा उहाँको घरमा कलाशिक्षाको एउटा विशेष संसार सुचारु भइसकेको हुन्थ्यो ।
नेपाली चित्रकलाका अग्रज कलाकारहरू अमर चित्रकार, दिलबहादुर चित्रकार र मनोहरमान पुँ चित्रकारजस्ता व्यक्तित्वहरू मास्टर तेजबहादुरसँग चित्रकलाका आधारभूत ज्ञान सिक्न आउँथे । यसरी बाल्यकालमै उहाँले कला सिक्ने र सिकाउने दृश्यहरू देखेर उहाँको कलिलो बालमस्तिष्कमा कलात्मक हृदयले समृद्ध बनायो ।
दरबार हाइस्कुलमा प्रारम्भिक शिक्षा लिँदै गर्दा उहाँले पिताजीकै पथप्रदर्शनमा चित्रकलाको औपचारिक अध्ययन सुरु गर्नुभयो । बाल्यकालमै उहाँको रेखाचित्रले ख्याति कमायो । सोही स्कुलमा पढ्ने वरिष्ठ कलाकार शशीविक्रम शाह पनि मदन चित्रकारका रेखाचित्रबाट प्रभावित हुनुभयो ।
मदन चित्रकारले त्यहाँबाट कलाको उच्च शिक्षा हासिल गर्नुभयो । त्यहाँ उहाँले व्यक्तिचित्र, नदी, घाट र प्रकृतिका विविध दृश्यहरूलाई रङ र रेखामा उनेर आफ्नो क्षमतालाई परिस्कृत गर्नुभयो । पानीरङको प्रविधिमा उहाँले बनाएका कलाकृतिहरूले त्यतिबेलै प्रशंसा पाउन थालेका थिए ।
मुम्बैको कला शिक्षापश्चात नेपाल आएर कलाकार, कलाप्राध्यापक, कलालेखक मदन चित्रकारको कलायात्राले नयाँ मोड लियो । प्रारम्भिक चरणमा उहाँले रेखाचित्रबाट आफ्नो परिचय स्थापित गर्नुभयो । त्यसपछि उहाँले विविध माध्यम, शैली र विषयमा प्रयोग गरेर आफ्ना सिर्जनाहरूलाई परिष्कृत पार्नुभयो ।
उहाँले दृष्टान्त चित्र, चित्रकथाहरूमा पनि उत्तिकै योगदान दिनुभयो । साहित्यिक पुस्तकका आवरण कलादेखि पाठ्यपुस्तकहरूका सन्दर्भ चित्रसम्म उहाँको सिर्जनशीलता झल्किन्थ्यो । जुनबेला यस किसिमको कामको भर्खर थालनी हुँदै थियो, त्यस समय उहाँको प्रवेश र प्रयोगले कलामा नयाँ आयाम थपियो ।
उहाँले नेपाली सम्पदा स्थलहरू र प्रकृतिका दृश्यहरूलाई आफ्ना सबल रेखाचित्रमा आकर्षक शिल्पसौन्दर्यले उतार्नु भएको छ । त्यस्तै उहाँलाई मनपर्ने पानीरङबाट सम्पदा, गल्लीका दृश्यहरूलाई नेपाली कलामा मौलिकता थप्नुभयो । जहाँ पानीरङको पारदर्शी जलपमा दृश्यको सौन्दर्यमय संरचना कलात्मक उचाइको आवरणमा आकृतिवद्ध भए । यथार्थवादी शैलीमा प्रारम्भिक यात्रा तय गरेपछि उहाँ अमूर्त कलाक्षेत्रमा प्रवेश गर्नुभयो । यस शैलीमा उहाँले सिर्जनाहरूलाई भावनाको गहिराइ र चेतनाको सौन्दर्य प्रदान गर्नुभयो । यसले उहाँलाई नेपाली कलाक्षेत्रमा अद्वितीय बनायो ।
मदन चित्रकारले सिर्जना कलेज अफ फाइन आर्टस्मा ११ वर्ष प्रिन्सिपलको रूपमा काम गर्दै नयाँ कलाकार पुस्ताहरूलाई मार्गदर्शन प्रदान गर्नुभयो । उहाँको शिक्षण, सिर्जना र अनुसन्धानमूलक कलालेखनको योगदानले नेपाली चित्रकलाक्षेत्रलाई बलियो आधार प्रदान गरेको छ ।
उहाँले कलालेखनमा गहकिलो पुस्तकहरू मात्र लेख्नुभएन, अङ्ग्रेजी भाषामा समेत कलासम्बन्धी लेखनमार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो र नेपाली कलाको पहिचान विस्तार गर्न भूमिका खेल्नुभयो ।
गएको मंसिर १९ गते बिहान सिर्जना कलेज अफ फाइन आर्टस्द्वारा आयोजित कलावार्तामा उहाँले आफ्नो लामो कलायात्राका विविध पक्षमा प्रकाश पार्नुभयो । ती भावनाहरूले उहाँको जीवन र कलायात्रा एउटा साधारण मानिसको असाधारण कथा बनेको छ । अनेकौं शैली, विम्ब, रङ र अनेकौं विषयमा उहाँको कलाचेतनाको प्रयोगधर्मीपन नेपाली कलाकै उपलब्धि हो । जहाँ रेखाहरूले जीवनको चित्र कोर्छन् । रङहरूले भावनाको गहिराइ देखाउँदै इतिहासका पाना पल्टाउँछन् । त्यहाँ मात्र मदन चित्रकारको सिर्जना सार्वजनिक भइरहेको हुँदैन । त्यहाँ नेपाली कला सिर्जनाकै समृद्ध अध्याय निर्माण भइरहेको हुन्छ ।