पूर्णबहादुरको सारंगीले नेपालबाट करीव ५० करोड कमाएको छ । यो कमाईमा पूर्णे अर्थात् विजय बरालको हिस्सा कति होला ? अहिलेको चल्तीको हिसाबले भन्ने हो भने उनले शुरूमा जति पैसा लिने सम्झौता गरेका थिए, त्योभन्दा एक सुको पनि बढी पैसा पाउने छैनन् । विजय बरालले यो फिल्म खेल्दा पाँच लाखभन्दा कममा काम गर्ने सम्झौता गरेका थिए । अब फिल्मको यत्रो कमाईपछि उनले कबोलिएभन्दा बढी पैसा पाउने सम्भावना कम नै हुन्छ । उदार निर्माता भए भने केही थपथाप दिन पनि सक्छन् । यसको अर्थ उक्त फिल्मका निर्माताहरू कञ्जुस भएकाले त्यसो गरेका होइनन् । सम्झौतामा उल्लेख भएअनुसार पाउने नियमले त्यस्तो भएको हो ।

फिल्म कलाकारका कारणले चल्छ कि कन्टेन्टका कारणले ? यो संसारभर बहसको विषय बनेको धेरै वर्ष बितिसकेको छ । अहिले नेपाली मनोरञ्जन बजारमा हिन्दी फिल्म ‘पुष्पा २’ले धूम मच्चाइरहेको छ । यो फिल्म के कारणले चल्यो ? नायक अल्लु अर्जुनको लोकप्रियताले कि फिल्मको कथानकले ? यसमाथि पनि अहिल्यै बहस गर्न सकिन्छ । जसरी ‘पूर्णबहादुरको सारंगी’ यसको कथाले चल्यो कि विजय बरालको अभिनयले ? यसमाथि पनि उत्तिकै बहस गर्न सकिन्छ । तर हलभित्र छिरिसकेपछि कलाकारले पूरै फिल्मको भार बोकिदिन्छ भन्ने कुरामा भने अधिकांश सहमत हुन्छन् ।

यो बहस नेपाली फिल्म मात्र होइन, बलिउडदेखि हलिउड र यूरोपेली र फ्रान्सेली फिल्म उद्योगमा समेत भइरहेको छ । अहिले फ्रान्सेली सुपरस्टार ओमार साईले यो बहसलाई घनीभूत बनाएका छन् ।

मुलान फिल्मको एक दृश्य

ओमार साई फ्रान्सेली फिल्मका सुपरस्टार हुन् । प्रायः व्यावसायिक फिल्ममा देखिने साई नेटफ्लिक्सको ‘लुपिन’मा देखिएयता उनको लोकप्रियता संसारभर चुलिएको छ । हुन त हलिउडका धेरै फिल्ममा देखिएका छन् तर ‘लुपिन’ आएयता उनको महत्त्व संसारका दर्शकले बुझ्न थालेका हुन् ।

उनले पनि यही महसूस गरे । फिल्म हिट हुन्छ, हिट गराउन उनैको अनुहार प्रयोग गरिन्छ तर त्यो अनुहार बिकुञ्जेल मात्र उनले काम पाउने हुन् । अनुहार बिक्न छाडेपछि अब के हुन्छ ? यसको उत्तर खोज्न उनले विकल्प प्रयोग गर्नुपर्ने आवाज उठाए । त्यो आवाजलाई उनका केही अर्बपति साथीहरूले साथ दिएका छन् ।

अहिले लुमिना नामक फ्रान्सेली फिल्म स्टुडियो र अर्बपति लगानीकर्ता थोमस बेन्स्की मिलेर साई तथा उनका निर्देशक साथीको फिल्म कम्पनी कारोसेल स्टुडियोमा ठूलो लगानी थपिरहेका छन् ।

यसको पछाडिको सोच के हो भने, प्रतिभा सम्पन्न लेखक, कलाकार, निर्देशकहरूलाई फिल्म निर्माणमा सघाउनु । यसरी बनाइएको फिल्ममा ती क्षमतावान सर्जकको उचित मूल्याङ्कन गर्दै कालान्तरसम्म पैसा आउने बाटो खुला गर्नु हो । यसको अर्थ, आज एउटा फिल्म साईले खेले । यसमा उनको लगानी अभिनय मात्र हुन्छ । त्यो लगानीबापत उनले नमरूञ्जेलसम्म रकम पाइरहन्छन् । यही कुरा फिल्मको निर्देशकमा पनि लागू हुन्छ ।

साईले फाइनान्सियल टाइम्ससँग भने, ‘हामीजस्ता कलाकारसँग पर्याप्त स्रोत र विज्ञता हुन्छ तर जब कुनै फिल्म वा शृंखला बन्छ, तिनको भरपूर उपयोग गरिए पनि कालान्तरमा फाइदा भने लगानीकर्ताले मात्र लामो समय लिइरहन्छ । जसको पौरखले सिर्जना तयार हुन्छ, ऊ भने एक पटक पाएको पैसामा चित्त बुझाउनु पर्छ ।’

यसले प्रतिभाहरूमा नैराश्य छाउने र वृद्धावस्थामा उसको अवस्था दर्दनाक हुने कयौँ उदाहरणहरू छन् ।

के उसो भए साईले सबै काम यही मोडलमा गर्ने हुन् त ? उनको भनाइ बेग्लै छ । स्टुडियो मोडल अहिलेसम्म स्थापित मोडल हो । जसमा स्टुडियोले ठूलो लगानी लगाउँछ, फिल्म वा शृंखला बनाउँछ र लामो समयसम्म उसले त्यसको फाइदा लिइरहन्छ । अहिले त्यो मोडललाई तुरून्तै भत्काउने उनको उद्देश्य होइन । त्यसैले उनले कुनै पनि फ्रान्सेली स्टुडियो वा निर्माण कम्पनीसँग लामो अवधिको सम्झौता गरिरहेका छैनन् । बरू यस्तो सोच कार्यान्वयन गर्न उनले नयाँ कम्पनी बनाएका छन् । त्यो सोच कार्यान्वयनका लागि उनले नयाँ फिल्म निर्देशक लिएका छन् । यान डेमान्जेले पछिल्लो बनाएको टीभी शृंखला ‘टप ब्वाई’ निकै चर्चित रह्यो । उनै यानलाई लिएर उनी हाल एउटा फिल्म बनाउँदैछन् । यसमा कलाकार, निर्देशक र अन्यलाई फिल्म वा टेलिभिजनले जति कमाएर दिन्छ, त्यसमा प्रतिशतका आधारमा भाग लगाउने छन् ।

लुमिना र यससँग गाँसिएका साई तथा अन्य कम्पनीले एउटा दुइटा मात्र फिल्म वा शृंखला बनाउने होइन । यसका लागि उनीहरूले बालबालिकाका फिल्म, शृंखला, डकुमेन्ट्रीबाट काम शुरू गर्ने छन् ।

फ्रान्समा जेमी जोन्सन शो निकै चर्चित छ । यो एक किसिमले फूटबलको रियालिटी शो हो । जेमी जोन्सनलाई लोकप्रिय बनाउने समूहसँग मिलेर त्यस्तै एउटा शो बनाउँदैछन्, ‘स्ट्राइक’ नाममा । यसका लागि पनि साईले बेग्लै रकम उठाइसकेका छन् ।

अर्बपति लगानीकर्ता थोमस बेन्स्कीले कुनै समय शो व्यापारमा निकै तहल्का पिटेका थिए । उनले ‘ग्याङ्स् अफ लन्डन’, ‘बिस्टी ब्वाइज् स्टोरी’ र ‘द डिसअपियरेन्स अफ मेडलिन म्ययाक्केन’ शृंखलाहरू यति हिट बनाए कि तिनले एक अर्ब ५० करोड बराबरको व्यापार गरेका थिए ।

बेन्स्की भन्छन्, ‘लुमिना कम्पनी हामीले यस कारणले बनायौँ कि अब हलिउड शैलीको ठूला स्टुडियोको काम छैन । अब ऊ मात्र मोटाउने काम बन्द हुनुपर्छ । लुमिना सही दिशामा हिँड्यो भने पारम्परिक हलिउडको मोडल धराशायी बनाउने छ र यसले प्रतिभाअनुसार कमाओ भन्ने शैली स्थापित गर्ने छ ।’

हलिउड शैलीको निर्माणको एउटै सूत्र भनेको के भने, स्टुडियोले ठूलो पैसा लगानी गर्छ । सबैलाई उनीहरूको पारिश्रमिक दिन्छ । जब माल तयार हुन्छ, उसले बजारमा लैजान्छ र त्यसबाट जति नाफा लिनुपर्ने हो, लिन्छ । त्यसमा अब कसैले हकदाबी गर्न सक्दैन । जसले लगानीको जोखिम मोलेको हुन्छ, उसैले मह चाट्ने फिलोसफी यसको मुख्य दर्शन हो ।

अर्कोतर्फ, पहिला टेलिभिजन च्यानल वा स्ट्रिमिङ ओटिटी प्लेटफर्महरूले यस्तो निर्माण गरेर देओ भन्थे र त्यसबापत ओटिटी वा टीभीले एकमुष्ठ रकम तिरिसकेपछि सधैँभरि उनीहरूले त्यसको प्रयोग वा दुरूपयोग जे गरे पनि कसैले केही भन्दैनथ्यो । यही कुरा तोड्न साई र बेन्स्कीले नयाँ मोडल शुरू गर्न लागेका हुन् ।

तर यो मोडल लागू गर्न उति सजिलो चाहिँ छैन । फिल्म वा शृंखला निकै महँगो माध्यम हो । यहाँ एउटै फिल्म वा शृंखलामा अर्ब खर्च हुन्छ । त्यो कसले जुटाउँछ ? जसले लगानी हाल्छ, के उसले फाइदामा सम्झौता गर्ला ? अवश्य पनि गर्दैन ।

यस्तोमा भविष्यमा मनोरञ्जन उद्योग कुन दिशामा जाँदैछ भन्ने नबुझ्ने हो भने स्टुडियोहरूको व्यापार धराशायी हुन बेर लाग्ने छैन । अब स्टुडियो मोडलले काम नगर्ने विश्लेषणका आधारमा साई र बेन्स्कीहरूको समूहले नयाँ मोडल बनाउन तम्सिएका हुन् ।

उनीहरूको मोडलले सही दिशा लियो भने एउटा आकलनअनुसार पहिलो वर्ष उनीहरूले साढे पाँच करोड डलर कमाउने छ भने दोस्रो वर्ष यो बढेर १० करोड पुग्नेछ । यो मोडल भविष्यउन्मुख मोडल रहेको साई बताउँछन् । स्टुडियोहरूको मोडल ध्वस्त भइरहेको बेला यो नयाँ मोडलले काम गर्नसक्ने बेन्स्कीको विश्वास छ ।

यही मोडलमा बीबीसी र नेटफ्लिक्ससँग मिलेर पाँच वटा फिल्म बनाइरहेका साईले टेलिभिजनका लागि पनि थप चार वटा शृंखला बनाउने निश्चित भइसकेको छ ।

लुमिना कम्पनीको प्रतिभालाई लोभ्याउने र तिनलाई टिकाउने यो मोडल भविष्योन्मुख भएकाले कयौँ भेन्चर क्यापिटल कम्पनीहरू यसमा लगानी गर्न लोभिएका छन् । तीमध्ये एक तेट्रा पाक सिओन रजिङ पनि हुन् । उनको माहर प्रोजेक्टमार्फत ठूलो लगानी खन्याइरहेका छन् । माहरमार्फत उनले सिर्जनशील, रणानीतिक र प्राविधिक रूपमा सशक्त रूपमा लगानी गर्ने बताएका छन् ।

के उसो भए अमेरिकामा यस्तो नसोचिएको होला त ? किन यस्तो सोच अमेरिकामा पलाएन ? यो अभियान किन शुरू भएन त ? जवाफमा बेन्स्की भन्छन्, ‘यूरोपमा मनोरञ्जन उद्योग हलिउडले थिचेको छ । त्यसबाट पार पाउन यूरोपेली सरकारले धेरै काम गरेका छन् । अमेरिकामा यही काम निकै खर्चिलो हुन्छ । अमेरिकी फिल्म कम्पनीहरू खर्च जोगाउन यूरोपमा सुटिङ र अन्य प्रोडक्सनको काम गरिरहेका हुन्छन् । त्यही शक्ति यूरोपेली फिल्म निर्माताहरूले प्रयोग गर्नुपर्छ ।’

यी सारा सकारात्मक सूचकका कारण नै यूरोपमा नयाँ किसिमको मोडलमा फिल्म तथा शृंखला निर्माण हुने आधारहरू रहेको र यो भविष्यको मोडल बन्न सक्ने विश्वास बेन्स्की बताउँछन् ।

नेपालीहरूले यो मोडल प्रयोग गर्न सक्छन् ? अझ बढी सक्छन् किन भने नेपालजस्तो साह्रै कम लगानी भएको ठाउँमा सामूहिक लगानी र त्यसको प्रतिफल पनि सामूहिक नै गर्ने मोडल निकै कामलाग्दो हुनसक्छ ।