उत्सवै उत्सवहरूको यस गौरवशाली शहरले

भित्रभित्रै आफू सडिरहेको चालै पाएन

मर्दै गएको भित्रभित्रै आफू- थाहै भएन

इतिहासबाट बारम्बार छलिएको यस शहरलाई ।

 

आफ्नो इच्छाविपरीत अरूबाट कजिएको शहरले

पत्तै पाएन

भोज, नाच र जात्राहरूको रमझम रमाइलो

रमितामा उल्लहसिएर

आफूभित्रको संवेदना सुक्दै गएको

आफूभित्रको करुणा कुहुन थालेको

सद्भाव सकिंदै-समाप्तिंदै गइरहेको आफूभित्र

आत्मीयता ओरालो लाग्दै ओइलाउन थालेको आफूभित्र

अड्कल काट्नै सकेन

आफ्नो ओजस्वी संस्कृति-संस्कारको वैभवको

मात लागेको शहरले

शायद अनुभूत गर्ने चाहेन –

 

आफ्नै छेउमा बगिरहेका

सभ्यताका प्रतीक

दन्त्यकथाकालीन प्राचीन

ती पवित्र नदीहरू

चपेटामा परी फोहोरका राक्षसहरूको

दुर्गन्धित बन्दै गएको

पिपमा फेरिएर आर्तनाद गरिरहेको

अनि बालुवा बीभत्सिंदै छटपटाइरहेको

गम्नै भ्याएन

भित्र विदग्ध तर आफैमा मग्न

सपनाहरू खोसिए तापनि आत्मरतिमा मस्त

अतिक्रमित हुनुको ठूलो आँधीहुरी छातीमा दबाएर

आत्ममुग्धतामा धतुराइरहेको यस शहरले

आफू सकिंदै गएको

मासिंदै गएको आफू

शायद हेक्का नै राख्नै सकेन ।

 

० ० ०

 

हेर्नोस् यस शहरलाई

हो यो त्यही शहर

जहाँ ढुङ्गा-ढुङ्गामा कुँदिएका देवीदेउताहरूलाई

भ्याई नभ्याई हुन्थ्यो

आठै पहर फूलपाती र पूजा ग्रहण गर्न ।

 

जहाँका काष्ठकला, धातुकला, स्थापत्य,

मन्दिरका टुँडाल र तोरणहरू

अनि हिटीधाराहरूको रौनक देखेर

दङ्गै पर्थे बाहिरबाट आउने पाहुनाहरू ।

 

यहाँका गल्ली-टोल,

बनोट बाटाघाटाका

अनि डबली, नाट्य, नाच, प्याँख

र अनेकन् जात्राहरूले छोइएर

छोइएर विनम्र सभ्य व्यवहारले

छक्कै पर्थे टाढा-टाढाबाट आएका आगन्तुकहरू ।

 

कुनै समय

हुने गर्थे यहाँका हरेक मान्छे

परिश्रमका प्रतिमूर्ति

किंवदन्तीहरू भन्छन्-

यहाँका केही मानिसका ओठ र मुखमा

मोहनी वास बस्थ्यो

केही मान्छेका औंलामा थियो जादू

अनि नृत्यका असंख्य मुद्राहरू उकास्न

माहिर मानिन्थे केही मान्छेका गोडा

फेरि केही मानिस

आफ्नो समयभन्दा शताब्दीयौँ अगाडि देखिन्थे

चिन्तनमा

सिर्जनमा

सम्भारमा

संरक्षणमा ।

र सर्वोपरि

स्वास्नीमान्छेहरूका चोलामा यहाँ

श्री

शील

शोभा

सौन्दर्य

ऐश्वर्यको

वास थियो भन्ने गरिमामय गाथा सुन्दा

अद्भुत अतीतस्मरणले प्लावित बन्दछ

मनमस्तिष्क

आज पनि ।

 

० ० ०

 

तर आज

शोकाकुल छन् यस थलोका लोकगीतहरू

सुकसुकाउँदै हिक्का काढिरहेछन् लोकगाथाहरू

यहाँका बाटाघाटा र घरहरू

वैभवहीन छन्

श्रीविहीन छन्

मन्दिरहरू, हिटीहरू, घाटहरू यहाँका ।

उदास-उदास र उमङ्ग गुमाएका देखिन्छन्

मूर्तिहरू, तोरणहरू, टुँडालहरू

अनि देशेमरु झ्या !

 

पसारिएको छ जताततै प्रदूषण,

हरेक चोक र गल्लीहरू

फेरिएका छन् रछ्यानमा ।

रौनकबिनाका बन्दै जाँदो छन्

हरेक पर्व, जात्रा अनि जमघटहरू ।

भोज भतेरमा छिरिरहेको छ- केटरिङ-विद्रूपता

अब शेष छैन कतै खुला ठाउँ

रजाइँ छ जताततै भीडभाडको,

रजगज छ हरेक क्षेत्रमा

ठग-फटाहाहरूकै जयजयकारको ।

 

यसरी

सकिंदै छ यो शहर सुस्त-सुस्त

कलाविहीन किचलो,

भ्रष्टहरूको दिकमिकलाग्दो बिगबिगी,

अनि लबस्तरो स्तरविहीन राजनीतिको दुःस्वप्नहरूद्वारा

दण्डित बनेर ।

 

लखेटिए कोलाहलै कोलाहलका

असंख्य अर्थहीन ऐंठनका शृङ्खलाहरूले

कुराइमा छ अहिले घाटेवैद्यको

मृत्यून्मुख यो शहर कठै !

 

कठै !

कस्तो टिठलाग्दो बनेको छ अनुहार समयको ।

 

० ० ०

 

यस शहरको

वायु छ विषाक्त

र विप‌द्मा बिलापिंदै छ वायुमण्डल

नसकेर सास फेर्न

फोक्साहरू विप‌द्मा छन्

फोक्साहरू- रूखवृक्षका / नदी-खोलाका / पहाडका /

वायुमण्डलका फोक्साहरू ।

फोक्साहरू-

पुतलीका / कीराका / चराका /

पशुका / मान्छेका फोक्साहरू ।

 

जल छ जहरिलो

र त्यही जल पनि

हिटीधारामा / ईनार-पोखरीमा / नदी-खोलामा

अपर्याप्त बन्दै जाँदो छ,

अप्राप्य बन्दै बिचल्लिँदो छ ।

 

मरिरहेको छ माटो

अस्वाभाविक मृत्यु ।

खेतबारीमा यहाँका

उम्रिंदै छन् ज्यानमारा झारझैं

कङ्क्रिटका कठोर कुरूप घरैघर

सबैतिर ।

 

अराजक थियो आगो

यहाँको नागरिक चेतनामा

कुनै समय ।

अहिले खरानी मात्र छ

सबैको मुठी-मुठीमा अविश्वासको ।

अनि आँखाहरू सबैका

छोपिएका छन् छलको छारोले ।

 

अम्लीय तुवाँलोको तुजुकले टालिएर आकाश

नदेखिने बन्दै जाँदो छ ।

देखिन छाड्‌दै छन् अचेल

 

टाढाका ती ताराहरू,

नदेखिने बन्दै गएका छन् नक्षत्रमण्डल ।

आँखा उघारेर यस शहरले

अतीतमा हेर्ने गरेको अन्तरिक्ष

र भविष्यका लागि साँच्ने गरेका

बृहत्काय ब्रह्माण्डहरू

हेर्दाहेर्दै दुवै भएका छन् अलप – आकाशसँगै ।

सबैतिर

सलबलाउँदै छ धूवाँ

अविश्वासको, अकिञ्चनताको

धूवाँ, धूलो र ध्वाँसो मात्र

जताततै ।

 

० ० ०

 

हेर्नूस् यस शहरलाई

ओइलाएको छ,

अलिकति अस्तव्यस्त छ

अलमलिएको छ आफैमा अलिकति

केही थाकेको छ

हुनसक्छ अहिले बाटो बिराएको छ ।

 

तर मेरो विराट् विश्वास शेष छ अझै

अवचेतन अदृश्यमा कतै

एक दिन जन्मने छिन् (छ) निश्चय पनि

कुनै युगनारी

वा युगपुरुष कुनै

जसले उठाउने छिन् (छ) बिडा

र फेर्ने छिन् (छ)

यस शहरको मुहाड-

 

पुछेर पसिना

श्रमले निथ्रुक्क भिजेका

ती घमाइला मुहाडहरूबाट ।

बडारेर

दुर्गन्ध र फोहोरले ढाकिएका

गल्ली, चोक, टोल अनि बाटाघाटाहरू

पारेर सफा-सुग्घर

प्रदूषणको विषादले विदग्ध बनेका

नदी-खोला,

सिँढी-घाट

मन्दिर-मस्जिद

गुम्बा र सत्तलपाटी ती- सभ्यताका आदिशिक्षकहरूलाई ।

 

ब्युँताउने छिन् (छ) फेरि

यस शहरको पुरातन प्रभुता,

आधुनिक वैभव

हज्जारौं-हजार हातहरू बनेर

विचार र विवेकका अचुक अस्त्रहरूले

लक्ष्यभेदन गर्दै,

असंख्य अराजक, अनागरिक सोच बोकेकाहरूलाई

सिञ्चित गर्दै

नागरिक चेतनाको जलले ।

 

हेर्नू !,

यस शहरले एक दिन

फेरि फेर्ने छ कोल्टे

अनि

हेर्ने छ आफैतिर

र मुग्ध हुने छ आफैमाथि

त्यो प्राचीन कथाको नार्सिससझैं ।

(अविनाश श्रेष्ठको पर्या-कवितासंग्रह ‘करोडौं सूर्यहरूको अन्धकार’बाट)