साँझमा ओछ्यान लाग्नु अघि आँैला भाचेर पाँच चोटी हिसाब गर्यो । बेला मौका कन्सिरी छेउमा कन्याउँदै केही गहिरो सोचमा परेको जस्तो गर्यो र पुन औँला भाचेर हिसाब गर्यो । बर्खाको झरी दर्केको आवाज जोड जोडले सुनिरहेको छ । घरको भित्तैसँग टाँसिएको बाख्राको खोरबाट मसिना पाठाहरूको कलिलो आवाज झरीको गडगडाहटलाई छिचोल्दै उसको कानसम्म आएर थुरिन्छ, र सम्झन्छ, “पानीले कति चुटिरहेको होला पाठाहरूलाई ।”
उसलाई निन्द्रा लाग्दैन । उठेर अलि परतिरको भित्ताको खोपीबाट घुर्माइलो लगौटी निकालेर कसिलो बाँधेको गाँठो फुकाल्यो । लगौटीको पोकोभित्र अरु साना साना दुई ओटा पोकाहरू थिए, झिक्यो । ती पोकोभित्रका बस्तुहरू ओछ्यानमाथि दुई ठाउँमा फिँजायो ।
एउटा पोकोमा मरुका सिक्काहरू थिए । अर्को पोकोमा ढुङ्गाका गोलाइलो मसिना गोटीहरू थिए । ती गोटीहरू उतै मुग्लान हुँदा मरु गन्तीमा सहजताको निमित्त बनाएर बोकी हिनेको, नेपाल फर्कदा मरुसँगै पोका बाँधी ल्याएको थियो ।
अतालिएको मनले असहज लामो फ्वा गरेर सास फेर्यो । अनि घुडा धसेर कुक्रुक्क बस्यो ऊ । र एक एक गन्ती गर्दै टुङगा
का गोटीहरू लडाउँर्दैै थुप्रो थुप्रो राखेर हिसाब जोड्न थाल्यो ।
ढुङ्गाका गोटीहरू धेरै पटक लडायो, औला भाच्दै गन्ती गर्यो । अनि होसियारी पुर्वक भुइँका थुप्रो सिक्काहरू उठाउँदै आँखा कै नजिक टाँसेर हेर्याे । फेरि गन्यो । अनि फेरि गन्यो । निकै ध्यान पुर्वक ढुङ्गाका गोटीहरू यता उता लडाउँदै, थुप्रो सार्दै गन्यो । एक एक गरेर उठाउँदै गन्यो । जतिपटक गन्दै जान्छ । उती उती उसका चेहराका रंगहरू, फुस्रो हुँदै थियो ।
ती बस्तुहरू भुइँमा यथावत छोडेर लामो सोचमा डुब्यो । स्याँ गरेर सास फाल्दै छातीमा दुबै हात बाधेर सोच्यो । फेरि माथि सिलीङ्गतर्फ फर्केर सोच्यो । झनै बिरक्तियो ऊ ।
केहीबेर पछि ती बस्तुहरू उस्तै गरी दुई पोका बनाएर बाँध्यो, र काठे पिराको सिरानी उचालेर मुनि घुसार्यो । अनि भारी जिउ, गह्रौँ टाउको ओछ्यान माथि ढल्कायो ।
आजसम्ममा ऊसँग पुरा पुर दश कोरी अर्थात मरु २०० हुनुपर्ने । तर एक कोरी अर्थात मरु २० को गढबढी भएर अब ऊसँग नौ कोरी, अर्थात मरु १८० मात्र छ ।
“एक कोरी कहाँबाट कसरी गुम भयो होला” भन्ने सोचले उसको टाउको पुरै रिङ्गियो । “कि लगौटीबाटै कसैले झिके ? होइना, लगौटीबाट तेसरी त्यत्रो दाम झिक्ने हिक्मत कस्को हला र फेरि ? कि जँघार तर्दा पो फुत्कियो की हाउ ? नुन बोकेर आउदा आउदै लदम्बा खोलाको दह छेउसम्मन ढाकरसँगै चिप्लेर पुगेको थिए ।” सोच्यो— “दहले मान्छे खान नपाएर मरु नै खाइ दियो हला हाउ ?”
उसले रातभरी सोच्यो । मरु कति पटक कसरी थापे ? थापेर कसरी लगौटी भित्र गाठो पारे । मरु कुन हातले थापे ? कता कता कती पटक थापे । मरुका सिक्काहरू कस्ता कस्ता थिए, कुन दिन कस्तो थियो र अर्को दिन कस्तो थियो भन्नेसम्म गौण भएर सम्झ्यो । मरु थापेको बेला उसको मनमा आएका बिचार र योजनाहरू समेत सम्झना गर्यो । त्यो एक कोरी अर्थात मरु २० नहुनुको कारण पत्ता लगाउने अनेकन जुक्ती गर्यो । तर निस्कर्षमा पुग्न सकेन ऊ ।
“तीन बर्ष चानचुने कुरो हो र ? आसाम, सिन्ताम, बिजनबारी चहारेर बर्खा झरी नभनी अलैची फडानी हानेको । भोको पेटमा पटुका कसी कसी सुन्तला बोकेको । आरा काटेको, आयाक्को हाउ, कमता दुःख गरेर कमाइ ल्याको धन कसोरी गन्तीमा भुल भो भुल भो ? उखुइ….।” एकफेर नराम्ररी निसासियो ऊ ।
“यो श्रीपन्चमीको याममा बन्दकी उकास्ने आँटले आसामबाट मंरु जोगाइ ल्याको, लगौटीबाट खुस्काएर आमालाई समेत नदेखाई खोपीमा हालेको । मेम्बे हाउ..कसोरी गडबडी भो ? कता गुलमुल भो ?” पुनः सोच्यो ।
“यो बन्दकी उकासेपछि आउँदा सालका बर्खहरूमा, एतिबेला आफनै खेतबारीमा अन्न बाली लगाउँदै हुनेछु । मंसिर पुषको ठन्डीमा बर्खौदेखि रित्तो भकारीहरूमा आधा नै सही, तर अन्न पस्नेछ । मेरो आमाले यो आँगनमा कम्तीमा दुइटा बिस्कुन लगाउँछ र कुख्रा, बाख्रा धपाउँदै ऊ त्यो सिकुवाको डिलमा घाम तापेर बस्नेछ । हिउँद बर्खा अर्काको खेतबारीमा बोनी गर्न पनि जानु पर्दैना अनि त । तेइ ह बर्खको एकपल्ट नुन बोक्नु बिजनबारी गइन्छ । तेती भए हामी आमा छरालाई दुइ तीन बर्ख कटिन्छ । यती गरेपछि आमाको अन्वारमा जुन घाम टल्किन्छ । अर्कोना साल भै गो एक हाते लगौटी, रेली खास्टो किनिन्छ र लुङमादेन ठूलीलाई भगाइ ल्यार हिमधाङ गरिन्छ ।”
“मेम्बे ! यो नासोचेको फसाद कहाँबाट आयो ?”
दशकोरी दाम गन्ती गरेर लगौटीको भित्री जाङमुनी घुसारे पछि उसले यी कल्पनाहरू गरेर शान्तिको सास फेरेको थियो । हो त उमंगीत कल्पनाहरूको महासागरमा तरंगिन पाउँदा संसार कै भाग्यमानी हुँ भन्ने पनि एकफेर सोचेको थियो उसले ।
फेरि आजै बेलुका गन्ति गर्दा एककोरी मरुको कमिले उसलाई ठूलो पीडा दियो । “भोल श्रीपञ्चमी याम, बन्दकी फुकुवा गर्ने दिन, गाउँको बैदार सुब्बा र लेखन्दासलाई दिउँसो मात्तै खबोर छोडेर आको, ए नाराङस्याङलो आतान चेन पेबाबे ? आल्ल आख्या चोक्नाबेन बे ?”
“मेम्बे ! यो नासोचेको फसाद कहाँबाट आयो ?” केहीबेरको सोच पछि फेरि आफैँलाई सान्त्वना दिँदै भन्यो— ‘हैना हाउ !’ “लंकामा पुगी, बित्तामा किन हार्नु ? यत्रो धन त जम्मा गरे । आबो एक चोटी मुग्लान जान्छु । भाग्गे जग्गे भनेको कल्ले पो देख्या छ हौ ? आझ धेर धन कमाइ ल्याउछु नि हाउ ?” सम्झेर निदाउने प्रयास गर्यो ।
००० ००० ०००
भोलिपल्ट बिहान झिसमिसेमा मलिन अनुहार लिएर बैदार सुब्बाको घरमा पुग्यो ।
“लिनु आइ पुगिस् बिर्खे ?”
“मेना आन्दुम्बे ! हुनुहार, दैब नटार भो ।”
“के भन्छ यो ?”
“ह नी आन्दुम्बे । बन्दकीको मोहर नपुग्ने भो ।”
“आनि पुग्छ, उकास्छु भनेको हैनास हिजु ?”
“मुग्लानको गन्तीमा ठ्याक्राक्कै पुगेको, आबो हिजु घारमा आधारातसम्मन गन्ति लगाउँदा पनि कसै गरे पुर्यौउनु सक्युङना आन्दुम्बे । तइ एकफेरा तुम्बाले गन्ति लगाउँदा पुगि पो हाल्छ कि भनेर यी बोकेर ल्याकोछुङ” भन्दै जाङमुनिबाट एउटा पोको निकालेर बैदार सुब्बाको हातमा थमायो ।
बैदार सुब्बा दयालु स्वभावको थियो । सानैमा टुहुरो भएको बिर्खेलाई टुहुराटेङ्ग्रा भनेर अलि बडी दयाभाव जताउँथ्यो, र बन्दकी उकासोस् भन्ने मनसाय राख्थ्यो ।
“लु याहा हैना । माथि तालामा हिन ।”
दुबैजना माथि उक्लिए । बैदार सुब्बा राडीमाथि पलेटी कसेर बस्यो । बिर्खे अलि परतिर खोस्टे पिरामा बस्यो । “खै एता ले मोहर । गनी हेरुङ म ।” बैदार सुब्बाले मरुको पोको हातमा लियो ।
बैदार सुब्बाले बढो ध्यानपुर्वक मरु गन्ती सुरु गर्यो । बिर्खेले पनि आँखा झिमिक्क नपारी बैदार सुब्बाको गन्तीमा ध्यान दिएर हेर्दै बस्यो । घामको कलिलो प्रकाश आँगनमा ओर्लदा उनीहरूले मरुको गन्ती सके ।
“ह रछ हाउ बिर्खे । कसै गरे पुगेना । आबो यो कता गडबडी गरिस् ? ठूलो नक्सान पो भोयो ताउ तँलाई ।”
“आबो कसो गरुँ त आन्दुम्बे ? यो टुहुरोटेङ्ग्राको दुःख तागेरा निङवाभुमाङले देखेना । मै दुःखीलाई दुःख थोपर्यो । तर पिन हरेस खाइ गको छुङ्ना । एकखेप मुग्लान जान्छुङ आबो । ज्या हुने हुन्छ ।” भनेर बिदा माग्दै बिर्खे उठ्यो ।
“जिमिन खाने भणारीलाई खाबोर पुर्याइस ता ?” बैदार सुब्बाले सोध्यो ।
“आबो उतै जान्छुङ र खाबोर गछुङ आन्दुम्बे ।”
००० ००० ०००
बैदार सुब्बाको घरबाट निस्केर हान्नीदै भण्डारी कहाँ पुग्यो । भन्यो— “हाउ भणारी बाज्या ! आबो एकखेप आसाम नपसी तिम्रो महर पुगेना । यो पाली यस्तै हला हइ । जाग्गामा कमाई तिमी नै लगाइ खाउ ।”
“तेसोले हुँदैना हाउ बाज्या । तिमीले जिमीन खाकै छौ । मरु मैले गन्या दिन तिमी जिमीनबट निस्कना । भै गो त ।”
“मैले त भन्या भन्यैछु । यो जिमीन माया मारी दे भनेर । तैँले जिमीन उकास्ने भनेर पंच डाक्या कतिफेर भो । तेरा बाउ बाज्याले खाको रिन तैले बोक्नु सक्दैनस् भनेर कति सम्झाऊ तँलाई ? एकसय मरु दाम खाका, अइले भन्छेस भने डब्लीएर का पुगो ? हिसाब लाको छेस ?”
“बन्दकी ह । मेरो जिमीन उकास्ने ह भणारी बाज्या ।”
“आज हुन्न हैन ?”
“आज त हुन्न बाज्या ।”
“उसो भे कइले गन्छेस त मरु ?”
“एककोरी मरु कहाँ गुलमुल भो भो । आबो एकखेप सुखीम हानिन्छु भण्डारी बाज्या ।”
“पंच र लेखन्दासलाई भेला नहुनु भन्ने खबोर छोडिस् त ?”
“खाबोर अघि छोडेर आको नी हाउ बाज्या ।”
“ल भैगो । आगौसाला पन्चमी यामसम्मलाई मेरै भो हैन ? भनेको मान्छेस भने त्यो दाम अन्तै लगा । त्यो जिमिनको पिछे नगर बिर्खे आब ।”
“तेसोले हुँदैना हाउ बाज्या । तिमीले जिमीन खाकै छौ । मरु मैले गन्या दिन तिमी जिमीनबट निस्कना । भै गो त ।”
बिर्खे नबसीकन घर फर्कियो । भण्डारी बाजेले प्रफुल्लित मुद्रामा जुगामा ताउ लगाउँदै बिर्खेलाई हेरेर पठायो ।
००० ००० ०००
घर फर्केपछि आमासँग मुग्लान जाने भनेर सल्लाहा गर्यो । एउटै छोरो, एउटै भरोसा, बुधरानीको मन फेरि अमिलो भएर आयो । भन्यो— ‘कान्छाउ !’ “जिमिनको कुरो नगरुँ आबो । तेरो बाउ बाजेले जे गरे, जसो गरे, छोडुँ आब । बुढेसकालमा नाता नातिनी देखेर मर्नु पाउछुङ कि भनेको । चुपो लागेर बिहेथिक गर । मुग्लान जाने कुरो सुन्दुङना हाइ आबो ।” बुधरानीले दुःखी चेहरा बनाई ।
“तेसो हैना आमाउ । म उता गएर महर कमाइ ल्याउँछु । घर घुर्यानैमा आर्का आएर अन्नबाली भुर्कुट्टै फलाइ खान्छ । तेसोले हुँदैना । जिमीन उकास्युङ भने हामी मुग्लानै गए पिनी जहान परिवारले पौरख गरी खान्छन । तीन मैना, कि त छ मैनामा आउँछु । धन कमाइ फिर्कीन्छु ।”
बुधरानीले भुन्टे मुन्द्री हल्लाउँदै गम खाएर निकैबेर सोची, भनी— “हुनु त देश परदेश खाकै मुन्छे पाक्छ भनेको सुन्याछुङ । हस ना त, आबो ज्या ज्या तेरो विचार । पैले पिनी नाजा फन्दा फन्दै गइस् । राम्रै गरी ल्याइस । कुन अपराधी, पापीको जालमा परिस् र तेत्रो दाम गुलमुल बनाइस् । आबो तेरै विचार हाइ कान्छाउ ।”
रोपाइ गरेका खेतबेसीहरूमा सध्याकालीन छाया टल्कन थाल्यो । ऊ भोलि परदेश लाग्ने निर्णयमा तल्लो गाउँको चंखेलाई भेट्न झर्याे । चखे हरेक वर्षको रोपाइ सकेपछि आसाम जाने र आउने गथ्र्याे । गाउँका जवानहरूलाई विभिन्न भुलभुलैयामा पारेर लगेर जान्थ्यो चखे । ऊ पनि चखेको साथ लागेर जाने निधो गर्न झर्यो फेरि ।
बेलुका आमा छोराले मरु १८० झुत्रो कपडामा पोको पारे । त्यो पोकोलाई कासको सानो लोहोटामा कोचेर हाले । अनि लोहोटाको मुख गोलाइलो चेप्टो ढुङगाले छोपेर लिसाइलो रातो माटोले लिस्याएर टाले । टाडमाथि लगेर हावामा आधारातसम्म सुकाए । गिलो माटो ओभानो भए पछि बुधरानी सुत्ने ओछयानमुनि खाल्डो बनाएर पुरे ।
००० ००० ०००
चराहरूको चिरबिराहट सुरु भयो । घर पछाडिपट्टी डाँडामा सदियौँ बर्षदेखी उभिएको फलेदोको रूखमा लाटकोसेरोले बिहानीको संकेत कुकुकुकु गर्दै जोड लगाएर करायो । मध्यरातसम्म बिहानी कुरेर छटपटाउँदै ओल्टेकोल्टे गरेर निदाएको ऊ चराहरूको खैलाबैलाले नराम्ररी झस्केर उठ्यो । आँखा बिझाइरहेको थियो । बाहिर बर्षा निकै जोडले दर्किरहेको थियो, सायद यो वर्षको लागी अन्तिम वर्षा थियो । रेडी खास्टो पन्छाएर तल झर्यो ।
बुधरानी बिर्खेलाई कुरेर अगेनो छेउमा बसिरहेकी थिई । बिर्खे आमाको नजिक गएर बस्यो । “लु आबो नगाइ सक्तुङना भन्छेस्, यो आइले आघाउन्जेली खाँ । यो चेन बाटोमा भोक लाग्दा खाँ । ज्यासाङ अघाउजेली खाँ हाइ कान्छाउ ।” बुधरानीले याखाक्चा उसिनेर हरियो खोर्सानीको अचारसँग थालभरी राखिदिँदै भनी ।
“उता पुगेपछि विचार गर्नु र काम सारो छ भने फिर्किनु । मानिसको चोला जति ठूलो चेन सम्पती रुप्या चेन हैना है कान्छाउ ।” बुधरानीका आँखाहरूमा आँसुका दह छछल्किए ।
उसले आज्ञाकारी भएर मुन्टो हल्लाउँदै याखाक्चा बाधेको पोको थाप्यो । बुधरानीको आखामा पिलिक्क हेरेर बाहिर निस्क्यो ऊ । बेलुका नै तयार पारेर दलिनमा सिउरी राखेको तोक्मा र ढाकर बोकेर बुधरानीलाई भन्यो— “लु आबो म बाटो लागे हाइ आमाउ ।”
“बाटो घाटोमा होस्यारी हुनु । कोक्मा इल्लेक पुगेपछि पिन होस्यारी हुनु । लु जा जा आबो ।”
“दुखेसो नलिनु आमो । थुप्रो संगसंगी हुन्छुङ उता । पैले पिन ३ बर्ख गलाएर आको ह त ।”
“सँगसँगीसाङ्गा राम रहुसमा काम गर्नु । बेसीमा छ मैना भित्री फिरकेर आइज हाइ ।” सम्झाइ बुधरानीले ।
“धेर पिरलो नगर । आउने मान्छे भेटिगए भने सम्चार पठाउछुङ ” भन्दै बिर्खे ओरालो लाग्यो ।
बुधरानीले निकै वरसम्म पछ्याउँदै आएर झिसमिसे उज्यालोमा बिर्खेलाई हेरी पठाइ तल तलसम्म…. ।
यसरी बाटो लाग्दा उसको शरीरमा एक किसीमको अनौठो स्फुर्ती दौडीयो । अनुहारमा चमकदार तेज सन्चार भयो र मनमनै दंग भएर निकै जोसिला पाइलाहरू फडकार्दै पिठ्युँमा ढाकर र तोक्मा बोकेर बाख्राको पाठाजस्तो उफ्रर्दै ओरालै ओरालो दौडियो ऊ ।
बुधरानी एक्ली भई । सपनामा कहिलेकाहीँ बिर्खेलाई देख्थी । घर फर्केपछि बुहारी ल्याइदिने, नाता नातिना खेलाउने कल्पना बुन्दै अँगेनो छेउमा सुर्ती बेरेर खाँदै बस्थी ।
००० ००० ०००
गाउँबाट मुग्लान जानेहरू नुन, लत्ताकपडा लिएर घर फर्कन थाले । छोरो पनि हिजो आजै आइ पुग्ला कि भन्ने आसा बोकेर साँझ अबेरसम्म पिँढीको डिलबाट आँखाले भ्याएसम्मका बाटोहरूमा हेरेर बस्न थाली । कहिले छोरोको समाचार बोकेर आएका छन् कि भनेर भर्खरै मुग्लानबाट फर्केकाहरूलाई भेट्न पुग्थी । धेरैले ‘भेटै भएन आउने बेलामा’ भनेर टार्थे । तर चंखेले भने मुग्लानबाट फर्कदै पिच्छे, ‘बिर्खे आगौ साल मात्र आउँछ रे’ भन्ने समाचार सुनाउँथ्यो बुधरानीलाई ।
“हाम्रो कान्छाले मरु एक कोरी जोहो गरी ल्याएपछि हाम्रै हुन्छ ।”
“आबो तँ गएर तेल्लाइसँगै फिर्काउनु हाइ जेठा । ब्वारीधिक ल्याइ दिएर मात्तै मरुँ की भनेको । म बस्ढीले कइलेसम्मन रुँगी दिनु हाउ उसको घर ? कोनी हाउ जेठा ?” गुनासो पोखी ।
“मरु राम्रो कमाउँदै छ । आफै आउँछ । तपै पिर नगर्नु तुम्मा” भनेर चखेले सम्झाउँथ्यो ।
बुधरानी छोरो कुनै साँझपख टुप्लुक्क आँगनमा उक्लिन्छ भन्ने झझल्कोहरू आँगनको डिलमा देख्थी । आधारातमा, ‘आमाउ !’ भन्ने भ्रामक आवाजले ब्युँझन्थी । तर ऊ फर्केर आएन । यही पर्खाइमा थुप्रो वर्षहरू बिताई । चखे हरेक साल जान्थ्यो, फर्केर आउँथ्यो र बुधरानीलाई भन्थ्यो— “आउँछ ऊ आफैँ आउँछ आन्दुुम्मे ।”
बुधरानीको घरैमुनि बन्दकी खेतमा भण्डारीले हरेक साल रोपाइ गथ्र्यो । पहेलपुर धानका बालाहरू झुल्थे । बुधरानी आँगनको डिलमा उभिएर पहेलो फाँटहरु हेर्दै सोच्दथी— “हाम्रो कान्छाले मरु एक कोरी जोहो गरी ल्याएपछि हाम्रै हुन्छ ।”
हरेक साल उसै गरी झुलेका पहेला धानका फाँटहरू, पोटिला मकैका घोगाहरू हेर्दै उही कल्पना र सपना बुन्दै आँगनको डिलमा उभिएर सोच्दथी— “हाम्रो कान्छाले मरु एक कोरी जोहो गरी ल्याएपछि हाम्रै हुन्छ ।”
एकसाँझ चंखे जेठा बुधरानीको घरछेउको बाटो भएर घर फर्किदै थियो । बुधरानीको असहज लहरेखोकीको आवाजले चंखेको ध्यान खिच्यो । नजिक गएर हेर्दा बुधरानी डल्लो परुन्जेल खोक्दै बसेकी थिइ, बोलायो — ‘आन्दुम्मे !’ “खोकी सारो भो जस्तो छ । ओखती मुलो खोजी दिऊ ?”
“खाको ओखती सोखती । आबो त्यो कान्छाले मेरो सास भेट्तैना हला । मुग्लान कैले जान्छेस् जेठाउ ? खोजेर फिर्काइ लेना हाउ ।”
“केइ पीर नगर्नु बिर्खेको । आउछ, आफैँ आउँछ ।”
“दश बर्ख लागिसक्यो । आब कइले आउछाउ ?”
“घर फर्किनु आफैँ जान्या छ तेल्ले । यो अघि पनि गएर आकै ह त । आब ओखती खायौ भने फेदाङमा डाकी दिऊँ त ?”
“लु बरु तेसो गर जेठा । फेदाङमाधिक डाकेर ल्याइ देना ताउ ।”
“लु सुर्ता नगरी सुत । म भोलि बिहान फेदाङमा लिएर आउँछु हइ आन्दुम्मे !”
“नाबिर्सी डाकी दे हाइ जेठाउ ।”
हुन्छ भनेर चंखे बाटो लाग्यो । भोलिपल्ट घाम एक जुवामाथि पुगेको बेला कटहरेलाई लिएर बुधरानीको घर पुग्यो चंखे । दैलो उघ्रेको थिएन ।
“आन्दुम्मे ! आन्दुम्मे !” संघारमा उभिएर करायो ।
बुधरानीको हलचल सुनिएन ।
“हाव बूढीमान्छे सारो पो भोयो की कसो पो हाव ? लु दाइलो उघे्रना त ।” फेदाङमा ससकीत बन्यो ।
“हैना, सेक्खासाङ कसो पो भो हाव बूढीमान्छेलाई ?” आसतएर दैलो घचघच्याउँदै करायो चंखे— “आन्दुम्मे ! आन्दुम्मे ।”
“लु बूढीमान्छेले उघारेना आन्धुए ! दाइलो फुटाइ दिऊ हला हाव । कि कसो पो गरुङ आबो ?” अलमलीयो चंखे ।
“लु तेसोले हुँदैना । वरतिर, परतीरको मान्छे भेला गरुङ र मत्तै दाइलो फुटाउ हाइ ।”
“तेसो ह भने तिमी बस्दै गर । म बुवालाई बोलाइ ल्याउछुङ हाइ” भन्दै चंखे सास मारेर दौडियो । एकैछिनमा भेला भए । दैलो घच्याक घुचुक, ठेल ठाल गरेर उघारे ।
“आन्दुम्मे ! आन्दुम्मे !” कराउदै चंखे फुत्त भित्र छिर्यो ।
बुधरानी कुक्रुक्क परेर निदाएको देखियो ।
“हैना, किना बोल्दैनाउ आन्दुम्मे !” भन्दै चंखेले पाखुरामा समायो ।
बुधरानी चिसो भएर कक्रीसकेकी थिई । लहरे खोकीले बिच्छेदित प्राण पुन शरीरमा समाहीत हुन सकेन । आमा छोराको सपना, बन्दकी खेत र अस्तित्वहरू एक कोरी मरुले बिलिन भए ।
००० ००० ०००
हिजो आज उबेलाका बुढापाकाहरूले कथा झैँ कुरो गर्छन, बिर्खे अलैची टिप्दै गर्दा गुर्बे सापले डसेर गएको तीन महिना मै मर्यो रे । चखेले बुधरानीलाई ढाट्यो ।
कसैले भन्छन, पाएको निम्याक नगद लगौँटीमा बाधेको साथीहरूले लुटन खोज्दा मारेर फाले रे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।