सधैं नाङ्गो छ यो डाँडो । आफ्नै गतिमा बगे खोलाका सुसेलीहरू । अहँ, सकेनन् ब्यूँझाउन तिनीहरूले यसलाई र मला ई। जो भएका फूलका थुँगाहरू, गुराँसका ससाना थुम्कीहरू बिलाए उहिल्यै कहिलेकहिले । यो आकाश सधैं नजीकै देखा पर्छ, लोभ्याउँछ र हराउँछ । मनभरि सपना लिएर आउने दाउरे-दाउरेनीहरू धेरै भयो आउँदै आउन्नन् । सिद्धिहाले जो भएका हाँगाबिँगाहरू । पातहरू लुछेर लगे हावाले । बैंसहरू सबै घामले । झरी पर्छ । हुस्सु लाग्छ । ओहो ! बिर्सिसकें आफूलाई नजीकैबाट हेर्न पनि । केवल नाङ्गो डाँडाको एउटा रूख- एउटा नाङ्गो रूख ।

हो- मलाई आफूप्रति पश्चात्ताप छ, छ एउटा विद्रोह । तर धेरै पछि, हो धेरै पछि । त्यसो त तिमीले चाहेर पनि कहाँ हुन सकुँला र म तिम्रो । त्यहीं राम्रो । नचाहिदेऊ । नहेरिदेऊ । सडक छ । गल्ली छ । सिनेमा छ । पार्क । यो रातो सारी । कालो स्वेटर । टाढैबाट चिन्छौ तिमी । किन नचिन्नु आफ्नो पहिलो कोसेली कसो ! तर ती सबैलाई, स्वेटरलाई, सारीलाई, मलाई, मेरो आँखा र गालालाई भुल्न चाहिरहेछौ तिमी । तर सकिन्न हगि, भुल्न ! सकिन्न हगि भुल्न !

मलाई थाहा छ बोतलका बोतल रित्तो पार्छौ तिमी प्रत्येक रात । आफूलाई कति अनन्त अनन्त भुल्न मन लागेको तिमीलाई । फेरि त्यही बिहान आइहाल्छ । त्यही घामको पहिलो मुठी आइहाल्छ, छोइहाल्छ तिम्रो रन्थनिएको टाउकोलाई । तिमी जुरमुराएर उठ्छौ । आँखाभरि कचेरा टाँसिएका छन् अलि सुन्निएजस्ता भएका छन् गाला ।

‘ए सावि ! चिया ल्याऊ त !’ कसरीकसरी तिम्रो मुखबाट निस्किहाल्छ । अनि त तिमी आत्तिएला जस्ता हुन्छौ । केही खुस्के जस्तो हुन्छ तिमीभित्र । शरीरभरि उम्रिन्छन् काँडैकाँडा । एकछिन गम्भीर भएर सोच्तछौ, सोच्तछौ र हतारसँग मुखमा दुई गाँस हालेर अफिस जान्छौ ।

त्यही बासी अनुहार अफिसको । सबका शिथिल र थाकेका आँखा । टाइपको एकोहोरो टकटक । टाइपिस्टको रुखो हाँसो । दिक्कदिक्क लाग्छ तिमीलाई । घाम डुब्न लागेको छ । ठिङ्गठिङ्ग उभिइरहेछन् एक-एक रूख । तिमी हेरिदिन्छौ र चूपचाप गुनगुनाउँछौ आफूभित्र । एउटा हैरानी छ स्वरमा ।

माफ राख । प्रत्येक गएका क्षणहरू भत्कँदो सपना जस्तै हुन्छन् । धमिलो छ आकाश र पहाड जोडिएको ठाउँ । हिमाल परपर छ । तिम्रो आँखाभरि आँसु छ । एउटा कहालीलाग्दो एकाकीले निल्छ तिमीलाई । यो एकाकी एउटा पूर्णतामा बदलिन्छ ।

त्यहाँ तिमी मात्र होइनौ । अब म पनि त छु । कोठाको शून्यता । कति मनपर्दो ! कति लोभलाग्दो !! हरे । तिमीले भरिदिएको यो म्वाइँले आँखाका परेलीहरू अझै चिसा छन् । सारै चिसा हिउँ जस्ता । यस ओठमा अझ अर्को ओठ आएर टाँसिएको छ । यी सेता गालाहरू टोकाइले रगत चुहिएला चुहिएला जस्तै छन् । तिघ्राका डामहरू त शायद मेटिए अब । कतिकति धेरै माया गर्छौ तिमी । सारा मायाका लहरहरू कसरी पोखिदिन सकेको मलाई ।

उफ् ! एक्लै सिनेमा गए हुन्न तिमी ? मै जानुपर्ने होइन ? एक्लै डुल्न गए हुन्न तिमी ? मै साथ लाग्नुपर्ने ? पहिले कसो गर्थ्यौ त तिमी ? बानी हो रे कस्तो बानी ? सत्य बुझ्न सकेको होइन मैले । कुन बिहान कुन राति सबै एउटै ठान्छौ एउटै । मीठा हुन्छन् गीतका धुनहरू । कसरी छुन्छन् मुटुहरूलाई । मान्छेका लयालु मुटुको मासुहरूलाई । अझ केस्राहरूलाई सारै धेरै गीत गाउँछौ तिमी ।

अँ प्रत्येक मान्छे एउटा कथा । प्रत्येक जिन्दगी एउटा कथा । यो हाम्रो पनि एउटा कथा । म तिम्रो स्नेहको विशाल आकाश । कति धेरै अटाउन सकेको म । भान्साघरमा भात पकाउन लाग्यो तिमी सँगै छौ । धारामा नुहाउन गयो तिमी बाहिरबाट च्याइरहेछौ । तरकारी किन्न जाँदा पनि पछ्याएकै छ तिम्रो छाया । लखेटिरहन्छ मेरा प्रत्येक क्षणहरूलाई ।

कतिपल्ट म भन्छु- नगरिबक्स्योस् यस्तरी माया ! मलाई मन पर्दैन । कहिल्यै स्वास्नी नदेखेको लोग्नेमान्छे ! तिमी झन् टोलाएर हेरिरहन्छौ मेरा आँखालाई लट्ठिएर । भात पस्कन लाग्यो एक पटक कसिएर नसमाती हुन्न नारीलाई । चियाको कप लगेर अगाडि राखिदियो म्वाइँले पहिले भरिदिनुपर्छ ओठलाई । आफ्ना लिपस्टिक सबै पुछिन्छन् । कतिपल्ट दलिरहनु । दिक्क लाग्दैन । एक दिन हो र ! सधैँ ! कस्तो अनन्त तृष्णा हँ तिम्रो !

अफिस बिदा भएको दिन त झन् । दिनभरि कति पटक मर्याकमुरुक पारेर जीउ समात्न परेको । अँगालै अँगालो । रातभरि जीउ कटकटी खाइरहन्छ । जरो आएजस्तै हुन्छ । कमजोर मान्छे । ती सबै बैंसहरूलाई किन खन्याइदिन सक्तैनौ एकै पटक मलाई ? त्यत्तिका लागि स्वास्नी बनाएको होइन । नपुंसक मान्छे ! साह्रै बढ्ता भयो साह्रै । कसिङ्गर कहिल्यै राम्ररी लाउन पाइन्न । ओछ्यानका सिरक र डस्ना जथाभाबी छन् । फलामको शरीर हो र मेरो । कत्तिपल्ट नभनेको हो र तिमीलाई मेरो बिन्ती छ राजा ! यत्ति सारै लग्गु नहोइबक्स्योस् न जीउ बिग्रन्छ । कस्तो केटाकेटी भइबक्सेको ! ल अलिकति हाँसिदिएपछि पुग्यो तिमीलाई । केही चाहिएन । केही पनि चाहिएन ।

हुँदाहुँदै कत्तिसम्म हुन्छौ भने अफिस जान पनि बिर्सिन्छौ । अफिस जाने समय पनि मैले सम्झाइदिनुपर्छ । कस्तो अचाक्ली । तलब नआए के हुन्छ थाहा छैन तिमीलाई । केवल म । एउटी युवतीको नाङ्गो तिघ्रा । नाङ्गा मासुका लाम्टा । नाङ्गो छाती। जाडाको समय । जीउभरि सर्दी घुस्छ । लुगा लाउन ज्यान गए दिने होइनौ । रातभरि कसरी सक्नु ? कत्ति हेर्न परेको ? कति चुस्नुपरेको यो मासुलाई ? के छ यस मासुमा ? के छ यस चोक्टामा ? हरे ! तिमी बौलाइरहेछौ । सबै लोग्नेमान्छे यस्ता कहाँ हुन्छन् ? जीउको कुनै भागमा थपथपाएपछि थपथपाएको छ, छ । कति धेरै आनन्द लुट्न चाहन्छौ मबाट तिमी ? म सक्तिनँ सक्तिनँ । सारै कराएँ भने के आनन्द लुट्न पनि नपाउनु मैले भनेर त्यसैत्यसै कराउँछौ । आफूलाई पूरा समर्पित गरिदिइसकेकी छु तिमीमा । तर सधैं असन्तोष । वासनामा असन्तोष त हुन्छ । मलाई हृदयको माया गर भनेको होइन । तर ज्यान गए छाडेनौ अहँ मैले लाख बिन्ती गर्दा पनि छाडेनौ तिमीले ।

थाहा छ । तिमी होशमा त छौ । एउटा पानी परेको रात । मलाई तिमी पूरा नाङ्गो बनाउँछौ । लाज त भागिसकेका छन् मबाट अब । पहिले म्वाइँ खान्छौ । जीउलाई कसिएर समात्छौ । आँखामा टोकिदिन्छौ । ल तिमी मेरो छातीमा टोक्छौ । मेरो तिघ्रामा, मेरो गालामा, मेरो निधारमा, मेरो घाँटीमा । सहँदै छु म मरेर । तिम्रा ती तीखा दाँतहरू । क्वापक्वाप्प गाड्छौ । रगत नै फुट्ला जस्तो भएर आउँछ । पछिपछि त सहनै सकिनँ । उफ् ! यो कस्तो प्रेम हो ? मैले नरोकेको भए, बलपूर्वक नरोकेको भए, शायद त्यो रात मर्थें होला सधैंका लागि । राक्षस मान्छे तिमी ।

अनि त के र ! कोठामा बस्नैहुन्न । तिम्रो नाटक चलिहाल्छ । रबरको भकुन्डोलाई पनि त्यत्ति दुःख दिइन्न होला । झुक्क्याएर भाग्नुपर्छ मैले तिमीबाट । कसरी गाड्न दिइरहन सकिन्छ तीखा दाँतहरू ? नाङ्गो बनाएर मात्र पुगेन तिमीलाई ?

हो, केही वर्ष हुन्छ । क्षितिज जस्तै तिमी अब त शून्य छौ । केवल बादलका टुक्राटुक्री आउँछन् । खेल्छन् र हराउँछन् । यो नाङ्गो डाँडाको नाङ्गो रूख । सधैं टकटकी लाएर हेरिरहन्छु तिमीलाई । अब तिमी रुन पनि सक्तैनौ । पाचुके भइहाल्यो हाम्रो । के लाग्छ टिक्न सकिनँ तिमीसँग । अब पढ्न लागेकी छु । सडकमा भेट हुन्छ । रुन मन लाग्छ । म जानुपहिले तिमी त्यस्तो थिएनौ । पक्का थिएनौ । हो, मैले तिम्रो अपरिमित वासना जगाइदिएँ । क्षमा चाहन्छु । म पनि त अब बूढी भएँ । तिमी त तन्देरी नै छौ । बुढ्या‍इ चाहिं तिम्रो पुरस्कार मलाई । भइगयो वितृष्णा छैन जिन्दगीप्रति ।

अब डाँडामा पात हाँगाविहीन एउटा ठुटो रूख छ । त्यहीं आएर आकाश जोरिएको छ । त्यो पनि धमिलो छ- कुयेंत्रो लागेजस्तै । रूखका सपनाहरू सावि र क्षितिज तिमी भएका छौ । आज पानी पर्छ । हो आज पक्कै पानी पर्छ ।

(परशु प्रधानका ‘प्रतिनिधि कथाहरू’बाट)