१५. हजार लक्ष्य, मानवता एक

अनेक राष्ट्रको यात्रासँगै अनेक जातजाति भेटेपछि जराथुस्त्रले यसरी बुझे, पृथ्वीमा ‘असल’ र ‘खराब’ भन्दा ठूलो शक्ति अरू केही छैन ।

आफ्ना मूल्यमान्यताबिना कुनै जाति टिक्न सक्दैन । तैपनि केही जाति आफूलाई जोगाउन चाहन्छ भने, उसले छिमेकीका मूल्यमान्यतालाई जस्ताको तस्तै अपनाउन पनि त सक्दैन ।

जुन कुरा एक ठाउँमा असल ठानिएको पाएँ, त्यही कुरा अर्को ठाउँमा तुच्छ र घृणास्पद देखेँ । र, जसलाई यहाँ खराब भनिएको थियो, त्यही कुरा अर्को ठाउँमा राजसी गौरवले सजिएको थियो ।

छिमेकीहरूले कहिल्यै एकअर्कालाई बुझ्न सकेनन् । आफ्नै आत्मा समेत छिमेकीका भ्रम र पाप देखेर आश्चर्यमा परिरह्यो ।

हरेक जातिमाथि एउटा महानताको तालिका झुण्डिएको हुन्छ । उक्त तालिका नै उनीहरूको विजयी गाथा हो । आफूलाई चाहिएको सत्ताको आवाज हो । कामनाको आवाज हो ।

जुन कुरा उनीहरूलाई कठिन लाग्छ, त्यसैलाई उनीहरू प्रशंसनीय मान्छन् । जसलाई अत्यावश्यक र कठिन भन्छन्, त्यसैलाई असलको विल्ला भिराउछन् । जुन चीजले भयानक संकटको अवस्थामा बचाउँछ, अन्ततः त्यसैलाई पवित्रताको घोषणा गर्छन् ।

उनीहरूलाई जेले विजयी बनाउँछ, जेले छिमेकीको त्रास र ईर्ष्या जन्माउँछ, त्यसैलाई उनीहरू उच्चतम मूल्य दिन्छन् । त्यसैलाई समस्त चीजको मूल्य र अर्थ ठान्छन् ।

यदि, तिमीले कुनै जातिको आवश्यकता, उसको भूमि, उसको आकाश र छिमेकीलाई बुझ्यौ भने मात्रै उसले आफ्ना लक्ष्यसम्म पुग्न चढेको सिँढी र त्यसमाथि लागेको नियम या समयलाई बुझ्नेछौ ।

“सधैं अरूभन्दा महान र असल बन ।” यही नियम, जसले ग्रीकहरूको आत्मालाई झंकृत गरायो । उनीहरू यसैलाई पछ्याउँदै महानताको बाटोतिर हिँडे ।

“सत्य बोल, र धनु-बाणमा पोख्त बन ।” यही वाक्य, जो मेरो नाम राख्ने जातिको प्रिय र कठोर नियम थियो ।

“आमा-बाबुलाई आदर गर । आफ्नो आत्माको गहिराइबाट उनीहरूको कामना पूरा गर ।” यसरी अर्को जातिले यो नियम बनायो । जसले उसलाई निरन्तरता दियो । अन्ततः समयसँगै यसको जग बलियो भयो ।

“इज्जत राख । इज्जतका खातिर आफ्नो प्रतिष्ठा र रगतको बलिदान देऊ, चाहे त्यो गलत र भयानक बाटोमा नै किन नहोस् ।” यसरी अर्को जातिले आफूलाई सशक्त बनायो । अन्ततः त्यसैमा टेकेर आफूलाई भविष्यको महान आशाले भरिपूर्ण तुल्यायो ।

असल र खराबको कानुन मानिस आफैंले बनायो । यो नियम उसले आकाशबाट पाएन, कुनै देवताको आदेशबाट पाएको पनि त होइन ।

मानिसले आफ्नो अस्तित्व जोगाउनका लागि हरेक वस्तुलाई मूल्य दियो । उसले एउटा “मानवीय मूल्य” निर्माण गर्यो । तसर्थ ऊ आफूलाई “मानवीय मूल्य” निर्धारण गर्ने प्राणी हुँ भन्छ ।

हे सिर्जनशील आत्माहरू हो सुन ! मूल्य निर्धारण गर्नु भनेको सिर्जना गर्नु हो । मूल्य नै वस्तुहरूको सम्पत्ति र महत्त्व हो । बिना मूल्य त अस्तित्वको बोक्रा मात्रै बाँकी रहन्छ ।

सिर्जना भनेको परिवर्तन हो । र परिवर्तन भन्नु नै नव सिर्जनशीलहरूको उदय हो ।

जातिहरूले पहिला आफ्नो मूल्य बनाएका थिए । तर आजको मानिस एउटा जाति नभएर एकल व्यक्ति बन्ने क्रममा छ । व्यक्तित्व आफैंमा मानवको सबैभन्दा पछिल्लो र गहन सिर्जना हो ।

आजसम्ममा, हजार जातिहरूका हजार लक्ष्य छन् । विडम्बना ! तिनलाई बाँध्ने एउटा सम्म साझा लक्ष्य अझै फेला परेको छैन ।

तैपनि विचार गर त, यदि साँच्चै नै मानवताका लागि साझा लक्ष्य छैन भने, कतै मानवता नै अधुरो त छैन ?

जराथुस्त्रले यसो भनेका थिए ।

१६. छिमेकप्रतिको प्रेम

तिमीहरू छिमेकीलाई घेरेर मीठा शब्दहरू बगाउने गर्छौ । तर तिमीहरूलाई म यसो भन्छु, छिमेकप्रतिको प्रेम त केवल तिम्रो आफ्नै कमजोर आत्ममोहको प्रतिबिम्ब हो ।

आफूबाट टाढा भाग्न तिमीहरू छिमेकीकहाँ पुग्छौ, त्यसलाई निस्वार्थता भन्न खोज्छौ । तर तिम्रो यो “निस्वार्थता”लाई मैले भित्रदेखि देखेको छु ।

“तिमी” भन्ने अस्तित्व “म” भन्दा नीकै पुरानो हो । “तिमी”लाई पूजा गरिएको छ, तर “म”लाई अझैसम्म पूजा गर्न जानिएको छैन । यही कारणले मानिस छिमेकी भएतिर दौडन्छ ।

के तिमीलाई छिमेकीलाई प्रेम गर भनि सल्लाह दिउँ ? अहँ ! बरू छिमेकबाट टाढा जान र पर-परका मानिसलाई प्रेम गर्न सल्लाह दिन्छु ।

छिमेकप्रतिको प्रेमभन्दा महान त पर-परबाट आउँदै गरेको पुस्ताको हुन्छ । र मानिसप्रतिको प्रेमभन्दा महान् त वस्तु र कल्पनाको हुन्छ ।

त्यो कल्पना, जो तिमीभन्दा अगाडि दौडिरहेको छ । मेरो भाइ, त्यो त तिमीभन्दा नीकै सुन्दर छ । त्यसलाई तिमी किन आफ्नो मासु र हाड दिन सक्दैनौ ? तिमी किन डराउँछौ र अन्ततः छिमेकीकहाँ भाग्छौ !

तिमीहरू आफूसँगै बस्न सक्दैनौ । आफूलाई प्रेम गर्न पनि जान्दैनौ । तसर्थ तिमीहरू छिमेकीलाई आफ्नो प्रेममा फसाउन खोज्छौ, र उसैको भ्रमले आफूलाई पोत्न चाहन्छौ ।

सच्चा मित्र त तब मात्र जन्मन्छ, जब तिमी आफ्नै हृदयबाट ओइरिने प्रेम अन्त खन्याउन सक्षम हुन्छौ ।

जब तिमीमा नजिकका आफन्तसँग बस्ने शक्ति हुँदैनथ्यो, तब तिमीले आफ्नो साथी आफैं बनाउनुपर्थ्यो । उसको कठोर हृदयको आवाज सुन्नैपर्थ्यो ।

जब तिमी आफूलाई असल देखाउन चाहन्छौ, तब अरूलाई साक्षी बस्न बोलाउँछौ । जब उसलाई विश्वास दिलाउँछौ, तब मात्र आफूलाई पनि असल ठान्छौ ।

मात्र त्यसलाई झूट भनिँदैन, जो आफ्नो ज्ञान विपरीत बोल्छ । भयानक झूट त त्यो हो, जो आफ्नो अज्ञान विपरीत बोल्छ ।

तिमीहरू यस्ता छौ, जो अरूसँगको कुराकानीमा आफ्नै सत्यलाई ढाँट्छौ, अनि छिमेकीलाई आफैंप्रतिको भ्रममा फसाउँछौ ।

बुद्दु भन्छ: “मान्छेको संगतले चरित्र बिगार्छ, वास्तवमा जब आफ्नै चरित्र हुँदैन ।”

तिम्रो खराब आत्मप्रेमले तिम्रो एकान्तलाई जेल बनाएको छ ।

एउटा मानिस छिमेकीकहाँ जान्छ, किनकि उसले आफूलाई खोजिरहेको हुन्छ । अर्को जान्छ, किनकि ऊ आफूलाई हराउन चाहन्छ ।

छिमेकप्रतिको तिम्रो प्रेमले टाढाका मानिसहरूलाई मूल्य चुकाउन बाध्य बनाएको छ । पाँच जना भेला हुँदा, छैटौंलाई मरिरहनुपर्ने वाध्यता छ ।

मलाई तिम्रा उत्सवहरू मन पर्दैन । जहाँ मैले नीकै नाटककारहरू भेट्टाएँ, र दर्शकहरू समेत प्रायः नाटककै पात्रजस्ता लागे ।

छिमेकप्रतिको प्रेमलाई होइन, म तिमीलाई मित्रताको शिक्षा दिन्छु । मित्र, जो तिम्रो जीवनका लागि पृथ्वीको उत्सव होस् र अतिमानवको सुरुवात ।

म त्यस्तो मित्रको कुरा गर्छु, जसले आफ्नै गहिराइबाट सिंगो संसार सिर्जना गर्छ ।

उसका लागि सारा संसार खुल्छ, त्यो संसार पुनः उसकै भित्री सृष्टिमा समेटिन्छ । असलको विकास खराबबाट, र उद्देश्यको विकास संयोगबाट हुन्छ ।

भविष्य र विगतहरू आजको तिम्रो प्रेरणा बनून् । आफ्नो मित्रभित्र आफ्नै अतिमानवलाई भेट ।

मेरो दाजुभाइ हो, तिमीहरूलाई म छिमेकप्रतिको प्रेमको शिक्षा दिन्नँ । बरू विगत र भविष्यप्रेमको शिक्षा दिन्छु ।

जराथुस्त्रले यसो भनेका थिए ।