प्रिय केटीसाथी,
असीम प्यार !
प्रिय ! म सन्चै छु । तिमी पनि सन्चै हौली भन्ने कामना गरेको छु । तिमीलाई थाहा नै छ, म तिमीलाई छोडी अमेरिका फिर्दै छु । यति वेला म जहाजको इकोनोमिक क्लासको साँघुरो सीटमा खुम्चिएर बसेको छु । कतारको दोहाबाट उडेको जहाज लगभग ३९००० फिटको उचाइमा उड्दैछ । दोहाबाट अमेरिकाको ह्विस्टन लगभग १२००० किलोमिटरको आकाशे मार्ग देखाइरहेको छ । चिसोचिसो भएको छ । जहाजले दिएको ओढ्नेभित्र म नेपाल यात्राको सम्झना गर्दैछु । खासमा भन्ने हो भने तिमीसँगको सान्निध्यको बहारमा बगिरहेको छु ।
आडैको सीटमा बसेकी अरेबियन हो भन्ने अनुमान गर्नुपर्ने एउटी महिलाको अर्द्ध बुर्काबाट उसको गोरो अनुहार हेर्दैछु । त्यही बुर्काभित्रकी नबोलिएकी अरेबियन महिलाको अत्तर मेरा नाकभित्र पसेको छ । यही वेला म तिमीलाई अग्घोरै सम्झिरहेको छु । तिम्रो सान्निध्यको यादले वशीभूत भएको छु । तिम्रो सुगन्धको मादकता ममाथि हावी हुँदै छ ।
काठमाडौंमा भएकै वेलाकै त कुरा हो । तिमी र मैले बानेश्वरको एउटा रेस्टुरेन्टको केबिनमा बसेर कफी पिउँदै घन्टौं बितायौं । प्रेमिल कुरा गर्यौँ । विचार साट्यौं । तिमी र म बीचको यो आकर्षणको अर्थ अनुपम छ । म तिम्रो सुन्दरताबाट प्रभावित भएँ । तिमी कति अग्ली — मलाई त्यही अग्लाइ मन पर्यो । कति सुन्दर नापनक्सा — मलाई त्यही नापनक्सा मन पर्यो । कति हिस्सी परेकी — मलाई त्यही हिस्सी मन पर्यो । म त त्यसैत्यसै सम्मोहित भएँ । म यति सम्मोहित भएँ कि तिम्रो सुन्दरताको बयान गर्न सक्दिनँ । तिम्रो सुन्दरतासँग लुटुपुटु गरिरहेको छु । किनभने तिम्रो सुन्दरता बयान गर्न थाल्दा म त्यसै त्यसै पग्लिन्छु । त्यसो त तिम्रो सुन्दरता बयान गरेर सकिने कुरा नै होइन । अर्थात् तिम्रो सुन्दरता अवाख्य हो ।
मलाई थाहा छ, तिमी अर्काकी श्रीमती हौ । तिमीलाई पनि थाहा छ, म अर्काको श्रीमान् हुँ । अर्काको श्रीमान् वा श्रीमती हुनु परिवेशीय कुरा हो । प्राविधिक कुरा हो । सामाजिक कुरा हो । पारिवारिक कुरा हो । श्रीमानश्रीमती हुँदैमा प्रेम भइहाल्छ भन्ने कुरा होइन । हुनुपर्छ भन्ने आदर्शवादी मान्यतालाई म मान्दिनँ । प्रेम हुन पनि सक्छ, नहुन पनि सक्छ । प्रेम भयो भने सुनमाथि सुगन्ध हो । श्रीमानश्रीमती हुनुको आधारस्तम्भ परम्परागत दायित्व निर्वाह गर्नु हो । परिवारको निर्माण हो । तर माया तथा अभिसारीय दृष्टिले हेर्ने हो भने यो सम्बन्ध अवैज्ञानिक हो । अप्राकृतिक हो । विवाहित महिलाका केटासाथी हुनु र विवाहित पुरुषको केटीसाथी हुनु भनेको स्वाभाविक हो । प्राकृतिक हो । त्यसैले तिमी र म प्राकृतिक साथी हौं । अनुरागात्मक सुललित साथी हौ ।
मेरा धेरै केटीसाथी छन् । कोही अविवाहित छन् — विवाहको ताकमा छन् । कोही विवाह नगर्ने मूडमा छन् — करियर बनाउने अभियानमा छन् । कोही विवाह नभएका मनोविज्ञानमा छन् । कोही विवाहबन्धनका तडपन खेपेर बाँचेका छन् । कोही विधवा छन् । विधवा विवाह कठिन पनि छ । समाजले कठिन बनाएको छ । कोही सेपरेटेड छन् । श्रीमान्सँग मनमोटाव भएर अलग बसेका छन् । यी सबै कुरा भनेको परिवेशीय तथ्य हुन् । मान्छेको जीवनको एउटा अवस्था मात्र हो । एउटा परिवेश मात्र हो, समग्र जीवन चाहिं हुँदै होइन यो । तर समाजले यसलाई नियतिवादी जीवन बनाइदिएको छ । कर्मवाद बनाउनु पर्नेमा नियतिवाद बनाइदिएको छ । कर्म माने काम । कामले उत्पन्न हुने परिणाम । म यस्तै सोचिरहेको छु यति वेला ।
तिमी केटी हौ । म केटा हुँ । हामी एक अर्कामा आकर्षित हुनु स्वाभाविक हो । प्राकृतिक हो । आकर्षण हुन्न भन्नु चाहिं अप्राकृतिक हो । स्वाङ हो । जैविक मनोविज्ञानको त्रुटी हो । परिवारको डरले त्यसो भनिएको हुन्छ । समाजको डरले त्यसो भनिएको हुन्छ । मनलाई दबाएर बाध्यताका कारणले पनि त्यसो भनिएको हुन्छ । परिवार तथा समाजमै बाँच्नुपर्ने भएपछि त्यो कुरा पनि एक हदसम्म ठीकै हो । पारिवारिक तथा सामाजिक बन्धनका विरुद्ध आफ्नो प्राकृतिक अस्तित्वका लागि जायज सङ्घर्ष गर्न नसक्नेका लागि यसो भनिनु नै श्रेयस्कर हुन्छ । मुन्टो लुकाउने ठाउँ हुन्छ । म त्यस कुरालाई अन्यथा पनि लिन्न ।
तिमीले नै भनेकी थियौ विपरीत लिङ्गी आकर्षण हुनु भनेको स्वाभाविक हो । आकर्षण प्राप्ति मात्र होइन; अप्राप्तिमा पनि सुन्दर हुन्छ । संसारमा धेरै कुराहरू सुन्दर छन् । फेरि सबै सुन्दरता मेरै भागमा परून् भन्ने कुरा पनि अराजकता हो । शतप्रतिशत गलत हो । सुन्दरता तिम्रो गहना हो । तिम्रो अधिकार हो । तिम्रो चैतन्य हो । त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा तिम्रो स्वः अधिकार हो । यस कुरामा तिमी बेदखल अधिकारी हौ ।
प्रिय ! म अराजक हुन चाहन्नँ । म तिमीप्रति आकर्षित भएँ भन्दैमा तिमी पनि मप्रति आकर्षित हुनपर्छ भन्ने केही कुरा होइन । मैले तिमीलाई सम्झेर रात बिताएँ भन्दैमा तिमीले पनि त्यसै गर्नु पर्छ भन्ने कुरा होइन । मेरो त्यस्तो चाहना पनि छैन । तथापि तिमी सुन्दरताको खानी हौ । यो मेरो कुरा हो, जसलाई कसैले हरण गर्न सक्दैन । म तिमीप्रति आकर्षित भइरहन्छु । र, म त्यसै त्यसै तिमीलाई सम्झेर पल्लवित भएको हुन्छु । रोमाञ्चक भएको हुन्छु । अंकमालको धर्षणानुभूति हुन्छ । यस्तै हृदय पल्लवितको अवस्थामा म तिमीलाई सम्झिरहेको छु । जीवनका जँघार तर्दा भेटिएका गजधम्मे तडपनका बिचमा तिमीलाई सम्झँदा मेरा मनमा जून उदाउँछ । शीतलता महसूस हुन्छ ।
तर तिमी पत्याऊ । मैले तिमीलाई माया गर्न थालेको कारण तिम्रो भौतिक सुन्दरता होइन । भौतिक सुन्दरतालाई त सबै मनुष्यले मन पराउँछन् । भौतिक सुन्दरता त आँखाको दृष्टिदोष हो । हेर्ने मान्छेको नजरिया हो । उसको दिमाग हो । उसको चेतीय धरातल हो । भौतिक सुन्दरता त सबैसँग हुन्छ । फरक खालको । फरक स्वभावको । फरक शैलीको । फरक दृष्टिको । फरक चैतन्यको । विश्वभरका साहित्य, धर्म, दर्शन तथा परिवेशले सुन्दरताको खानी भनेर वर्णन गरेकै छन् । तर नि मेरी केटीसाथी ! तिनको आशय भोगवादी हो । ती मान्यताहरूले तिम्रो सुन्दरतालाई कच्याककुचुक पार्न चाहन्छन् । भोग्न चाहन्छन् । भोगेर फाल्न चाहन्छन् । म भने सुन्दरताको दृश्यवादी हुँ । भोग नै मेरो प्रयोजन होइन । अर्थात् भोग मेरा लागि गौण हो । प्राप्ति र अप्राप्तिले मलाई केही फरक पर्दैन । भौतिक सुन्दरताले मेरा आँखा रमाउँछन् । अभौतिक सुन्दरताले हृदय रमाउँछ । तिमीसँगको सामीप्यले मेरो हृदय रमाउँछ । वश यत्ति कुरा हो ।
खासमा मैले तिमीलाई मन पराउन थालेको कारण भने तिम्रो विचार हो । तिमीसँगको भेटमा लैङ्गिकता वादको कुरा गर्यौँ । लिङ्गको शतप्रतिशत अस्तित्वको कुरा गर्यौं । महिला हुनुको अर्थ पूर्णता हो भन्यौ । खण्डित स्वतन्त्रताका विरुद्धको विचार अभिव्यक्त गर्यौ । त्यो मलाई बिछट्ट मन परेको छ । तिमी नरिसाऊ प्रिय ! म त तिम्रो यही विचारसँग मोहित भएको छु । सत्ते सत्ते सम्मोहन भएको छ ।
तिमीले भनेकी थियौ कि केटाले बोल्न चाहँदैमा केटीले बोल्नुपर्छ र ? केटाले प्रेम गर्न चाहँदैमा केटीले पनि प्रेम गरिहाल्नु पर्छ र ? केटाले साथी बनाउन खोज्दा केटीले साथी बनिहाल्नु पर्छ र ? तिमीले आफ्नै कथा सुनाएकी थियौ एकै गोत्र परेकाले तिम्रो केटासाथी भाग्यो । सम्बन्ध तुर्यो । के एकै गोत्रका केटाकेटी साथी बन्न सक्दैनन् र ? के केटासाथी भन्नुको ध्येय जैविक तुष्टि मात्र हो र ? केटाकेटी साथी भन्नु अभिसारीय रञ्जना मात्र हो र ? हो तिम्रा यिनै विचारहरूका सेरोफेरोमा मोहित भएको छु ।
बानेश्वरको त्यही रेस्टुरेन्टमा कफीको चुस्की लिंदै तिमीलाई गौर गरेर तिम्रो हिस्सीलाई अघाउँदी हेरेको थिएँ । तिमी कुन रूपमा मेरो अनुहार पढ्दै थियौ, त्यो चाहिं मलाई थाहा थिएन । तर पत्याऊ, खोइ किन हो त्यो वेला मलाई रतिरागात्मक भाव भने पटक्कै आएको थिएन । तर मन भने तिम्रो सामीप्यमा रोमाञ्चित भइरहेको थियो । किनभने मलाई अनुभूत हुन्छ कि रतिराग भन्नु समग्र जीवनको एउटा खण्ड मात्र हो । एउटा परिवेश मात्र हो । दुई पक्षीय इच्छा मात्र हो । एक पक्षीय रूपमा गरिने रतिरागलाई शास्त्रीय दृष्टिमा हेर्यो भने पनि अमर्यादित हो । अरञ्जक हो । अन्याय पनि हो । अस्वादिलो पनि हो । अस्वतन्त्रता हो । खासमा भन्ने हो भने त्यो एकतर्फी अभिसार बलात्कार हो । चाहे प्रेमीप्रेमिकाका बिचमा होस् वा श्रीमानश्रीमतीका बिचमा होस् । चाहे केटाकेटी साथीका बीचमा होस् । अनि नि प्रिय ! अभिसार भन्नु र रोमान्स भन्नु पनि नितान्त अलग हो । रोमान्समा जैविक तुष्टीको पक्ष कमजोर हुन्छ । भावनात्मक पक्ष प्रबल हुन्छ । मन अगाडि आउँछ । रोमान्स विचार प्रधान हुन्छ । तर अभिसारमा भौतिक तुष्टि प्रबल हुन्छ । शरीर अगाडि आउँछ । हुन त मान्छेले रोमान्स र अभिसारलाई एकै मान्छन् । त्यो कसरी हुन सक्छ र ?
अनि हो त नि त्यही भेटमा मैले तिम्रा दुई कुरा काटेको थिएँ । तिमीले बोल्दा एका ठाउँमा भनेकी थियौ कि पुरुष बलशाली र बुद्धिमान हुन्छ । महिला कोमल र दयाकी खानी हुन्छन् । अनि मैले तिम्रो विचारमाथि आफ्नो विचार प्रस्तुत गरेको थिएँ र भनेको थिएँ “महिला हुनु कम बलशाली तथा कम बुद्धिवान् भनेर समाजले भनिआएको कुरा पनि पुरुषसत्ताले महिलालाई नियन्त्रण गर्न प्रयोग गरेको सामाजिक प्रचलनको अस्त्र हो । बल भनेको के ? के बेलायतकी कुनै वेलाकी प्रधानमन्त्री मार्गरेटा थ्याचरभन्दा कुनै पहलमान पुरुष बलियो होला ? वा कुनै तालिम प्राप्त कराँटेवाला महिलाभन्दा म पुरुष भौतिक रूपमै बलियो हुँला ? के विश्वविद्यालयका महिला प्राध्यापकभन्दा एउटा सामान्य पुरुष बुद्धिमान होला ? के समाज फेरिए सँगै बल तथा बुद्धिको परिभाषा फेरिएको छैन र ? के समग्र पुरुषहरू अकोमल हुन्छन् ? के महिलाहरू कठोर हुन सक्दैनन् ? यी विचारहरू मैले तिमीसँग राखेको थिएँ । तिमीले मेरो विचारमा कति सजिलै सहमति जनाएकी थियौ । यसले तिमीमा रहेको दृष्टिकोणको व्यापकता अभिव्यक्त गरेको छ । तिम्रो दृष्टिकोणको यही व्यापकताबाट म सम्मोहित भएको छु ।
प्रिय मेरी केटीसाथी !
यो संसारमा तिम्रा पनि अनेकन केटासाथी छन् । मेरा पनि अनेकन केटीसाथी छन् । तिनको भौतिक तथा वैचारिक तत्त्वले रोमाञ्चक भएका धेरै क्षणहरू छन् । यो संसार विचित्रको छ । विचित्र विचित्रका घटनाहरू छन् । दृष्टिहरू छन् । बुझाइहरू छन् । सबै कुरा बुझेर पनि सकिन्न । बुझ्न खोज्नु आफैँमा महत्त्वपूर्ण पनि हो ।
प्रिय ! तिमीले भनेकी थियौ । तिमी केही केटासाथीबाट पीडित भएकी छौ । तिमीजस्तै म पनि केही केटीसाथीबाट पीडित छु । आज तिमीलाई मेरा केटीसाथी सँगका पीडाको कुरा सुनाउँछु । तिनको मप्रतिको दृष्टि तथा कृत्य सुनाउँछु । यसरी कुरा सुनाउनुको तात्पर्य मेरो पीडा तिमीलाई सुनाउनु मात्र हो । किनकि तिमी मेरो कुरा बुझ्छौ । कुराको गाम्भीर्यभित्र पस्छौ । पीडा सुनाएर हल्का हुन मन छ । यो संसारमा मेरो कुरा जस्ताको तस्तै बुझ्ने केटी साथी मध्ये तिमी एक छौ । फेरि मेरो आशय ती केटी साथीप्रति नकारात्मकता अभिव्यक्त गर्नु होइन । किन मेरा ती केटी साथी त्यस्ता भए भन्ने कुराको पनि मलाई हेक्का छ । सामाजिक, बौद्धिक तथा चेतीय धरातलले मान्छेको जीवनको वैचारिक वृत्त निर्माण गर्छ । वैयक्तिक चेतले बनाइ दिएको कुण्ठाले ग्रस्त हुन्छन् ।
समाजले बनाइदिएको न्यायी-अन्यायी वृत्तभित्र रमाउनु यथास्थितिवाद हो । समाजले उपल्लै सुविधा दिए पनि यथास्थितिवादभन्दा माथि जान सक्दैनन् । समाजले बाँधिदिएको दाम्लोमा सुनको लेपन लगाउनु उनीहरूको चेतीय अभिध्येय हो । राम्रो लाउनु, मीठो खानुलाई आधुनिकता ठानेका छन् बिचरा । अग्रगम्यता ठानेका छन् कठै । त्यसैलाई जीवनको आदर्श मानेका छन् । त्यो पनि तिनको स्वतन्त्रता हो । तिनको त्यो स्वतन्त्रतालाई पनि म हनन गर्दिनँ । म केही भन्दिनँ । उनको जीवन हो, सुनको साङ्लाको दर्शनमा बेरिए पनि मलाई केही फरक पर्दैन । छैन आदर्शको आलापको अलार्म बजाए पनि म केही भन्दिनँ । किनकि त्यो पनि मेरा केटी साथीहरूको चेतीय जीवन हो । परिवेशीय जीवन हो । हुन त अग्रगम्यता वा आधुनिकता भनेको विचार हो । सुविधा होइन । धनको रङ होइन । धनको मात पनि होइन । यो कुरा कसले सम्झाइदेओस् !
तथापि म सोचिरहन्छु कि युग अल्फा जेनेरेसनमा पुगिसकेको छ । संसार एउटा गाउँ भएको छ । प्रविधिजन्य छ । केटाकेटा केटीकेटीका बीचमा बिहे भएका छन् । बिहे व्यक्तिगत कुरा भएको छ । समाज प्रविधिमैत्री भएको छ । तर ती मेरा केटीसाथीहरू सोही प्रविधिको सहाराले मेरो उदात्त विचारको समूह बनाएर नै उछित्तो काढ्छन् । परम्परा याने पश्चगमन विचारको साङ्लामा मलाई बाँध्न खोज्छन् । याने मेरो चरित्रको विरुद्धमा भुसको आगो बाल्छन् । भित्रभित्र । भित्रभित्र । र, रमाउँछन् । फेरि अर्को कुरा मसँगको भेटमा भने साखुल्ले बन्छन् । प्रिय बन्छन् । मलाई त ती केटी साथीहरूको सान्निध्य पनि असाध्य मन पर्छ । तिनका शरीरबाट आउने अत्तरीय-अअत्तरीय सुगन्धले म उत्तिकै मोहित हुन्छु । ती युगले दिएको अस्तित्वबोध सहितको स्वतन्त्रताको उपयोग गर्न नपाएर समाजले खोपेका डोबहरूमाथि कथित यथास्थितिमय लेप लगाएर तडपिएका छन् ।
मलाई अनौठो लाग्छ कि जब म थाहा पाउँछु कि ती केटीसाथी दोहोरो व्यवहारमा रुमलिएका छन् । खोइ किन हो ? फेरि नि प्रिय ! ती केटी साथीसँग मेरो प्राकृतिक आकर्षणको सम्बन्ध मात्र हो । अभिसारीय सम्बन्धको चेष्टा होइन । अभिसार मात्रलाई सम्बन्धको गौण आधार मान्छु म । अभिसार मेरो गन्तव्य होइन । अनि किन ती आफ्नो मानो खाएर अर्काको बदख्वाइँ गर्न कम्मर कस्छन् । यही कुरा मैले बुझिनँ । किनकि मैले ती कुनै केटी साथीको भौतिक, मनोवैज्ञानिक, बौद्धिक, व्यक्तिगत, चारित्रिक, पारिवारिक सवालमा व्यवधान गरेको छैन । त्यसो म गर्दा पनि गर्दिनँ । म नजाने गाउँको बाटो नै सोध्दिनँ । ती सबै मेरा प्रिय हुन् । तिनको व्यक्तिगत जीवन मेरा लागि अस्पर्शी हो । तर ती अस्पर्शी चेतले मेरो व्यक्तिवृत्तमा जाइलाग्नु चाहिं मेरो लागि स्पर्शी हो ।
मान्छेका सबै समय स्वतन्त्र छैनन् । जीवनको कुनै मौकामा छोटो समयका लागि स्वतन्त्रता प्राप्त हुन्छ । तिमी र म रेस्टुरेन्टमा बसेका वेला हामी पूर्ण उन्मुक्त थियौं । बराबर थियौं । स्वतन्त्र थियौं । त्यही उन्मुक्ततामा रमायौं । तर कसैलाई त्यही छोटो समयको स्वतन्त्रतामा पनि कुण्ठित बन्नु छ भने पनि म के भनूँ ? ‘फलानो ढिस्कानासँग पल्केको छ, सल्केको छ’ भनेर राग अलाप्नुको के अर्थ ? मेरा केटी साथी पनि आफ्नो विचारमा स्वतन्त्र छन् । तथापि तिनीहरू आफू नसल्कनु, नपल्कनु भयो नि त । चियोचर्चो, कानेखुसी तथा अर्काको नितान्त व्यक्तिगत जीवनभित्र हुँडलिनु किन पो पर्यो र ? हुन त मलाई थाहा छ कि नेपाली समाजको चरित्र कुरौटे छ । अर्काको कुरा उधिनेर समय कटनी गर्छ । शायद पेटका चुर्ना जुर्मुराउँछन् । अनि अनुमानको अभिव्यञ्जनालाई अभिनयसहित प्रस्तुत गर्छन् बिचरा । म तिनलाई कठै भन्छु, जाइलाग्दिनँ । समाज र परिवेशका उपज हुन् ती कुरा । युगचेतनका अभिन्न अभिघात हुन् ती ।
यहाँसम्म कि तिमीसँग बानेश्वरको कफी पसलमा बसेर कफी पिएको, सँगै फोटो खिचेको र फेसबूकमा हालेको कुरालाई आँखीभौं उचालेर हेर्छन् । तिमी मेरी समकक्षी, सहकर्मी र साथी हौ भन्ने कुरा पनि तिनले बिर्सन्छन् । तिम्रो आफ्नो इच्छा र अधिकारका कुरा पनि तिनले बिर्सन्छन् । तिम्रा कृतिको गुणवत्ताको मेलो नपाई तिम्रो मूल्याङ्कन कसरी हुन्छ र ? हृदयको स्पन्दन नबिचारी तिम्रो र मेरो सम्बन्धको अनुमान कसरी हुन्छ र ? तर तिनका लागि तिम्रो गुणवत्ताको कुरा गौण हो । एक कप कफी, एक मसिनो मुस्कान, एक आदरणीय अग्रगम्यता तथा एक प्राकृतिक पौरखका समाचारमा हाँस्न नसक्ने वा पढेर पनि नकारात्मकतामा समय कटनी गर्ने ‘कुवाका भ्यागुता’लाई म के भनूँ ?
तर म भने त्यो वेला साहित्यमा युग खोजिरहेको हुन्छु । संसारको समाजले जस्तै नेपाली समाजले तत्कालीन ज्ञानको सहाराले आफ्नो सभ्यता विकास गर्यो । त्यसलाई हामी परम्परावाद भन्छौँ । खासमा यथास्थितिवाद भन्नु पनि सोही परम्परावादको परिवर्तित रूप हो । परम्परावादी साहित्य भन्नु पनि यही थिममा लेखिने हो । तर युग परिवर्तन भयो । परम्परावादका सत्यहरू माथि विज्ञानको जन्मले चुनौती दियो । फलस्वरूप समाजका मान्यता परिवर्तन भए । विज्ञानको आगमनले चिन्तन परम्परामा फड्को मार्यो । समाज आधुनिकतावादमा पुग्यो । साहित्यले पनि आधुनिकतावाद अँगाल्यो । विज्ञानले मात्र ज्ञानलाई चित्त बुझेन । समाज अगाडि बढ्यो । विज्ञानले पत्ता लगाएका तथ्यहरूलाई शतत अंगीकार गर्दै तिनमा भावना, माया, प्रेमलाई समीश्रण गर्दै युग अघि बढ्यो । त्यसलाई पोस्ट मोड्यार्निज्म अर्थात् उत्तर-आधुनिकतावाद भनियो । उत्तर-आधुनिकतावादमा साहित्यहरू सिर्जना भए । तर युग रोकिएन । अहिले युग अत्याधुनिकतावादमा प्रवेश गरिसक्यो । याने मेटामोड्यार्निज्ममा । यही वादमा साहित्यहरू सिर्जना हुन थालेका छन् । किनकि युग सँगसँगै हिंड्छ साहित्य । हिंड्नुपर्छ साहित्यले । समाजले । परिवेशले । चिन्तनले । व्यवहारले । यो युगमा अमेरिकाको केटा र नेपालको केटी नभेटी प्रेम गर्न सक्छन् । रोमान्स गर्न सक्छन् । बिहे गर्न सक्छन् ।
युगीय समाजका साङ्लामा स्थापित मान्यताहरूलाई समयचेतले जहिले पनि चुनौती दिएको इतिहास छ । यही द्वन्द्वात्मक इतिहास नै समाज विकासको मूल कडी हो । अत्याधुनिकतावादको औचित्य प्रविधिजन्य समाज हो । यो समाजलाई कुनै देशको कानूनले रोक्न सक्दैन । कुनै वैचारिक तत्त्वले थेग्न सक्दैन । राष्ट्रियता, सामाजिकता, संस्कृति, परम्परा, भाषा तथा धर्मले नियन्त्रण गर्ने समाजको सूत्र पुरानो हो । यी इमोशनल कुरा गरेर समाज जोगिन्न । प्रविधि रोकिन्न । ज्ञानको क्षितिज उकालो लाग्छ लाग्छ । भलै नेपाललगायत विश्व समाज अझै पनि धर्मका कठमूल्ला विचारलाई ज्ञान भनेर बसेको छ, त्यो अर्कै कुरा हो । धर्मको भित्री तहसम्म पुगे त त्यही पनि हुन्थ्यो । धर्मशास्त्रका दर्शनभित्र पसेर भौतिक तथा अभौतिक मान्यताका बारेमा बुझे पनि हुने ।
अहिलेको प्रधान कुरा भनेको ती मेरा कुरौटे केटीसाथी त त्यही परम्परावादका आधुनिक प्रतिनिधि पात्र मात्र हुन् । तिनले परम्परागत आदर्शमा रमाएर व्यवहार गर्छन् । त्यो कुरा पनि मैले बुझेको छु ।
मेरी प्रिय केटीसाथी ! तिमी त केटी हौ । मेरा ती केटीसाथीहरूलाई यही कुरा बुझाइदेऊ । म तिमीप्रति थप कृतज्ञ हुनेछु ।
तिमीलाई र तिम्रो विचारलाई अत्यधिक माया गर्ने
तिम्रो केटासाथी,
खेमराज
सान मार्कोस, अमेरिका
२९ नोबेम्बर, २०२४ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।