प्रस्तर क्यानभासमा
समयको कोलाजमा
युगीन जिन्दगी
बाँचिरहेछु म
जम्मा पारेर
मिहिनेतका शिला शिला
धानका बालाहरू
किन्न मिल्ने भए
ती पुराना यादहरू
सिङ्गै बालापनको इतिहास
म बाँच्ने थिएँ
एक आदीम मानव बनेर
एक युग ऋणमा
फिर्ता ल्याउन मिल्ने भए
ती काला कैला कपाल
जुन अहिले शिशिर ऋतुको पहिलोपटक
हिउँ ओढेको च्यादर जस्तो भएको छ;
समयसँग पुरै जिन्दगी बन्दगी राखेर
म मेरी हजुरआमाका काखमा
दन्त्यकथा सुन्दै निदाइरहेको
बालक बन्ने थिएँ;
र बग्ने थिएँ एउटा सदावहार अनन्त यात्रामा
अनवरत एउटा नदीजस्तै
आदिदेखि अनादिसम्म
उही कलकल र सुसेलीमा
जीवनको अजस्र तुनेलोमा
समयलाई टक्क अड्याएर
कैद गर्दै भित्तेघडीमा
म मोँपासा, जाँ पल सार्त्र र निचको
जीवन दर्शनमा एक युग बिताइदिन्थेँ
एन्टन चेखवका कथाका पात्रसँग सम्वाद गर्थें
ओ. हेनरीसँग एउटा डिनरमा रमाउँथेँ
कार्ल गुस्ताभ युङ्ग र फ्रायडसँग बीपीलाई भेट गराउँथेँ
भ्यान गग र पिकासोको पेन्टिङमा शेक्सपियरकी
डार्क लेडीको ब्लर्ड इमेज खोजिरहन्थेँ।
तर…
तर जीवनको जटिलतामा हाँस्न बिर्सेको मान्छेले
जीवनको रंगमञ्चमा नाँच्न बिर्सेको मान्छेले
समयको कोलाजमा बग्दाबग्दै
खुइलिएर धमिलो भएको
एउटा चित्र मनको भित्तामा सजाउँदै
लिएर एउटा सपनाको उडान
टाइम-मेसिनमा बसेर
म मिथकीय बचपनामा
दशकौँ अघिको युग बाँचिरहेछु
अनि खिस्स हाँस्दै भित्ताको तस्वीर
विपनाको यथार्थमा
मलाई गिज्याइरहेछ; देखिस् तेरो समयको एटम बम तेरो टाउकोमा ?!

बर्दघाट-१०, नवलपरासी
हाल- ओस्लो, नर्वे