संसारकै ठूला पाँच प्रकाशकमध्ये एक अमेरिकी प्रकाशक हार्पर कोलिन्सले माइक्रोसफ्ट कम्पनीसँग एउटा सम्झौता गरेको छ । सो सम्झौताअनुसार, उसले आफूद्वारा प्रकाशित पुस्तक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई तालीम दिन आफूद्वारा प्रकाशित पुस्तक दिने भएको छ । सोबापत माइक्रोसफ्ट कम्पनीले हार्परलाई प्रति पुस्तक पाँच हजार डलर तिर्ने सम्झौता भएको पब्लिसर्स विक्ली पत्रिकाले जनाएको छ ।
यो सम्झौता तीन वर्षका लागि भएको जनाइएको छ । माइक्रोसफ्टले यो रकममध्ये आधा प्रकाशक र आधा लेखकलाई बाँडिने बताइएको छ ।
हाललाई यो गैरआख्यान विधाका पुस्तकका लागि मात्र रकम छुट्याएको ब्लुमबर्ग पत्रिकाले जनाएको छ ।
यसका लागि प्रतिलेखक प्रकाशकले सम्झौतासमेत गर्ने बताइएको छ । त्यसो त यस कार्यको पूरै फाइदा सबै किसिमका गैरआख्यान लेखकले भने पाउने छैनन् । छनोटमा परेका लेखकहरू मात्र यसका लागि योग्य हुने बताइएको छ ।
प्रकाशक उद्योगका केहीले यस कार्यलाई नयाँ फड्को मानिरहेका छन् भने केहीले खासै गतिलो मानेका छैनन् ।
अथर्स डिल्डका प्रमुख कार्यकारी मेरी रजेनबर्गरले भने हार्परको यस कार्यको प्रशंका गरेकी छन् । ‘अबको समय भनेको एआईकै हो,’ उनले पब्लिसर्स विक्लीसँग भनेकी छन्, ‘हामीले अब बालुवामुनि टाउको लुकाएर यसको असर कम गर्न सक्दैनौँ । यसबाट जे जति फाइदा लिन सक्छौँ, लिनु पर्छ । किनभने, अब एआई हाम्रो जीवनको एक अंगका रूपमा विकसित हुँदै गइरहेको छ र यसलाई हामीले अँगालेर आफ्नो हित हेर्नुबाहेक अन्य विकल्प देखिँदैन ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।