१३. ब्रह्मचर्य

म जंगललाई प्रेम गर्छु । शहरमा बस्नु ठीक छैन, जहाँ कामुकहरूले भयानक भीड जम्मा गरेका छन् ।

कामुक स्त्रीको सपनामा फस्नुभन्दा हत्याराको हातमा पर्नु उचित हैन र ?

ती पुरुषहरूलाई हेर त ! जसका आँखाले धरतीमा एउटी स्त्रीसँग सुत्नुबाहेक अरू कुनै काम उचित छैन भनिरहेको छ ।

उनीहरूको आत्माको गहिराइमा उहिलेदेखिको मैलो छ । तर दुःखको कुरा, यदि त्यो मैलोपनमा अझै केही चेतना बाँकी भैदिएको भए !

केही मात्रामा भएपनि तिमीहरू जनावर झैं पूर्ण त हुन्थ्यौ ! तैपनि जनावरमा भने निर्दोषता पाइन्छ ।

के म तिमीहरूलाई आफ्ना कामनाहरू निमिट्यान्न पार्न सल्लाह दिऊँ ? अहँ, त्यसो गर्दिनँ । बरू तिमीहरूलाई आफ्ना कामनाप्रती निर्दोष रहन सुझाव दिन्छु ।

के म तिमीहरूलाई ब्रह्मचर्य पालना गर्न सल्लाह दिऊँ ? कोहीका लागि यो अद्भुत गुण हो, तर अधिकांशका लागि भने दोषारोपण हो ।

उनीहरूले संयमित हुन भने जानेका हुन्छन्, तैपनि कुकुरमा झैं कामुकता र डाह उनीहरूबाट झुल्कन भने छोड्दैन ।

उनीहरूको गुण जतिसुकै महान किन नहोस्, तैपनि त्यो चिसो आत्मालाई त्यो असन्तुलित प्राणीले पछ्याउन भने छोड्दैन ।

चतुर्याइँका साथ कुकुरे कामुकताले एक टुक्रा चेतनाका लागि कसरी भीख माग्न सक्छ हँ ? जब यसले मासुको चोक्टा अस्वीकार गर्छ !

तिमीहरूलाई हत्याहिंसा र चित्त दुखाउने जस्ता काम खुबै मनपर्छ हैन र ? तैपनि तिमी कुकुर झैं कामुक छौ भन्नेमा अझै सशंकित छु ।

तिमीहरूको आँखा बडो निर्दयी छ, र त दुःखीहरूलाई तिरस्कारले हेर्छौ । के अझै पनि तिम्रो कामुकताले आफूलाई कामनाको नाम दिएर लुकाएको छैन र ?

तिमीहरूलाई म यो पनि संकेत दिन्छु । कैयौँ त्यस्ता थिए, जसले आफ्ना विगत पन्छाउन खुबै प्रयास गरे । तिनको प्रयास, “सुँगुरलाई स्वर्ग जान पाईन्छ भन्दा, गु खान पाइन्छ,” भनेजस्तो भयो ।

जसका लागि ब्रह्मचर्य कठिन छ, तिनलाई यसबाट रोक्नुपर्छ, नत्र भने यो नर्कको बाटो हुनेछ । आत्माको मयल कामुकतामा परिणत हुनेछ ।

के म मयलको कुरा गरिरहेको छु ? यो मेरो लागि खराब चीज होइन ।

सत्य कुरा यो कि मयलको कारण नभएर सतही विवेकको कारण मानिस आफ्नो ज्ञानको गहिराइमा डुब्न आनाकानी गर्छ ।

केही मानिसहरू स्वभावैले ब्रह्मचारी हुन्छन्, कोमल हृदयका हुन्छन्, र त तिमीहरूझैं न्यास्रिनुको सट्टा खुलेर हाँस्छन् ।

उनीहरू ब्रह्मचारीलाई देखेर हाँस्छन् र भन्छन्, “ब्रह्मचारी भनेको के हो ?

ब्रह्मचारी मूर्खता होइन र ? त्यै मूर्खता हामीलाई पछ्याउँदै आयो, तैपनि हामी उसकहाँ गएनौँ ।

हामीले त्यो पाहुनालाई हार्दिक स्वागत गर्यौँ । ऊ अब हामीसँगै बस्छ, जति समय ऊ बस्न चाहन्छ, आनन्दले बस्न देऊ ।

जराथुस्त्रले यसो भनेका थिए ।

१४. मित्र

“मेरो वरिपरि कोही एक जना उभिए पनि त्यो भीड हो,” भन्छ संन्यासी । एउटा ‘म’ ले ‘तिमी’ जन्माउँछ, र अन्ततः त्यो दुई हुन्छ ।

‘म’ र ‘मेरो’ सधैं गहिरो संवादमा अल्झिन्छन् । यदि यो संवादलाई रोक्ने मित्र हुँदैन भने, यस्तो जीवन कसरी सहन सकिन्छ हँ ?

तेस्रो नै प्रायः संन्यासीको मित्र हुन्छ । हो, त्यही तेस्रो नै यस्तो ढक्कन हो, जसले दुईबीचको संवादलाई असीम गहिराइमा डुब्न दिँदैन ।

संन्यासीहरूका लागि गहिराइका धेरै नै माध्यम हुन्छन् । यही कारण उनीहरू मित्रता रुचाउँदैनन् । बरू उसको उचाइ चुलिएको हेर्न भने हतासिन्छन् ।

अरूहरूमा हाम्रो विश्वासले त्यही चीज प्रकट गर्छ, जसमा हामी आफूलाई देख्न चाहन्छौँ । मित्रप्रतिको हाम्रो तृष्णा आफ्नै कमजोरीको संकेत हो ।

कतिपय अवस्थामा हाम्रो प्रेमले मात्र डाह र इर्ष्याको पर्खाल नाघ्न खोजिरहेको हुन्छ । कतिपय अवस्थामा हामी आफूलाई कमजोर नदेखियोस् भन्नका खातिर, जानेरै शत्रु जनमाउँछौँ ।

“कम्तिमा मेरो शत्रु त बन !” यसरी सच्चा वक्ता बोल्छ, जो मित्रता माग्ने साहस गर्दैन ।

यदि कोही मित्रता चाहन्छ भने, उसले मित्रको लागि लड्न तयार हुनैपर्छ । साथै लड्नका लागि शत्रु बन्ने संकल्प समेत गर्नुपर्छ ।

मित्रताले पनि शत्रुलाई सम्मान गर्न जान्नुपर्छ । के तिमी आफ्नो मित्रको नजिक जान सक्छौ र उसलाई आफ्नो आन्तरिक स्वाधीनता गुम्न दिँदैनौ ?

तिम्रो मित्र तिम्रो महान शत्रु हुनुपर्छ । जब तिमी उसलाई चुनौती दिन्छौ, त्यहीबेला उसको हृदयको सबैभन्दा नजिक हुन्छौ ।

के तिमी आफ्नो मित्रसँग पूर्ण रुपमा नाङ्गिन
चाहन्छौ ? के आफ्नो वास्तविकता देखाउनु नै मित्रप्रतिको सम्मान हो भन्ने तिमीलाई लाग्छ ? तर उसले भने तिमी शैतानको शरणमा जाऊ भन्ने कामना गरेको हुनसक्छ !

जसले आफूलाई लुकाउन सक्दैन, उसले अरूलाई त्रसित बनाउँछ । तिमी नग्नतासँग डराउनुपर्ने कारण धेरै छन् । कारणवश तिमी देवता भैदिएको भए, कपडादेखि तिमीलाई लाज लाग्नेथियो ।

तिमी, मित्रको लागि आफूलाई भयानक आकर्शित बनाउन सक्दैनौ । उसको लागि तिमी एउटा वाण बन्नुपर्छ र महामानवको लागि तृष्णा ।

के तिमीले सुतिरहेको आफ्नो मित्रको मुहार देखेका छौ ? ऊ कस्तो देखिन्छ, तिमीलाई थाहा छ ? तिम्रो मित्रको मुहार तिम्रो आफ्नै मुहार हो, जुन एउटा टेढो ऐनामा देखिन्छ ।

के तिमीले सुतिरहेको आफ्नो मित्रको मुहार देखेका छौ ? के त्यसलाई देखेर स्तब्ध भएका थिएनौ ? मित्र ! मानव भनेको त्यही हो, जसलाई तिमीले नाघ्नैपर्छ ।

भविष्यवाणी गर्न र मौन रहनमा मित्र सक्षम हुनैपर्छ । सबै कुरा जान्ने प्रयास नगर । तिम्रो सपनाले नै तिमीलाई बताउनेछ, जागा हुँदा तिम्रो मित्र के गर्छ ।

मित्रको प्रेमको लागि तिमीमा भविष्यवाणीको गुण होस् । पहिले बुझ, के तिम्रो प्रेम उसलाई चाहिन्छ ? तिमीमा हुने उसप्रतिको प्रेम अविचलित दृष्टि र अनन्तताको दर्शनका लागि हो ।

मित्रप्रतिको आफ्नो प्रेमलाई कठोर खोलभित्र लुकाऊ । जब उसले त्यो खोल तोड्न खोज्छ, उसले आफ्नो एउटा दाँत गुमाउनु पर्नेछ । जहाँ यसो हुन्छ, त्यहाँ वास्तविक आनन्द पाउन सकिन्छ ।

तिमी आफ्नो मित्रलाई चाहिने शुद्ध हावा, शान्त एकान्त, रोटी, र औषधि हौ ? कतिपयले आफ्नो साङ्लो फुकाउन सक्दैनन्, तैपनि मित्रका लागि मुक्तिदाता बन्छन् ।

तिमी दास हौ ? यदि हौ भने मित्र हुन सक्दैनौ । तिमी अत्याचारी हौ ? यदि हौ भने मित्रता पाउन सक्दैनौ ।

स्त्रीको प्रेममा अन्याय र अन्धोपन हुन्छ । जसलाई ऊ प्रेम गर्दिन, ऊ त्यसलाई देख्दिन । जब उसले साँचो प्रेम गर्छे, उसको प्रेममा आश्चर्य, तिब्रता, रात, र उज्यालो सँगसँगै देखापर्छ ।

स्त्री, जो मित्रताको लागि अझै योग्य भएकी छैन । अझै पनि ऊ चरा र बिरालो नै छे । धेरै भएमा गाईसम्म ।

स्त्री, जो मित्रताको लागि अझै योग्य भएकी छैन । हे पुरुष मित्र हो ! तैपनि मलाई भन न, तिमीहरूमध्ये मित्रताको लागि योग्य को छौ ?

ओ दुःखी पुरुषहरू हो ! धिक्कार तिम्रो आत्माको क्षुद्रतालाई ! तिमी जति मित्रलाई दिन सक्छौ, त्यो म शत्रुलाई दिनेछु । त्यसैले म गरिब कहिल्यै हुँदिनँ ।

साथीभाइ हुनु आवश्यक छ । तर त्यहाँ मित्रता भने हुनैपर्छ ।

जराथुस्त्रले यसो भनेका थिए ।