अक्टोबर २५, २०२४, शुक्रवार । मेरो राजधानी एक्सप्रेसले बिहान ५:३५ मा गुवाहाटी छाडी दिउँसो १२:१५ मा एनजेपी स्टेशन पुग्नु थियो । उता चन्द्रगढीबाट काठमाडौं उड्ने जहाजको समय बेलुका ५.१० मा थियो । यसै हेर्दा मेरो हातमा प्राय: पाँच घण्टाको समय भएकाले म ढुक्क थिएँ । मेरा छिमेकी पुष्प अधिकारीलाई यस बारेमा जानकारी दिंदै जब मैले सुझाउ मागें । उनले लामो लेग्रो तान्दै जवाफ दिए.., “ए दाजु, हजुरको हातमा समय कम्ती रहेछ ! तपाईं एयरपोर्ट एक घण्टाअघि नै पुग्नुपर्छ । कहिलेकाहीं राजधानी एक्स्प्रेस पनि ढिलो पुग्न सक्छ । हजुरले यो कुराको ख्याल राख्नुहोला ।”

उक्त समयमा यात्रा गरेको मेरो रेल ठिकै चल्दै थियो । प्राय: ७ घण्टा यात्राको मिठासलाई उनको यो वाक्यले हल्का मानसिक तनाव दिइरह्यो, भोजन गर्दा घाँटीमा अड्केको काँडोले जस्तै घरीघरी । लामो सिटी बजाएर रेल कतै रोकिन्थ्यो भने तत्काल यस्ता खाले भावनाले मनलाई डसिहाल्थ्यो, ‘यो रेल समयमा नपुगेर उताको विमान उडेर गयो भने मैले के गर्नु ?’

धन्न रेल समयमै एनजेपी स्टेशन पुग्यो । अब मलाई समय खेर जाने कुनै पनि काम नगरेर चाँडोभन्दा चाँडो चन्द्रगढी विमानस्थल पुग्नु थियो । म रेलबाट फुत्त झरेर हानेको काँड भएँ । पिठिउँमा झोला (ल्यापटप ब्याग) भिर्दै पुस्तक लादिएको ओजनदार सुटकेसलाई एक तमासले गुडाउँदै पेटफर्म छाड्ने तरखरमा लागें । फ्लाईओभरबाट निस्केपछि पो थाहा लाग्यो म त अरू आवतजावत गर्ने मध्य भागबाट होइन, शीर्ष निकास मार्गबाट एक्लै बाहिरिएछु ।

एनजेपी स्टेशनमा पुनर्निर्माण चल्दै रहेछ । त्यसैले त्यहाँबाट बसअड्डासम्म पुग्ने बाटो कच्चा रहेछ । अघिल्ला दिन उडिसाबाट आएको चक्रवात तुफान ‘दाना’ले त्यहाँ सिमसिम जन्ती पर्सिएर गएको रहेछ । छिपछिपे पानीको दर्पणमुनि लुकेर हिलोले मेरो अवस्थालाई खिज्याइरहेको थियो । त्यसले म भित्रको जाँगरलाई चुनौती दिन कम्मर कसायो ।

मैले ‘जय बजरङ्गबली’ भन्दै सुटकेसलाई दुई हातले उचालेर लामो फड्को हानें । कुनै ब्युटी पार्लरबाट निस्केको अनुहार टल्काइरहेको थियो मेरो उडल्यान्डसको जुत्ताले । २६ र २७ अक्टोबरका दिन विश्व नेपाली साहित्य महासङ्घले आयोजन गरेको दुई दिने तेस्रो विश्वसाहित्य सम्मेलनमा २५ वटा देशबाट आएका प्रतिनिधिहरूका प्रभावी अनुहारको अवलोकन गर्न ऊ पनि म जस्तै हतारमा थियो होला । यतिवेला ऊ हिलोले लछेप्रै पारेको कुनै रोपारको अनुहारभन्दा कम सिँगारिएको थिएन ।

कसो कसो म बसअड्डाको एउटा कुनामा पुगिसकेको रहेछु । मैले जति नै हतार गरे पनि परिस्थिति मेरो अनुकूल रहेनछ । त्यति वेलासम्ममा मसँग रेलबाट ओर्लेका सबै यात्री आआफ्ना गन्तव्य स्थानतर्फ गइसकेर बसअड्डा प्रायः रिक्त थियो । अरूसँग सामेल भएर साझा रूपमा ट्याक्सी बन्दोबस्त गरेर पानी ट्याङ्की पुग्ने मनभित्र बलिरहेको आशाको बत्तीलाई प्रतिकूल परिस्थितिको हावाले झ्याप्प निभाइदियो । अब भाडा चर्को परे पनि एउटा छुट्टै वाहन त लिनै पऱ्यो । त्यतिवेला म ‘हितैसी’ गाडीवाला या दलालको घेरामा परिसकेको रहेछु । सबैले आआफ्ना पारामा भाडाको कुरा दऱ्याउन लागे । मलाई भने कुनै पनि मनपुत लागेन । तर अझ ढिलो गरें भने जाहाज फुत्केला कि भन्ने आशङ्काले मलाई कुटुकुटु खाएर चाँडोभन्दा चाँडो अघि बढ्नलाई हुटहुटी लगाइरहेको थियो ।

ठीक त्यतिवेलै  एउटा अटोवाला अपत्यारिलो अनुहार टाँसेर मेरो अघि उभियो । मेरो हतारोलाई शायद उसले बुझेछ, समयमै टुङ्गोमा पुऱ्याइदिने आश्वासन दिन लाग्यो । मैले उसका भरोसालाई कानमा ठुस्दै स्टेशनको चारैतिर नियालें । कुनै ट्याक्सीवालाहरू छेउछाउमा थिएनन् । न त कुनै यात्रु पनि । अर्थात् म कसैको आकर्षणको केन्द्रबिन्दु भइरहेको रहेनछु ।

मोलतोल गर्दागर्दै मैले यत्रो समय बिताइसकेछु । अब यो अटोवालालाई पनि ‘ना’ भने भने अरू विकल्प तत्काल केही हुँदैन । ‘शुभस्य शीघ्रम्’ भनेर निर्णय नलिई नहुने भयो । भाडा मिलाएर म अटोमा बस्नु मात्र पर्‍यो, चालकले मानौं पर्खिरहेको घोडालाई नै चाबुक हान्यो । गाडी गर्जियो । अनि पछाडिपट्टि एक मुस्लो कालो धुवाँले वायुको गुणवत्ता सूचाङ्क बढाउँदै वेग टिप्यो ।

सडकले आफ्नो कालो स्निग्ध छाती खोली मानौं हामीलाई स्वागत गरिरहेको थियो । मेरो अटो दुवैपट्टिका विस्तृत चिया बगानहरूलाई बीचैबीच चिरेर अघि बढ्दै थियो । अघिल्ला दिन पाहुनाको रूपमा आएको चक्रवात तुफान ‘दाना’ले आफ्नो पार्श्वक्रिया सिमसिमे आंशिक वर्षाको रूपमा छाडी गएछ । हरियाली पातहरू अझ ताजगी भएछन् । मैले टाढा टाढासम्म दृष्टि फ्याँकिहेरें । समतल भूमिमा मेच जसरी सम्म छाँटिएका चियाका हरिया बुट्यानहरू । जतिजति अटो कुद्दै अघि बढ्यो उतिउति यी बुटाहरू वेगका साथ गुडुली खेल्दै हुँइकिएर पछाडिपट्टि भागिरहेका थिए‌ । एक अभूतपूर्व मनोरम दृश्य !

नेपाल, भूटान, सिक्किम, दार्जीलिङ आदि विभिन्न ठाउँमा जाउआउ गर्ने परिभ्रमी चराहरूले यी बगानलाई अन्त:कालीन आश्रयस्थल पनि त बनाउँदा हुन् । यी बगानहरूले असंख्य उद्भिदका साथमा कति चरा, कीट-पतङ्ग, ससाना जनावर र सरीसृपहरूलाई आश्रय दिएर जैविक विविधताको हटस्पट बनाएका होलान् । रूखका बलिया जराहरूले माटोलाई कस्सेर समाती भूमिलाई क्षयीकरण र पैरो लाग्नबाट निःसन्देह बचाइराखेका छन् । एक्कासी ‘परिश्रान्त पृथिवी’को ‘रूख’ कविताका कतिपय हरफले मेरो मनलाई मृदु ढकढकाए-

 

‘…मेरा जराले भुइँबाट पानी चुसी

फिँजाइदिन्छन् हरियाली पातहरूमा

सूक्ष्म नलिकाद्वारा ।

अनि छाडिदिन्छन् बाफ बनाई वायुमण्डलमा

प्रश्वास छाडेसरि

उडाई पुर्‍याउन माथि बादलबीच

फेरि बर्साउन पानी झर्झर्

सारा पृथ्वीलाई पार्न सफासुग्घर

वातावरणलाई आर्द्र शीतल ।’

(हामी एउटै वृक्षलाई छाड्छौं प्रतिवर्ष डेढ लाख लिटर बाफरूपी पानी वातावरणमा) …. (पृ: ७४).

हाम्रो वातावरणमा कार्बन डाइअक्साइड ग्यासको अहरह वृद्धिले तापक्रम बढाइरहेको हुन्छ । ग्यासलाई कब्जा गरेर संग्रह गरी राखियो भने (कार्बन कब्जा या कार्बन सिक्वेस्ट्रेशन) पृथ्वीले झेल्दै गरेको यो पर्यावरण सङ्कटबाट केही मात्रामा भए पनि परित्राण पाइएला ।

निम्न तीन वटा प्रक्रियाद्वारा यो प्राप्त गर्न सकिन्छ: प्रकाश संश्लेषण, माटो कार्बन उत्सर्जन र बायोमास एक्युमुलेशन । चियाका रूखहरूले प्रकाश संश्लेषणको माध्यमबाट वायुमण्डलबाट कार्बन डाइअक्साइड ग्यास सोस्छन् अनि यसलाई जैविक कार्बन यौगिकहरूमा रूपान्तरण गर्दछन् । चिया बगानको माटोले कार्बनिक पदार्थ र ह्युमसको रूपमा कार्बन भण्डारण गर्दै कार्बन सिङ्कको रूपमा काम गर्नसक्छ, यसलाई ‘माटो कार्बन उत्सर्जन’ भनिन्छ । चियाका रूखहरूले बायोमास जम्मा गर्छन्, जसलाई फसल र नवीकरणीय ऊर्जा स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ । ‘बायोमास एक्युमुलेशन’ले गर्दा जीवाश्म इन्धनहरूमा निर्भरता घटाउँछ ।

हठात् चालकले ‘हामी पानी ट्याङ्की पुग्नै आँट्यौं भन्दा म झल्याँस्स भएँ । यत्रो बेर मभित्र चलिरहेको हडबडीलाई पर्यावरण सोचले ग्रहण लगाएर राखेको रहेछ । खुशीले झन्नै जुरुक्क उठेर नाचिनछु । मैले उसलाई दिनुपर्ने भाडाको रकम कमिजको माथिल्लो गोजीमा तयार पारिराखेको थिएँ । गाडीले वेग थाम्नेबित्तिकै फुत्त बाहिर निस्केर आफ्ना सामान सम्हाल्दै उसलाई धन्यवाद दिएँ । साथमा भाडा पनि ।

मेची खोलामाथि टमटमहरूको लामो ताँती रहेछ । म झोलालाई डँडाल्नामा राम्ररी मिलाएर सुटकेसलाई गुडाउँदै पंक्तिको अघिल्तिर आफैँलाई हुत्त्याउन लागें । तर अघिकाहरूमा यात्रुहरू भरिइसकेका रहेछन् । म पछि हट्न बाध्य भएँ । कसो कसो एउटामा चाहिं एकजना सवारी बस्ने ठाउँ रिक्त रहेछ । तत्काल बुरुक्क उफ्रे जस्तो गरेर त्यसलाई ओगटिहालें । साथको सुटकेसलाई चालकले अघिल्तिर लगेर छेवैमा रहेको साँघुरो ठाउँमा कसोकसो कज्याएर उभ्याएँ । मैले चाहिं पिठ्यूँको झोलालाई कुनै आमाले नानीलाई काखमा राखे जसरी स्नेहवत् राखें । चढेका केही बेरसम्म पनि टमटम मूर्तिवत् उभिइरहँदा चालकलाई यसको कारण सोध्न हतारिएँ । उनले सबैले सुन्नेगरी “चेकिङ चल्दैछ । हजुरहरूले आआफ्ना परिचयपत्र निकालेर राख्नुहोला” भन्दै लेग्रो ताने ।

केही क्षणपछि जाँच गर्दै एकजना अधिकारी आए । मेरो विश्वविद्यालयको परिचयपत्र उनलाई पत्यारो लागेनछ क्यार, आधार कार्ड नदेखाई भएन । केही बेरपछि बल्ल लाइन खुल्यो । मन आनन्दमा फुरुङ्ग भयो । मैले टाढा टाढाका हरियाली पहाड, विस्तृत बालुवाको चोलाभित्र खच्किएकी मेची खोलालाई केही बेरसम्म नियालिरहें । सोचैं- ‘यसलाई जीवनरेखा बनाएर कस्तो इकोसिस्टम निर्माण भएको होला ?’ यसमा चलिरहेको जीवन्त परिवृत्तलाई मनमनै सलाम ठोकेँ ।

मेरा सम्मुखका दुइटा आसनमा महिला बसेका थिए । उनीहरूसित कुरैकुरामा म नयाँ आगन्तुक भन्दै चन्द्रगढी विमानस्थल चाँडो पुग्नका लागि सजिलो मार्ग कता होला भनी जिज्ञासा राखेँ । जवाफमा उनीहरू दुवै जनाले प्राय: एकैचोटि बोले… “हजुरले केही सुर्ता लिनु पर्दैन, हामी पनि त्यतै, चाराली भन्ने ठाउँमा जाँदैछौं । त्यहाँबाट विमानस्थल पुग्न टेम्पोमा मात्र आधा घण्टा लाग्छ ।”

उनीहरूको सकारात्मक जवाफले ममा धेरै साहस जन्मियो । त्यति वेलासम्ममा हामी काँकरभिट्टा पुगिसकेका रहेछौं । बिरानो बाटोमा गाइड जस्ता सहयात्री पाएकोमा म ढुक्क भएँ । केही क्षणपछि टमटम थामियो । उनीहरू दुवै ओर्लिसकेपछि म झरें ।

चालकलाई भाडा बुझाएर उनीहरू दुवैका पछि लुखुरलुखुर लागें । केही समय पाउ कष्ट गरेपछि हामी एक बासअड्डामा पुग्यौं । सम्मुखमा घर्घर गरिरहेको एउटा पहेंलो बस थियो । उनीहरू दुवै त्यसमा चढेपछि मेरो पालो आयो । चालकको पछिल्तिरको आसनमै बस्न जुऱ्यो । उनको देब्रेपट्टि रहेको इन्जिनलाई ऱ्याक्सिनको बिर्कोले छोपेर बेदी जस्तो मञ्च बनाइएको रहेछ । खलासीले मेरो सुटकेसलाई त्यहीमाथि सुताए । यस्ता गाडीले बाटामा जाँदा ठाउँठाउँमा यात्री चढाउने देउसी खेलेर समयलाई अपव्यय गरेको मैले धेरै ठाउँमा देखिआएको छु । यो गाडीले त्यसै गरेर ढिलायो भने मेरो जहाज उम्किन्छ होला भन्ने म पिरलोमा थिएँ । ती महिलाहरूलाई मैले मनको शङ्का व्यक्त गरें ।

‘यो बसले त्यस्तो गर्दैन’ भनेर एउटीले मलाई ढाडस दिइन् । साथै खलासीलाई ‘यहाँको काठमाडौं जाने विमान छ, ४ बजे भित्रमा चन्द्रगढी पुग्नुपर्छ’ भनेर सावधानी गरिन् । बस केही क्षण गुडेपछि एउटा भीडभाड भएको ठाउँमा रोकियो । म त्यति वेलासम्म ढोका बाहिर दृष्टि लाउँदै परिवेश उपभोग गरिरहेको थिएँ ।

‘हजुरको पनि ओर्लिने ठाउँ आयो ।’ एउटा चर्को बोली मतिर आएर ठोकियो । म झल्याँस्स भएँ । ती दुवै महिला आआफ्ना स्थानबाट उठेर पोकापत्यौरा सम्हाल्दै रहेछन् । म सतर्क भएँ । झोलालाई डँडाल्नामा झुन्डाएँ । यत्रो बेर सुतिरहेको सुटकेसलाई खडा गरें । अनि दुवैलाई सम्हाल्दै गाडीबाट झरें ।

महिला द्वयलाई अन्तिमपल्ट धन्यवाद दिंदै छेवैमा खडा अटोरिक्सातिर लम्कें । चालक भलाद्मी रहेछन् । आधा घण्टा मै पुऱ्याइदिने वचन दिएपछि म निर्ढुक्क उनको सवारी भएँ । बाटो अब्डेखब्डे भए पनि मेरो अर्को विकल्प थिएन । दशैं र तिहारको बीचको यो मौसममा प्राकृतिक परिवेश रमाइलो हुन्छ । दायाँबायाँ तिरका खेतमा धानका हरिया बाला कुनै लहलह हावासँग झुलिरहेका थिए त कुनै सुनौला वस्त्र परिधान गरी नृत्य गरिरहेका थिए । गाउँलेहरूका घरपरिसरमा सयपत्री र मखमली फूल आदिले उत्सवमय परिवेश बनाइरहेका थिए ।  दुवैपट्टिको प्राकृतिक सौन्दर्यको उपभोग गर्दै विमानस्थलनेर आइपुगेछु । एउटा ठूलो साइनबोर्डमा ‘चन्द्रगढी’ लेखेको मेरो नजरले टिप्यो । मोबाइलमा नियालें.. साढे तीन बज्न बाँकी नै रहेछ । म ढुक्क परें । चालकलाई विमानस्थलको छेवैमा रहेको कुनै गतिलो खाजाघरमा पुऱ्याइदिने अनुरोध गरें । उनले त्यसै गरे । अटो थामिएपछि बाहिरपट्टि दृष्टि घुमाएँ । ‘पशुपति खाजाघर’ लेखिएको फलकले मलाई स्वागत गरिरहेको थियो । मलाई ठूलो राहत मिल्यो । खुत्रुक्क ओर्लिएँ । चालकका हातमा भाडा थमाएर धन्यवाद दिएपछि खाजाघरतिर लम्कें ।

म भोकले आतुर थिएँ । यत्रो बेरसम्म पेटभित्र कुदिरहेका मुसालाई मानसिक तनावले जबर्जस्ती थिचेर राखेको रहेछ । यति वेला तनावमुक्त हुनासाथै तिनीहरू उत्ताउलिन लागे । ममा म्यानु पढीपढी परिकार रोजेर अर्डर दिने धीरता थिएन ।

“चाँडो मिल्नलाई थाली सिस्टम छ ?” मैले हतारिंदै सोधें । खाजाघरका म्यानेजर एक युवा रहेछन् । “लोक्कल कुखुरा र सागभात तत्काल हुन्छ,” उनको जोसिलो जवाफ आयो ।

“हवस्, तर अलिक चाँडै है ?” मैले पुन:माग गरें ।

हाम्रो शरीरको आन्द्रो, विशेषगरी ठूलो आन्द्रो (कलन) लाई दोस्रो मस्तिष्क पनि भनिन्छ । यसभित्र दहीमा रहेका गुनिला ब्याक्टेरियाहरू जस्तै अर्बौं-खर्बौंका संख्यामा ब्याक्टेरिया प्राकृतिक रूपमा हाम्रो मृत्युसम्म रहेका हुन्छन् । यिनीहरूलाई माइक्रोबायोम भनिन्छ जसद्वारा प्रवाहित रासायनिक तत्त्वहरूले हाम्रो सोचाइलाई सहायता गर्नु मात्र होइन शरीरको रोग प्रतिरोध गर्ने क्षमतालाई पनि नियन्त्रण गर्छन् । एक चिनियाँ वैज्ञानिकले यी ब्याक्टेरियाहरूले प्राणी दुब्लाउनु या मोटाउनुमा ठूलो प्रभाव पार्छन् भन्ने प्रमाणित पनि गरिसकेका छन् ।

मैले अमेरिकामा पोस्टडाक्टरेल शोधकार्य गर्दा यसको बारेमा विस्तृत अध्ययन गर्ने मौका पाएको थिएँ । हाम्रा खाद्यमा रहेका सागपात, गुन्द्रुक-सिन्की जस्ता रेशाजातीय खाद्यहरूले यी ब्याक्टेरियाहरूलाई पोषणको आपूर्ति गरी जीवन्त पारिराख्छन् । यिनीहरू स्वास्थ्यवान् रहे हाम्रो शरीर पनि निरोगी रहन्छ । हाम्रा मुखगह्वरदेखि मलद्वारसम्म किसिम किसिमका अर्बौं खर्बौं जीवाणुहरूले हाम्रा आन्द्रा-भुँडीमा जैविक विविधता कायम गरिरहेका हुन्छन् । खेतीबालीमा प्रयोग गरिएका कीटाणुनाशक विषादीले हाम्रा जुनकिरी, माछा, गँड्यौला, मौरी, पुतली लगायतका अन्य जनावरहरूलाई नाश गरिरहेको छ । यस विषयवस्तुमा मैले ‘परिश्रान्त पृथिवी’ पुस्तकमा ४१ वटा पर्याकविता लेखेको छु । यी विषादीले हाम्रा खाद्यनलीमा रहेका असंख्य ब्याक्टेरिया लगायत माइक्रोबायोमलाई नै हत्या गर्दै होलान् ! यसको प्रतिफलन गरी कुनै दिन कसैले निश्चय मन छुने पर्याकविता लेख्ला ।

ती युवाले स्वादिलो भोजन खुवाए । मैले उनलाई लोकल कुखुराभन्दा पनि तोरीको साग खुवाएर मेरो आन्द्राभित्र रहेका अणुजीवहरूका इकोसिस्टमलाई अनुकूल वातावरण दिलाएकोमा विशेष धन्यवाद ज्ञापन गरें । कुनै दिन फेरि ग्राहक बन्नलाई भिजिटिङ कार्ड पनि लिएँ । विमानस्थलमा समयमै आइपुग्न सकेकोमा र मीठो भोजन पाएकोमा ईश्वरलाई धन्यवाद जनाउँदै बुकिङ काउन्टरतर्फ लागें ।

त्यहाँसम्म सुरक्षित रूपमा आइपुगेको कुरा ह्वाट्स्एपमार्फत् श्रीमतीलाई पुऱ्याइसके पछि मात्र ढुक्कको सास फेरें । मेरो सुटकेस कार्गोलाई सुम्पिएर विमानको गेटपास संग्रह गरेपछि निर्धक्क भएँ । सुरक्षा जाँच सकेपछि भित्रको सार्वजनिक कोठामा पुगें ।

त्यतिवेला सम्ममा मेरो मोबाइलभित्र रहेको नेपाली सिम सक्रिय भइसकेको रहेछ । नेपालका साथी-सङ्गी, आफन्तहरूलाई एकापट्टिबाट फोन लगाउँदै गएँ । सबैभन्दा पहिलो त काठमाडौं निवासी शरद प्रधानज्यूलाई थियो । पहिलो रात उहाँकै आतिथ्यमा बिताउनुपर्छ भनेर गुवाहाटीमा छँदै उहाँले आग्रह व्यक्त गर्नुभएको थियो । काठमाडौं विमानस्थलबाट निस्केर उहाँको निवासस्थानमा पुग्नलाई के कसो गर्नुपर्ने हो यसबारेमा पनि जानकारी लिन थियो । यी सबै थोक काम गरी सक्दा-नसक्दै ५ बजिसकेछ । यती एयरलाइन्स YT ९२६ को उड्ने समय बेलुकाको ५.१० थियो ।

मैले उत्सुकताका साथ चारैपट्टि दृष्टि नियालें । तर न त यात्रुहरू चट्पटाएका थिए, न त एयरलाइन्सका कर्मचारीहरू नै । खोजखबर गर्दा विमानको उडान ढिलो हुने रहेछ भन्ने थाहा लाग्यो । प्रतीक्षा नगरी उपाय थिएन । मेरो मोबाइलमा चार्ज घटेर रातो सङ्केत देखाइसकेको रहेछ । म भित्तामा रहेको प्लग पोइन्टसँग मोबाइललाई जोडेर छेउमा गई बसिरहें । यात्राका लागि बिहान ४ बजे, गुवाहाटीदेखि नै रहेको मेरो तयारी अझै पनि टुङ्गिएको थिएन । ताईको फुलौरा जसरी नाची नै रहेको थिएँ ।

एउटा जिज्ञासा जन्मियो- यी सबै यात्री म जस्तै व्यस्त होलान् र ? लाउन्जमा करीब ४०० जना जति थिए होलान् । मैले एकापट्टिबाट उनीहरू माथि दृष्टि डुलाउँदै गएँ । प्रायः सबैजना ‘आधुनिक परिधान’मा देखिन्थे । पल्लापट्टि कुनाको बेन्चमाथि एक जोडी बुज्रुग परम्परित वेशभूषामा आपसी कुरामा भुल्लिरहेका देखिए । उमेर ६०-६५ जति हुनुपर्ने । बाबैले भिरेको बुट्टेटोपी चाहिं सगरमाथा जस्तो खडा थियो । निधारमा चन्दनको टिको, घाँटीमा मफलर, सेता दौरा-सुरुवालमाथि ध्वाँसे इस्टकोट । आमैले चाहिं गुन्यु-चोलोमाथि रातो स्वेटर । कानमा कुण्डल, नाकमा फुली र घाँटीमा सुनकै नौगेडी । दुवैका निधारमा बलिरेखा स्पष्ट झल्किरहेका थिए । चालचलन र कुराकानीले लाउन्जमा प्रतीक्षारत यात्रुहरू प्राय: सबै नै नेपाली देखिन्थे । तर गुन्यु-चोलो त टाढैको कुरा, सारीमा पनि कोही महिला देखिएनन् ।

बेन्चको एकापट्टि स्वल्प परिधानमा एउटी ‘आधुनिका’ मोबाइलमा तल्लीन थिइन् । कालो साँगुरो प्यान्टमाथि प्राय: अर्धअनावरित काया थियो । नाइटो छेडेर झुन्डिएको स्टीलको मुन्द्रीले उनको वार्तालापसँगै देब्रे-दाहिने हल्लिएर आफ्नो निरंकुश अस्तित्व झल्काइरहेको थियो ।

बेन्चको अर्कापट्टि टिसर्ट-जिन्स परिहिता अर्की ‘आधुनिका’ आफ्नो जिद्दी नानीलाई फुल्याउनमा व्यस्त थिइन् । नानी चाहिं ‘रेड कलर’को ‘प्याकेट’ भएको ‘चिप्स’ चाहिन्छ भनी गनगनाइरहेको थियो । तिनको प्राय: एक बित्ता च्यातिएको भागबाट भित्रको गहुँरङ्गी तिघ्रो चियाइरहेको थियो । देब्रेपट्टिको काँधमाथि तेर्सो पारेर अङ्कित कालो अक्षरको ट्याटु कानसम्म फैलिएको थियो । छेउमा भएको भए निश्चय पाठोद्धार गर्न सक्ने थिएँ होला ।

ठीक त्यति नै वेला विमान आएको घोषणा भयो । सबै सतर्क भए । बुज्रुग दम्पती बिस्तारो उठे । यत्तिकैमा ती दुई महिला अघि बढी आएर दम्पतीलाई सहज पार्न लागे । शायद छोरीहरू होलान् । अघि पछि खडा भएर एस्कोर्ट गरे जसरी प्रवेशद्वारको पंक्तिमा लगेर उभ्याए ।

काठमाडौंमा भोलिदेखि हुने सम्मेलनमा पर्या-साहित्यमाथि कार्यपत्र प्रस्तुत गर्न मलाई निम्त्याइएको छ । जलवायु परिवर्तन र वैश्विक तापक्रम वृद्धि आदि जस्ता विपरीत परिस्थितिले गर्दा हाम्रा पृथ्वीमा धेरै उद्भिद-प्राणीहरू लोपोन्मुख हुँदैछन् । यिनको स्थानमा नयाँ प्रजातिका उद्भिद्- प्राणीहरू घुस्रन थालेका छन् जसलाई मिचाहा या आक्रामक प्रजाति भनिन्छ । जङ्गली वनमारा (Lantana camara) ले खेतीबालीमा अतिक्रमण गरेर अत्यास फैलाएको हामी सबैले देखिरहेका छौं । उता असमको कुनै कुनै अञ्चलमा व्यापक वनविनाश भएकाले बाँदरहरू जङ्गलबाट गाउँमा पसेर त्यतैको ‘नागरिक’ बनेर खेतीबाली फलाउनमा र फलेकाहरू जोगाउनमा अप्ठ्यारो पारिरहेका छन् । भोलिको कार्यपत्रमा अरू मुद्दाका साथमा यसमाथि पनि बोल्नलाई मैले तयारी गरेको छु ।

यो पृथ्वीबाट लोप हुँदै गएका प्रजातिहरूका बारेमा बोल्ने प्रस्तुतिमा थिएँ म । तर मलाई त हाम्रो भाषा र संस्कृति नै पो लोपोन्मुख हुन लागे जस्तो लाग्यो । मेरा सामु देखिएका ती बुज्रुग दम्पती प्राकृतिक नेपाली वेशभूषामा एक आदर्शवान मोडेल भए जस्तो लाग्यो । विश्वव्यापीकरणको चपेटमा बदलिंदो जीवनशैलीले हाम्रो अस्तित्व नै विलुप्त पार्ने हो त ?

त्यतिवेलै प्रवेशद्वार खोलियो । हाम्रो पंक्ति चलायमान भयो । मलाई लाग्यो ती वयोवृद्ध दम्पती चाहिं प्राकृतिक प्रजाति हुन् अनि दुवैपट्टिका नानीहरू चाहिं मिचाहा प्रजातिका ।

विमान चढेको लगभग एक घण्टापछि काठमाडौं विमानस्थल पुग्न आँटेको घोषणा भयो । झ्यालबाहिर हेरिपठाएँ । पिलपिल तारे बत्तीहरूले मलाई स्वागत गरिरहेका थिए । आफ्नो सरसामानलाई बटुल्न कन्भेयर बेल्ट क्षेत्रमा यात्रीहरूको तैँछाडमैछाड भयो । म पनि आफ्नो सुटकेसको प्रतीक्षामा अल्झिरहें ।

केही टाढाबाट एक युवक हतारमा मतर्फ आइरहेका देखिए । उनले भिरेको कालो टिसर्टसँग दुवै हातका डिजाइन नमिलेकाले अनौठो देखिएको थियो । मेरो दृष्टि त्यतै केन्द्रित थियो । उनी चाहिं सामान खोज्दै यताउति नजर डुलाइरहे जस्तो लाग्यो । उनी जीउको वासना सुँघ्ने दूरीमा आइसकेपछि मात्र मलाई थाहा लाग्यो उनका दुवै पाखुरा ट्याटुले सिँगारिएका रहेछन् । नजर विस्फोटित प्वाँख उघारेको चिल, दाँत ङिच्च्याएको ड्राकुला, सतरन्जी स्लेट आदि किसिम किसिमका डिजाइनका बीचबाट उनका गहुँगोरे पोसिला बाहु चियाइरहेका थिए, मानौं कुनै बन्दीले झ्यालखानाको फलामे झ्यालबाट बाहिर हेरिरहेको । आफ्नो सुटकेस संग्रह गरेपछि मतिर पिठिउँ फर्काएर एक फ्वाँक अत्तरको वासना छाड्दै उनी निकासतर्फ लागे । उनको घाँटीदेखि शिरसम्मको रिक्त चर्ममा सिँगारिएको सिंहको मुखुन्डे ट्याटुले आँखा नझिम्काई मबाट पर तर्किँदै थियो । मैले यो आकर्षक दृश्यलाई बन्दी गरिराख्न मोबाइल क्यामेरालाई प्रयोग गर्न बिर्सिनँ ।

यति वेला नेपालीहरू विश्वका प्रायः १०० भन्दा बढी देशहरूमा फिंजिएकाछन् । यी युवक जुन देशबाट आएका हुन् ट्याटु अङ्कन गरेर आफ्नो शरीरलाई सजाउनु त्यहाँको संस्कृति अन्तर्गत पर्दछ होला । अहिले ‘पाहुना’का रूपमा आफ्नो जन्मभूमि आएका होलान् । मैले चन्द्रगढी विमानस्थलमा देखेका आधुनिका दिदीबहिनी पनि त्यस्तै परिस्थितिबाट आएका होलान् । हुन त के-कस्ता परिधान गर्ने-नगर्ने कसैको व्यक्तिगत कुरा हो । कतै बाध्यतावश होला त कतै रुचिवश । तर यिनीहरूले नयाँ पिँढीलाई आफ्नो स्वाभिमानी संस्कृति कस्ता प्रकारले छाडिजालान् त्यसको जवाफ खोजी मन रन्थनिइरह्यो ।

हाम्रो संस्कृतिलाई बिर्सनु हुँदैन भन्ने सन्देश दिंदै भारतका वरिष्ठ साहित्यिक एम. एम. गुरुङले ‘बिर्सिएको संस्कृति’ निबन्ध कृति लेखे । एकै शीर्षक र थिममा उपन्यास लेखेर नेपालका प्रख्यात साहित्यिक शङ्कर लामिछानेले मदन पुरस्कार प्राप्त गरे । तर एउटा प्रश्न आएर बीचैमा झुन्डिएर पेन्डुलामको जसरी हल्लिरह्यो, ‘लामिछानेको पात्र पण्डित श्रीधर खाले मानिस के हाम्रा समाजबाट साँचै नै विलोप हुँदै जाँदैछन् त ?’

मैले विद्यार्थी तथा जागीरे जीवनमा भारतका विभिन्न ठाउँमा डुलेको छु, बसेको छु । यी स्थानहरूमा चाहिं नयाँ जीवनशैलीले पुरानोसँग सहअवस्थानमा रही हातेमालो गर्दै विकासको खुड्किलोमा चढिरहेका थिए । तर यहाँको परिस्थिति अलिक भिन्नै लाग्यो । के यतापट्टि यो परिवर्तन धेरै द्रुत गतिले आएको छ ? कि नयाँ जीवनशैलीले परम्परागतलाई प्रतिस्थापन गर्दै छ ?

मेरो सुटकेस अझै आइपुगेको थिएन । परिसरमा यात्रीहरूको भीड पनि घटेको अनुभव भएन । कल्याङमल्याङ नानी साथमा लिएर आमाहरू पनि निकै देखिए । तर कसैको निधारमा न टिको झल्किएको थियो न त सिन्दूर नै । मलाई एउटा प्रश्नले चिमोटिरह्यो.. ‘के अब बिस्तारै हाम्रा पारम्परिक वेशभूषा, श्रृंगार र आअलङ्कार आदि संग्रहालयका सामग्री हुन जाँदैछन् ?’

सुटकेस बल्ड्याङ खेल्दै बल्ल कन्भेयर बेल्टमा आइसकेछ । यसलाई गुडाउँदै बाहिर निस्कें । एक फ्वाँक चीसो हावाले मेरो कानमा सुस्तरी फुक्दै गयो, ‘काठमाडौंमा स्वागतम् ।’

खानापारा, गुवाहाटी, असम, भारत